• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राजेन्द्र खरेल
२०७८ जेठ १ शनिबार ०९:०४:००
रिपाेर्ट

महामारी फैलिनुमा बहुराष्ट्रिय कम्पनी जिम्मेवार

शासकहरू जनताको स्वास्थ्यभन्दा बहुराष्ट्रिय निगमको नाफालाई लिएर बढी चिन्तित हुन्छन् 

२०७८ जेठ १ शनिबार ०९:०४:००
राजेन्द्र खरेल

अहिले हामी भूमण्डलीकरणको समयमा बाँचिरहेका छौँ । भूमण्डलीकरणले संसारलाई आर्थिक रूपमा दुई खण्डमा बाँडेको छ– पहिलो उत्पादनको खण्ड र दोस्रो उपभोगको खण्ड । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकासशील देशहरू अहिलेको समयका उत्पादनका केन्द्र हुन् भने उपभोगको केन्द्रमा पहिलो विश्वका सम्पन्न देश रहेका छन् । 

 

विकासशील देशमा श्रमशक्ति, जमिन र अन्य स्रोतहरू ठूलो मात्रामा उपलब्ध छन् । तेस्रो विश्वका देशहरूमा रहेका उत्पादनका साधनहरूको मूल्य सम्पन्न देशका साधनहरूको तुलनामा अत्यन्तैै न्यून छ । यही कारण बहुराष्ट्रिय कम्पनीहरू विकासशील देशमा आकर्षित भइरहेका छन् । विकासशील देशमा उपलब्ध जमिनको सस्तो मूल्यलाई उपयोग गर्दै बहुराष्ट्रिय कम्पनीहरूले कृषि र पशुपालनको क्षेत्रमा पनि ठूलो लगानी भिœयाएका छन् । पछिल्ला दशकमा चीन, भारत, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिकाजस्ता देशहरू संसारको औद्योगिक उत्पादनको केन्द्र मात्र नभएर कृषि उत्पादनको केन्द्र पनि बनिरहेका छन् । 

 

युनाइटेड नेसन्स युनिभर्सिटीको इन्स्टिच्युट अफ वाटर, इनभारमेन्ट एन्ड हेल्थको प्रतिवेदनअनुसार अहिलेकै बिलासी उपभोगको स्तरलाई कायम राख्न पछिल्लो १० हजार वर्षमा पृथ्वीमा उत्पादन भएजति खाद्यान्न अब आउने ३० वर्षमा उत्पादन गर्नुपर्ने बाध्यता छ । सन् २००८ मा संसार आर्थिक मन्दीको चपेटामा थियो, तर सोहीे समयमा खाद्यान्नको मूल्य आकासिएको थियो । विश्व बैंकको रिपोर्टअनुसार सन् २००५ देखि सन् २००८ को तीन वर्षको अवधिमा खाद्यान्नको मूल्य ८३ प्रतिशतले बढेको थियो । सन् २०११ मा पनि खाद्यान्नको मूल्यमा भारी वृद्धि भएको थियो । एसियाली विकास बैंकका अनुसार जुन २०१० देखि फेब्रुअरी २०११ को बीचमा विश्वमा खाद्यान्नको मूल्य ४०.४ प्रतिशतले बढेको थियो । आर्थिक क्षेत्रका अन्य पाटाहरू तहसनहस भइरहँदा पनि खाद्यान्नको माग र मूल्यमा भएको वृिद्धले बहुराष्ट्रिय पुँजीलाई नयाँँ आशा देखाएको छ । २००८–०९ को वित्तीय संकटपछि सेयर र वित्तीय क्षेत्रमा आफ्नो असुरक्षा देखेको बहुराष्ट्रिय पुँजी लन्डन, न्युयोर्क र हङकङजस्ता सहरबाट तीव्र गतिमा तेस्रो विश्वका गाउँमा बसाइँ सर्दै छ र आफूलाई कृषि र पशुपालनमा केन्द्रित गरिरहेको छ । खुकुलो सरकारी नियमन, सरकारी संस्थानहरूको बहिर्गमन र निजीकरण, देशभित्रका उद्योग र व्यवसायलाई दिइने अनुदानको खारेजी, निर्यात करको अन्त्य आदि सर्तहरू चढेर बहुराष्ट्रिय कम्पनीहरू तेस्रो विश्वमा भित्रिरहेका छन् । अल्पविकसित मुलुकको कृषिमा बहुराष्ट्रिय पुँजी भित्रिन थालेको पछिल्लो दशकमा मात्र भने होइन । नवउदारवादको उदयसँगै सन् १९८० र ९० को दशकबाट नै बहुराष्ट्रिय कृषि कम्पनीहरूले दक्षिणका गाउँहरूमा डेरा जमाउन थालिसकेका थिए । पछिल्लो दशकको आर्थिक मन्दीले त यसको गतिलाई सघन पारेको मात्रै हो । 

 

अहिलेसम्मको इतिहासमा पुँजी र शक्ति सञ्चयका लागि सुन, चाँदी, पेट्रोलियम, खनिज आदि रणनीतिक महत्वका स्रोतहरू रहँदै आएका थिए । बहुराष्ट्रिय कम्पनीहरूको प्रवृत्ति रणनीतिक महत्वका स्रोतहरू आफ्नो कब्जामा ल्याउने र पुँजी सञ्चयका लागि त्यसको निर्मम दोहन गर्ने हुन्छ । 

 

बहुराष्ट्रिय कम्पनीहरूले कसरी काम गर्छन् भनेर बुझ्न दक्षिण अमेरिकाको एउटा उदाहरण हेर्न सकिन्छ । बोलिभिया, उरुग्वे, पारग्वे, अर्जेन्टिना र ब्राजिलको विशाल भूभागमा बहुराष्ट्रिय कम्पनीहरूले भटमासको खेती गर्छन् । त्यो भूगोलमा सम्बन्धित देशका सरकारहरूको काम बहुराष्ट्रिय कम्पनीहरूसँग कर असुल्ने मात्र हुन्छ । त्यहाँको नियम र कानुनहरू बहुराष्ट्रिय कम्पनीहरू आफँै बनाउँछन् र लागू गर्छन् । त्यसैले पाँचवटा देशका भटमास उत्पादन हुने एकीकृत भूगोललाई ‘सोयबिन रिपब्लिक्स’ भन्न थालिएको छ । खाद्यान्न र पानीको प्रचुरता ‘सोयबिन रिपब्लिक्स’को सबैभन्दा सबल पक्ष हो । ‘सोयबिन रिपब्लिक्स’को जमिनमुनि संसारकै सबैभन्दा ठूलो भूमिगत पानीको स्रोत छ, जसलाई ‘गरानी एकिफर’ भनिन्छ । त्यहाँँको उर्वर जमिन र पानीको स्रोतलाई बहुराष्ट्रिय कम्पनीहरू कब्जा गरेर बसेका छन् । 

 

समकालीन विश्वमा पेट्रोलियम सबैभन्दा महत्वपूर्ण रणनीतिक स्रोत हो । पेट्रोलियममाथि प्रभुत्व जमाउन संसारभरिको पुँजीको टकराव खाडी क्षेत्रमा केन्द्रित छ । जनसंख्याको बनोट र जलवायु परिवर्तनले गर्दा अब आउने वर्षमा खाद्यान्न र पानी रणनीतिक महत्वका स्रोत बन्ने निश्चित छ । तपमान वृद्धि र मरुभूमीकरण बढिरहेको समयमा उर्वर जमिन र जलस्रोतले सम्पन्न ‘सोयबिन रिपब्लिक्स’ जस्ता भूगोलहरू निकट भविष्यमा खाडी क्षेत्रको स्थितिमा पुग्ने अनुमान गर्न सकिन्छ । 

 

०००

 

बहुराष्ट्रिय कम्पनीहरूले राजनीतिक शक्तिको अधिग्रहण र स्रोतहरूमा कब्जा मात्र जमाएका छैनन्, मानव स्वास्थ्यमा पनि गम्भीर क्षति पु¥याइरहेका छन् । उत्पादन बढाउन बहुराष्ट्रिय कम्पनीहरूले अपनाइरहेका प्रविधिहरू, जस्तै– पशु तथा बालीको जेनेटिक मोडिफिकेसन, रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग, मासुका लागि तयार गरिएका जनावरहरूमा औषधिको प्रयोग आदिले मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेका छन् । अध्ययनले पछिल्ला वर्षमा बर्ड फ्लु, स्वाइन फ्लु, सार्स, मर्स, इबोला, जिकाजस्ता भाइरस र महामारी फैलिनुमा बहुराष्ट्रिय कृषि व्यवसायलाई नै जिम्मेवार मानेका छन् । वैज्ञानिकहरूको मान्नु के छ भने पृथ्वीमा रहेका घना जंगलहरू भाइरस प्याक गरेर राखेका बाकसजस्तै हुन् । जंगलहरूमा बस्ने जनावरहरूमा भाइरसहरू पाइन्छन् । अर्को शब्दमा जंगली जनावरहरू धेरै प्रजातिका भाइरसहरूका होस्ट हुन् । जंगली जनावरमा प्राकृतिक रूपमै भाइरस प्रतिरोधी क्षमता हुन्छ । अघिल्लो समयमा जंगली जनावर र मानव समुदायबीच ठूलो दूरी हुन्थ्यो, जसले गर्दा धेरै प्रजातिका भाइरस मान्छेबाट टाढा रहन्थे । अहिले बहुराष्ट्रिय कम्पनीले सीमान्त जमिनमा ठुल्ठूला कृषि र पशु फार्म चलाइरहेका छन् । यी फार्महरू चलाउन प्रशस्त जमिनको आवश्यकता पर्छ । सार्वजनिक र निजी जमिनको प्रयोगले मात्र नपुगेर कम्पनीहरूले व्यापक वन फँडानी गरेर जमिन उपभोग गरिरहेका छन् । वनविनाश भएपछि जंगली जनावरहरू मासिएका छन् । जुन जनावरहरू मासिएका छैनन्, उनीहरू कृषि र पशु फार्मको सम्पर्कमा आउन थालेका छन् । जंगली जनावरबाट भाइरसहरू उद्योगमा पालिएका जनावरमा  सरिरहेका छन् । सीमान्त भूमिबाट मासुका लागि निर्यात भएका कुखुरा, हाँस, सुँगुरजस्ता जनावरसँगै भाइरस पनि रेल र पानीजहाज चढेर केही दिनमै संसारका ठुल्ठूला सहरमा पुगिरहेका छन् र लाखौंँ मान्छेलाई संक्रमित गराइरहेका छन् । यसरी वनविनाशले गर्दा भाइरस प्याक भएको बाकस खुलिरहेको छ ।

 

‘बिग फार्म्ज मेक बिग फ्लू’ पुस्तकका लेखक जीव वैज्ञानिक रब वालेस र उनका सहकर्मी साथीहरूको अध्ययनले ६० प्रतिशत नोबेल भाइरसहरू उत्पादनको केन्द्रमा जंगली जनावरबाट घरपालुवा जनावर हुँदै मानव समुदायमा फैलिएको देखाएको छ । विभिन्न प्रजातिका जनावरलाई एकै ठाउँमा पाल्दा ती जनावरको भाइरस प्रतिरोधी क्षमता उच्च हुन्छ । अहिलेको औद्योगिक पशु फार्ममा एकै प्रजातिका हजारौँ जनावरलाई सँगै पालिन्छ । यसलाई ‘मोनोकल्चर’ भनिन्छ । मोनोकल्चरअन्तर्गत पालिएका जनावरमा कमजोर इम्युनिटी हुन्छ र उनीहरू सजिलै भाइरस संक्रमित हुन्छन् । बहुराष्ट्रिय पुँजी जंगली जनावरको औद्योगिक पालन र बिक्रीमा पनि सक्रिय रहेको छ, जसबाट मान्छेमा भाइरस सर्ने अत्यधिक जोखिम हुन्छ । बहुराष्ट्रिय पुँजीले गरेको अर्को प्रकृतिविरोधी काम भनेको जंगली जनावर र घरपालुवा जनावरको जिन मिलाएर हाइब्रिड जनावरको व्यावसायिक उत्पादन र विश्वव्यापी निर्यात हो । हाइब्रिड जनावरहरू र उनीहरूको मासुबाट पनि भाइरस सर्ने खतरा हुन्छ । अहिले महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको उत्पत्तिलाई चीनको वुहान सहरमा रहेको जंगली जनावरको मासु बेच्ने बजारसँग जोडिएको छ । उक्त बजारमा बेचिएको चमेरा वा अन्य कुनै जंगली जनावरको मासुबाट कोरोना भाइरस मान्छेमा सरेको अनुमान गरिएको छ । सन २००२ देखि २००४ सम्म फैलिएको सार्स महामारीलाई पनि चीनको जंगली जनावरको मासु बेच्ने बजारसँग जोडिन्छ । सार्स र कोभिड–१९ दुवै महामारी कोरोना प्रजातिका भाइरसबाट उत्पत्ति भएका हुन् । यी भाइरसहरूको उत्पत्ति सुरुमा चमेरामा भएको र कुनै मध्यवर्ती जनावरबाट मान्छेमा सरेको अनुमान गरिएको छ । कोरोना भाइरसबारे थप अध्ययन भइरहेको हुनाले यकिनसाथ अहिले नै धेरै कुरा बताउन गाह्रो छ ।  

 

स्मिथफिल्डजस्ता कृषि व्यवसायमा आधारित कम्पनीको अमेरिकी अर्थतन्त्रमा ठूलो प्रभाव रहेको छ । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)ले दिएको सुविधा प्रयोग गर्दै अमेरिकी कम्पनीहरूले मेक्सिकोमा ठुल्ठूला पशु फार्म खोलेका छन् । धेरै आनुवंशिक अध्ययनले के देखाएका छन् भने सन् २००९ मा स्वाइन फ्लु (एचवन एनवन भाइरस) फैलाउनुमा यिनै फार्महरूको भूमिका थियो । जंगली जनावरबाट एचवन एनवन भाइरस मेक्सिकोका फर्ममा रहेका सुँगुरमा फैलियो । सुँगुरहरूमार्फत त्यो मान्छेमा स¥यो र महामारीको रूप लियो । स्वाइन फ्लू सर्नुमा नाफ्टा र उसको नीतिलाई जिम्मेवार मान्दै वैज्ञानिक वालेसले स्वाइन फ्लुलाई ‘नाफ्टाफ्लु’ भनेर नामकरण गरेका छन् । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा स्वाइन फ्लुले गर्दा सुँगुरको मासुको खपत घटेर सुँगुर उद्योग नै धराशयी हुने कुराले चिन्तित थिए । त्यसैले उनले ‘स्वाइन फ्लु’ भन्ने शब्द प्रयोग नगरी एचवन एनवन महामारी भन्ने शब्द प्रयोग गर्ने गरेका थिए । विश्व स्वास्थ्य संगठन र मिडियाले पनि उनलाई साथ दिए । यो एउटा उदाहरण हो कि शासकहरू जनताको स्वास्थ्यमा भन्दा बढी बहुराष्ट्रिय निगमको नाफालाई लिएर चिन्तित हुन्छन् ।  

 

भाइरसहरूको मानव स्वास्थ्यमा संक्रमणको लागि आदिवासीलाई दोषी देखाउने प्रयास गरिन्छ । आदिवासीको गलत संस्कार र खानपिन भाइरसको मानव स्वास्थ्यमा संक्रमण र विस्तारका लागि जिम्मेवार छ भनेर प्रचार गर्न खोजिन्छ, तर यथार्थ भने यसको विपरीत छ । पर्यावरणसँग सौहार्द सम्बन्ध बनाएर बसेका आदिवासीमा आफ्नो भूगोलवरिपरिका भाइरससँग बच्न सक्ने रोग प्रतिरोधात्मक शक्ति हुन्छ । यसलाई ‘हर्ड इम्युनिटी’ भनिन्छ । सन् १९७० पछि सुरु भएको भूमण्डलीकरणको मारमा सबैभन्दा बढी आदिवासीहरू परेका छन् । बहुराष्ट्रिय कम्पनीहरूको आँखा आदिवासीको जमिन र जमिनमा रहेको बहुमूल्य धातु, खनिज, पानी आदिमा टिकेको हुन्छ । कम्पनीहरूले सस्तो मूल्यमा आदिवासीहरूको घर र जमिन खरिद गरेका छन् । यदि कुनै आदिवासीले आफ्नो भूमि बेच्न मानेन भने सेना, प्रहरी र भाडाका गुन्डा लगाएर उनीहरूलाई आफ्नो थातथलोबाट लखेट्ने काम भएको छ । यो प्रक्रियाबाट करोडौँ आदिवासी किसान सहर छिरेर ज्यालादारी मजदुरमा परिणत भएका छन् । आफ्नो जमिनबाट उठिवास लगाइएका आदिवासीहरूको एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका ठूला सहरहरूका झुपडपट्टीहरूमा केन्द्रीकरण भइरहेको छ । पछिल्ला दशकमा भएको बसाइँसराइलाई जोन बेलामी फोस्टर ‘इतिहासकै अभूतपूर्व’ भन्छन् । भाइरस संक्रमणका लागि ज्यादै संवेदनशील भूमिमा अहिले ‘हर्ड इम्युनिटी’ भएका आदिवासी बस्दैनन् । त्यहाँ त हजारौँ ब्रोइलर कुखुरा, हाँस, सुँगुरजस्ता कमजोर इम्युनिटी र उच्च संक्रमणको जोखिम भएका जनावर बस्छन् । इम्युनिटी ‘फायर वाल’का रूपमा रहेका आदिवासीलाई सहर लखेटेर सहरको पुँजी गाउँमा पसेपछि हुने के रहेछ त ? एकपछि अर्को भाइरसको उदय, एकपछि अर्को महामारी !

 

हामी यस्तो आर्थिक प्रणालीभित्र छौँ, जसले मानव शरीर, जमिन, जनावर र पर्यावरणलाई ‘मुफ्तको उपहार’ मान्दछ र नाफा तथा पुँजी सञ्चयका लागि सबै प्राकृतिक र सामाजिक सीमा नाघेर शोषण गर्दछ । प्रकृतिले आफूमाथिको शोषणलाई एउटा सीमासम्म सहन्छ, तर जब पुँजीको शोषणले त्यो सीमा नाघ्छ, प्रकृतिले पलटवार गर्छ । आवधिक रूपमा देखा परिरहेका भाइरस र महामारी यसका दृष्‍टान्त हुन् । हाम्रा आर्थिक क्रियाकलाप प्रकृतिको निर्मम दोहनमा आधारित छन् । यसकारण मान्छे र प्रकृतिबीचको सम्बन्धमा तीव्र दरार उत्पन्न भइरहेको छ । सबैखाले प्रकृतिजन्य समस्याको समाधान हामीले मानव समाजमा खोज्नुपर्नेछ । त्यसैले छिटोभन्दा छिटो अर्थतन्त्र र उत्पादन पद्धतिको संरचनागत परिवर्तन गर्नुपर्नेछ । अन्यथा हामी नयाँ–नयाँ भाइरसको प्रकोप झेल्न तयार भइरहनुपर्नेछ ।