• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शक्तिकुमार वंशकार
२०७८ जेठ ८ शनिबार ०९:५७:००
अनुवाद

प्यालेस्टाइनीमाथि हिटलर बिर्साउने क्रूर अत्याचार

इजराइल–प्यालेस्टाइन द्वन्द्व

२०७८ जेठ ८ शनिबार ०९:५७:००
शक्तिकुमार वंशकार

 

इजरायलको जन्मपछि चार सय अरबी गाउँ लुप्त भए

 

आजभन्दा १८ वर्षअगाडि मलाई लागेको थियो, निर्दोष इजरायलीमाथि मुस्लिम आतंकवादीहरूले साह्रै अत्याचार गरिरहेका छन्, प्यालेस्टाइनी आतंकवादीहरूले इजरायलमाथि रकेट प्रहार गरेर दिनरात सर्वसाधारण जनतालाई हताहत पारिरहेका छन् । तर, आज परिस्थिति बदलिएको छ । 

 

जायोनवाद एउटा यहुदी अभियान थियो, जसले प्यालेस्टाइनमा एउटा यहुदी राज्य कायम गर्ने उद्देश्य बोकेको थियो । १९०३ ई. मा ब्रिटिस साम्राज्यले जायोनवादीलाई युगान्डाको निर्जन इलाकामा १५ हजार ५ सय वर्गकिलोमिटर क्षेत्रफलको भूमि दिने प्रस्ताव गर्‍यो, तर जायोनवादीले प्रस्ताव स्वीकार नगरी प्यालेस्टाइनको माग गरिरह्यो । सन् १९०५ मा असफल रुसी क्रान्ति भयो । त्यसपश्चात रुसले यहुदीविरुद्ध सफाया अभियान चलायो । त्यसको प्रभावस्वरूप रुसी यहुदीहरूको समूह प्यालेस्टाइन पुग्ने पहिलो समूह बन्यो ।

 

प्रथम विश्वयुद्धमा इंग्ल्यान्डमा बसिरहेका रुसी यहुदी जायोनवादी चेम विजमेन तथा नाहुम् सोकोलो ब्रिटिस साम्राज्यको माथिल्लो तहका मानिसलाई प्रभावित पारेर नभेम्बर २, १९१७ मा बलफोर घोषणा गर्न सफल भयो । यो घोषणा ब्रिटिस साम्राज्यको तर्फबाट सर हेनरी मेकमोहनले मक्काका अमिर हुसेन इब्न अलीसित गरेको वाचाको विरुद्ध थियो, जसमा सर हेनरीले प्यालेस्टाइनका अरबीलाई स्वतन्त्रता दिने वाचा गरेका थिए । सन् १९२० को दशकमा प्यालेस्टाइनका विभिन्न अरबी तथा मुस्लिम इसाई संगठनहरूले यहुदी प्रवासीहरू भित्र्याउने निर्णयको विरोध गर्दै थिए । अर्कोतिर प्यालेस्टाइनमा रहेको यहुदी समुदायले आफ्नो सभा, कलकारखाना, चिकित्सा सुविधा, ट्रेड युनियन आदि स्थापित गर्दै गए । उनले ‘हगाना’ नामको सैन्य संगठन पनि खडा गरे जबकि प्यालेस्टाइनीहरूसित कहिल्यै पनि कुनै सैन्य संगठन भएन ।

 

इजरायलले प्यालेस्टाइनीहरूमाथि गरिरहेको अत्याचार कुनै पनि प्रकारले क्षमा गर्न लायकको छैन । उसले प्यालेस्टाइनीहरूमाथि आज त्यही गरिरहेको छ, जुन हिटलरले यहुदीहरूमाथि गरेको थियो । आज शोषितहरू स्वयं शोषक बनिसकेका छन् ।

 

यो सैन्य संगठन सुरुवातमा अरू सैन्य संगठनहरू ‘इर्गुन जवाइ ल्युमी’ र ‘स्टर्न ग्याङ’ जस्तो आतंककारी गतिविधिहरूमा संलग्न भएका थिएनन् । तर, १९४१ पछि जब ब्रिटिसहरूले प्यालेस्टाइनमा यहुदीहरूको असीमित आगमनलाई निषेध गरे, तब यो सैन्य संगठनले पनि विभिन्न किसिमका आतंकवादी गतिविधि गर्न थाल्यो । अर्को सैन्य संगठन ‘इर्गुन’ सुरुवातदेखि नै अरबीमाथि हिंसात्मक थियो । यो संगठनले ब्रिटिस सैनिक तथा पदाधिकारीहरूको हत्या गर्ने तथा अन्य विभिन्न आतंकवादी गतिविधि गथ्र्याे, जसमध्ये नोभेम्बर १९४४ मा ब्रिटिस राज्यमन्त्री लर्ड मोयनेको हत्या तथा जुलाई १९४६ मा किंग डेभिड होटलको बम विस्फोट प्रमुख रहेको छ । यस विस्फोटमा ९१ मानिस मारिए । यसै संगठनले अप्रिल १९४७ मा एउटा अरबी गाउँमा हमला गरेर सयजना सर्वसाधारणको हत्या गर्‍यो । 

 

यहुदीका लागि सन् १९१८ पछिको समय राम्रो रह्यो । सन् १९२२ देखि १९४४ को बीचमा यहुदीहरूको जग्गा ६०० वर्गकिलोमिटरबाट १५५१ वर्गकिलोमिटर पुग्यो । उनीहरूको जनसंख्या ८५ हजारबाट चार लाख ६७ हजार पुग्यो, जुन सम्पूर्ण जनसंख्याको एकतिहाइ थियो । त्यसवेला प्यालेस्टाइनको जनसंख्या १५ लाखजति पुगेको थियो ।

 

विश्वयुद्धका वर्षमा प्यालेस्टाइनका यहुदी समुदाय अत्यन्त सशक्त भयो । ब्रिटिस साम्राज्यलाई सपोर्ट गर्दै २७ हजार यहुदीहरू ब्रिटिस सेनामा सामेल भए । यसैक्रममा मई १९४२ मा न्युयोर्क सहरमा भएको जायोनवादीहरूको सम्मेलनले प्यालेस्टाइन यहुदीका लागि स्थापना हुनुपर्ने र यहुदी सेनाको स्थापना हुनुपर्नेजस्ता मुद्दामा समर्थन प्राप्त भयो ।

सन् १९४४ मा एउटा वक्तव्य निकालेर अरबी राष्ट्रहरूको स्थिति प्रस्ट पारेका थिए । त्यस वक्तव्यअनुसार युरोपेली तानाशाहद्वारा यहुदीहरू माथि गरिएका अत्याचारप्रति अरबी राष्ट्रहरू सहानुभूति राख्थे । तर, युरोपेली यहुदीहरूको समस्याको समाधान गर्ने प्रयासमा प्यालेस्टाइनका अरबीहरूमाथि अत्याचार गर्नुहुँदैन भन्ने पक्ष अरबी राष्ट्रहरूको थियो । फरवरी १९४७ मा ब्रिटिस सरकारले प्यालेस्टाइनको मुद्दा संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गर्‍यो । ३१ अगस्ट १९४७ मा प्यालेस्टाइनका लागि संयुक्त राष्ट्र संघको विशेष समितिले प्यालेस्टाइनलाई अरबी तथा यहुदी गरी दुई भागमा विभाजित गर्ने तथा जेरुसलमलाई अन्तर्राष्ट्रिय भूभाग बनाउने सिफारिस गर्‍यो । लगत्तै २९ नोभेम्बर १९४७ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले अरबी राष्ट्रहरूको विरोधका बाबजुद दुईतिहाइ बहुमतबाट यो सिफारिसलाई स्वीकृत गर्‍यो । अमेरिकाद्वारा विभाजनको पक्षमा भोट गर्न साना मुलुकलाई दबाब तथा धम्की दिएपछि यो फैसला सम्भव भएको थियो । 

 

१४ मई १९४८ मा बेन गुरिओनले इजरायल राज्यको घोषणा ग¥यो । त्यसको भोलिपल्ट नै अमेरिका तथा सोभियत संघले इजरायललाई मान्यता दियो । यही दिन छिमेकी मुस्लिम देशहरूले इजरायलमाथि आक्रमण गरे, तर सोभियत संघले पहिल्यै नै चेकोस्लोभाकियाको अत्याधुनिक हातहतियार इजरायललाई प्रदान गरिसकेको थियो, जसको मद्दतबाट इजरायलले सबै सेनाहरूमाथि विजय प्राप्त गर्‍यो । इजरायलको जन्मपछि व्यापक रूपमा अरबीहरूको विस्थापन सुरु भयो । यस क्रममा ४०० वटा अरबी गाउँहरू लुप्त भए । १५ मई १९४८ भन्दा अगाडि इजरायली सेनाले निष्कासित गरेका व्यक्ति आफ्नो ज्यान जोगाउन शरणार्थी क्याम्पमा बस्न बाध्य भए । कतिजना प्यालेस्टाइनीहरू जोर्डन नदीको पश्चिमपट्टिको भूभागमा स्थानान्तरित भए, जसलाई आज वेस्ट बैंक भनिन्छ । केही प्यालेस्टाइनी जनता गाजामा बस्न पुगे । कोही भने इजिप्ट, लेबनान तथा जोर्डनजस्ता मुलुकमा पलायन भए । एउटा सर्वमान्य अनुमानअनुसार सात लाखभन्दा बढी प्यालेस्टाइनीहरू आफ्नो घर, गाउँ तथा टोलबाट विस्थापित भए । 

 

इजरायल र छिमेकी अरब देशहरूको बीचमा त्यसपछि फेरि सन् १९५६, १९६७, १९७३, १९८२ तथा २००६ युद्धहरू भए । हरेक युद्धपछि इजरायलले प्यालेस्टाइनको अझ बढी भूभाग कब्जा गर्दै गयो । इजरायलको जन्मपछि स्थानीय गाजापट्टी तथा वेस्ट बैंकमा सीमित भएका प्यालेस्टाइनीहरूका लागि राहत भएन । १९६७ को युद्धपछि वेस्ट बैंक कब्जा गरेको इजरायली सेनाले त्यसको बृहत् भागमा सैन्य शासन लागू ग¥यो । त्यहाँ धमाधम यहुदीहरूका लागि बस्ती बनाउँदै छ, जुन अन्तर्राष्ट्रिय कानुनविरुद्ध हो । यी गैरकानुनी रूपमा बनाइएका बस्तीमा जुन २०२० सम्म चार लाख ३० हजार यहुदीले बसोवास गरिरहेका थिए । यी बस्ती बनाउने क्रममा स्थानीय प्यालेस्टाइनीहरूको घरहरूलाई गैरकानुनी रूपले भत्काई उनीहरूलाई विस्थापित गर्ने क्रम धेरै अगाडिबाट यथावत् नै छ ।

 

इजरायलको यो विस्तारवाद निरन्तर द्वन्द्वको कारण बनेको छ । संयुक्त राष्ट्र संघका अनुसार कब्जा गरिएको प्यालेस्टाइनी भूभागमा इजरायली सैनिकहरूले निरन्तर प्यालेस्टाइनीका घरहरू ध्वस्त पार्ने, घरभित्र मानिसहरू हुँदाहुँदै पनि त्यसमाथि डोजर चलाउने, उनीहरूको सम्पत्ति खोस्ने, उनीहरूलाई बलपूर्वक घरबाट निष्कासित गर्ने, अन्तर्राष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्र संघले मद्दतस्वरूप दिएको टेन्टसम्म खोस्ने काम गर्दै आएको छ । इजरायलले कब्जा गरेको भूभागमा ७०० किलोमिटर लामो बार लगाएको छ र ठाउँ–ठाउँमा चेक प्वाइन्ट र गेट बनाएर सडकहरूसमेत थुनेको छ । आफूलाई आत्मघाती हमलाबाट जोगाउन इजरायलले त्यसो गरेको भन्छ तर यो एउटा झुटो कुरा हो । किनभने यो सबै संरचनाहरू इजरायल र वेस्ट बैंकको बीचमा नभएर वेस्ट बैंकभित्र बनाइएको छ, जसले प्यालेस्टाइनी सहर तथा गाउँको बीचमा मानिसहरूको आवतजावत रोकेर प्यालेस्टाइनीहरूलाई एकअर्काबाट अलग पार्ने, उनीहरूको खेतीबाट वञ्चित गर्ने, उनीहरूलाई कार्यस्थल, विद्यालय, स्वास्थ्य सेवा तथा आफन्तहरूसम्म पुग्न बाधा पुर्‍याएर उनीहरूको अर्थतन्त्रलाई ध्वस्त पार्ने काम इजरायलले गरिरहेको छ । यसरी बनाइएको बार अन्तर्राष्ट्रिय नियमअनुसार गैरकानुनी हो, जसले २० लाख प्यालेस्टाइनीहरू बस्ने वेस्ट बैंकलाई खुला जेलमा परिणत गरेको छ । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार यसरी खडा गरिएको संरचनाले मानिसहरूलाई समयमा स्वास्थ्य सेवासमेत प्राप्त गर्न नदिएर मानिसहरूलाई जबर्जस्ती मृत्युको मुखमा धकेलेको छ । यसरी मृत्यु हुनेमा ६ महिनाको अबोध बालकसमेत छन् ।

 

इजरायलले बनाएको संरचना र सैन्य उपस्थितिको उद्देश्य वास्तवमा प्यालेस्टाइनीहरूलाई विस्थापित गरेर उनीहरूको भूभागमा गैरकानुनी रूपमा आएका नयाँ यहुदीहरूलाई स्थापित गर्नु हो । घरमा बसिरहेको प्यालेस्टाइनीमाथि डोजर चलाउन यिनीहरू हिचकिचाउँदैनन् । यसको जीवन्त उदाहरणको रूपमा २३ वर्षीय अमेरिकी अधिकारकर्मी रेचेल कोरी रहेकी छिन् । उनी एउटा अध्ययनको क्रममा गाजा पुगेकी थिइन् । भित्र परिवार बसिरहेको एउटा घरमा इजरायली सैनिकले डोजर चढाउन खोजेको देख्दा उनले रोक्न खोजिन् । परिणामस्वरूप यो डोजर उनको माथि चढाइयो र उनको मृत्यु भयो । इजरायलको अदालतमा उनको आमाबुबाले मुद्दा दायर गर्दा अदालतले यो इजरायली सैनिकको गल्ती नभएर उनको आफ्नै गल्ती भएको फैसला सुनायो ।

 

इजरायलले प्यालेस्टाइनी सर्वसाधारण जनतामाथि अमानवीय अत्याचार गर्दै आएको छ । सन् २००९ मा उसले संयुक्त राष्ट्रसंघले गाजामा सञ्चालन गरिएको विद्यालय तथा सर्वसाधारण जनतामाथि सेतो फस्फोरस प्रयोग गरेर आक्रमण गरेको थियो, जुन कुरा युद्ध अपराधको श्रेणीमा पर्छ । उसले पटक–पटक आमनागरिकका घरहरू तथा व्यापारिक भवनमाथि हवाई आक्रमण गरेर ध्वस्त पार्दै आएको छ । अन्तर्राष्ट्रिय समुदायले स्पष्टीकरण माग्दा त्यहाँ अतिवादीहरू लुकेको हुनाले त्यो ठाउँमा हमला गरेको भन्ने इजरायलले जवाफ दिन्छ, तर हमलाको उद्देश्य अर्कै हुन्छ । जस्तै कि भर्खरै केही दिनअगाडि इजरायलले जेरुसलममा रहेको मस्जिदमा रमजानको पवित्र महिनामा प्रार्थना गरिरहेका मुस्लिमहरूमाथि आक्रमण ग¥यो, जसले एउटा नयाँ द्वन्द्वको रूप लियो । यो घटना र त्यसबाट सुरु भएको द्वन्द्वको रिपोर्टिङ गरिरहेको अलजजिरा तथा एसोसिएट प्रेसजस्ता अन्तर्राष्ट्रिय मिडियाका अफिसहरू भएको १० तल्ले भवनलाई इजरायलले हवाई हमला गरेर ध्वस्त पार्‍यो र संसारलाई उसले हमासका आतंकवादी लुकेका थिए भन्ने स्पष्टीकरण दियो । यसको उद्देश्य वास्तवमा स्वतन्त्र मिडियामाथि प्रहार थियो, जसबाट इजरायलले गरेको ज्यादतीको वास्तविक खबर संसारले नपाओस् ।

 

इजरायलले योभन्दा अगाडि पनि प्यालेस्टाइनीहरूमाथि गरेको ज्यादतीलाई हमासमाथि गरेको कारबाहीको आवरणमा ढाकछोप गर्दै आएको थियो । तर, केही स्वतन्त्र मिडिया, संसारका अरू भूभागमा रहेका तथा इजरायलभित्रै रहेका मानवअधिकारकर्मीहरू, इजरायली सैनिकहरूद्वारा भइरहेको दमनको स्वयं साक्षी भएका र पछि अन्तरात्माबाट प्रेरित आपत्तिकर्ता बनेका पूर्वइजरायली सैनिकहरू र संयुक्त राष्ट्र संघका व्यक्तिहरूले संसारसामु प्यालेस्टाइनीमाथि इजरायलले गरेको क्रूर अत्याचारको वृत्तान्त प्रस्तुत गरे र संसारले वास्तविकता बुझ्न थाल्यो । अहिले संसारका मुस्लिम राष्ट्रहरू मात्र नभएर अमेरिका, इंग्ल्यान्ड, युरोप तथा संसारका अरू मुलुकमा बसिरहेका मानव संवेदना जीवित व्यक्तिहरूले यो अत्याचारको विरोध गरिरहेका छन्, यसविरुद्ध प्रदर्शन गरिरहेका छन् । अमेरिकामा बस्ने धार्मिक यहुदीहरूले पनि इजरायलले प्यालेस्टाइनमाथि गरेको कब्जा तथा उनीहरूविरुद्ध भइरहेको क्रूर अत्याचारलाई यहुदी धर्म तथा यहुदीहरूको नामसँग जोड्न नहुने आह्वान गर्दै इजरायलले गरेको कुकृत्यको विरोध गरिरहेका छन् ।

 

निश्चय नै यहुदीहरूमाथि युरोपेली तानाशाहहरूले गरेको अत्याचार घिनलाग्दो तथा भत्र्सना गर्ने खालको छ । संसारका हरेक मानवलाई सम्मानका साथमा बाँच्ने अधिकार हुनुपर्छ । तर, यहुदीहरूमाथि भएको अत्याचारको उदाहरण दिँदै इजरायलले प्यालेस्टाइनीमाथि गरिरहेको अत्याचार कुनै पनि प्रकारले क्षमा गर्ने लायकको छैन । उसले प्यालेस्टाइनीमाथि आज त्यही गरिरहेको छ, जुन हिटलरले यहुदीहरूमाथि गरेको थियो । आज शोषितहरू स्वयं शोषक बनिसकेका छन् 

 

०००

 

(लेखक वंशकारले विगत दुई दशकदेखि इस्लाम तथा मुस्लिमबारे अध्ययन गर्दै आएका छन् ।)