• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हरि रोका काठमाडाैं
२०७५ चैत ३० शनिबार ०९:५२:००
इतिहास

किन बूढो हुँदैन कम्युनिस्ट घोषणापत्र ?

कम्युनिस्ट मेनिफेस्टोको १७० वर्ष

२०७५ चैत ३० शनिबार ०९:५२:००
हरि रोका काठमाडाैं

कम्युनिस्ट घोषणापत्र सन् १८४८ को जनवरीमा छापियो र फेब्रुअरीमा आमपाठकका हातमा पुग्यो । ‘कम्युनिस्ट लिग’का लागि दुई जर्मन युवाले यो दस्ताबेज ब्रसेल्समा (बेल्जियमा) लेखेका थिए । २९ वर्षीय कार्लमाक्र्स र २८ वर्षीय फ्रेडरिक एंगेल्स त्यो विश्वचर्चित घोषणापत्रका रचयिता थिए । १७० वर्ष पूरा गरेर १७१औँ वर्ष लागिरहँदा पनि संसारका विभिन्न भाषामा यो दस्ताबेज छापिने क्रम जारी नै छ । सूक्ष्म दृष्टिले भरिपूर्ण, अर्थहरूले भरिभराउ, राजनीतिक सम्भावनाहरूले ओतप्रोत यो असाधारण दस्ताबेज हो । 

संसारभरका करोडौँ श्रमजीवी जनता खासगरी किसान, मजदुर, सेना, बुद्धिजीवी, अन्य सबैखाले पेसाकर्मी वर्षौंवर्षदेखि घोषणापत्र पढेर प्रोत्साहित भइरहे । लेखिएका अक्षरहरूको भाव बुझेर पुँजीवादी–अर्थराजनीतिको असाधारण चलायमानताविरुद्ध जुझ्न र संसारलाई पुँजीवादी शोषणा र उत्पीडनबाट मुक्त पार्ने उद्देश्यले इतिहासमै सबैभन्दा कठिन लडाइँमा सामेल हुन र हाँसी–हाँसी सहिद हुन लाखौँलाख जनता लडाइँमा होमिए । आजपर्यन्त आफूलाई बलिवेदीमा चढाएर भए पनि संसार मुक्त पार्ने सपना साकार पार्न आहुति दिन खोज्ने हस्तीहरूको यो धर्तीमा कमी देखिँदैन । हामी अहिले पनि कम्युनिस्ट घोषणापत्र किन पढ्छौँ ? के यो दस्ताबेज अझै बूढो भएको छैन ? के अझै यसभित्र जादुइ शक्ति बाँकी छ ? पहिलो औद्योगिक क्रान्तिका वेला लेखिएको यो दस्ताबेज चौथो औद्योगिक क्रान्ति सम्पन्न भइरहेको अहिलेको सन्दर्भमा अझै सान्दर्भिक छ ? के अझै यो ऐतिहासिक कालखण्डमा वर्गसंघर्ष वा त्यसमा संगति मिलाउने कुरा वा संगठित भएर भीषण संघर्षमा सरिक हुने कुराको सन्दर्भ सकिएको छैन ? निश्चय पनि बृहत् समीक्षा गर्ने समय हो यो ।
०००
सोभियत संघको विघटन, पूर्वी युरोपेली समाजवादको अन्त्य, चिनियाँ र भियतनाम कम्युनिस्ट पार्टीले बजार समाजवादका नाममा राज्य निर्देशित पुँजीवाद अँगालेपछि ‘कम्युनिस्ट घोषणापत्रको’ औचित्यमाथि औँला उठाइयो । कम्युनिस्ट आन्दोलन अत्यन्त प्रतिरक्षात्मक बनिरहेका वेला सुधारवादी पुँजीवाद (किन्सियनिजममा आधारित लोककल्याणकारी पुँजीवाद) पनि टिक्न सकेन । अघिल्लो शताब्दीको अन्तिम दशकको सुरुवातमै समाजवादी आन्दोलन प्रतिरक्षात्मक अवस्था पुगेको र फर्कन नसक्ने अवस्थाबारे मूल्यांकन गर्दै नवउदारवादी पण्डितहरूले ‘इतिहासको अन्त्य’को घोषणा गरेका थिए ।

त्यो वेला नेपालमा भने संसदीय व्यवस्था पुनर्वहाली भएको थियो । तत्कालीन नेकपा (एमाले) र संयुक्त जनमोर्चा संसद्को लोकप्रिय मतमार्फत प्रमुख प्रतिपक्ष र तेस्रो ठूलो पार्टी बनेका थिए । हामी केही युवा देशभरि कम्युनिस्ट पार्टीको संगठन बनाउन गाउँ–गाउँ चहारिरहेका थियौँ । यसरी हिँड्दा झोलामा अरू कम्युनिस्ट साहित्यसँगै एक थान कम्युनिस्ट घोषणापत्र पनि बोकेर हिँडिन्थ्यो । पूर्वी युरोप र सोभियत संघको विघटनपछि सत्तारुढ नेपाली कांग्रेस फ्रान्सिस फुकुयामाको ‘इतिहास अन्त्य’को शोकधुन आफ्नै लयमा सुनाएर कम्युनिस्ट जनमत आफ्नो पक्षमा पार्न तल्लीन थियो । वास्तवमै सोभियत संघको विघटनपछि, ‘वास्तविक मुक्ति’, ‘अन्तर्राष्ट्रिय भाइचारावाद’ ‘समानता, लोकतन्त्रसहितको साँचो समाजवादी समाज निर्माण’को अभियान भयानक रक्षात्मक अवस्थामा पुगेको प्रतीत हुन्थ्यो ।

पार्टीसँग आबद्ध वा बाहिर बसेर समर्थन जनाइरहेका समाजमा बौद्धिक भनेर स्थापित शिक्षक–प्राध्यापक साथीहरू नियमित रूपमा बिबिसी सुन्ने गर्थे, केही मार्क्सवादी साहित्य पढेर माक्र्सवादबारे छिपछिपे ज्ञानकै आधारमा संगठित हुन पुगेका थिए– उनीहरूले भेटघाट र बैठकमा ‘अबको कम्युनिस्ट पार्टीको भविष्य ?’ भन्दै निधार खुम्च्याएर धीर–गम्भीर प्रश्न गर्न थालेका थिए । त्यसवेला झोलामा बोकेको एक थान कम्युनिस्ट घोषणापत्र नै वैचारिक संरक्षणको एक मात्र मार्गदर्शक दस्ताबेज मैले ठान्न पुगेको थिएँ । साथीहरूसँग बातचित गरिँदाका हरेक प्रश्नको जवाफ खोज्ने सिलसिलामा मैले यो घोषणापत्र दर्जनभन्दा बढीपटक दोहो¥याएर पढेको थिएँ । प्रत्येकपटक अलि धेरै बुझेको मैले महसुस गरिरहँे । यो सम्झना त्यो दुःखको वेलाको हो ।

सन् २०१७ को अन्त्यमा सम्पन्न आमनिर्वाचनपछि नयाँ संविधानको फेर पक्डेर नेकपा (एमाले) र नेकपा (माओवादी) ले संयुक्त चुनाव लडे । अपार सफलता प्राप्त गरे । सरकार बनाए । कम्युनिस्ट पार्टीकै अध्यक्षतामा दुईतिहाइको सरकार बन्यो । पार्टी एकता गरेर एक वर्षयता नेकपाको नाममा उनीहरूले सरकार चलाइरहेका छन् । तर, सरकारले अख्तियार गरेका नीति–कार्यक्रम, संस्थागत संरचना विकासका अवधारणा तथा संस्थागत पहलकदमी भने विगतमा पढिएको, बुझिएको र अनुभूत गरेभन्दा पृथक् देखियो । समष्टिमा सरकारबाट अपेक्षा गरिएअनुसार प्रगतिशील श्रमशक्ति निर्माण, उत्थान र समाज रूपान्तरणको बाटो पक्डिएको महसुस बहुसंख्यक मतदाताले गर्न सकिरहेको देखिन्न । एक प्रकारले अँध्यारो गुफातर्फको यात्राको सुरुवात हुन थालेको भान पर्दै गर्दा केही युवा साथीले थन्क्याइएको कम्युनिस्ट घोषणापत्र फेरि एकपटक पढ्न हौस्याउनुभयो । उहाँहरूकै प्रेरणामा कम्युनिस्ट घोषणापत्रमाथि टिप्पणी लेख्ने धृष्टता मोल्दै छु । 
०००
पहिलो अन्तर्राष्ट्रिय विघटनपछि मार्क्स–एंगेल्सले घोषणापत्रमाथि सन् १८७२ मा समीक्षा बैठक चलाएका थिए । तर, उनीहरूले थप सम्पादन वा परिमार्जनको दरकार देखेनन् । त्यसपछि पनि संसारका धेरै भाषामा अनूदित प्रतिहरू छापिए । घोषणापत्रको व्यहोरा तलमाथि नगरी जस्ताको तस्तै छापिए र छाप्नेहरूले समयसापेक्ष आफ्नो ऐतिहासिक तथा भोगौलिक परिस्थितिअनुकूल नयाँ प्रश्न, नयाँ धारणा, नयाँ व्याख्या भने ‘परिचय’ खण्डमा अगाडि सारे । यो सिलसिला दोहोरिइरहेको छ ।

घोषणापत्रको पहिलो वाक्यांशले त्यो किन तयार पारियो भन्ने औचित्य यसरी अगाडि सारेको छ :

‘इतिहासमा अस्तित्वमा रहेका सबै समाजको इतिहास वर्गसंघर्षको इतिहास हो । ‘स्वतन्त्र मानिस र दास’, ‘धनाढ्य र श्रमजीवी’, ‘मालिक र नोकर’, ‘कारिगर मास्टर र कारिगर’ अर्को शब्दमा ‘अत्याचारी र अत्याचार खेप्ने मान्छे’ सधैं एकअर्काविरुद्ध जाइलागिरहे । यो सिलसिला अनवरत चलिरह्यो, कहिले गुप्त, कहिले खुला लडाइँ भए र प्रत्येक समय ती संघर्ष या त सामाजिक क्रान्तिका लागि फेरि उठ्ने गरी सकिए, वा अर्को प्रतिस्पर्धी वर्गको खरानीसँगै समाप्त भए ।’

वर्गसंघर्षको ऐतिहासिक गाथाको एकीकृत समीक्षापश्चात पछिल्ला शासित वर्गको संघर्षलाई धारिलो बनाउन मात्र होइन, विजयी बनाउनै घोषणापत्र तयार पारिएको थियो । इतिहास र वर्तमान परिवेशमा ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी विवेचनापश्चात निकालिएको निक्र्योल वा परिणाम थिए, घोषणापत्रका हरफहरू । मार्क्सवादी सिद्धान्तको इतिहासको आलोक खासगरी ‘दि होली फ्यामिली’ तथा ‘दि जर्मन आइडियोलोजी’ ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई स्थापित गरेका विषयबाट पनि घोषणापत्रको पृष्ठभूमि बुझ्न सकिन्छ । बेलायती माक्र्सवादी स्रष्टा अलान उड्स भन्छन्, ‘हामीले के बुझ्न जरुरी छ भने समाजवाद र साम्यवाद शब्दावली माक्र्स–एंगेल्सबाट सुरु भएको होइन । समाजमा वर्गविहीनताको विषय, साझा सम्पत्तिको विषयबारे कुरा उठाउने पहिला पनि धेरै दिग्गज थिए । रोबर्ट ओएन, फ्युरिएर, सेन्ट साइमन आदि । थोमस मुरले त १६औँ शताब्दीमै युटोपिया नामको पुस्तकमा कम्युनिस्ट समाजबारे व्याख्या पस्किएका थिए । मार्क्स–एंगेल्सले यी आदर्शवादी कल्पना वा सोचलाई एकठाउँमा जम्मा पारेर साम्यवादी समाज स्थापनाको औचित्य पुष्टि गर्न नयाँ वैज्ञानिक आधार प्रदान गरे । नयाँ या भिन्न आधार के थिए ? विगतमाथि उल्लिखित चिन्तकका प्रस्तुति आदर्शवादी कल्पना थिए । असल मनोगत विचार थिए । सुनाउन वा भन्नलाई सजिला थिए । तर, दुई हजारभन्दा बढी वर्षमा निर्मित समाजको चरित्र, अनेक किसिमका वर्गहरू, तीबीचको अन्तर्संघर्षमा ती आदर्श विचार व्यवहारमा कार्यान्वयन हुन सम्भव थिएन ।’ (रिजन इन रिभोल्ट : डाइलेक्टिकल फिलोसफी एन्ड मोडर्न साइन्स, १९९५, बैलरेड पब्लिकेसन)।

वास्तवमा घोषणापत्र कोरा सिद्धान्तको प्रदर्शनी मात्र थिएन र होइन । विद्यमान वर्गसंघर्ष अन्त्यका लागि राजनीतिक समाधान खोज्ने प्रस्तावित दस्ताबेज थियो । यसको सैद्धान्तिक आधार ऐतिहासिक द्वन्दात्मक– भौतिकवाद हो । ऐतिहाँसिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त सामाजिक परिवर्तनको अनिवार्यता स्वीकार गरेर मानिसद्वारा गरिएका सम्पूर्ण वर्गसंघर्षको खासगरी आधारभूत तह (बेस) र उपरीसंरचना (सुपर स्ट्रक्चर)बीचको संघर्षको इतिहासको जगमा निर्माण भएको छ । विद्यमान उत्पादन पद्धतिको आडमा समाजमा वर्ग बन्छ र समाजमा आधार र उपरीसंरचना निर्माण तय गर्ने हुन्छ । विगतमा पुँजीवादीहरू आधारभूत वर्गको उत्तराधिकारी बनेर सामन्तवादविरुद्ध लडे । त्यो पुँजीवादी क्रान्तिले समग्रमा सामन्ती र सामन्तवादी उत्पादन पद्धतिको अन्त्य गरेर पुँजीवादी उत्पादन पद्धति स्थापना गर्‍यो । विधि कानुन बनाएर मलजल गर्‍यो ।

सिद्धान्ततः त्यसैगरी श्रमजीवी वर्गले समाजवादी क्रान्ति गरेर समष्टिमा पुँजीवाद र पुँजीवादी उत्पादन पद्धति विस्थापित गर्न आवश्यक छ । यद्यपि कुनै रूपान्तरणकारी कार्य गुणात्मक रूपमा एकै किसिमको हुन सक्दैन । भिन्नाभिन्नै उत्पादन पद्धतिमा विकसित हुने मालिक वर्ग र स्वयं उत्पादक श्रमशक्तिकै चरित्र पनि भिन्न सैद्धान्तिक वैचारिक परिवेशमा बेग्लाबेग्लै ढंगले निर्माण भएको हुन्छ । मार्क्स र एंगेल्सले घोषणापत्र लेख्दै गर्दाकै समयमा उनीहरू के निर्क्योलमा पुगेको देखिन्छ भने पुँजीवाद मानवीय इतिहासको गहिराइसम्म पुग्न चाहँदैन । यद्यपि पुँजीवाद त्यो समयमा युरोपभन्दा बाहिर विस्तारित नै भएको थिएन । तर, पुँजीवादी उत्पादन पद्धति जसरी अगाडि बढिरहेको थियो र श्रमजीवी वर्गलाई पुँजीजस्तै गरी जसरी वस्तु विनिमयको साधनजस्तो व्यवहार गर्दै थियो । दास वा रैतीका रूपमा नभए पनि व्यवहारमा जीविकोपार्जनका लागि तिनलाई अह्राए, खटाएपछि जहाँ पनि जानुपर्ने वा अघोषित रूपमा श्रम बेच्न बाध्य पारिँदै थियो, यसले पुँजीपति अभिजात्यहरूको सानो समूहबाहेक अरू सबै श्रमजीवी व्यवहारतः ‘स्वतन्त्र मानव’ थिएनन् र हुँदैनन् । त्यही भएर पुँजीवादी पद्धतिविरुद्ध क्रान्तिको ज्वारभाटा उठ्ने तर्कसंगत कुरा थियो र हो । किनकि द्वन्द्वात्मक भौतिकवादको नियमले एकअर्को वर्गविरुद्ध संघर्ष अनिवार्य हुन्छ । 

हामी अहिले पनि कम्युनिस्ट घोषणापत्र किन पढ्छौँ ? के यो दस्ताबेज अझै बूढो भएको छैन ? के अझै यसभित्र जादुइ शक्ति बाँकी छ ? पहिलो औद्योगिक क्रान्तिका वेला लेखिएको यो दस्ताबेज चौथो औद्योगिक क्रान्ति सम्पन्न भइरहेको अहिलेको सन्दर्भमा अझै सान्दर्भिक छ ?

पुँजीवादको मुख्य काम नै निर्माण वा आर्जन गरिने पुँजी निश्चित वर्गको मुठीभित्र नियन्त्रण र सञ्चिति गर्नु हो । यो प्रक्रियाले आम रूपमा मानिसलाई सर्वहाराकृत गर्दै जान्छ । पेसा वा जमिनमाथिको स्वामित्व खोसिएपछि मानिस सर्वहारा बन्छ । बुर्जुवा (पुँजीपति) वर्ग भने निर्माण भएको ‘पुँजी’माथि आश्रित हुन्छ र पुनरुत्पादनमा तल्लीन हुन्छ । त्यो पुँजी अभिवृद्धि ज्यालादारी श्रमिक, तथा बृहत् मात्रामा गरिने उत्पादन (मास प्रोडक्सन) तथा नाफा (सरप्लस भ्यालु) मा भर पर्छ ।

तर यो उत्पादन प्रक्रियामा जोतिएका श्रमजीवीहरूको सामाजिकीकरण भइरहेको हुन्छ । कष्ट–भोगाइ, अनेकन दुव्र्यवहार र पारिवारिक आर्थिक कठिनाइका कारण उनीहरूबीच सौहार्दपूर्ण सम्बन्ध (सोलिडारिटी) बलियो रूपमा स्थापित हुँदै जान्छ । सामाजिकीकरण र सौहार्दताले उनीहरू संगठित हुँदै जान्छन् र त्यो संगठन नै कालान्तरमा पुँजीवादको चिहान खन्ने औजार बन्न पुग्छ । पुँजीवादी उत्पादन पद्धतिमा सबै प्रकारका अन्तर्विरोधहरू थुप्रो लाग्दै जाँदा सर्वहारा क्रान्ति अनिवार्य बन्छ । दर्शनशास्त्री जर्ज वेलहेम फ्रेडरिक हेगलको ‘आफैँभित्र प्रणालीगत परिवर्तन’ भन्ने दार्शनिक निष्कर्षसँग मार्क्स–एंगेल्स सहमत थिएनन् । ‘विद्यमान अवस्था (एग्जिस्टिङ कन्डिसन)’ विधिवत् रूपमा नभत्काई वा विसर्जन नगरी साम्यवाद प्राप्त हुन्न भन्ने उनीहरूको सशक्त निचोड थियो । त्यो बेजोड तर्कसँगै गाँसिएर आएको अर्को तर्क पनि थियो, कुनै पनि खाले, जुनसुकै नाममा राजनीतिमा आए पनि बुर्जुवा सत्ताधारी वर्ग आफ्नै शासन व्यवस्था भत्काउन कुनै पनि हालतमा तत्पर हुन्नन् । जसरी सामन्तवादमाथि विजय प्राप्त गरेर पुँजीवादीहरूले शासन व्यवस्थामा आफ्नो प्रभुत्व स्थापित गरेर आफ्नो वर्गको परिचय र हैकम स्थापित गरे सर्वहारा वर्गले पनि आफ्नो वर्चस्व कायम गर्न विजय पताका फहराउन आवश्यक छ । निजी सम्पत्तिको अन्त्य नगरी वर्गविहीन समाज निर्माण हुन सक्दैन र त्यस्तो समाज निर्माण नभई साँचो अर्थमा ‘स्वतन्त्र मानिस’को कल्पना गर्न सकिन्न । 
०००
विख्यात राजनीतिक अर्थशास्त्री समीर आमिन आजको सन्दर्भ केलाएर लेख्छन्, ‘पुँजीवाद विश्वविजयी हुने सपना सजाइरहेछ’ भन्ने कुरा मार्क्स–एंगेल्सले सबैभन्दा पहिला बुझेका थिए । अमेरिका पत्ता लगाउने कुरा, तीन शताब्दी लामो वाणिज्यवादबाट (मर्केटियालिजम) छुटकारा लिएर पुँजीवादको विकास गर्ने मिसनभित्र थियो (दि कम्युनिस्ट मेनिफेस्टोे, अक्टुबर १, २०१८, मन्थ्ली रिभ्यु ) । १ सय ७० वर्षअघि लेखिएको घोषणापत्रमा, ‘आधुनिक उद्योग विश्वबजार स्थापित गर्न चाहन्छ, अमेरिका पत्ता लगाउने कुराले यसको बाटो खोलेको छ... बुर्जुवाहरू उत्पादन र उपभोगलाई सर्वदेशीय (कस्मोपोलिटन) संस्कार र संस्कृतिका रूपमा हुर्काउन चाहन्छन्’ उल्लेख गरिएकाले पनि घोषणापत्रले दूरदृष्टि वा भविष्यद्रष्टा आजको पुँजीवादको लक्ष्य हासिल गर्न देखाएको प्रवृत्तिबाट पुष्टि हुन्छ । यद्यपि यो दूरदृष्टिको पहिचान तत्कालीन युरोपेली पुँजीवादको जगमा टेकेरै भएको थियो, जसलाई केहीले ‘युरोसेन्ट्रिजम’मा आधारित व्याख्या भन्ने गरेका छन् । सुरुसुरुका मार्क्सरचित राजनीतिक व्याख्याहरूमा यो ‘युरोसेन्ट्रिजम’को गन्ध आउँछ । तर, उमेरले परिपक्व बन्दै गएका मार्क्सको चिन्तन र पछिल्ला निश्कर्ष विस्तार हुँदै गएको पुँजीवाद, यसले विस्तार गर्दै लैजाने पुँजी सञ्चिति (क्यापिटल एकुमुलेसन) र आमरूपमा सञ्चित पुँजीको असमान वितरणका कारण बढिरहेको सहरी तथा ग्रामीण दरिद्रताको चरित्र मापनले युरोसेन्ट्रिकको आक्षेप धुमिल भएको देखिन्छ ।

सन् १८७१ मा पहिलो समाजवादी क्रान्ति ‘पेरिस कम्युन’ हुन पुग्यो । वास्तवमा विकसित पुँजीवादी मुलुकमध्येमा यो पहिलो र अन्तिम क्रान्तिजस्तो देखियो । मार्क्सले बेलायतमा पहिलो क्रान्ति हुन सक्ने सम्भावना केलाएका थिए भने दोस्रो अन्तर्राष्ट्रियको गठनपश्चात जर्मनीमा क्रान्तिको सम्भावना बढेको कुरा एंगेल्सको आँकलन थियो । तर, इतिहासले यी दुवै आशालाई खण्डित तुल्याइदियो । वास्तवमा समष्टिमा पुँजीवादविरुद्ध लडाइँ कसरी लड्ने भन्ने जटिल प्रश्न अझै उपस्थित थियो । सन् १९१४ मा दोस्रो अन्तर्राष्ट्रिय जसरी भंग हुन पुग्यो, त्यसले संसारभरि समाजवादी स्वतन्त्र क्रान्तिको सम्भावनाबारे नयाँ ढंगले सोच्न बाध्य पार्‍यो । हालको जर्मन विगतको पर्सियामा अटो भान विस्मार्क उदयपछि दोस्रो अन्तर्राष्ट्रियमा आबद्ध युरोपेली नेताबीच सुधारवादको चर्को हावा प्रभावित भयो ।

अठारौँ शताब्दीको पछिल्लो कालखण्डमा विस्मार्कको ‘प्रलोभनमा–पार, फुटाऊ र राज गर’को सिद्धान्तले सारा युरोपेली लेबर र समाजवादी पार्टीहरू प्रभावित बन्न पुगे । सन् १९१४अघि आफूलाई सुधारवादी भन्न रुचाउने समाजवादी पार्टीहरू रातारात सुधारवादी बने र साम्राज्यवादी, विस्तारवादी, बुर्जुवा राजनीतिको युद्धग्रस्त मानसिकतालाई कथित ‘राष्ट्रवाद’का नाममा युद्धलाई सघाउन पुगे । कम्युनिस्ट घोषणापत्रले इंगित गरेको श्रमजीवी सर्वहारा वर्ग यहाँनेर आएर विभाजित र एक वर्गले अर्को वर्गलाई मात्र होइन, आफ्नै वर्गबीच विभाजन हुने रहेछ, धोका दिन सक्ने रहेछ भन्ने व्यवहारमा पुष्टि हुन पुग्यो । श्रमजीवी जनताको प्रतिनिधि पात्रका रूपमा स्थापित वर्कर्स र समाजवादी पार्टीहरूले राष्ट्रवादी बन्ने निर्णयले पश्चिम युरोपको सम्भावित क्रान्तिलाई पछि मात्र धकेलेन, यसले साम्राज्यवादी पुँजीवादीहरूले थालेको प्रथम विश्वयुद्ध चर्काउन मद्दत पुग्यो र क्रान्तिको झोक्का मजदुरहरूको कमजोर कडी रहेका ठानिएका मुलुकहरू रुस र चीनतर्फ उन्मुख भएको देखियो । तर, यो फुटले समाजवादी आन्दोलनमा ‘राष्ट्रवाद’को विषय गहन बहसको विषय बन्यो । माक्र्सवादी समाजवादीहरूले श्रमजीवी वर्गको अहित हुने गरी गरिने राष्ट्रवाद र राष्ट्रिय राज्यको व्याख्यालाई स्विकारेनन् । तर, राष्ट्रिय राज्यको ऐतिहासिकता, तिनले बोक्ने विकास र अविकासका कुरा, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा तिनले खेल्ने भूमिका आदिलाई हेर्दा आफू आफ्नो राष्ट्र र समग्रमा संसारकै रूपान्तरणमा राष्ट्रिय राज्य र राष्ट्रवाद एक हिसाबले सहयोगी बन्ने ठहर्‍याए ।

दोस्रो विश्वयुद्धपछि सामान्यतया पिछडिएका मुलुकमा समाजवादीले सकारात्मक तथा प्रगतिशील राष्ट्रवादको पक्षपोषण गर्दै रहे । प्रगतिशीलताको अर्थ साम्राज्यवादविरोधी, कुनै पनि किसिमको ग्लोबल अर्डरमा वा अर्को शब्दमा अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सामेल नहुने भन्ने रह्यो । गैरसमाजवादीहरूले नेतृत्व गरेर स्वतन्त्रता प्राप्त गरेका नवोदित राष्ट्रहरू (साम्राज्यवादी उपनिवेशबाट मुक्त भएका), र सँगसँगै अर्धऔपनिवेशिक तथा अर्धसामन्ती शासन व्यवस्थाबाट मुक्ति पाएकाहरूको राष्ट्रवाद पुरानै वा प्रतिक्रियावादी ठानियो । यसकारण कि ती पुरानै साम्राज्यवादी शासकसँगको मिलोमतोमा तिनले आफ्ना गरिब जनतालाई उद्धारको साटो उनीहरूसँगैको मिल्तीमा शोषण र नयाँ खाले उत्पीडन थोपर्ने कामलाई प्रगतिशील ठानिएन ।

तर, दोस्रो विश्वयुद्धपछि देखिएको प्रगतिशील र गैरप्रगतिशीलको सैद्धान्तिक विभाजनको सीमारेखा सन् १९७० को मध्याह्नदेखि तोडियो । कथित वासिंटन सहमतिपछि बनेको विश्व व्यवस्था (वल्र्डअडर) मा बिस्तारै–बिस्तारै नवउदारवादी पुँजीवाद हाबी हुँदै गयो । सन् १९९० पछि सोभियत संघ र पूर्वी युरोपेली समाजवादको समाप्तिपछि त पुँजीवादी भूमण्डलीकरण तीव्र रूपमा हाबी भई नै गयो । तर, संसारमा पुँजीवाद त्यत्तिकै हाबी भएको र समाजवादको पतन भएको थिएन । कथित समाजवादी शासकहरू, जो सत्तारुढ हुन पुगेका थिए (सोभियत, पूर्वी युरोपेली मुलुकहरू तथा अन्यत्र पनि) ले सर्वहारा श्रमजीवीको नाममा राजकीय शक्ति पहिले पार्टीको नाममा, बिस्तारै पार्टी कमिटी र पद्धतिका नाममा र पछि कर्मचारीतन्त्रको सहयोग र मिलोमतोमा माथिल्लो निकायको (महासचिव, स्थायी समिति तथा पोलिटब्युरो) अधीनस्थ शक्ति केन्द्रीकृत गर्दै लैजाने र श्रमजीवी सर्वहाराको अधिनायकत्वको नाम र ठाउँमा सीमित व्यक्ति र शक्ति हाबी भएकै कारणले पतन हुन पुगेको थियो । घोषणापत्रको शब्दमा ‘हरेकको विकासका लागि, सबैको स्वतन्त्र विकास’ संकुचित हुँदै जाँदा असफल हुन पुग्यो ।
०००
घोषणापत्र भन्छ, पुँजीवादले नयाँ–नयाँ प्रविधि अन्वेषण गर्नु र प्रयोगमा ल्याउनु समस्या होइन । त्यो नाजायज तर्क हो । पुँजीवादको समस्या भनेको आफैँभित्र उत्पादन हुने असंगति हो । पुँजीको सफलता फराकिलो हुँदै जाने सञ्चितिमा भर पर्छ र सञ्चिति आफैँ भने मानवीय उपयोग र दुरुपयोगमा । सम्पत्तिको सञ्चिति वृद्धिमा जब श्रमिकलाई मेसिनको व्यवहार गरिन्छ, समस्या त्यहीँबाट सुरु हुन्छ । १९७० को मध्याह्नदेखि पुँजीवादले विश्वव्यापी रूपमा नयाँ फड्को मार्न जे–जस्ता प्रविधि र औजारको खोज अनुसन्धान र उपयोग गर्‍यो, त्यसबाट पुँजीको थप निर्माणमा सहयोग त पुग्यो, तर यसले पुनः मानवीय संवेदनशीलता गुमायो । हामी सबैलाई थाहा छ, यातायात र सञ्चार हुँदा, काममा प्रविधिसँग खेल्न पाउँदा जीवनका धेरै काम सहज हुन पुग्छन् । तर, त्यत्तिकै सोच्नुपर्ने कुरा के हो भने त्यो प्रविधिमाथि आममान्छेको पहुँच पुग्न सकिरहेको छ कि छैन ? प्रविधिको अत्यधिक र अन्धाधुन्ध प्रयोगले ती आममानिसमा विपत्ति त थपिरहेको छैन ?

घोषणापत्रको अध्ययनले मलाई स्वतन्त्रता, खुसियाली, स्वशासन, व्यक्तिवादिता, आध्यात्मिकता र स्वस्फुर्त विकासबारे गम्भीर भएर हेर्न सिकायो । घोषणापत्रको विचारको केन्द्रभागमा रहेको ‘वास्तविक स्वतन्त्रता प्राप्तिको’ रहस्यको उद्घाटन हुन पुग्यो । मार्क्स–एंगेल्सले हेगलको विचारलाई यसरी व्यक्त गर्छन्, ‘यदि एउटा मान्छे मात्रै पनि सांग्लोमा बाँधिएको छ भने कोही पनि स्वतन्त्र हुन्न ।’ उनीहरूको पुँजीवादीसँगको एउटै जिकिर छ, आफ्नो व्यक्तिगत स्वार्थका लागि अर्थात् पुँजीवादी सञ्चितिका लागि सबैको स्वतन्त्रतालाई तिलाञ्जली दिन्छन् (यानिस भारू फाकेस, माक्र्स प्रेडिक्टेड आवर प्रेजेन्ट क्राइसिस एन्ड प्वाइन्टस द वे आउट, गार्जियन, २० अप्रिल २०१८) ।

पछिल्लो वर्ल्ड इनइक्वालिटी रिपोर्ट २०१८ मा जनाइएअनुसार सन् १९८० देखि यता विश्वव्यापी आयको वितरण उल्लेख गरिएको छ । विश्वका एक प्रतिशत आयआर्जन गर्नेहरूले ५० प्रतिशत गरिब व्यक्तिभन्दा आयआर्जनको दोब्बर आर्जन गर्ने गरेका छन् । पुछारमा रहेका ५० प्रतिशतले आर्थिक वृद्धिबाट कुनै खाले खुसी प्राप्त गर्न सकेको देखिँदैन । विश्वव्यापी रहेका धनाढ्य मध्यम वर्गमध्ये ९० प्रतिशतचाहिँ अमेरिका र युरोपमा बस्छन् । दि इकोनोमिस्टका अनुसार गत चालीस वर्षमा १ प्रतिशत धनाढ्यको धन २४२ प्रतिशतले बढ्यो । मध्यम कमाइ गर्नेहरूको ६ गुणाले वृद्धि भयो तर अन्य अर्थात् ५० प्रतिशतभन्दा बढी जनताले गुमाए मात्रै । बेरोजगारी, अर्धबेरोजगारी ह्वात्तै बढ्यो । धनीले कमाउँदा चुहिन्छ र अरू सामान्यको पनि गुजारा चल्छ भन्ने ट्रिकल डाउन सिद्धान्तले काम गरेन ।

सन् २००८/०९ को विश्वव्यापी मन्दीपछि नवउदारवादी पुँजीवादले साख गुमाउँदै गएको छ र विकल्पमा फेरि समाजवादको चर्चा व्यापक बन्दै गएको छ । कट्टर नवउदारवादी पुँजीवादको पृष्ठपोषक रहेको दि इकोनोमिस्टले समेत ‘वामपन्थीहरूको पुनरागमन, सहस्राब्दी समाजवाद’ शीर्षकमा रिपोतार्ज गर्नु आफैँमा समाजवाद नयाँ ढंगले प्रस्तुत हुँदै छ भन्ने जाहेर हुन्छ (फेब्रुअरी १९, २०१९ प्रिन्ट एडिसन) । बितेका ३० वर्षमा (सोभियत संघको विघटन र पूर्वी युरोपेली समाजवादको पतनपछि) चीनले अभूतपूर्व विकास गरेर नयाँ आर्थिक मोडलका रूपमा स्थापित हुनु, अमेरिकामा अलेक्ज्यान्ड्रिया ओकासियो कोर्टेजको लोकप्रियता बढ्नु र सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेको बर्नी सेन्डरको निर्वाचित हुने सम्भावना चुलिनु, बेलायतमा वामपन्थी लेबर लिडर जेरेमी कोर्विन अबको निर्वाचनमा प्रधानमन्त्री बन्न सक्ने आधार तयार हुनुको अर्थ विश्वव्यापी रूपमा समाजवादको पुनरोदयलाई संकेत गर्छ ।

पुँजीवादले खडा गरेको व्यापक असमानता, पुँजीवादी सञ्चितिका लागि प्राकृतिक तथा वातावरणीय विनाश, असमान वितरणका कारण आमअसहजताले फेरि पुनर्जागरण, फेरि नयाँ संघर्ष र फेरि नयाँ जितका लागि विश्वव्यापी रूपमा वातावरण तयार हुँदै गइरहेको देखिन्छ । मार्क्स–एंगेल्सले घोषणापत्र लेख्दै गर्दा युरोपको एउटा सानो क्षेत्रमा क्रान्तिको ज्वारभाटा उठ्ने कोसिसमा थियो । १९१७ मा सम्पन्न अक्टोबर क्रान्तिले समग्र युरोप मात्र होइन, चीन, भारत, पर्सिया, टर्की र ल्याटिन अमेरिका हल्लाएको थियो । अहिले यो हावा बेलायत, संयुक्त राज्य अमेरिका हुँदै विश्वव्यापी बन्ने तरखरमा रहेको देखिन्छ । यतिवेला पनि घोषणापत्रमा व्यक्त भएझैँ शोषित र शासितहरू आमने–सामने उभिएका छन् । बीचका बिचौलिया (कथित मध्यपन्थी) दुवै तर्फबाट तिरस्कृत हुँदै गएका छन् । यसरी हेर्दा १७१ वर्षअघि लेखिएको कम्युनिस्ट घोषणापत्रले फेरि एकपटक आफूलाई सत्य साबित गरेको छ ।

एक वर्षदेखि नेपालमा सर्वहारा श्रमजीवी किसान र मजदुरको मत आर्जन गरेर बहुमतको सरकार बनाएको नेकपा (नेकपा) सरकार माक्र्स–एंगेल्स लिखित कम्युनिस्ट घोषणापत्रमा उद्धृत वर्गसंघर्षप्रति कति सचेत छ ? घोषणापत्रको लक्ष्यभेदन गर्न कति आतुर छ ? कति मानिसको वास्तविक स्वतन्त्र विकासका लागि आतुर छ ? मतदाता पर्खिरहेका थिए । तर, सरकार राज्यका विद्यमान संरचना यथावत् राखेर पुँजीवादमा आधारित सामाजिक तथा भौतिक विकास खोजिरहेको छ । नवउदारवादी पुँजीवादको पक्षपोषण गर्दै कम्युनिस्ट घोषणापत्रभन्दा ठीक उल्टो बाटो पक्रेर के समाजवादमा फड्को मार्न सम्भव होला त ? यो प्रश्न नेपाली राजनीतिक यात्रामा यतिवेला उठेको अहं प्रश्न हो ।