• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दिपा मेवाहाङ राई
२०७८ बैशाख १८ शनिबार १०:३९:००
साहित्य

सपना सफर

२०७८ बैशाख १८ शनिबार १०:३९:००
दिपा मेवाहाङ राई

सपनाको यात्रा कति सकसपूर्ण रह्यो, लेखाजोखा गरिसाध्य छैन

 

तपाईंले महसुस गर्नुभएको छ, जब केही चिज तपाईंको सपना बनेपछि के हुन्छ ? उक्त सपना प्राप्तिका लागि के–के गर्न सकिँदैन भन्ने नहुँदो रहेछ, के–के गर्न सकिन्छ भन्ने मात्रै प्रमुख हुँदो रहेछ । तर, ‘सपना’ परिस्थितिमाथि उभिएर देखिँदो रहेछ । जस्तो परिवेश र परिस्थितिबाट हामी गुज्रिन्छौँ, त्यहीँबाट दुनियाँलाई नियालिँदो रहेछ, त्यहीँबाट ‘सपना’ देखिँदो रहेछ । मैले पनि त्यहीँबाट सपना देखेँ, जहाँ म उभिएकी थिएँ । 

 

मेरो ‘सपना–सफर’को पहिलो यथार्थ दृश्य यस्तो थियो– म चढेको गाडी एउटा घरअघि गएर रोकियो । सानो एकतले घर थियो त्यो । सुरुवातमा त अलमलमा थिएँ, तर उक्त घर पुगेपछि पत्तो पाएँ, त्यो त मैले काम गर्ने कम्पनी पो रहेछ ! मैले काम गर्ने ठाउँ अगाडि फिनेल हाउस थियो । ती फिनेल हाउसको झुन्ड भएको स्थानबाट अलिकति भित्र थियो काम गर्ने ठाउँ । मूल सडकबाट एक किलोमिटरभित्र । सबै आ–आफ्नै कर्ममा लीन थिए । आँखाअघिको दृश्यले मलाई अलमलमा पार्‍यो । एकैछिन त्यहीँ ठिंग भइदिएँ । 

 

दिउँसोको १२:३० । यो समय भने भोजनको रहेछ । सबै भेला भए । परिचयको क्रम चल्यो । कामदार संख्या पाँच, त्यसमा दुई नेपाली, तीन कोरियन । सँगै भोजन गर्‍यौँ । पृथ्वीको अर्को भूगोलबाट अर्कै भूगोल पुगेकी म । नेपालदेखि कोरियासम्मको यात्राले ज्यान फतक्क गलाएको थियो । भोजनपछि साजाङनिमले (साहु) ले भने, ‘आज आराम गर्नुस् तपाईं ।’ म गाडी चढेर आराम गर्न साजाङनिमको भिल्ला प्रस्थान गरेँ ।

 

चाहन्थेँ, जीवनस्तरमा फेरबदल होस् । बलियो छानो भएको घर होस्, सानातिना हुरीले नउडाओस् । चाहन्थेँ, बिरामी पर्दा उपचार गर्न बचत होस् । आमाको फरिया फेर्न सकियोस्, भाइलाई राम्रो स्कुलमा पढाउन सकियोस् । सपनाहरू यस्तै थिए ।

 

साजाङनिमको भिल्ला जाँदै गर्दा आँखाअघि ती दृश्यहरू सरसर्ती आइरहे । यही ठाउँ आइपुग्न मैले के–के गरिनँ ! कति छटपटी र अधैर्यबीच बाँचेँ । बैचैनीले थिचेर कतिपटक ऐंठनमा परेँ । दक्षिण कोरियाको सडकमा गाडी कुदिरहेको थियो, मन नेपालका ती दिनमा कुदिरहेको थियो, आँखा आँसुका छिपछिपे भिजाइहरूमा बगिरहेको थियो । आँखालाई बग्न दिइरहेँ, गाडी कुदिरह्यो । 

 

कोरियाको माटोलाई पाइतालाले छुनु मेरो सपनाको पहिलो दृश्य थियो । कुनै भूगोलको माटो टेक्नु कोही कसैको सपना किन बन्छ ? मेरो मुलुकका नेताहरूले जानून् । मेरो मुलुकको राजनीतिले जानोस् । कुनै अर्को मुलुक पुगेर श्रम गर्नु किन कोही कसैको सपना बन्छ ? मेरो मुलुकको लुछाचुँड र राजनीतिक खिचतानीले जानोस् । बेरोजगारीको लामो शृंखला निर्माण गरेर त्यसमाथि मुनाफा देख्नेहरूले जानून् । 

 

कोरिया टेक्नुअघि नेपालका ती दिन झेलिरहेकी थिएँ, जुन दिनहरूमा मभित्रको धैर्यताको बाँध भत्कन लागिसकेको थियो । इपिएस भाषा पास गरेको महिनौँ गुज्रिसकेको थियो । तर, भिसा झरेको थिएन । अस्पतालको जागिर थियो, राजीनामा पत्रमा दस्तखत गरिसकेकी थिएँ । उता भिसाको प्रक्रिया फिटिक्क अगाडि बढेको थिएन । 

 

उकुसमुकुस थियो । अन्यालमा रुमल्लिन थालेकी थिएँ । अस्पतालै फर्कौं कि ! नसोचेको पनि होइन । तर, फर्किनु कसरी ? अर्कै यात्रामा निस्किन तम्तयार बसेको मलाई मेरो अहंले बाटो छेक्थ्यो । आत्मस्वाभिमानको अजंगको पर्खाल उभिन्थ्यो । फेरि अस्पतालको कमाइ, के नै होला र ! मानिस हुनुको नाताले केही थोक चाहना थिए, केही थान रहर पनि थिए मसँग । चाहन्थेँ, दैनिकी बदलियोस् । चाहन्थेँ, जीवनस्तरमा फेरबदल होस् । बलियो छानो भएको घर होस्, सानातिना हुरीले नउडाओस् । चाहन्थेँ, बिरामी पर्दा उपचार गर्न बचत होस् । आमाको फरिया फेर्न सकियोस्, भाइलाई राम्रो स्कुलमा पढाउन सकियोस् । सपनाहरू यस्तै थिए । यस्तै खुद्रा सपनाले हरियो पासपोर्ट बनाउन उत्प्रेरित गरेको थियो ।

 

सम्भवतः यो अघाउनेहरूको भासा हुन्छ, ‘मुलुकमै बसेर केही गर्नुपर्छ ।’ उनीहरू भोकाउनेको भोकमाथि ठुल्ठूला थेसिस लेख्लान्, तर भोकको आगो महसुस गर्न सक्दैनन् । जो भोको छन्, उनीहरूलाई सोध्नू, मुलकमा बसेर के गर्न सकिन्छ, के गर्न सकिँदैन । सायद, जवाफ आउनेछ, ‘भोक मेटाउन सकिँदैन ।’ 

 

भिसाको टुंगो नलागेकाले यता छटपटी बढिरहेको थियो, उता अन्योलले ग्रसित हुँदै गएकी थिएँ । बरु अरू कुनै मुलुक पो अप्लाई गरूँ कि ? नसोचेको होइन । साथीहरू, आफन्त भन्थे, ‘पोल्यान्ड जाऊ, राम्रो हुन्छ ।’ त्यस वर्षको सेप्टेम्बरमा आवेदन खुल्नेवाला थियो । महिना दिन मात्रै बाँकी हुँदो हो । म जम्माजम्मी पर्खाइमा थिएँ, प्रतीक्षामा थिएँ ।

 

भोलिपल्ट एकजना साथीको म्यासेज आयो, कोरियाका लागि भिसाको प्रक्रिया सुरु भएछ । दुई वाक्य म्यासेजले मभित्र तरंग पैदा गर्‍यो । पुलकित भएँ । हावाले निभाउन लागेको टुकीलाई कसैले अँजुलीले छेकेर जोगाएको अनुभूति भयो । खुसी चुलियो हिमालजस्तै । उत्साह र ऊर्जा थपियो आँधीजस्तै । अघिल्लो दिनसम्म अन्योलग्रस्त म एकै निमेषमा स्पष्टतामा बदलिएँ ।

 

त्यसैको भोलिपल्ट भिसा इस्यु हुनु, बेलुका लेबर कन्ट्राक्ट आउनु, हप्तादिनमै सिसिभी (सर्टिफिकेट फर कन्फरमेसन अफ भिसा इस्यु) आउनु र दुई हप्तामै फ्लाइटको सेड्युअल आउनु । यो सबै घटनाक्रम मेरा लागि कल्पनाबाट उडेर यथार्थमा सपनाको अवतरण हुनु थियो । यो सबै भ्रम थिएन । किनभने मसँग सबुत थियो– काठमाडौं टु इन्च्योन लेखिएको टिकट ।

 

केही थान रहर, केही जिम्मेवारी, धेरै सपनाको रित्तो लगेज अनि म । यति नै थिए, मसँग कोरियन एयरलाइन्सको जहाजमा । मसहित एक सय पचासजनाको सपना बोकेर त्रिभुवन एयरपोर्टको धावनमार्ग छाडेको थियो जहाजले । हजारौँ किलोमिटरको सफर, मनमा डर अनि कुतुहलता अनि आँखामा अनिद्रा । 

 

आकाश यात्राको ६ घन्टापछि कोरियाको माटोमा जहाज स्थिर भयो । मेरो मन भने अस्थिर । नयाँ परिवेश, नयाँ ठाउँ । बडेमानको जहाजबाट सपनाहरूको लगेज बोकेर ओर्लिएँ । चेकजाँचले धेरै समय खाइदियो । सबै मातृभाषामा बोल्दा रहेछन्, भाषाले पनि जटिलता थपिदियो र समय लिइदियो । हामीलाई ट्रेनिङ सेन्टरसम्म पुर्‍याउन गाडीको व्यवस्था रहेछ, त्यसले हल्का सहज महसुस भयो ।

 

६ घन्टाको यात्राले ह्यांगरबाट झिकेर फ्यात्त फालेको कपडाजस्ती भएकी थिएँ । सँगै गएका साथीहरू पनि सुस्ताएका थिए । गाडीमा जाँदै गर्दा कतिवेला निदले छोपेछ, भुसुक्क भएछु । ट्रेनिङ सेन्टरअघि बस रोकिँदा मात्रै मेरो स्वप्न आँखा खुले । तीन दिनसम्म ट्रेनिङ चल्यो । तेस्रो दिन कम्पनीको म्यानेजर आए । हामी सबै आ–आफ्नो कम्पनीतिर लाग्यौँ, फेरि भेट्ने वचनसहित ।

 

साजाङमिनको भिल्ला जानुअघिका मेरा सफर–वृत्तान्त यति नै हुन् । सपनाको पहिलो दृश्य र प्रसव यति नै थिए । तर, खास सपनाको सफर बाँकी नै थियो । पहिलो दिन त साजाङमिनले आराम गर्नु भने । अरू दिन आराम होइन, सिर्फ काम थियो । त्यो पनि विश्वास दिलाउन सक्ने काम । म आफूलाई प्रमाणित गर्ने काम । कम्पनी पुगेको दोस्रो दिन, मेरो पहिलो काम सुरु भयो । कामको पहिलो दिन भएकाले साजाङमिन पनि सँगै काममा थिए । डराएर, हडबडाएर हुने केही थिएन । जम्माजम्मी विषय पसिनाको मात्राको थियो, कति खसाउन सकिन्छ । चार वर्ष १० महिना टिक्न सक्छु भन्ने प्रमाण पनि पेस गर्नु थियो । 

 

भोलिपल्ट घाम त्यसैगरी उदायो । म ब्युँझिएँ पनि, तर ज्यान टसमस भएन । हातका औँला सुन्निएका थिए, मुठी कस्नसमेत सकिनँ । आमाको यादले बेस्सरी अँठ्यायो । आमाको अँगालोले सतायो । आमा सम्झिनासाथ रुन मन लाग्यो । खुब रोएँ ।

 

घाम उदाएको थियो, अस्तायो पनि । यसबीचमा जसोतसो काम गरियो । थकानले फतक्क गलेकी थिएँ, कतिखेर निदाएँ पत्तै पाइनँ । भोलिपल्ट घाम त्यसैगरी उदायो । म ब्युँझिएँ पनि, तर ज्यान टसमस भएन । हातका औँला सुन्निएका थिए, मुठी कस्नसमेत सकिनँ । आमाको यादले बेस्सरी अँठ्यायो । आमाको अँगालोले सतायो । आमा सम्झिनसाथ रुन मन लाग्यो । खुब रोएँ । 

 

तर, त्यहाँ आँसु होइन, पसिना चाहिएको थियो । त्यहाँ भावना होइन, मेरो श्रम चाहिएको थियो । काममा जानैपर्थ्यो, गएँ । बिस्तारै दिनहरू यसरी नै सकिँदै गए । दिनहरू जसोतसो गुज्रिन्थे, साँझ बिछ्यौनामा शरीर लम्पसार पथ्र्यो । नरम ओछ्यानले समेत बिझाउँथ्यो । प्रत्येक कोल्टे फेराइमा मुखबाट ‘आइया’ निस्कन्थ्यो । तर, यस्तो कठिनाइ मेरो मात्रै थिएन, बिदेसिएका सबै नेपालीको थियो । जो सपनाको खोजमा कहाँ हो कहाँ पुगेका थिए ।

 

घडीको सुई घुमिरह्यो । घाम उदाइरह्यो, अस्ताइरह्यो । क्यालेन्डर थोत्रिँदै गयो । समयक्रममा भाषा अझ राम्रोसँग बुझ्ने भएँ । भाषा बुझेपछि उनीहरूलाई मैले बुझेँ, उनीहरूले मलाई बुझे । तर, सबैमा यही परिस्थिति लागू नहुँदो रहेछ ।

 

बीचमा मसँगै आएको एक साथी समस्यामा परिन् । उनी अन्तर्मुखी स्वभावकी थिइन् । प्रायः हतास र उदास देखिन्थिन् । कोरियन अगाडि देख्नसाथ डराउने, आत्तिने गर्न थालिन् । काममा ध्यान लगाउन सकिनन् । धेरैपटक मैले सकेको सान्त्वना दिएँ । तर, परिस्थितिलाई अनुकूल बनाउन सकिनन् उनले । साँझ कामबाट फिरेपछि रुन थाल्थिन् । घर जान्छु भन्थिन् । होम सिक भएको थियो । त्यसको दुई कारण थियो, एक त कामको तनाव र अर्को कोरियन अन्नी (दिदी)ले गर्ने गाली । खानामा पनि अरुचि देखाउन थालिन् । दुई महिना सकियो । दुई महिनै उसले रोएरै बिताइन् । 

 

मैले पनि के नै सम्झाउन सक्थेँ र ! सकेको गरेँ । एक दिन त उसले कामबाट भाग्ने योजना बनाइन् । नेपाली दाइहरूले अवैधानिक नहुन सुझाब दिइरहेका थिए । अन्ततः उनलाई कम्पनी परिवर्तन गर्ने सल्लाह दियौँ । उसले त्यसै गरिन् । कोरिया आएको तीन महिनामै साथीले ठाउँ छाडेर गइन्, म एक्लो भएँ । 

 

समय चल्दै गयो । कति अर्थपूर्ण भयो, कति गुज्रिएर गयो । आएको दुई वर्षसम्म अलि होलो थियो । हरेक दिन आठ घन्टा काम गरियो । त्यसपछि भने साजाङमिनले अर्को नयाँ कम्पनी थप्यो । कामको चाप बढ्यो । कामदार बाँडिए । बिहानको साढे आठमा काम सुरु हुन्थ्यो । काम सकिँदा रातको बाह्र बजिसकेको हुन्थ्यो । कहिलेकाहीँ त रातको एक नै बज्थ्यो । दैनिक १४ घन्टा काम गर्दा शरीर कस्तो अवस्थामा पुग्थ्यो होला, म बयान गर्न सक्दिनँ । शरीरको मांसपेशी मरेर गएजस्तो हुन्थ्यो । तर, मानव शरीर अचम्मको हुँदो रहेछ, जस्तो अभ्यास गर्दै गयो, त्यस्तै बन्दै जाँदो रहेछ । काँचो माटो जस्तो, जस्तो साँचोमा ढाल्यो त्यस्तै बन्ने । मेसिनमा परिणत भयो मेरो शरीर पनि । 

 

यही काम गर्छु भनेर दुःख गरेर इपिएस पास गरेर आएकी म । अभावको सागर तर्छु भनेर आएकी म । कसरी भाग्न सक्थेँ र यो कष्टबाट । हिम्मत बटुलेर झेलेँ । महिना दिनको दुःख र सास्ती तलब थाप्दाको दिन स्वाट्टै हराउँथ्यो । मलाई सधैँ–सधैँ गलाउन खोज्ने भनेकै मासिक रूपमा हुने पिरियडले हो । अत्यधिक पीडा हुन्छ । तर, काम त जसरी पनि गर्नै छ । अनि पेनकिलरको डोजसँगै आफूलाई काममा फिट गर्छु ।

 

अहिले त ४३ महिना बितिसक्यो । यो सपनाको यात्रा कति सकसपूर्ण रह्यो, लेखाजोखा गरिसाध्य छैन । तलब र सुरक्षाको चिन्ता छैन । विभेद छैन । श्रमलाई पूजा गरिने ठाउँमा छु । तर, यहाँ मैले मेरो युवावय गुमाउँदै छु । साथीसंगीसँग गरिने रमाइलो गुमाएँ । आफन्तसँगको जमघट गुमाएँ । मुलुकमै बसेको भए पनि कहाँ नै खुसी रहन सक्थेँ होला र ! बेरोजगारीले थिचेर फ्रस्टेसनमा रहन्थेँ पनि त होला । अहिले यहाँ कम्पनी घर भएको छ, सहकर्मी परिवार । अनि मेरो श्रमचाहिँ मेरो सपना । कुनै मुलुकको कोही नागरिक अर्को मुलुकमा पुगेर श्रम गर्नुलाई सपना ठानिरहँदा उसको मुलुक के हेरिबसेको छ ? मजस्ताले आफ्नो युवावय यसरी सकाइरहनुमा दोष कसको हो ? एक दिन इतिहासले लेखाजोखा गर्ने नै छ पक्कै ।