• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सत्यभामा माथेमा 
२०७८ जेठ ८ शनिबार ०६:११:००
साहित्य

टपरीको  बोलबाला

कविता

२०७८ जेठ ८ शनिबार ०६:११:००
सत्यभामा माथेमा 

 

बाल्यकालदेखि
बैंस बिताएको
त्यो सात दोबाटोको संगमस्थल
चिरपरिचित
असन बजार
सर्वसुलभ पसलहरू
धेरै समयपश्चात्
डुल्दै पुगेँ म असन बजार
सिर्फ लपेस किन्न
पाँहाँचह्रेमा
पाहुनाहरूलाई लसकुस गर्न ।

 

लपेस पाइने 
गणेश मन्दिरमा
आम्मै ! छक्क परेँ
घुइँचो
तँछाडमछाडको अवस्था
केवल टपरी किन्न
एकले अर्कोलाई घचेट्दै
हानथाप गर्दै
सबै तप्काका महानुभाव
मोलतोल गर्दै ।

 

तीन किसिमका टपरी
पहिलो दोस्रो तेस्रो थरी
पसले मानिसको खल्तीको
अनुमान लगाउँदै
मनपरी भाउमा
गजक्क पर्दै
टपरी बेच्दै रहेछ
त्यहाँ त लपेस
परम्पराअनुसार
खाद्यान्न सजाउने लपेस त
बेचबिखन शून्यप्रायः भएछ
लपेसको चाङ गाँस्ने
परिचित पसले
टपरी गाँस्न व्यस्त रहेछ ।

 

बजारमा त टपरीकै
बोलावाला भएछ
म अलमलिएँ
चारैतिर हेर्दै गएँ
अपरिचितको हुलले
ती परम्परागत पसल
अदृश्यप्रायः भएको देखेँ
लपेस किन्ने प्रयासमा
म भौँतारिएँ

 

सोचेँ
मलाई त लपेस नै चाहिन्छ
गाउँ–गाउँ
टोल–टोल
घर–घरमा
हरिया पातहरू पुर्‍याउनु छ
लपेसमा खाद्यान्न सजाएर
पाहाँचह्रेमा
पाहुनाहरूलाई
मनग्गे खुवाउन
लसकुस गर्नु छ
असनमा दिदीबहिनीलाई
भेटघाट गराउनु छ
एकअर्कामा
माया, ममता, खुसी साट्नु छ
मेरो परिचित
असन बजार
मेरो मनपर्ने थलो
व्यवस्थित गर्नु छ
टपरी विस्थापित गरी
लपेसमा सजाएर
एउटै सुकुलमा
समान रूपमा
सबै–सबैलाई
भोज पस्कनु छ ।