• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विभुति भट्टराई
२०७८ बैशाख १८ शनिबार १०:४७:००
रिपाेर्ट

अफिसरको डायरी : विमानस्थलमा जे देखेँ 

उनी आफ्नो वतन, आफन्तको नाम,सम्पर्क नम्बर केही भन्न सक्ने अवस्थामा थिइनन्

२०७८ बैशाख १८ शनिबार १०:४७:००
विभुति भट्टराई

 

लेखक विभुति भट्टराई सेक्सन अफिसर हुन् । कविसमेत रहेकी उनी ०७२ देखि ७५ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत थिइन् । त्यहाँ रहँदा उनले रोजगारका लागि विदेश जान लागेका र गएर आएका कैयन् श्रमिक महिलाका समस्या देखिन् । उनले देखेका केही प्रतिनिधि पात्रका कथाहरू ‘अन्तर्राष्ट्रिय मजदुर दिवस’को सन्दर्भमा उपयोगी ठानी प्रकाशित गरिएको छ :

 

७ पुस ०७२

 

फ्लाई दुबईका कर्मचारीले एकजना युवतीलाई हातमा समातेर त्रिभुवन विमानस्थलको अध्यागमन आगमन कक्षतर्फ ल्याइरहेका थिए । ‘डिपोर्ट’ गरिएको यात्रुलाई किन त्यसरी समातेरै ल्याएको होला भन्ने लाग्यो । केही बेरमा ती युवती जोडले हात झट्कारेर भाग्न खोजिन् । तत्काल त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिए र अध्यागमन कार्यालयमा ल्याए ।

 

वास्तविक अवस्था थाहा नभएकाले उनलाई अनुशासित हुन सुरक्षाकर्मीले आग्रह गरिरहेका थिए । तर, उनी झनै अनियन्त्रित भइरहेकी थिइन् । युवतीसहित उनका सबै कागजात र फिर्ता आउनुपर्ने कारणसहितको विवरण लिनुुपर्ने भएकाले उनीसँग सोधपुछ गर्नुपर्ने थियो । उनलाई भित्रपट्टिको कोठामा लगी पानी, चिया पिउन दियौँ । उनले त्यो सबै फ्याँकिदिइन् । विभिन्न महिला एवं पुरुषको नाम लिंदै ‘थुथुथुथु....यो सुरे.., निर..ले छोएको लुगा म लाउँदै लाउँन्न, थुथुथुथुु’ भन्दै आफ्नै शरीरमा थुक्दै भटाभट बाहिरी र भित्री सबै लुगा फुकाल्न थालिन् । के गर्ने के नगर्ने द्विविधा भयो । तुरुन्तै सबै पुरुष साथीहरूलाई त्यहाँबाट हटिदिन अनुरोध गर्यौं र थप महिला प्रहरीहरू बोलायौँ । उनी कहिले लुगा फुकाल्दै चिच्याई चिच्याई रुन्थिन् भने कहिले रिसले दाह्रा किट्थिन् । उनको त्यो हालत कुनै पनि मानिसले हेर्न सक्ने खालको थिएन । उनलाई अँगालो हालेजसरी च्याप्प समातेँ र महिला सुरक्षाकर्मीको सहयोग लिएर जबर्जस्ती लुगा लगाइदियौँ । उनी जोडले रोइरहेकी थिइन् । उनको कथा यस्तो थियो : 

 

नाम : निरा तामाङ (नाम परिवर्तन) 
उमेर : १९ वर्ष
ठेगाना : ... सिन्धुपाल्चोक

 

श्रम स्वीकृति लिएर काठमाडौंको एक म्यानपावरमार्फत साइप्रसमा घरेलु कामदारको रूपमा उनी १७ अक्टोबर २०१५ मा त्रिभुवन विमानस्थलबाट दुबई हुँदै साइप्रसका लागि उडिन् । युरो ३१४ मासिक तलब दिने सम्झौता पत्र पनि साथै थियो । दुबई एयरपोर्टमा लामो ट्रान्जिट भएकाले उनी अरू यात्रुहरूसँगै उत्रिइन् । तर, उनी साइप्रस भने पुग्नै पाइनन् । दुबईमा नै सामूहिक बलात्कृत भइन् । सबै लुगा खोलिएको, गुप्तांगबाट रगत बगिरहेको अचेत अवस्थामा सुरक्षाकर्मीद्वारा उनको उद्धार गरियो । युएईस्थित नेपाली दूतावासको समन्वयमा उनलाई नेपाल पठाइयो । 

 

उक्त घटनाले विक्षिप्त निराले आफ्नो इज्जत मात्र गुमाइनन्, सँगै मानसिक अवस्था पनि गुमाइन् । एयरलाइन्सका कर्मचारीबाट यो कुराको जानकारी पाएपछि त्यहाँ उपस्थित अधिकांशको आँखा रसायो । कलिलो उमेरमा घरपरिवार चटक्क छोडेर, गाउँघर, साथीसँगीसँग टाढिएर, पढाइलाई बिट मारेर सामान्य अवस्थामा पक्कै उनी गएकी थिइनन् । उनको यो अवस्थाबाट अनभिज्ञ उनकी आमा माइली तामाङ सायद छोरीले कहिले तलब बुझेर पैसा पठाउली र ऋण तिरौँला भनेर कति समय बसिहोलिन् !

 

माघको कठ्यांग्रिने जाडो, मध्य रात, शरीरमा एकसरो पातलो लुगा । पछ्यौरी ओढेर अनजान सहरको एयरपोर्टको चिसो भुइँमा चप्पल ओछ्याएर बसेकी छिन् । कसैले सहयोग गरिदेओस् भन्ने अपेक्षा पनि उनीसँग पटक्कै थिएन ।

 

उनी आफ्नो वतन, आफन्तको नाम, सम्पर्क नम्बर केही भन्न सक्ने अवस्थामा थिइनन् । अध्यागमन विभाग या कार्यालयमा त्यस्ता केसमा सेल्टर दिने कुनै कानुनी व्यवस्था गरिएको थिएन । न कुनै संस्थागत संरचना थियो । एक त मानसिक रूपमा गम्भीर बिरामी, त्यहीँमाथि हामीसँग उनको जिम्मेवारी लिने कुनै संयन्त्र थिएन । त्यस्तो अवस्थामा सके आफन्त, यदि आफन्त नभए राज्यले जिम्मेवारी लिने कानुनी र संस्थागत व्यवस्था हुनैपर्थ्यो । तर, हामी सरकारी कर्मचारी भएर पनि निरीह थियौँ । ड्युटी सकेको धेरै समयसम्म पनि उनलाई त्यो हालतमा छाडेर घर जान सकिएन । त्यहाँ तत्काल कार्यरत हामी अध्यागमन अधिकृतहरूमध्ये त्यस्तो अवस्थाका पीडित यात्रुलाई व्यवस्थापन गर्ने अन्य विकल्पबारे खासै जानकारी थिएन । अपर्याप्त कानुनी व्यवस्था एवं जटिल व्यावहारिक अवस्थाले हामी अत्यन्तै चिन्तित थियौँ । त्यसैले सीता अधिकारी, उपेन्द्र न्यौपाने, कल्पलता निरौलालगायत सहकर्मीहरू, वरिष्ठ अध्यागमन अधिकृत एवं प्रमुख अध्यागमन अधिकृतसँग छलफल गरी कुनै पुनर्स्थापना केन्द्रमा पठाउने निर्णय गर्यौं र ‘परिवर्तन नेपाल’ नामक संस्थामा सम्पर्क गरी उनलाई उक्त संस्थाका कर्मचारीहरूसँग पठायौँ । केही राहत महसुस त भयो, तर त्यति गम्भीर विषयमा समेत राज्य निरीह बन्ने अवस्थाले भने आजपर्यन्त नराम्रोसँग घोचिरहेको छ । 

 

२४ माघ ०७४

 

त्यो दिनको ड्युटी डिएस (डिपार्चर डेस्क) मा थियो । एकजना महिला यात्रुको पासपोर्ट र बोर्डिङ पास मलाई दिइयो र थप अध्ययनका लागि आग्रह गरियो । उनको कथा यस्तो थियो : 

 

नाम : रञ्जुदेवी चौधरी (नाम परिवर्तन) 
पासपोर्ट नं. : ०९३....
उमेर : ४७ वर्ष 
ठेगाना : ....नवलपरासी 

 

रञ्जुदेवी चौधरीको पासपोर्टमा कुवेतकोे घरेलु कामदारको भिसा थियो । उनी सन् २०१५ मा भारत र श्रीलंका हुुँदै कुवेत पुर्‍याइएकी रहिछन् । दुई महिनाअघि अर्थात् ७ डिसेम्बर २०१७ मा मात्र छुुट्टीमा उनी नेपाल आएकी । उनीसँग नेपाल सरकारको श्रम स्वीकृति थिएन । 

 

यता नेपाल सरकारले उनी आउनुभन्दा आठ महिनाअघि अर्थात् अप्रिल २०१७ देखि नै खाडी मुलुकमा घरेलु कामदारको भिसामा जाने नेपाली महिलालाई सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास/नियोगबाट ‘नो अब्जेक्सन लेटर’विना श्रम स्वीकृति र प्रस्थान अनुमति नदिने निर्णय गरेको थियो । तर, रञ्जुदेवीको पासपोर्टमा भने हालसम्म कुनै पनि श्रम स्वीकृति नै थिएन । निरक्षर उनी अध्यागमनसम्बन्धी कानुनी प्रावधानबारे पूर्ण रूपमा अनभिज्ञ थिइन् । ‘कसरी श्रम स्वीकृतिविना नै कुवेत हिँड्नुभयो त दिदी ?’ ‘मेनपावरमा काम गर्ने गाउँकै एकजना भाइ छ । ज्वाइँले ऊसँग कुरा गर्नुभयो अनि म कुवेतबाट छुट्टीमा आएँ । कुवेत फर्किन मिलिहाल्छ भन्यो ।’ निर्धक्क जवाफ थियो । ‘अनि श्रम स्वीकृति नलिई कुवेत जानुभयो भने तपाईंलाई त्यहाँ समस्या पर्‍यो भने उद्धार गर्ने कोही हुँदैन नि त ।’ ‘त्यसो भए ठीकै छ बैनी, जान मिल्दैन भने म जान्नँ नि त ।’ उनको अनुहारमा न जान नपाएको चिन्ता थियो, न अब के होला भन्ने डर । म छक्क परेँ । 

 

हामीले वरिष्ठ अध्यागमन अधिकृत भीम पोखरेलसँग छलफल गरी उनलाई प्रस्थान अनुमति दिन नहुने निर्णय गर्‍यौँ । र रञ्जुदेवीलाई किन प्र्र्रस्थान अनुमति नदिइएको भन्नेबारे जानकारी गराई पत्र दियौँ । उनले यो कुरालाई अत्यन्तै सहजताका साथ ग्रहण गरिन् । त्यतिवेलासम्म रातको १०:३० भइसकेकोे थियो ।

 

डिपार्चरका अधिकांश साथीहरू निस्किए । मञ्जुदेवीलाई कहाँ जानुहुन्छ भनेर सोधेँ । उनले छोरीलाई फोन गरेर ज्वाइँलाई लिन पठाउन भनिन् । मैले उनीसँग फोन मागेर उनकी छोरीलाई सबैकुरा जानकारी गराएँ । अरू यात्रुजस्तै उनका पनि कोही न कोही आफन्त यहाँ होलान् भन्ने लाग्यो । त्यसपछि उनी त्यहाँबाट निस्किइन् । 

 

सबै काम सकेर घर फर्किन लाग्दा ११:३० भएको हुँदो हो । पार्किङस्थलतर्फ जान लाग्दा रञ्जुदेवी अझै त्यहीँ नै पो रहिछन् । डिपार्चरका सबै साथी बाटो लागे । अब त्यहाँ चुडामणि अपागाईं सर र म मात्र थियौँ । मैले नजिकै गएर सोधेँ, ‘दिदी ! हजुर एक्लै यहीँ हुनुहुुन्छ ? अनि कोही लिन आउनुभएन ?’ ‘तपाईंले मेरो छोरीलाई फोन गरिदिएपछि ज्वाइँको फोन आएको थियो । ज्वाइँ आउँदा ढिलो हुन्छ रे ! त्यतिन्जेल म यहीँ बस्छु । उहाँ आएपछि गइहाल्छु बैनी, चिन्ता गर्नुपर्दैन ।’ उनले मेरो चिन्ता बुझेर जवाफ दिइन् । 

 

माघको कठ्यांग्रिने जाडो, मध्य रात, शरीरमा गर्मी महिनामा लगाउने एकसरो लुगा छ । एउटा पातलो पछ्यौरा ओढेकी छिन् र नचिनेको अन्जान सहरको एयरपोर्र्टको चिसो भुइँमा चप्पल ओछ्याएर बसेकी छिन् । हामीले सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा पटक्कै थिएन । 

 

उनलाई त्यही हालतमा छाडेर हिँड्न पटक्कै मन लागेन । उनको ज्वाइँको नम्बर मागेँ र फोन गरेँ । उनी काठमाडौंमा नै होलान् भन्ने ठानेको थिएँ । उनी त आफूले चलाउने गरेको ट्रकमा रञ्जुदेवीलाई एयरपोर्ट पुर्‍याएर एयरलाइन्सले बोर्डिङ पास दियो भनेपछि नवलपरासीतिर फर्केछन् र मुग्लिङ पुगिसकेका रहेछन् । उनी ट्रक मुग्लिङमै राखेर सार्वजनिक बस चढेर काठमाडौं आउँदै रहेछन् । उनी काठमाडौं आइपुग्दा रातभर लाग्ने पक्का थियो । त्यसैले मैले रञ्जुदेवीलाई कुनै होटलमा बस्ने व्यवस्था गर्छौं, तपाईं उहाँलाई सम्पर्क गरेर बिहान लिएर जानुहोला भनेँ । 

 

चुडामणि सर यस्ता केसहरूमा सधैँ अत्यन्तै संवेदनशील व्यक्ति । हामी दुईजनाले सल्लाह गर्‍यौँ र रञ्जुदिदीलाई एयरपोर्टनजिकैको सयपत्री होटलमा लग्यौँ । हामीले रञ्जुदिदीलाई कोठामा पुर्‍यायौँ । उनलाई खर्च छ कि छैन दिदी ? भनेर सोधेको अत्यन्तै जोसका साथ हतार–हतार एकै सासमा उत्तर दिइन्, ‘छ बैनी, मसँग जति पनि पैसा छ, एक हजार छ, पुग्छ ।’ यो उनको हामीसँग पैसा नलिने बहाना थियो । फेरि म उनीप्रति नतमस्तक भएँ । त्यतिवेला पैसा तिर्ने ठाउँ बन्द भएकाले हामीले होटलको पैसा तिर्न पाएनौँ । उनका ज्वाइँ आएर तिरे ठिकै छ, नत्र रञ्जुदिदीको खाएको, बसेको खर्च भोलि हामी आएर तिर्छौं भन्यौँ र दिदीलाई कुनै समस्या भए जुनसुकै वेला हामीलाई फोन गर्न अनुरोध गरेर त्यहाँबाट निस्कियौँ । घर पुग्दा झन्डै रातको १ बजेको थियो । घर पुगेपछि पो झसंग भएँ, १८ महिनाको दुधेबालक मलाई कुरिरहेको थियो ।

 

मैले उनकी छोरीलाई फोन गरेर आमाको बारेमा फेरि जानकारी गराएँ । भोलिपल्ट बिहान उठेर रञ्जुदिदीलाई फोन गरेँ । उनी गोंगबु बसपार्कमा पुगिसकेकी थिइन् । उनकी छोरीले टिकट काटिदिने व्यक्तिमार्फत उनलाई होटलबाट घरसम्म पुर्‍याउने व्यवस्था गरिछन् । मैले रञ्जुदिदी घरमा नपुगुन्जेल फोन गरिरहेँ । दिउँसो ४ बजेतिर घरमा पुगेर फोन आएपछि म ढुक्क भएँ ।

 

०७३
नाम : चन्द्रकुमारी गुरुङ (नाम परिवर्तन) 
उमेर : २९ वर्ष

दिउँसोको ड्युटी थियो । एओ (अराइभल अफिसर)को रूपमा खटिएकी थिएँ । त्यो दिन एओ कक्षमा अत्यन्तै भिडभाड थियो । विभिन्न देशका शंकास्पद यात्रुहरूलाई अनुसन्धान गरी फिर्ता पठाउने हतारो थियो । एयर अरेबियाका कर्मचारीले एकजना महिला यात्रु लिएर आए । चन्द्रकुमारी गुरुङको (नाम परिवर्तन) पासपोर्टअनुसार उमेर २९ वर्ष । काखमा ८–९ महिनाको नानी बोकेकी थिइन् । कुवेतबाट आएकी उनी नेपालबाट भने तीन वर्षअघि गएको देखिन्थ्यो । कुवेतस्थित नेपाली दूतावासको सहयोगमा बच्चाको ट्राभल डकुमेन्ट बनाई उनी नेपाल आइपुगिन् ।

 

त्यस दिनपछि निराले आफ्नो इज्जत मात्र गुमाइनन्, मानसिक अवस्था पनि गुमाइन् । उनको यो अवस्थाबाट अनभिज्ञ उनकी आमा छोरीले कहिले तलब बुझेर पैसा पठाउली र ऋण तिरौँला भनेर कति कुरेर बसिहोलिन् !

 

नेपालबाट कति सपना बोकेर गएकी थिइन् । अफसोच ! काम गर्ने घरको साहु, उसका साथीहरूबाट हरेक दिन यौनहिंसाको सिकार भइरहिन् । उनी पटक–पटक त्यहाँबाट निस्किन खोजिन् । तर, कुवेतजस्तो मुलुकमा एउटी अनपढ युवती कसरी छिचोल्न सकून् । त्यहीँमाथि उनको पासपोर्ट उनीहरूकै कब्जामा हुन्थ्यो । जब उनी गर्भवती भइन् र बच्चा जन्माइन्, कोही बाबु स्वीकार गर्न तयार हुने गुञ्जायस नै थिएन । त्यसपछि मात्र उनलाई त्यहाँबाट निस्किने छुट दिइयो । तबसम्म हरेक दिनको मृत्युबराबरको पीडाले उनी मानसिक रूपमा असामान्य भइसकेकी थिइन् ।

 

चन्द्रकुमारीको अनुहारमा सामान्य मानिसको जस्तो भावभंगी पटक्कै थिएन । बच्चालाई यसरी समाइरहेकी थिइन्, मानौैँ उनी कुनै पुतली लिइरहेकी छन् । त्यो अबोध बालक वेला–वेलामा आमाकोे छातीतर्फ मुख लैजान्थ्यो, तर आमालाई त्यसको कुनै असर थिएन । कतिसम्म भने बच्चाले भोक लागेर रुँदासमेत उनी केही थाहा नपाएजसरी बसिरहन्थिन् । मैले ‘हजुुरको दूध आउँछ ?’ भनेर सोधेँ । उनले मुन्टो हल्लाइन् । ‘त्यसो भए त्यहाँभित्र गएर आरामले बच्चालाई दूध खुवाउनुस् न बैनी, नानी खुब भोकाएजस्तो छ’ भनेँ । उनले विनासंवेदना त्यसै गरिन् । उनी कुनै पनि कुरा स्पष्ट भन्न सक्दिनथिन् । यद्यपि उनका भने आफन्त उनलाई लिन आएका रहेछन् । सुरक्षाकर्मीको सहयोगमा आफन्तको जिम्मा लगाएपछि भने ठूलो राहत महसुस भयो । यद्यपि उनको यादले दुख्न भने आजसम्म छाडेको छैन ।

 

०७३
नाम : निर्जला राई (नाम परिवर्तन)
ठेगाना : दार्जिलिङ

ए–६ मा ड्युटी थियो । एकजना दिदी मेरो डेक्समा आइन् । उनीसँग हातले लेखिएको पासपोर्ट थियो । मेसिनमा राख्नेबित्तिकै थाहा भयो त्यो पिसी अर्थात् फोटो चेन्ज गरिएको पासपोर्ट हो । मैले दोहोर्‍याएर नाम सोधेँ । उनी अकमकाइन् र पासपोर्टमा भएको नाम भनिन् । मैले वास्तविक नाम भन्न अनुरोध गरेँ । त्यसपछि उनको बारेमा अराइभल अफिसरलाई जानकारी गराई थप अनुसन्धान गर्न अराइभल कक्षमा लगेँ ।

 

निर्जला राई (नाम परिवर्तन) दार्जिलिङकी स्थायी बासिन्दा थिइन् । सोझी, निर्दोष अनुहार । भक्तबहादुर नाम गरेका एकजना दलालले उर्मिला क्षेत्री श्रेष्ठ नामको पासपोर्टमा उनको फोटो टाँसेर दुबई पठाउने भनी भारतको दिल्ली हुँदै सिरिया पुर्‍याएका रहेछन् । 

 

सिरियामा उनी घरभित्र मात्रै बसेर काम गर्नुपथ्र्यो । बाहिर निस्किन प्रतिबन्ध लगाइएको थियो भने पासपोर्ट साहुको कब्जामा थियो । ४ वर्षदेखि एउटै घरमा थुनिएर काम गरेकी उनले पटक–पटक घर जान छुट्टी मागिन्, तर पाइनन् । छोरीको विवाहमा समेत उनलाई आउन दिइएन । त्यसपछि निर्जलाले घर फर्किन पाउने आशा मारिसकेकी थिइन् । तर, छोरीका श्रीमान्को मृत्युकोे खबर भने उनले सहनै सकिनन् र घर फर्किने ढिपी लिइन् । धेरै दिनको लडाइँपछि उनलाई पासपोर्ट उपलब्ध गराइयो । 

 

तर, अर्कै व्यक्तिको पासपोर्टमा आफू विदेश गएको थिएँ भन्ने उनलाई जानकारी नै रहेनछ । दलालले ‘कसैले नाम सोधे उर्मिला क्षेत्री श्रेष्ठ भन्नू’ भनेको रहेछ । त्यसपछि घर छोडेदेखि नै उनले आफ्नो नाम उर्मिला नै बताइन् । सिरियामा पनि उनलाई उर्मिला नै भनेर बोलाइन्थ्यो । तर, त्यही नामकै कारण आफूले सास्ती भोग्नुपर्छ भन्ने उनले कल्पनै गरिनन् । जब भारत जान खोज्दा नेपाल किन ल्याइयो भनी एयरलाइन्समा सोधपुछ गरिन्, बल्ल थाहा पाइन् कि उनी यात्रा गरिरहेको पासपोर्ट उनको नभई अरू कसैको हराएको पासपोर्ट हो । 

 

यत्तिका वर्षपछि छोरीलाई सान्त्वना दिन आएकी उनी सीधै छोरीकहाँ जान पाइनन् । उनलाई थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाउनेबाहेक हामीसँग कुनै विकल्प थिएन ।

 

६ फागुन ०७४
तीनजना महिलाहरूलाई एयर अरेबियाको उडानमा दुबईबाट फिर्ता ल्याइयो । मंगिरा रजभार्र (२० वर्ष), नवलपरासी, मनकुमारी चौधरी (४५),नवलपरासी, अजिता सुनार(२५), कास्की । उनीहरू तीनैजनालाई दुई दिनअगाडि मात्र कुवेत पठाउने भनी दिल्ली, ओमान हुँदै दुबई पठाइएको थियो । त्यहाँबाट कुवेत पठाउन लागिएकोमा कुवेतको भिसा नै नभएकाले नेपाल फिर्ता पठाइएको थियो । ती तीनजना महिलालाई एकै किसिमले उही नाकाबाट गैरकानुनी तरिकाले अवैध बाटो प्रयोग गरी बेचबिखन गरिएको थियो । हामीले उनीहरूलाई पौरखी नेपाल नामक एनजिओको जिम्मा लगायौँ । उनीहरूको पासपोर्ट भने थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइयो ।

 

                                      ०००

 

माथि उल्लेख गरिएका व्यक्ति र उनीहरूले भोगेका हन्डरहरू प्रतिनिधि पात्र र घटना मात्र हुन् । नेपालको अध्यागमनका विभिन्न नाकामा र विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिनजसो यस्ता गम्भीर मुद्दाहरू आउने गर्छन् ।

 

नेपालका ४० लाखभन्दा बढी युुवा वैदेशिक रोजगारको सिलसिलामा झन्डै १२८ भन्दा बढी मुलुुकमा छन् । तीमध्ये मुख्य रूपमा मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेत गरी पाँच राष्ट्रले सन् २०१८÷१९ सम्म नेपालको कुल श्रम आप्रवासनको ८८ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसैगरी जम्मा ८.५ प्रतिशत महिला श्रमिक वैदेशिक रोजगारमा रहेकोमा उक्त संख्याको जम्मा ७७ प्रतिशत महिला मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेत गरी तिनै पाँचवटा मुलुकमा कार्यरत छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले दैनिक दश हजारभन्दा बढी यात्रुको आवागमन व्यवस्थापन गर्छ । तीमध्ये मनमाया तामाङ, रञ्जुदेवी चौधरी, चन्द्रकुमारी गुरुङजस्ता गम्भीर समस्या पनि दिनहुँ आइरहन्छन् । यद्यपि हालसम्म त्यस्ता संवेदनशील महिला, बालबालिका एवं अन्य यात्रुलाई राख्ने सुरक्षित सेल्टर, उपचारको व्यवस्था, पुनर्स्थापना एवं रोजगारको वैकल्पिक व्यवस्थाजस्ता अत्यन्तै महत्वपूर्ण विषयमा राज्यको यथेष्ट ध्यान जान सकेको छैन ।

 

राज्यको सम्पूर्ण अर्थतन्त्रलाई नै प्रभावित पार्न सक्ने, कुल गार्हस्थ उत्पादनको एक चौथाइ हिस्सा ओगटेको विप्रेषणलाई ‘निरपेक्ष आय’को रूपमा मात्र बुझिएको छ । वार्षिक बजेटभन्दा ठूलो आकारमा व्यापार घाटा भएको मुलुकको १० महिना धान्ने विदेशी मुद्राको भण्डारण अर्थशास्त्रको एउटा शब्दावली ‘विप्रेषण’ले गरेको होइन । उक्त विदेशी डलरको भण्डारको सटही दसौं हजार छोरीहरूको इज्जत, लाखौँ युवाहरूको रगत, पसिना र सपना, हजारौँ आमाका सन्तानहरूको कफिनसँग भएको हो ।

 

हुन त यो सबै अवस्थाको तत्कालीन जिम्मेवार कुनै अमुक व्यक्ति या निकाय या सरकारजस्तो देखिए पनि अन्तर्यमा यो विषय उत्पादन प्रणाली र उत्पादन सम्बन्धसँग जोडिएको छ । दलाल पुँजीवादी उत्पादन प्रणाली र सम्बन्ध भएको अर्थराजनीतिसँग योभन्दा बढी अपेक्षा गर्नु अज्ञानताबाहेक केही हुँदैन । पुँजीवादको एक मात्र सौन्दर्य नै ‘नाफा’ हो । श्रमिकलाई कमभन्दा कम ज्याला दिँदा मात्र उसको नाफा बढ्दै जान्छ । जुन व्यवस्थाले मान्छेको ‘जीवन’भन्दा उसको मृत शरीरबाट बिक्री हुने अंगहरू (आँखा, किड्नी, कलेजो)मा बढी ‘फाइदा’ देख्छ, त्यस्तो व्यवस्थामा ‘मानवता’, ‘श्रमिक’, ‘पसिना’को के ‘मूल्य’ हुन्छ र ? यस्तो डरलाग्दो प्रणालीको विकल्प स्थापित नहुँदासम्म श्रमिकले न आफ्नो पसिनाको मूल्य प्राप्त गर्न सक्छन्, न त सम्मानित जीवन नै बाँच्न पाउनेछन् । त्यसैले फेरि एकपटक भन्ने वेला आएको छ, ‘संसारका मजदुर एक होऔँ ।’