• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विरहीबाबु ढुंगेल
२०७८ जेठ १ शनिबार ०८:५७:००
सम्झना

गरिखानेहरूको जिन्दगी  झन् दरिद्र किन ?

मजदुर आवाज

२०७८ जेठ १ शनिबार ०८:५७:००
विरहीबाबु ढुंगेल

 

मजदुर एकता – जिन्दावाद
मजुदरमारा साहु – मुर्दावाद

कमसेकम साढे दुई दशक पहिलेकै कुरा हो यो । मजदुर दिवस मनाउन भेला भएको विशाल जनसागरको भेलमा म पनि एउटा थोपा बनेर लुसुक्क पसेको थिएँ । गगनभेदी इन्कलाब फलाक्दै हावामा विद्रोहको मुठी उज्याइरहेका श्रमजीवीहरूको विशाल लाममा मिसिएको थिएँ । 

 

मध्य वैशाखको चर्को घामले मजदुरहरूको ओठतालुलाई डामिरहेको थियो । परिश्रमको पसिनाले भिजेका जीवनहरू जति चर्को घामले डामे पनि तिर्खाको कुनै वास्ता नगरी स्वतःस्फूर्त तरिकाले जुलुसमा लामबद्ध भइरहेका थिए । ओ हो ! मेरा प्रियहरू, मेरा आँखाबाट आँसु रसाउन खोजे । हिजोसम्म म कारखानामा एक्लै छु, शोषित छु, पीडित छु भन्ने लागेको थियो । आज जुलुसमा मजस्ता कति धेरै साथीहरू पाएँ ।

 

मित्रहरू, तिमीहरूको र मेरो जीवनको गति एउटै छ । तिम्रो वास कतै टहरोमा छ, कसैको पेटीमा छ या कारखानाको छिँडीमा छ । मेरो पनि त्यस्तै ठाउँमा छ । धर्ती ओछ्याउँछांँ, आकाश ओढ्छौँ । तिमीले खाने गाँसमा पाँचपटक ढुंगा लाग्छ, दालमा मुसाको लिँड हुन्छ । मेरोमा पनि ठिक त्यस्तैै हुन्छ । तिमीले लाउने कपडा जन्त जाँदा, मलामी जाँदा, कारखाना आउँदा जहाँ गए पनि एउटै हुन्छ । मेरो पनि त्यही एउटै हुन्छ । 

 

क्या मिलेका है हाम्रा जीवनहरू ! परिश्रमको गति एउटै छ । पीडाको खति एउटै छ । अनिदोले परेली बाटिएका छन् । भोकले ओठहरू फुटेका छन् । हामी शोषित पीडित मित्रहरू एउटै फाँटका । हामीलाई चुस्ने शासक, साहु मालिक पनि एउटै घाटका । काटीकुटी हामी एकैनासका दौँतरी । त्यसैले हाम्रो स्वर मिलेको छ ।

 

केही दिनअघि मात्र मलाई मजदुर नेताले भनेका थिए– हेर्नुस् ढुंगेलजी, मजदुर शक्ति भनेको यस्तो शक्ति हो जसले शोषणको पहाडलाई भत्काइदिएर समथर बनाइदिन्छ । समथर भूभागमा पहाड ठड्याइदिन्छ । त्यसैले हामी मजदुरहरू एक हुनुपर्छ । कदममा कदम मिलाएर, हातमा हात मिलाएर हामी हाम्रो अधिकारका निम्ति जिउँदोजाग्दो भएर, भित्रैदेखि जुर्मुराएर हाम्रो श्रम चोर्ने शासकलाई तागत देखाइदिनुपर्छ ।

 

उनलाई सुनेपछि मेरो मनले आफैँसँग साउती मार्‍यो – हो त नि ! त्यसपछि मैले जुलुसलाई अगाडि हेरेँ । पछाडि पनि फर्केर हेरेँ । राता झन्डाहरू उचालिएका छन् । जिन्दावाद र मुर्दावादको चर्को स्वरमा सयौँका हातहरू श्रमचोरतिर तेर्सिएँ– तँलाई पख भनौँला जसरी । आम्मै को जुर्मुराएको छैन यहाँ ? गार्मेन्टमा लुगा सिलाउने दाजुहरू यही जुलुसमा आएका छन् । गलैँचामा तान बुन्ने दिदीहरूले यही जुलुसमा स्वरमा स्वर दिइरहेका छन् । होटेल रेस्टुरेन्टमा काम गर्नेहरूले कदम बढाइदिएका छन् । गाडीको चक्का गुडाउनेदेखि इँट्टाको भट्टा तताउनेसम्मको ज्यान यहीँ हाजिर भएका छन् । अझै कति आउनै बाँकी छन् र त सडकमा पाइलो अटाउन मुस्किल परेको छ ।

 

जुलुसकै बीचमा सोचेँथे– आज देख्यो होला त शासकले मजदुरको तागत ? एक हुनुपर्दा कसरी एक हुँदारहेछन् । यत्रा मजदुर एक भएर झाम्टा मारे भने त जत्रोसुकै शासकलाई पनि पछार्न सक्छन् भन्ने कुराको ज्ञान भयो होला शासकलाई ।

 

अस्तिको दिनमा नेताले भनेथे, ‘हेर्नुस् ढुंगेलजी यो संसारमा सडक, पुल, पोखरी, कलकारखाना, सारा उद्योगधन्दाका विशाल अखडा सजाउने भनेको हामी मजदुरले हो । यो संसार रंग्याउने सिँगार्ने, सजाउने दुनियाँको आँखामा रुचिकर बनाउने हामी हौँ । हामी जस्तै श्रमजीवीले युरोप बनायौँ, अमेरिका बनायौँ । सिंगापुर सजायौँ, जापान उठायौँ । हामीले कत्राकत्रा रेल गाडी बनायौँ । समुद्रमा जहाज कुदायौँ । कत्राकत्रा खेलकुद मैदान बनायौँ । कत्राकत्रा टावर ठड्यायौँ । यो सब कुराको रचनाकार हामी मजदुर हौँ ।’ उनले भनेथे, ‘ढुंगेलजी एउटा कुरा थाहा छ तपाईंलाई ?
मैले जिज्ञासावश सोधेथेँ– के कुरा ?
– यत्रो संसारको रचनाकार भइकन पनि हामी गरिब किन छौँ, थाहा छ ?
–खै किन गरिब छौँ, किन ? यस्तो कुरा बाउले पनि पढाएनन्, आमाले पनि सिकाइनन् ।
–मुठीभरका मालिकहरूले हाम्रो श्रमको शोषण गरेर हामीलाई गरिब बनाएका छन् । तिनै मालिकहरूको व्यवस्थाले चुसेर हामीलाई खोक्रो बनाएको छ । मालिकहरूको सत्तामा आसीन शासकहरूले निचोरेर हामीलाई खोस्टो बनाएको छ ।
–भनेपछि काम गर्ने कालु मकै खाने भालु ....
–हो, हो ठिक भन्नु भो । कालुको कमाइ भालुले खाएको छ । त्यो भालुका नंग्रा मर्काउनुपर्छ अब ।
–सकिएला र त्यसो गर्न ?
– किन नसक्नु ? सकिन्छ ।
जुलुसको अनुहार हेर्दा नेताले भनेको कुरा ठिकजस्तो लाग्यो । मनमनै खुसी भएँ– क्या गजबले एक भयो दुनियाँ । अबचाहिँ हट्ला थिचोमिचो ।

 

मजदुरहरूले मञ्च बनाएका छन्, भाषणचाहिँ अर्कै सुकिलो मानिसले गरिरहेको छ । यी टाठाबाठा सुकिलाहरू मजदुरको प्रतिनिधि बनेर मालिकसँग वार्ता गर्न जान्छन् अनि मजदुरलाई ठग्छन् ।

 

नेताले भनेथे– हेर्नुस् ढुंगेलजी आज यस दुनियाँमा सयौँ मजदुरहरू श्रमकैै कारण रोगी भइरहेका छन् । साहु, मालिकको आफूखुसी हैकमले गर्दा सयौँ मदजुरको रोजीरोटी खोसिएको छ । सयौँ मजदुरहरू अत्यन्त दयनीय रूपमा अव्यवस्थित जीवन बिताइरहेका छन् । मजदुरको हक र हितका निम्ति बनेका नियम कानुनहरूलाई शोसकहरूले धोती लगाएर कन्दनीमा बेरेका छन् । शासकले हामीमाथि ठूलो अन्याय गरेका छन् ढुंगेलजी । नियम–कानुमा रहेको अलिअलि मजदुरको हित गर्ने व्यवस्था पनि साहु र तिनका प्रतिनिधि शासकहरू मिलेर धज्जी उडाएका छन् ।
–मजदुरको हित गर्ने नियम–कानुन पनि बनेको छ ?

 

ल तपाईंलाई थाहा छैन, श्रम ऐन २०४८ छ , श्रम नियमावली २०५० छ, ट्रेड युनियन ऐन २०४९ छ, ट्रेड युनियन नियमावली २०५०, बोनस ऐन २०३० बनेका छन् । नियमले बताएको छ ढुंगेलजी– कुनै पनि मजदुर भर्ती गर्ने संस्थाले कमाएको नाफासम्म पनि कानुनले तोकेअनुसार प्रतिशतका आधारमा मजदुरलाई बाँड्नुपर्छ भनेर बुझ्नुभो ? तपाईंको तलब कति छ ?
–एघार सय रुपैयाँ ।     
–एघार सय रुपैयाँ ?
–हो, एघार सय रुपैयाँ ।
–कानुनले एक्काइस सय रुपैयाँभन्दा कम तलबमा काममा लगाउन पाइँदैन भनेर भनेको छ । 
बाफ्रेबाफ ! एक्काइस सय ? अनि पो मेरो निद्रा बिग्रने गरी पसिना बगाउँदा पनि बिहान–बेलुकाको दुई छाक जोर्न पनि मुस्किल परेको रहेछ त मलाई । पाजी भाते साहुले त मलाई मारेरै छाडेको रहेछ त । कानुनले एक्काइस सय दिनु भनेपछि खुरुक्क दिनुपर्दैन ? कानुनभन्दा माथि हुनेलाई अब तह लगाउनुपरेन ? त्यसैले म यतिखेर जिन्दावादको नारा लगाइरहेको छु । 

 

त्यसदिन मलाई एकदमै रमाइलो लागिरहेको थियो । यस्तो आनन्द र खुसी मैले कहिल्यै पाएको थिइन । रातदिन कारखानाको काम, त्यहाँको कर्कस आवाज । मजदुर साथीहरूसँग कतै मेल, कतै बेमेल । हेपाइ र पेलाइ । आज त कस्तो खुला आकाशमा स्वतन्त्र भएझैँ भएथ्यो । यतिखेर म खुलामञ्चको अगाडि विशाल आँगनको बीच भागमा सयौँ मान्छेहरूको साथमा थिएँ । हुन त म सयौँ मान्छेहरूको बीचमा कतै हराएको थिएँ । तर, पनि म खुसी थिएँ । जो जहाँका मान्छे भए पनि सबै एउटै । सबै आफन्त जस्ता थिए । यहाँ बिरानोजस्ता कोही लागेनन् । सबैको लोली र बोली एउटै थियो । जिन्दावाद एउटै थियो । मुर्दावाद एउटै थियो । 

 

मञ्चको आकर्षण झिलीमिली सिँगारपटार देख्दा मुखियाको आँगनबाट दुलही अन्माउन आँटेजस्तै देखिन्थ्यो । भाषण मञ्चको अगाडिबाट कोही एउटा मान्छेले माइकको टुटी फुकेर कसैलाई गीत गाउन लगायो । कसैलाई ताली पड्काउन लगायो । भाषणकर्ताहरूको क्रमैसँग नाम बतायो । उसले जजसको नाम बताउँथ्यो, तिनका नाममा हरेकपटक ताली पड्कन्थ्यो । मैले पनि आफैँलाई न्याय गर्ने मान्छे सम्झेर पड्काइदिएथेँ ताली ।

 

वैशाखको चर्को घामलाई पनि भाषणकर्ताको भाषणले शीतल बनाइदिएझैँ लाग्थ्यो । निधारभरि खलखली बगेको पसिनाको कुनै वास्ता नगरी ध्यानदृष्टिले भाषण सुनिरहेथेँ । यस्तो कुरा थप सुन्न उत्सुक थिएँ । मजदुरको भलो हुने कुरा भन्न अझै बाँकी होस् । खानु त उही चिसो रोटी छँदै छ र पनि भोलिको दिनमा छिट्टै खिर खाने दिन आउँदै छ भनेर रोटी टोक्न पाइयोस् । 

 

मेरो सामुन्नेको अग्लो मोटो ज्यानको भलाद्मी मान्छेले पनि मेरोजस्तै गरी भाषण सुनिरहेको थियो । म घरीघरी उसको अनुहारमा हेर्थेँ । ऊ घरीघरी मेरो अनुहारमा हेथ्र्यो । तर, बोलचाल भने बाँकी नै थियो । बोल्नका लागि म उपयुक्त सन्दर्भको प्रतीक्षामा थिएँ । 

 

नव आगन्तुक भाषणकर्ताले माइकको टुटी फुकेर चर्को गर्जनका साथ बोल्यो– आदरणीय मजदुर साथीहरू हो ! आज संसारभरिका लाखौँ मजदुरहरूका अधिकार हनन भइरहेका छन् । लाखौँ मजदुरहरूले अव्यवस्थित जीवन बिताइरहेका छन् । लाखौँ मजदुरहरू पेसागत श्रमका कारण रोगबाट पीडित भइरहेका छन् । आइएलोजस्ता आइएनजिओको तथ्यांकले समेत त्यही भनेको छ । 

 

लाखौँ मजदुरको कंगाल जिन्दगीलाई गन्ती गर्ने यो आइएलओ भनेकोचाहिँ को रहेछ ? मैले उही नजिकैको अग्लो मान्छेलाई सोध्ने विचार गरेँ ।
–दाइ यो आइएलओ भनेको के हो ? मजदुरको राजा कि मालिक ? 

 

उनले भने– भाइ यी सबै कुरा खाइखेलो हो । माइकको ठुटो समाएर जतिसुकै चर्को स्वरले डुक्रिए पनि यहाँ सक्कली पाराले मजदुरको हित हुने कुरो छैन । कुरोको अन्तिम गाँठो त उही त हो नि, मजदुरलाई सीमित हक र अधिकारको जालोभित्र कोच्ने अनि तिनका तात्तातो पसिना चुस्ने । अनि मजदुरचाहिँ जिन्दगीभरि मजदुरको मजदुर नै बनिरहने । उता मजदुर नेता भने ट्रेड युनियनको सुकिलो कार्यालयभित्र गिलो सोफामा बसेर कफी पिइरहेको हुन्छ । अधिकारको काइते भाषण जति गरे पनि एकातिर खाइखेलो चलिरहेको हुन्छ । अर्कोतिर मजदुरवर्ग चौथाईबराबरको अधिकारबाट वञ्चित भइरहेको हुन्छ ।

 

भर्खरसम्म चिच्याइचिच्याइ जिन्दावादको नारा लगाएको थिएँ । अब त केही शान्तिका दिन आउलान् भन्ने लागेको थियो । यो मान्छेको कुराले म त साह्रै रनभुल्लमा परेँ । जिन्दावादको पहिलो चित्कार पनि धिक्कारकै लाग्यो ।

 

उत्तिनैखेर तिनै दाजुले भनेका थिए– मजदुरहरूले मञ्च बनाएका छन्, भाषणचाहिँ अर्कै सुकिलो मानिसले गरिरहेको छ । यी टाठाबाठा सुकिलाहरू मजदुरको प्रतिनिधि बनेर मालिकसँग वार्ता गर्न जान्छन् अनि मजदुरलाई ठग्छन् । तिनले मालिकसँग बसेर रक्सी घुट्क्याउँदै कुखुराको साँप्रा चिथोरेका छन् । उठ्ने वेला मालिकबाट मोटो रकम लिएर मजदुरका हकअधिकार मालिकको तजबिजीमा सुम्पेर आफू मोटाउने बाटो सोझ्याएका छन् । मजदुर झन्झन् शोषण र अत्याचारले थिलथिलो भएका छन् । जबसम्म आफ्नो माग लिएर मजदुर आफैँ अघि सर्दैनन्, मालिकसँग आफ्नो पसिनाको मोलका लागि लड्न आफैँ अग्रसर हँुदैनन्, तबसम्म यो झुक्याउने र झुक्किने खेल चलिरहन्छ । मजदुर देखाएर मजदुरका नेता भनाउने बिचौलियाहरू मोटाउने खेल चलिरहन्छ । अब मञ्च जसले बनायो, त्यो मञ्चमा गुञ्जिने आवाज उसैको हुनुपर्छ । पसिना जसले बगायो, आफ्नो पसिनाको मोलको हिसाब माग्न उभिने मानिस उही हुनुपर्छ । 

 

                                             ०००

 

उनले त्यसो भनेको पनि आज पच्चीस वर्ष बितिसकेछ । तर, आजसम्म पनि मजदुरहरू ठगिनबाट रोकिएका छैनन् । मजदुरको नाममा युनियन नामका बिचौलिया अखडाका अधिपतिहरू मोटाउने र तिनको वर्ग उत्थान हुने क्रम रोकिएको छैन । गरिखाने मजदुरहरू आफ्नो अधिकारका लागि एकताबद्ध भएर श्रमचोरहरूका विरुद्ध लड्न आफैँ अग्रसर भएर अगाडि आउन सकेका छैनन् । परिणामतः गरिखानेहरूको जिन्दगी झन्झन् दरिद्रता, शोषण र अत्याचारको दलदलमा भासिदै गइरहेको छ ।