• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विवेक पाेखरेल चितवन
२०७८ जेठ १ शनिबार ०८:२३:००
रिपाेर्ट

निषेधाज्ञाले  छेकेन परिश्रमीलाई

२०७८ जेठ १ शनिबार ०८:२३:००
विवेक पाेखरेल चितवन

‘महामारी छ भन्दैमा घरभित्रै थुनिएर खेतबारी बाँझो नराखौँ’

काेभिड–१९ को कारण चितवनसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । तुलनात्मक रूपमा कृषि कर्ममा लागेकाहरूलाई निषेधाज्ञाले खासै प्रभाव पारेको देखिँदैन । ठूला फर्ममा होस् वा गाउँघरमा खेतीका काम भइरहेकै छन् । 

 

निषेधाज्ञासँगै गाउँका कृषिकर्म पनि ठप्प भएको भए बन्द कोठामा बस्नेले किनेरै खान पनि पाउने थिएनन् । यद्यपि बजार र होटेल बन्द हुँदा गाउँका कृषि उत्पादनले सहज रूपमा बजार पाएका छैनन् । जसका कारण बिक्री नभएका उत्पादन बारीमै कुहिन वा कुहाउन बाध्य छन्, किसान । तर पनि कृषकले कृषि गर्न भने छाडेका छैनन् । यसको एउटा उदाहरण चितवनको माडीमा अहिले पनि देखिन्छ । 

 

माडी नगरपालिका–५ को  ढिकुरबारीमा रहेको करिब २५ बिघा ऐलानी खेतको बलौटे दोमट रातो माटोलाई ४–५ पटक खनजोत गरिसकेपछि बनेको माटोमा बेसार लगाउने चटारो छ अहिले । विगतमा बाँझो रहेको खेतमा ७० वर्षीया बुद्धिमाया सुनार मुखमा मास्क लगाउँदै बेसार रोप्न व्यस्त छिन् । यो कृषि कामको चाँजोपाँजो भने ‘दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था’ले मिलाएको हो । डोरीले सीधा बनाएको ड्याङमा जेठ पहिलो हप्तासम्म स्थानीय र उन्नत जातको एक क्विन्टल बेसार रोपेर सक्न गाउँका तीन सय महिला आतुर छन् । 

 

सहकारी ०६९ जेठमा स्थानीय महिलाले  भेटघाट गर्ने र पैसा बचत गराउने उद्देश्यले स्थापना भएको थियो । संस्थाकी अध्यक्ष टीका न्यौपानेका अनुसार पछिल्लो समय कृषि पेसालाई आत्मसात् गर्दै सहकारी अघि बढेको छ । उनी भन्छिन्, ‘महिलाहरू  उद्यमशील बन्नुपर्छ भनेर कृषि कर्म गर्दै आएका छौँ ।’ न्यौपानेका अनुसार यसबाहेक सुरुका दिनमा मेला जाने र आम्दानी बचत गर्ने काम पनि सहकारीमार्फत भएको थियो । ‘सहकारीमा हामी तीन सयजना आबद्ध छौँ, सबैजना किसान हौँ । त्यसैले यही पेसाबाट महिलालाई जागृत गर्नुपर्छ भनेर लागेका छौँ, न्यौपाने भन्छिन् ।  

 

यसअघि पनि सहकारीले एक बिघा बारीमा कोदो र ५ कठ्ठामा अदुवा खेती गरेको थियो । ‘आम्दानी राम्रो आयो, त्यसपछि अहिले महिला दिदी–बहिनीलाई थप व्यावसायिक बनाउन ठूलो परिणाममा खेती गरेका हौँ,’ न्यौपाने भन्छिन् । कोरोनाको डर भएकाले  तीन सय सदस्यमध्ये एकै टोलका १०–१० जनाको समूह बनाएर खेतका विभिन्न छेउमा कार्य विभाजन गरी काम गरिरहेका छन् । बारीमा आउने समय पनि तोकिएको छ । महामारी छ भन्दैमा घरभित्रै थुनिएर खेतबारी बाँझो राख्न नहुने उनको भनाइ छ । 

 

उनीहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ चितवनको चक्लाबन्दी व्यावसायिक बेसार खेती कार्यक्रममार्फत अनुदानस्वरूप १० लाख रुपैयाँ प्राप्त भएको छ, भने माडी नगरपालिका–५ को कार्यालयबाट एक लाख रुपैयाँ सहयोग गरिएको नगरका मेयर ठाकुरप्रसाद ढकाल बताउँछन्  । परियोजनाका प्रमुख मेघनाथ तिमल्सिनाका अनुसार चितवनमा व्यावसायिक रूपमा ठूलो परिमाणमा बेसार खेती यो नै पहिलो हो । देश संकटमा रहेका वेला बाँझो जमिनमा सुरु भएको दिदी–बहिनीहरूको कृषिकार्य जिल्लामै उदाहरणीय बन्ने उनको विश्वास छ । उत्पादनलाई सहकारीले नै बजारीकरण गर्ने लक्ष्य राखेको छ ।