• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रेया योञ्जन
२०७८ बैशाख १८ शनिबार ०८:२९:००
समाज

मजदुरको मुस्कान जब मालिकको मसिन बन्छ

२०७८ बैशाख १८ शनिबार ०८:२९:००
श्रेया योञ्जन

‘पुँजीवादले महिलाको घरेलु श्रमको ज्याला नदिई मायाको आवरण स्थापना गरेर एउटै तिरले दुइटा चरीलाई घायल पारेको छ’

 

के हो इमोसनल लेबर ?

 

पछिल्लो समय यदाकदा सुनिने शब्द हो,‘इमोसनल लेबर ।’ यसबारे नेपालमा गम्भीरतासाथ अध्ययन र बहस भएको खासै पाइन्न । कामको मागअनुरूप आफूभित्रको भावनालाई व्यवस्थापन गरी कार्यस्थलका लागि चाहिने उचित वातावरण निर्माण गर्नुलाई नै भावनात्मक श्रम वा ‘इमोसनल लेबर’ भन्ने गरिन्छ । सेल्स पर्सनले धनी ग्राहक देख्दा आफूभित्र उब्जिने ईष्र्या भाव दबाएर मुस्कुराउनु भावनात्मक श्रम हो । त्यस्तै वकिलले जस्तोसुकै गम्भीर आरोप लागेको अभियुक्तको पनि कुरा ध्यानपूर्वक सुनिदिनु भावनात्मक श्रम हो । तसर्थ भावनात्मक श्रम जुनसुकै ठाउँमा हुन सक्छ । आफ्नो वास्तविक भावनालाई दबाएर अर्को भावना अपनाउनुपर्ने कामलाई नै हामी ‘इमोसनल लेबर’ वा भावनात्मक श्रम भन्न सक्छौँ । 

 

इमोसनल लेबरजस्तो श्रम र श्रमिकबीचको सम्बन्धको पहिचान गर्ने अति आवश्यक अवधारणाको गलत व्याख्या गरेर यसको मूल कुरालाई नै अस्पष्ट पार्नु श्रमिक वर्गको हितमा छैन र हुँदैन पनि । यो अवधारणा श्रमिक वर्गका लागि अति आवश्यक छ ।

 

यस प्रकारको श्रमको सबैभन्दा पहिला पहिचान गरी व्याख्या गर्ने व्यक्ति हुन् अमेरिकी समाजशास्त्री आर्ली होच्स्चायाल्ड । उनले यो शब्दको प्रयोग सन् १९७९ मा आफ्नो पुस्तक ‘द म्यानेज्ड हार्ट’ मा गरेकी छिन् । पुस्तकका अनुसार भावनात्मक श्रमको प्रयोग हरेक काम, कार्यस्थलमा केही न केही रूपमा देखा पर्ने गर्छ । सेल्स वुमन ईर्ष्या भाव दबाएर मुस्काउँछिन् । जस्तोसुकै विपत्मा पनि विमानका चालक दलका सदस्यहरू यात्रुहरूलाई जतिसक्दो शान्त राख्न खोज्छन् । शिक्षकहरू बच्चाहरूसँग जति नै चिढिए पनि केही नभएझैँ गरी पढाउन बाध्य हुन्छन् । यस्तो अवस्था सबै काममा धेरै थोरै अन्तरनिहित हुने भएकाले कुनै एउटामा मात्रै खोज्न नमिल्ने होच्स्चायाल्ड लेख्छिन् ।

 

केही समययता भने यो शब्दको प्रयोग इन्टरनेटमा व्यापक हुँदै गएको पाइन्छ । करिब तीन दशकपछि यो शब्दले एक्कासि इन्टरनेटको महिलावादी सर्कलमा अखडा नै जमाएको देखिन्छ । पश्चिमा मुलुकका महिलावादीहरू प्रायः नयाँ–नयाँ रूपमा भावनात्मक श्रमको विश्लेषण गरिरहेका हुन्छन् । उनीहरूमध्ये कोही भन्छन्, ‘महिलाले गर्ने अदृश्य काम, जसको कहिल्यै हिसाबकिताब राखिँदैन । तर, जन्मदिन सम्झिने, जन्मदिनको उपहार रोज्ने, घरको आवश्यक सामानहरूको लिस्ट बनाउने, एनिभर्सरी सम्झिने सबै काम महिलाको भागमा पारिन्छ ।’ कोही भन्छन्, ‘जुन कामले घर, समाज र पूरै दुनियाँ सजिलै चलाएको हुन्छ, त्यही अदृश्य कामको मूल्य हुँदैन ।’ कोही भन्छन्, ‘सबै मूल्यहीन काम महिलाको थाप्लोमा जन्मजात थुपारिएको छ ।’ धेरैले इमोसनल लेबरलाई आआफ्नै तरिकाले व्याख्या गरेका छन् । झट्ट हेर्दा यी व्याख्याहरू उपयुक्त लाग्न सक्छ, तर समाजशास्त्री होच्स्चायाल्डले अघि सारेका मुख्य अवधारणासँग भने यी व्याख्याहरू मेल खाँदैनन् ।
‘एटलान्टिक’ म्यागजिनको पछिल्लो अन्तर्वार्तामा होच्स्चायाल्ड भन्छिन्, ‘यी सबै नयाँ व्याख्याहरू घरायसी काममा केन्द्रित भएका बहसहरू हुन् । दिनहुँ गर्ने घरको काममा श्रम लाग्ने भए पनि ती सबै काम भावानात्मक श्रम भने होइन । जन्मदिन सम्झिनु मानसिक श्रम भयो । मन नलाग्दा नलाग्दै घरेलु कामहरू गर्नुपर्दा केही न केही रूपमा भावनात्मक श्रम लागे पनि त्यो पूर्ण रूपमा भावानात्मक श्रम भने होइन ।’ सामान्यता महिलाले गर्ने सबै घसायसी काम इमोसनल लेबरभित्र नपर्ने उनको भनाइ छ । 

 

महिलाको भागमा पर्ने घरायसी कामको पहिचान गरी त्यसको पारिश्रमिक दिनुपर्छ भन्ने बहस नयाँ होइन । सिल्भिया फेडेरिकी र मारिएरोसा डाल्लाकोस्टालगायत समाजवादी महिलावादीले सन् १९७० कै दशकमा इटलीमा यस विषयमा आन्दोलन नै गरेका थिए । फेडेरिकी आफ्नो पुस्तक ‘वेजेज् फर लेबर’ मा लेख्छिन्, ‘पुँजीवादले महिलाको घरेलु श्रमको ज्याला नदिई मायाको आवरण स्थापना गरेर एउटैतिरले दुइटा चरीलाई घायल पारेको छ ।’

 

तेस्रो विश्वका मजदुरहरू न्यूनतम ज्यालामा मजदुरी गरिरहँदा भावनात्मक श्रमको यो धुमिल व्याख्या भने अझै धुमिल बनाइँदै छ । यसरी थुप्रै शब्दहरूको व्याख्या इन्टरनेटबाट विकृत बनाउँदै व्यक्तिगत स्थितिमा मात्र लागू हुने गरी विश्लेषण गर्नु मध्यम वर्गीय पश्चिमा महिलावादीहरूको वर्गचेत हो । इमोसनल लेबरलाई इन्टरनेटको दुनियाँमा जे–जस्तो व्याख्या दिए पनि यसलाई गम्भीर रूपमा लिनु अति नै आवश्यक छ ।

 

भावनात्मक श्रम आफैँमा नराम्रो नभए पनि मानिसका नितान्त व्यक्तिगत फिलिङ्सहरूलाई पनि उपभोग्य वस्तुमा परिणत गर्दा यसका परिणाम गम्भीर हुन्छन्

 

वर्गीय लेन्सबाट हेर्दा यस प्रकारको श्रममा खासगरी तल्लो तहका मजदुरहरू बढी देखिन्छन् । समाजमा उत्पादनका प्रणालीहरू परिवर्तन हँुदै जाँदा सामुदायिक क्षेत्रहरू निजीकरण भए । समुदायमै हुने हेरचाह, ओखतीमूलोलगायत कामहरू पनि अब आर्थिक कारोबार हुने हस्पिटलहरूमा हुन थाल्यो । यसले भावनात्मक क्षेत्रको ठाउँमा आर्थिक क्षेत्र हाबी भयो । त्यस्तो ठाउँमा पनि सेवाग्राहीले भावनात्मक कार्यको अपेक्षा गर्न थाले । भावनात्मक काम अफिसको माथिल्लो तहमा बस्नेहरूमा होइन, रिसेप्सनिस्ट, असिस्टेन्टजस्ता कम तलबमा काम गर्ने मजदुरहरूमा थोपरियो । नर्सिङ पनि बढीभन्दा बढी भावनात्मक श्रमको प्रयोग हुने पेसा हो । कोरोनाजस्ता महामारी र अन्य जटिल रोगव्याधी सर्ने भय हुँदाहुँदै पनि सबै भावनाहरू पन्छाउँदै नर्सहरू आफ्नो कर्तव्य पूरा गर्न डटिरहेका हुन्छन् । प्राथमिक तहका शिक्षकहरू, डे केयर सेन्टरका कामदारहरू, घरेलु कामदारहरू पनि आफ्नो वास्तविक भावनालाई दबाएर काम गरिरहेका हुन्छन् । मजदुरहरू त्यसरी भावना दबाएर काम गर्दागर्दा त्यसैमा अभ्यस्त भई आफ्नो वास्तविक भावना र वनावटी भावना नै छुट्याउन नसक्ने अवस्था पुग्छन् भनेर होच्स्चायाल्डले
भनेकी छिन् । 

 

पुँजीवादी समाजमा सबै कुराको निजीकरण र वस्तुकरण भइरहेको छ । त्यसमा बढीभन्दा बढी उपभोग गर्ने संस्कृति पनि बढिरहेको छ । ज्यादातर महिलाहरू नै व्यावसायिक रूपमा भावनात्मक कार्य गर्नुपर्ने क्षेत्रमा हुन्छन् । सेल्सक्लर्क, नर्स, रिसेप्सनिस्ट आदिमा महिलाको ज्यादा सहभागिता देखिन्छ । भावनात्मक श्रम आफैँमा नराम्रो नभए पनि मानिसका नितान्त व्यक्तिगत फिलिङ्सहरूलाई पनि उपभोग्य वस्तुमा परिणत गर्दा यसका परिणामहरू गम्भीर हुन्छन् । उदाहरणका लागि होच्स्चायाल्ड भन्छिन्, ‘श्रमिकले कार्यस्थलमा न्यानोपनको भावना उत्पन्न गराउन मुस्कानलाई नै उपकरणको रूपमा प्रयोग गरेपछि ऊ र उसको नितान्त व्यक्तिगत भावनाको सम्बन्ध के होला ?’ 

 

मूलतः इमोसनल लेबरको अपेक्षा महिलाबाट हुने गर्छ । त्यसको कारण महिलाहरू धेरैजसो सेवा प्रदान गर्ने काममा भएकाले पनि हुन सक्छ । नेपाल श्रम सर्वेक्षणको तथ्यांकअनुसार ४७ प्रतिशत महिलाहरू मध्यपूर्वी देशमा घरेलु काम गर्न बिदेसिन्छन् । त्यही तथ्यांकअनुसार यस्ता कामदारहरू व्यापक शोषणमा पर्छन् । नेपालभित्रै हेर्ने हो भने काम गर्ने उमेरका महिलामध्ये जम्मा २२ प्रतिशत मात्रै रोजगार छन् । जसमा तीनजनामध्ये एकजना मात्रै ज्यालामा काम गर्छन् । सोही तथ्यांकअनुसार राम्रो तलब, व्यवस्थापकीय तह र टेक्निकल काममा पनि पुरुषकै वर्चस्व छ । महिलाहरूको भागमा उही सेवा प्रदान गर्ने कामहरू नै पर्छन् । नेपालमा लैंगिक विभेद व्यापक छ । महिला र पुरुषमा असमान ज्याला वितरण हुन्छ । त्यसमाथि महिलाहरू सेवा प्रदान गर्ने काममा जोडिएर इमोसनल लेबर चाहिने खालको काममा बढी संलग्न हुन्छन् । उनीहरूले उसै पनि पुरुषको तुलनामा कम ज्याला पाइरहेका हुन्छन् । त्यसमाथि भावनात्मक श्रमलाई श्रम मान्ने चलन छैन । 

 

विदेशमा गएका धेरैजसो महिला कामदार ओभरटाइम काम गर्छन् र त्यो काम गरेबापत उनीहरूले श्रमको कम मूल्य पाउँछन् । शारीरिक, मानसिक र भावनात्मक रूपमा तंग्रिन नपाउँदै उनीहरूको अर्को दिन सुरु हुन्छ । यो चक्र चलिरहन्छ र धेरै श्रमिक यो चक्रबाट मुक्त हुनै सक्दैनन् । एकातिर परिवारबाट टाढिएर बस्नुपरेको छ, अर्कोतिर शारीरिक थकान छ, त्यसमाथि मालिकको सुखसयल जीवनप्रति ईष्र्या, श्रम शोषणप्रति आक्रोश, यस्ता सबै कुरा मिलाएर उनीहरूले श्रम गरिरहनुपर्छ । तसर्थ यस प्रकारका श्रमिकहरू निकै मारमा पर्ने गर्छन् । उनीहरूको भावानात्मक श्रमबारे कतै पनि र कसैले पनि कुरा गर्दैनन् । 

 

इमोसनल लेबरजस्तो श्रम र श्रमिकबीचको सम्बन्धको पहिचान गर्ने अति आवश्यक अवधारणाको गलत व्याख्या गरेर यसको मूल कुरालाई नै अस्पष्ट पार्नु श्रमिक वर्गको हितमा छैन र हुँदैन पनि । यो अवधारणा श्रमिक वर्गका लागि अति आवश्यक छ । आफ्नो भौतिक स्थिति, अधिकार, शक्ति र शत्रुको पहिचान गर्नु श्रमिक वर्गको लडाइँको एक मुख्य पाटो हो । इमोसनल लेबरमा धेरैभन्दा धेरै निम्नवर्गकै छन् । निम्नवर्गका भावानात्मक श्रम गर्ने श्रमिकहरूले आफू कहाँनेर शोषित भएको छ भन्ने पहिचान गरेर संगठित आन्दोलन गर्नुको विकल्प छैन ।