• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
आर. मानन्धर
२०७८ जेठ १ शनिबार ०७:०७:००
साहित्य

धरहराबाट  देखिने मात्रै  होइन काठमाडौं !

२०७८ जेठ १ शनिबार ०७:०७:००
आर. मानन्धर

कविता 

 

यो सहरलाई नठान तिमीहरूले
मात्र मान्छेहरूको एउटा बस्ती हो 
नठान यसलाई एक टुक्रा घडेरी
नठान एउटा सुविधायुक्त घर
नठान केही पैसा आर्जन गर्ने थलो ।

 

बुझ,
यो सहर जति मान्छेहरूको हो
उत्तिकै देवी–देवताहरूको पनि हो
आजु–अजिमाहरूको पनि हो
लाखे र लसिंहरूको पनि हो 
ख्याक र कवंचाको पनि हो
यो सहर बुद्ध र बोधिसत्वहरूको पनि हो
यो त तान्त्रिक सहर हो, त्यसैले यो 
केवल भात खाने मान्छेहरूको मात्र सहर होइन
जामनः गुभाजूको देश पनि हो ।

 

बुझ,
यो सहर अन्य सहरहरूजस्तो
मात्र गाडी गुड्ने सहर होइन
यो सहरमा देउताका खट पनि गुड्छन्
खटमा देउताहरू घुम्छन् ।
यो ढुंगाका देउताको मात्र सहर होइन
यो त जिउँदा देवी–देवताहरूको सहर हो ।

 

सायद तिमीहरू यहाँ
मात्र घरजग्गा देख्छौ
अवसर देख्छौ
रोजगार देख्छौ
बजार देख्छौ
सायद तिमीहरू धरहरा चढेर यो सहर हेर्छौ
तर, यो सहर त्यति मात्र होइन
जति धरहराबाट देखिन्छ ।

 

यो सहर माथिबाट हेरेर होइन
यसको भित्र हिँडेर हेर्नुपर्छ
यसको भित्री भाग, र अझ भित्री भागसम्म
यसको भित्रको भित्री कुरा बुझ्नुपर्छ ।
किनभने, यो त 
मूर्त र अमूर्त कलाहरूको सहर हो
मौलिक संगीतहरूको सहर हो
रैथाने कथाहरूको सहर हो 
वास्तवमा यो कथैकथाको सहर हो
यहाँका कथाहरू नसुनी÷नबुझी
यो सहर बुझिँदैन ।
यो केवल घरैघरको मात्र सहर होइन
मन्दिरै–मन्दिरैको सहर पनि हो
विहार र बहीहरूको सहर पनि हो
यो केवल प्लटिङ र बाटोको सहर होइन
खेत, खोला र ज्यापूको सहर पनि हो ।
यो सम्पत्तिको मात्र सहर होइन
बरु, अमूल्य सम्पदाहरूको सहर हो ।

 

यो आधुनिक सहर मात्र होइन
पौराणिक सहर पनि हो
प्राचीनकालदेखि
मान्छे, देउता, आजु र लाखेहरू
सँगसँगै मिलेर बसेको थलो हो
तिनीहरू सँगसँगै नाच्छन्
सँगसँगै घुम्छन्
एकै लहरमा बसी भोज खान्छन् ।

 

यहाँका दृश्य–अदृश्य आस्थाहरूसित
घुलमिल भई बाँच्न नजानुन्जेल नबुझिने
विश्वमा अन्यत्र कतै नभएको
एउटा विशिष्ट मौलिक सहर हो यो !