• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण मुकारुङ
२०७८ बैशाख ११ शनिबार ०९:२८:००
समाज

बिसे नगर्चीहरू जहाँको त्यहीँ छन्

२०७८ बैशाख ११ शनिबार ०९:२८:००
श्रवण मुकारुङ

यो डेढ दशकमा पनि बिसे नगर्चीहरू जहाँको त्यहीँ छन् । म पनि यो कविता अनवरत सुनाइरहन बाध्य छु । राजनीतिक रूपमा मलाई अहिले पनि १५ वर्ष बितेको अनुभूति भएको छैन ।

 

०६२ सालमा ‘बिसे नगर्चीको बयान’ लेख्दै गर्दा अहिले टड्कारो रूपमा पेचिलो बनेको सामाजिक न्यायका मुद्दाहरू उत्कर्षमा थिएनन् । राजनीतिक रूपमा माओवादी जनयुद्धले क्रेडिट लिए पनि यी मुद्दा नेपाली समाजमा धेरै पहिलादेखि उठिरहेकै थिए । त्यसलाई एउटा किनारा दिने ऐतिहासिक बिन्दु ०६२/६३ को जनआन्दोलन बन्यो ।

 

उता नागरिक समाज, राजनीतिक दलहरू संयुक्त जनआन्दोलनको अन्तिम संघारमा थिए । यता म बिसे नगर्चीको बयान लेखिरहेको थिएँ । जनताको परिवर्तनप्रतिको अन्तरध्वनिलाई कवितामार्फत एउटा स्वरूपमा ढाल्ने कोसिस गरिरहेको थिएँ । पटक–पटक हुने परिवर्तनलाई आत्मसात् गर्न नसकिरहेका जनताको मनोकांक्षालाई कवितामा समेट्ने प्रयत्न गरिरहेको थिएँ । जनआन्दोलन सफल भयो, बिसे नगर्चीहरूकोे सपना पनि मूलधारमा देखापर्‍यो ।

 

आज, त्यही परिवर्तनले ल्याएको लोकतन्त्रले १५औँ वर्ष पार गर्दै छ । तर, यो डेढ दशकमा पनि बिसे नगर्चीहरू जहाँको त्यहीँ छन् । म पनि यो कविता अनवरत सुनाइरहन बाध्य छु । राजनीतिक रूपमा मलाई अहिले पनि १५ वर्ष बितेको अनुभूति भएको छैन । ०६२/६३ मा जसरी कविता वाचन गरिहिँडेको थिएँ, आज पनि त्यसरी नै यो कविता वाचन गरिहिँड्नुपरेको छ । तर, नेपाली कविताले भने मलाई पनि पुरानो बनाइरहेको महसुस गरिरहेको छु । विषयका हिसाबले विविधता त थपिएकै छ, कविहरूले पनि आफ्नो शैली र साधनामार्फत नेपाली कविताको नयाँ गोरेटोलाई संकेत गर्दै गइरहेका छन् । 

 

कविले कुन समयमा मास्टरपिस कविता लेख्छ, त्यो स्वयं कविको वशमा मात्रै हुँदैन । युगको गति, कविको चेतनाको तादम्यले निर्धारण गर्छ ।

 

हुन त यो कविताको ब्रह्माण्ड आफैँमा विशाल छ । कवितामा गर्नुपर्ने, लेख्नुपर्ने र फैलिनुपर्ने क्षितिज व्याख्तातीत हुन्छ । संसारमै धेरै विमर्श हुने क्षेत्रमध्ये कविता पनि एउटा क्षेत्र हो । यस हिसाबले हेर्ने हो भने गएको डेढ दशकमा नेपाली कवितामा विषय–प्रधान कविताहरूको बाहुल्य देखिन्छ । तर, प्रयोगहरू कम भएका छन् । यद्यपि संरचनागत रूपमा सरल भाषामा अभिव्यक्त गर्ने अभ्यास सुरु भएको देखिन्छ । कविता जनमानसमा कनेक्ट हुनैपर्छ भन्ने अभिप्रायः कविहरूमा भेटिन्छ । कविहरू समकालीन राजनीति, समाजप्रति केन्द्रित देखिन्छन् । तर, कविताको विषय त अरू पनि होलान्, त्यतातिरचाहिँ कम उपस्थिति हो कि भन्ने लाग्छ । 

 

घरिघरि त लाग्छ, नयाँ कवि र कविता बढी आएका छन् । तर, पुरानाले भने लेखेका छैनन्, अथवा लेख्न सकेका छैनन् । यस हिसाबले नेपाली कविता पुस्तान्तरणको क्रममा छ कि झैँ पनि लागिरहेको छ । अहिलेका कवितामा न्यारेसन केही फरक छ । मानिस, मानवता, जीवन, सम्बन्धलाई हेर्ने दृष्टिकोणमा अलि फरकपन आउने सम्भावना देखिँदै छ । राजनीतिक परिवर्तनपछि मानिसले चाहेको, सोचेको, खोजेको कुरा प्राप्त नहुँदाका नैराश्यमाथि जुन किसिमको मनोविज्ञान छ, त्यो अलि घनत्वका साथ नेपाली समाजमा विद्यमान छ । त्यसको असर कवितामा पर्नु स्वाभाविक हो ।

 

०६२/६३ को जनआन्दोलनपछि धेरै मुद्दा सतहमा आए । मधेसले आफूलाई राजनीतिक शक्तिको रूपमा स्थापित ग¥यो । पहिचानको मुद्दाबाट आदिवासी, जनजातिले आफूलाई मुखरित गरेर लगे । महिला तथा दलितका आवाज सघन रूपमा आए । शारीरिक रूपमा अशक्त, यौनिक अल्पसंख्यकका स्वरहरू पनि उर्लिरहेकै छन् । तर, समग्रतामा कविताले गम्भीर र सूक्ष्म ढंगले यी मुद्दालाई सम्बोधन गर्न भने सकिरहेको देखिँदैन । 

 

पर्फेक्ट कवि र अन्तिम कविता निर्माण हुन युग कुर्नुपर्छ । यसैका लागि कविहरूले निरन्तर साधना गरिरहने हुन् । कविले कुन समयमा मास्टरपिस कविता लेख्छ, त्यो स्वयं कविको वशमा मात्रै हुँदैन । युगको गति, कविको चेतनाको तादम्यले निर्धारण गर्छ । अर्कातिर, कविताका आयाम धेरै हुन्छन् । कवितामा विषयको विविधता, जीवनबोधका दृष्टिकोण फरक–फरक हुन्छन् । यसरी हेर्दा हामी यही विषय लेख्नुपर्छ भनेर गयौँ भने त्यसले कवितालाई कमजोर बनाइदिन्छ । प्रेमका कविताहरू पनि कवितै हुन् । यो डेढ दशकमा हामीले कवितामा जटिल मुद्दा उठाएर ल्यायौँ । तर, दार्शनिक, मनलाई अपग्रेड गर्ने खालका, आत्मविवेचनासहितका कविताहरू अलि कम लेखिएको हो कि । यसमाथि विमर्श पनि कम भएको देख्छु । मुद्दाहरूमा हामी छँदै छौँ । जनआन्दोलनपछि सीमान्तकृत, दलित, महिला, आवाजविहीनका कविताहरू यथेष्ट आएका छन् । त्यस्ता कविताहरूका सीमा पनि छन्, फैलावट पनि छन् । विषयको विविधता पनि छ । तर, जीवन, प्रेम, अनुभूति, दर्शनमा पनि नेपाली कविता फैलनुपर्‍यो ।

 

समग्रतामा पछिल्लो डेढ दशकमा निकै अगाडि गएको हो नेपाली कविता । हामी परिष्कारको फेजमा छौँ, शैली र संरचनाको हिसाबले पनि । मुद्दाहरूको गहिराइमा पुगेर लेख्ने क्रम बढ्दै छ । कमजोर कविताहरूको बाढी पनि छ, सबल कविताहरूको लहर पनि छ । कमजोरहरूको तुलनामा सबल कविताहरू निकै कम छन्, प्रगति शून्य भने होइन ।

 

०६२/६३ को परिवर्तनले धेरै कुरा पाएका छौँ हामीले । समावेशिता, धर्मनिरपेक्षता, पहिचानका विषयमा हाम्रो उपस्थिति भयो होला । सकारात्मक रूपमा त्यो परिवर्तनलाई नियाल्दा धेरै थोक छ । मञ्चमा दलित, महिला, आदिवासी खोज्न थालेका छन् । एकै अनुहारलाई मात्रै मञ्चमा स्विकार्न छाडेका छन् । ती हाम्रा प्राप्ति हुन् । तर, हामीले खोजेको यति मात्रै पक्कै होइन । यी र यस्ता उज्याला,–अँध्यारा पाटाहरूको प्रतिछाया पछिल्लो नेपाली कवितामा सबल रूपमा आएकै छन् । अझै गम्भीरताका साथ आउने नै छन् । तर, अझै नयाँ ढंग र गम्भीरताका साथ आउन बाँकी होला, प्रक्रियामा होला ।

 

कविहरूले नयाँ कुरा नयाँ तौरतरिकाले भन्न खोजिरहेकै छन् । नयाँ–नयाँ बिम्ब विधान, संरचना, शैलीको कोसिस भइरहेको छ । तर, नयाँ तरिकाले लेखौँ भन्ने सोच त कविहरूमा देखिन्छ, योजनाबद्ध ढंगले नयाँ तरिकाले लेख्छु भनेर आएको भने देखिँदैन । नयाँ कवि प्रस्ट देखिने गरेर नयाँ शैली वा मुभमेन्ट लिएर पुरानालाई हामीले यो भन्न छुटाएका रहेछौँ भन्ने महसुस हुने गरी आउनुपर्‍यो ।

 

प्रत्येक कविले आत्मसमीक्षा गर्ने हो भने फरक ढंगले लेख्नेबारे छलफलै गरेका छैनौँ । हामीले मधेसी, जनजाति, महिला, दलितका मुद्दा ल्याएका मात्रै छौँ । तर, कसरी ल्याइयो ? विमर्श हुन बाँकी छ । सुदूरपश्चिमतिरकाले त्यताको लवज ल्याएर लेख्नु सामान्य हो । कविले चाहेर पनि नचाहेर पनि त्यो लेखिन्छ । हामी त कविताको बृहत्तर बहसमा जानुपर्छ । विषय मात्रै नभएर कला पनि हो कविता । कला पक्षमा पनि प्रश्न गर्नुपर्छ । कस्तो ढंगले लेखिनुपर्छ भनेर शैली विज्ञानको तहबाट हामीले हेरेका छैनौँ । प्रत्येक कविहरूको हस्ताक्षर हुन्छ, त्यही हस्ताक्षरमा समस्या छ अहिले ।

 

कविहरूले नयाँ कुरा नयाँ तौरतरिकाले भन्न खोजिरहेकै छन् । नयाँ–नयाँ बिम्ब विधान, संरचना, शैलीको कोसिस भइरहेको छ । नयाँ तरिकाले लेखौँ भन्ने सोच त कविहरूमा देखिन्छ, योजनाबद्ध ढंगले नयाँ तरिकाले लेख्छु भनेर आएको भने देखिँदैन ।

 

यसो हुनुमा कवितालाई गम्भीरताका साथ नलिएर हो कि अथवा अल्छी गरेर हो कि झैँ लाग्छ मलाई । कोही पनि कवितामा नयाँ बहस ल्याउँछु भनेर नयाँ अवधारणासहित आएको छ जस्तो लाग्दैन अथवा मैले थाहा नपाएको हो कि ! नेपाली कवितामा रिमालहरूले अंग्रेजी साहित्य पढे, त्यसरी नै लेखेर आए । त्यसरी लेख्न पनि संसार त बुझ्नुपर्‍यो नि फेरि । पछिल्लो समय सिर्जनशील अराजकता आयो, रंगवाद आयो, यी मुभमेन्टले बहसलाई अलिकति उचालेको हो । त्यसपछि पनि मुभमेन्टहरू आएका होलान्, मैले थाहा नपाएको हुन सक्छ । तर, नाम लिएर मात्र आएर भएन । नाम त के–के ल्याउँछन् ल्याउँछन्, बुझिनसक्नु लिएर आउँछन् । 

 

पछिल्लो समय निकै पेचिला र गम्भीर प्रश्नहरू उठेका छन्, उठ्ने गरेका छन् । लोकतन्त्रमा प्रश्न त साधारण मानिसले पनि उठाउँछ । कविहरूले उठाएको प्रश्न त विशेष र आविष्कारजस्तो हुनुपर्‍यो, तब न स्रष्टा भनिएको हो । प्रश्न उठ्नुपर्छ, तर कविले लेखिसकेपछि त्यसलाई कसरी वाणी बनाउने भन्ने कामचाहिँ प्रमुख हो । वाणी गहिरो अभ्यास, अनुभव र दर्शनको तहबाट उत्पन्न हुन्छ । त्यसैले कवि स्वयंले आफैँलाई पनि पर्खिनुपर्छ । एउटा हठयोग गर्नुजस्तो पनि हो कविता कर्म । संगीतसाधकले बिहान–बिहान उठेर साधना गरेझैँ, रङ खेलाउने पेन्टरले निरन्तर पेन्टिङ गरिरहेझैँ राम्रो कविताका लागि निरन्तर अभ्यास चाहिन्छ । खै त हाम्रो कविहरूले त्यो गरेको ? म त गम्भीर अभ्यासको कमी देख्छु । कवित्व एउटा पाटो हो, ज्ञान अर्को पाटो हो । पछिल्लो समयका कविहरू धेरै ज्ञानी छन्, तर कवित्व कम छ । कविता त भाषासँग खेल्ने कुरा पनि हो । कुमालेलाई भाँडो यसरी बन्छ भन्ने थाहा छ, तर उसको अभ्यास कम छ भने कस्तो भाँडो बन्ला ? पछिल्लो डेढ दशकको नेपाली कवितालाई हेर्दा यस्ता धेरै सवाल तेर्सिन पनि सक्छन् ।

 

छन्द कवितामा पनि यही समस्या देख्छु म । तुलनात्मक रूपमा भने मुक्त छन्दका कवितामा अलि बढी काम भएको देख्न सकिन्छ । मुक्त छन्द कवितामा जनजातिहरूको उपस्थिति बढी देखिन्छ । यो समयबोध र मुद्दाको विषयले पनि होला । त्यो चेतनाले पनि होला । जसले चोट पाएको छ, उसैलाई खास दुखाइको अनुभूति हुने भएकाले अहिले जनजाति कविहरूले निकै राम्रो लेखिरहेको देखिन्छ । यसरी हेर्दा साहित्यचाहिँ जनजाति, दलित, मधेसी, महिलासँग छ, तर साहित्यको सत्ताचाहिँ इतर समुदायसँग छ, नेपालको राजनीतिझैँ । ०६२/६३ को परिवर्तन पनि आदिवासी जनजाति, महिला, दलितको आवाज घन्काउँदै आएको हो, तर सत्ता अर्कैको हातमा छ । त्यसैले लोकतन्त्रलाई उन्नत बनाउने र आमजनतानुकूल बनाउने प्रक्रियामा खराबी देखिएको हो । यस्तो वेला कविताले के गरिरहेको छ त भन्ने प्रश्न उठ्न सक्छ । मलाई लाग्छ, कविता दुई प्रकारका हुन्छन् । एक, बुद्धका वाणाीहरूले आजसम्म पनि मानिसलाई, समाजलाई दृष्टि दिइरहेको छ । तर, त्यो वाणीको असर हामी सजिलै देख्दैनौँ । अर्थात् एक प्रकारको कविता मौन हुन्छन्, तर सक्रिय हुन्छन् । अर्को प्रकारका कविता परैबाट नारा घन्काउँदै, जुलुस लगाउँदै, म आएँ भन्दै आउँछन् । तर, जुलुस एक्लो हुँदैन । जुलुस भन्नासाथ त्यसले समूहको खोजी गर्छ । मनु मञ्जिल, रमेश क्षितिज, विप्लव ढकालहरू थिएनन् भने लोकतन्त्रको जन्मपछिको नेपाली कवितामाथि बोल्न सायदै सक्ने थिएँ । यी दुवै कविताको महत्व यो धर्तीमा समान छ, दुवै कविताको गोल भने एकै हो । 

 

०६२/६३ मा लेखिएको बिसे नगर्चीको कविता दोस्रो प्रकारको कविता हो, जो नारा लगाउँदै, जुलुस लगाउँदै, मुक्ति र स्वतन्त्रताको गीत गाउँदै, म आएँ भन्दै आएको थियो । अफसोस, आज १५ वर्षपछाडि पनि उसको यात्रा रोकिएको छैन । अबको कविताले उसलाई विश्राम दिनुपर्छ ।

 

नवीन प्यासीसँगको कुराकानीमा आधारित