• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रत्नराम श्रेष्ठ
२०७८ जेठ १५ शनिबार ०७:५४:००
इतिहास

साइकल कसरी बन्यो महिला स्वतन्त्रताको सारथी ?

२०७८ जेठ १५ शनिबार ०७:५४:००
रत्नराम श्रेष्ठ

 

साइकल गुडाउँदा पाएको त्यो आत्मिक स्वतन्त्रता त्यसअघि महिलाले सायदै अनुभूत गरेका थिए 

 

सन् १८९७ मा क्याम्ब्रिज विश्वविद्यालयले महिलालाई पनि पढ्न दिने निर्णय गर्‍यो । त्यो निर्णयबाट छात्रहरू क्रुद्ध भए । उनीहरूले साइकल चलाइरहेका महिलाको पुत्ला सार्वजनिक ठाउँमा झुन्ड्याएर विरोध गरे । साइकललाई विरोधको प्रतीकको रूपमा उभ्याइयो । साइकल चढ्ने महिलाहरू खराब हुन् भन्ने बिम्ब स्थापित गर्न खोजियो । त्यस दृश्यले त्यसवेलाको युरोपियन समाजको साइकल चढेर घरपरिवारको सिमानाबाट महिलालाई बाहिर जान नदिने चेतनास्तर झल्काउँछ ।

 

१९औँ शताब्दी साइकलको आविष्कार र विकासक्रम सँगसँगै महिला अधिकार र जागरणको दृष्टिबाट पनि महत्वपूर्ण शताब्दी रह्यो । साइकलले महिला अधिकार र जागरणको अभियानमा ऊल्लेखनीय भूमिका खेलेको भेटिन्छ ।

साइकलको इतिहास 

 

सन् १८१७ मा कार्ल फेहर ड्राइसले ड्रेसिन साइकल आविष्कार गरेसँगै साइकलको परिकल्पना सुरु भएको हो । दुई काठे पांग्राको साइकलमा चढेर खुट्टाले भुइँमा ठेलेर अगाडि बढ्नुपर्ने भएकाले त्यसलाई अव्यावहारिक, अनुपयुक्त, असुरक्षित र महँगो मानियो र खासै प्रयोगमा आउन सकेन । सन् १८६०मा पिएरे मिचौक्सले दुई काठे पांग्रा र स्टिल फ्रेम भएको ‘भेलोपेडे’को विकास गरे । दुई काठे पांग्रालाई स्टिलको फ्रेमले जोडेको, लगभग २५ किलो वजनको र महँगो यस साइकललाई केही धनाढ्य र उच्च वर्गका मानिसले मनोरञ्जनका लागि प्रयोग गरे ।

 

सन् १८७० मा ह्यारी जोन लसनले हालको जस्तै साइकलको डिजाइन गरे । सन् १८८५ जोन बोयड डनलपले हावाले भरिने ट्युब र टायरको आविष्कार गरेपछि भने साइकलले पूर्णता पाएजस्तै भयो । चेन, पाइडल, टाएरवाला साइकलसहितको सेफ्टी साइकलको विकास सँगै दुई–तीन वर्षभित्रै साइकलको प्रयोग आममानिसमा लोकप्रिय हुन थाल्यो ।

 

त्यस समय यातायातको साधनको रूपमा घोडा र घोडालरीहरू, बग्गीहरू थिए । अटोमोबिल्स (कार गाडीहरू) को विकास भएकै थिएन । महँगो घोडा, तबेला हुँदा हेरचाह निकै खर्चिलो हुन्थ्यो । साइकलको विकासपछि भने आममानिसका यात्राहरू धेरै सहज र सुरक्षितसँगै यात्रुलाई स्वतन्त्र पनि बन्न सघायो । औद्योगिक युगमा छिरिसकेको समय भएकाले श्रमिकहरूलाई साइकलले निकै सघायो । समाजमा साइकल निकै लोकप्रिय बन्यो । साइकलको लोकप्रियताबाट महिलाहरू अछुतो हुने कुरै थिएन । 

 

त्यो समयमा पनि महिलालाई ‘कमजोर’ ठान्ने सामाजिक मान्यता जबरजस्त थियो । घरपरिवारको मर्यादामा नियन्त्रित भई बस्नुपर्छ भनिथ्यो । महिलालाई चुलो र घरआँगनमा बन्दी बनाउन खोजिन्थ्यो । घरबाट बाहिर निस्कन पर्‍यो भने श्रीमान् या परिवारका अन्य सिनियर सदस्यको साथमा मात्रै बाहिर जान पाइन्थ्यो । सामाजिक अनुशासनको कठोर कसीमा बाँचिरहेका महिलाहरूका लागि साइकल स्वतन्त्रताको महत्वपूर्ण साधन बन्यो । तर साइकल प्रयोगका लागि महिलाले निकै संघर्ष गर्नुपर्‍यो ।

 

महिलाको ड्रेसकोड
साइकल प्रयोगबाट महिलालाई छेक्ने एउटा कारण बन्यो वस्त्र । त्यसवेला महिलाहरूले लामो बाक्लो पूरै जिउ ढाक्ने गहु्रंगो ह्याटसहितको लुगा लगाउँथे । महिलाले कुर्कुच्चासमेत देखाउन नहुने समय थियो त्यो । जिउभरिको लुगा निकै भारी हुन्थ्यो । लामो समयसम्म कोर्सेट लगाउने बानीका कारण रक्तप्रवाहमा बाधा आउने हुँदा धेरै महिला पाठेघर झर्ने, क्लोरोसिसजस्ता रोगबाट ग्रसित पनि थिए । त्यस्तै रोग बाँचुन्जेल बोकेर जिउँथे । 

 

सुरुसुरुमा घुमघाम, मनोरञ्जनका लागि केही उच्चवर्गीय पुरुषहरूसँगै उनीहरूका घरका महिलाहरू पनि साइकलमा बाहिर निस्किन थाले । ती महिलाहरू साइकलमै सहरबाहिर कन्ट्रिसाइट, नेचर टुर, पिकनिक र टुरमा निस्कन थाले । उनीहरूको प्रयोगले अन्य महिलाहरूको पनि साइकलप्रति चासो बढ्यो ।

 

पुरुषको भन्दा महिलाको ज्याला कम भएका कारण महिलाहरू स्वनिर्भर भएर बाँच्न सम्भव थिएन । महिलासँग सम्पत्तिको कुनै पनि अधिकार नभएकाले उनीहरू विधवा भएमा घरबारविहीन नै हुन सक्थे । सम्बन्धविच्छेद भएमा पनि महिलालाई ठूलो संकट आइलाग्थ्यो । उनीहरूका बच्चाका लागि पूर्वपतिमै भर पर्नुपर्थ्यो ।

 

घरव्यवहारमा कुँजिएर बस्न बाध्य महिलाले जब साइकल पाए, उनीहरू घरआँगनको सिमाना नाघेर फराकिलो संसारमा पुगे । साइकल चलाउँदै बाहिर निस्किँदा अनुहारमा सरर छुने शीतल हावा, बाटो र वरिपरिका दृश्यले महिलामा स्वतन्त्रताको गरियो अनुभूति गरायो । त्यसपछि स्वतन्त्रताकोे आयतन फैलाउने साधन नै बन्न पुग्यो, साइकल । साइकल गुडाउँदा पाएको त्यो आत्मिक स्वतन्त्रता त्यसअघि महिलाहरूले सायदै अनुभूत गरेका थिए । त्यसपछि साइकलसँगको लगाव पुरुषहरूमा भन्दा महिलाहरूमा बढी भयो । त्यसपछि नारी स्वतन्त्रताको गजबको हतियार बन्दै गयो साइकलको पाउदानी ।

 

तर, पहिरनका कारण साइकल चलाउन त्यही सहज भएन महिलाहरूलाई । लामो स्कर्ट या पेटीकोट साइकलको चेनमा अड्किएर दुर्घटना हुन्थ्यो । लुगाको भारले गर्दा तत्कालै असिनपसिन पनि हुन्थे महिलाहरू । साइकल चलाउने महिलाहरूले असहिष्णु र अभद्र प्रतिक्रियाहरू पनि निकै खेपे । केही नाम चलेका मेडिकल डाक्टरले त साइकलको प्रयोगले महिलामा बाँझोपन आउन सक्ने, स्त्री जननेन्द्रियहरूमा रोग पैदा गर्न सक्ने भनेर मेडिकल थ्योरीसहित दाबी नै प्रस्तुत गरे । साइकलको सिटमा यौनांग घस्रिएर महिलामा उत्तेजना आउन सक्ने हुनाले साइकलको बानी लागे स्त्रीहरूले यौनमर्यादा तोडेर सामाजिक शान्तिमा खलल नै पु¥याउन सक्ने जस्ता अनर्गल दाबीहरू पनि गरिए । समाजका ठूलाठालु भन्नेहरूले साइकलको बढ्दो प्रयोगले महिलाहरूको गतिशीलता बढेर सामाजिक मूल्य–मान्यतामै भ्रष्टीकरण सुरु हुनेसमेतका तर्क पेस गर्न थाले । 

साइकलले उमेर भन्दैन, वर्ग भन्दैन, जात भन्दैन, धर्म भन्दैन । साइकलले समाजको वर्गभेद कम गराउँदै प्रकृतिसँग एकाकार भएर जिउन सिकाउँछ । साइकलले हामीलाई स्वतन्त्रताको गहिरो अनुभूति गराइरहन्छ ।

सन् १८८० ताका पहिलो महिला साइक्लिस्टलाई असभ्य रूपमा कुर्कुचा देखाएको भन्दै प्रहरीले पक्राउ नै गरे । पहिलो महिला साइक्लिस्टमध्येकी एक इमा इडेजलाई लन्डनमा साइकल चलाउँदै गर्दा ढुंगा र इँटाले आक्रमण नै गरे । घर गएर मर्यादा सिकेर आऊ भन्दै उनलाई गाली गरियो । यस्ता आक्रमणबाट महिलाहरू पछि हटेनन् । सन् १८९० तिर साइकल कम्पनीहरूले क्रसबार हटाएर ड्रपबार राखेको डिजाइन फ्रेममा लेडी साइकलहरू बनाए ।

 

रासनल ड्रेस सोसाइटी

 

महिलाहरूको मुभमेन्टको त्यो पहिलो दौरमा पहिरनको मापदण्डको विवाद सुल्झाउन केही महिला समूहले रासनल ड्रेस सोसाइटीले भिक्टोरियन ड्रेसलाई परिमार्जित गरेर हिँड्न र साइकल चलाउन सजिलो हुने वस्त्रहरू डिजाइन गर्न खोजे । सोसाइटीकी अध्यक्ष र सह–संस्थापक लेडी फ्लोरेन्स हार्बरटन (जो आफैँ साइक्लिस्ट थिइन् र महिलाहरूलाई व्यायामको आवश्यकताको वकालत गरिरहन्थिन्) ले लामो कोट र हालको पाइन्टको जस्तो फाटिएको ट्राउजर सिफारिस गरिन् । डिजाइन विवादास्पद भयो, रुचाइएन ।

पहिलो महिला विश्व साइकलयात्री एनी कोहेन कोप्चोभ्सकी ।

 

साइकल चलाउन केही सहज बनाउन पाइन्ट/ट्राउजर जस्तै ‘ब्लुमर’को प्रयोग बिस्तारै बढ्यो । जसबाट धेरै हदसम्म महिलाहरूले राहत पाए । यस्ता ड्रेसले नारी कोमलतालाई पन्छाएर ‘मास्कुलेनाइज’ गरेको भन्दै धेरै आलोचना पनि भयो । परम्परागत वस्त्रहरूले महिलाहरूलाई शारीरिक रूपमा जति पीडित बनाएका थिए, नैतिक रूपले पनि कज्याइरहेका थिए । ती भारीभरकम वस्त्रको भारबाट पनि महिलाहरू साइकलकै कारण मुक्त हुँदै गए । महिलाहरू आत्मविश्वासी देखिन थाले । महिलाहरूको वस्त्र परिवर्तन हुनुमा साइकलको केन्द्रीय भूमिका छ । 

 

साइकल बुम
सन् १८९० सम्ममा साइकलको लोकप्रियता यति चुलियो कि ब्रिटेन र अमेरिकामा दर्जनाैँ ठुल्ठूला साइकल उद्योग खोलिए । १८८० को सुरुमा साइकल एड्भोकेटहरूले स्थापना गरेको संस्था ‘लिग अफ अमेरिकन ह्विलमेन’ मा ४० जना सदस्य थिए, १८८९ सम्म पुग्दा सदस्य संख्या दुई लाखको हाराहारी पुग्यो । सन् १८९६ मा ‘न्युयोर्क जर्नल अफ कमर्स’ले गरेको अध्ययनअनुसार साइक्लिङको कारण थियटर, रेस्टुरेन्ट, होटलहरू र अन्य बिजिनेसमा हरेक वर्ष १०० मिलियन डलरको व्यापार थपियो । सन् १८९७ मा मात्र अमेरिकामा २० लाख साइकल बिक्री भए । अमेरिकाको हरेक ३० जनामा एकजना साइकल चढ्ने भयो । अमेरिकी सहरहरूका साइकलपथहरू हप्तान्तका दिनमा साइक्लिस्टहरूको भिडले भरिन थाल्यो । लगभग तीन हजार अमेरिकी व्यापारीहरू साइकल व्यापारमा लागिसकेका थिए । ती व्यापारीमध्ये डेटन, ओहायोका साइकल पसले दाजुभाइ ओलिभर र विलभर राइट पनि थिए, जसले हवाईजहाजको आविष्कार गर्न साइकलसम्बन्धी प्रविधिहरूमा काम गर्दै थिए । 

 

गतिलो र राम्रो क्वालिटीको साइकल १०० डलरभन्दा कम मूल्यमा पनि पाउने भएकाले आममानिसहरू र विशेष गरेर श्रमिकहरूमा साइकलको प्रयोग अत्यधिक थियो । सन् १९०२ सम्ममा नयाँ साइकल तीनदेखि १५ डलरसम्ममा पनि पाइन थाल्यो । दर्जनौँ साइकल कम्पनीले वार्षिक लाखौँ साइकलको उत्पादन गर्न थालिसकेका थिए । आर्थिक मन्दी भइरहेको त्यस समयमा धेरै उद्योगीले अन्य क्षेत्रमा लगानी गर्न छाडेर साइकलतिर पनि लगानी गरे । साइकल चलाउनेमध्ये एकतिहाइभन्दा बढी महिला थिए । त्यसपछि साइकल कम्पनीले साइकल बजारमा महिलालाई नै टार्गेट गरेर साइकलको मार्केटिङ र विज्ञापन गरे । त्यसवेला अमेरिकामा छापिने पत्रपत्रिकाको विज्ञापनमध्ये १० प्रतिशतभन्दा बढी साइकलको हुन्थ्यो । धेरै जसो विज्ञापनमा साइकल चलाउँदै गरेका नारीहरूको आकर्षक तस्बिर राखिएका हुन्थे । 

 

ब्रिटेनमा सन् १८९० सम्ममा साइक्लिस्ट टुरिङ क्लबमा ६ लाख सदस्य थिए, जसमध्ये २० हजार महिला थिए । अमेरिकामा साइकल उत्पादन बढेर १८९९ सम्ममा प्रतिवर्ष १० लाख पुगिसकेको थियो । सहरका सडकमा साइकल त्यसवेला डोमिनेन्ट थियो । साइकलयात्रीले सुरक्षित साइकल रुटका लागि सरकारसँग माग राखे । त्यसवेला इन्जिनियर र सहरी विकासको क्षेत्रमा काम गर्नेहरूलाई सडकको प्रारुपबारे नयाँ बहसको थालनी गर्न साइक्लिस्टहरूको प्रमुख भूमिका रह्यो । अमेरिका र युरोपका अहिलेका अधिकांश राजमार्गहरू र सडकका प्रारुपहरूको जगमा साइक्लिस्टहरूको हात छ । अहिले कार, मोटरगाडी र बाइकहरूले आधिपत्य जमाएको ‘सडक’को परिकल्पनाको जग साइकलयात्रीले खनेका थिए । 

 

सुफ्रागेट्स र साइकल
सन् १८९० तिर साइकलले लोकप्रियताको उचाइ चुमेसँगै त्यसवेला युरोप र अमेरिकामा तीन–चार अलग–अलग राजनीतिक मुभमेन्टहरू भइरहेका थिए । ती आन्दोलन थिए, ‘सिभिल राइट्स मुभमेन्ट’, ‘रंगभेदविरुद्धको अभियान’, सुफ्रागिज्म (महिलाहरूको भोट अधिकारका लागि आन्दोलन) र सोसिलिज्म (समाजवाद) मुभमेन्ट आदि । ती मुभमेन्टमा साइकलले पनि महत्वपूर्ण भूमिका खेल्यो । ‘सुफ्रागेट्स’का अभियन्ताले साइकलको प्रयोग अन्यले भन्दा धेरै गरे । औद्योगिक क्रान्तिको त्यस चरणमा पुरुष र महिलाको असमान ज्याला अन्त्यका लागि पनि सुफ्रागेट्सहरूले जोडदार आवाज उठाए । 

 

सुफ्रागेट्स आन्दोलनका प्रमुख नेतृ इमेली पान्कहस्र्टका श्रीमान् र छोरीज्वाइँ पनि ‘क्लारिओन साइक्लिङ क्लब’मा सन् १८९६ मा जोडिएका थिए । सन् १८९४मा बर्मिङ्घममा स्थापित क्लारिओन क्लब समाजवादी विचारधारा बोकेकाहरूका साइक्लिङ समूह थियो । जुन समूह समाजवादी पत्रकार, लेखक र अभियन्ता रोबर्ट ब्लाट्चफोर्टको र्‍याडिकल न्युजपेपर ‘क्लारिओन’सँग जोडिएको थियो । त्यो क्लबले विभिन्न सुफ्रागेट्स आन्दोलन, समाजवादी आन्दोलनहरूमा सक्रिय सहभागिता जनायो । 

 

सन् १९०० तिर सुफ्रागिस्टहरूको आन्दोलनले ब्रिटिस समाजमा व्यापक तरंग ल्यायो । त्यस वर्ष केही महिला मताधिकारसहितका बिल ब्रिटिस संसद्मा ल्याइयो तर पास भने हुन सकेन । १९०५ देखि सुफ्रागेट्सहरूले आक्रामक र हिंसात्मक क्याम्पेन चलाए । उनीहरूले ‘डिड्स नट वर्डस’ अर्थात् ‘वाचा हैन, काम गर’ भन्दै आक्रामक रणनीति अपनाए । यसरी उनीहरूले मानिसको ध्यान तानेर सरकारलाई दबाब दिन थाले । झ्यालका ऐना फुटाउने, बम पड्काउने, भोकहडताल गर्नेजस्ता गतिविधि उनीहरूले गरे । अन्ततोगत्वा १९१८ मा ऐतिहासिक प्रगति हात लाग्यो । संसद्बाट केही महिलालाई मताधिकार प्रदान गर्दै बिल पास भयो । ती महिलाहरू ३० वर्ष कटेका र सम्पत्ति भएका हुनुपर्ने या सम्पत्ति भएका लोग्नेसँग विवाह भएको हुनुपर्ने थियो । केही सीमितता भए पनि त्यो ठूलो जित मानियो, जसमा ८४ लाख ब्रिटिस महिलाले मताधिकार प्राप्त गरे । यता सन् १९२० मा अमेरिकी कंग्रेसले पनि महिला मताधिकार ग्यारेन्टी गरेको १९औँ संशोधन अनुमोदन गर्‍यो । अन्ततः ब्रिटेनमा १० वर्षपछि अर्थात् १९२८ मा २१ वर्षको उमेर कटेका हरेक महिलाले पुरुषसरह मताधिकार पाए ।

 

अमेरिकामा लिंगभेद र नश्लभेदका विरुद्ध लड्ने नागरिक अधिकार महिलावादी नेतृ सुसान बी एन्थोनीले साइकलको भूमिकाबारे सन् १८९६ मा भनेकी छिन्, ‘जब कुनै पनि महिला साइकल चलाउँदै गरेको देख्छु, टक्क उभिएर आनन्दित हुँदै हेर्छु । साइकल चलाइरहेको महिलामा एउटा स्वतन्त्र र सशक्त नारीको वास्तविक तस्बिर पाउँछु । वास्तवमा साइकलले सबैभन्दा धेरै महिलामा स्वतन्त्रता र आत्मनिर्भरताको अनुभूति प्रदान गरेको छ ।’ उनीसँगै नागरिक तथा महिला अधिकारवादी नेतृहरू फ्रान्सिस विलार्ड र इलिजावेथ केन्डी स्टेसनले पनि महिला अधिकारसँगै साइकलको वकालत जीवनभर गरिरहे ।

 

अफ्रिकन अमेरिकन महिलाहरू र साइकल
अमेरिकाको स्मिथसोनियनमा अवस्थित ‘नेसनल म्युजियम अफ अफ्रिकन–अमेरिकन हिस्टोरी एन्ड कल्चर’का इतिहासविद मार्या म्याक क्विर्टरका अनुसार सन् १८८० र ९० को दशकतिर कालाजातिका मानिसहरूका ४० वटा साइकल क्लब थिए, जसमध्ये केही महिलाका क्लब पनि थिए । त्यस समयमा अफ्रिकी–अमेरिकन महिलाका लागि साइकल निकै उपयोगी बन्यो । देशका केही स्ट्रिटकार्टस्, लेडिज कार्ट्सहरूमा अश्वेत महिलाहरूलाई निषेध गरिएको हुँदा उनीहरूका लागि साइकल यातायातको निजी, स्वतन्त्र र वैकल्पिक साधन बन्न पुग्यो । साइकलमा स्वतन्त्रतापूर्वक जहाँ जान चाह्यो, त्यहीँ जान सक्थे उनीहरू । साइकल ती विभेदविरुद्ध व्यावहारिक, गतिलो र इमानदार हतियार बन्यो । सन् १८७४ मा बोस्टनमा गोरा आमा र काला जातिका बाबुबाट जन्मेकी युवती क्नोक्सले २१ वर्षको उमेरमै ‘लिग अफ अमेरिकन बाइसाइक्लिस्ट’को सदस्यता लिन सफल भइन् । काला जातिमा महिलाहरूले साइकल चलाउनु हुँदैन भन्ने समयमा उनले गरेको संघर्ष उदाहरण र प्रेरणाको रूपमा चर्चा गरिन्छ । 

 

पहिलो महिला विश्व साइकलयात्री
सन् १८९५ मा ६ वर्षमुनिका तीन बच्चाहरूकी आमा, एक यहुदी महिला थिइन्, एनी लन्डनचेरी । उनको वास्तविक नाम एनी कोहेन कोप्चोभ्सकी हो । पुरुष सोचलाई चुनौती दिँदै साइकलमै विश्व भ्रमण गर्ने उनी पहिलो महिला थिइन् । 

 

बोस्टनको एक धनाढ्य व्यक्तिले कुनै पनि महिलाले विश्व साइकलयात्रा गरे भने १० हजार डलर पुरस्कार दिने बाजी लगाउँछन् । एनीले त्यो चुनौती सामना गर्ने साहस गर्छिन् । बोस्टनबाट उनको यात्रा सुरु हुन्छ । रोचक त के छ भने उसले यात्रा थाल्नु केही दिनअघि मात्रै साइकल चढ्न सुरु गरेकी थिइन् । यात्राका लागि केही विज्ञापन र सहयोग पनि पाइन् । सेप्टेम्बरमा सिकागो पुगिन् । २० किलो वजनको अर्को नयाँ साइकल किनिन्, त्यसपछि पूर्वतिर लागिन् । नोभेम्बरमा न्युयोर्कबाट फ्रान्सका लागि साइकलसहित जहाजको यात्रामा निस्किन् । फ्रान्समा उनको यात्रा विशेष रह्यो । उनले फ्रान्समा यात्रा गरिरहँदा आफ्नो साइकल र वस्त्रमा मार्सेलिस र अन्य सहरमा विभिन्न व्यापारिक विज्ञापन बोकेर केही बाटो खर्च पनि बटुलिन् । मार्सेलेसबाट पानीजहाजमा पूर्वएसियातिर लागिन् । इजिप्ट, श्रीलंका, सिंगापुर, चाइना हुँदै मार्च महिनामा जापान पुगिन् । मार्चको २३ तारिखमा उनी अमेरिकाको सान फ्रान्सिस्को पुगिन् । त्यहाँबाट अर्को ६ महिना अमेरिकाको दक्षीण–पश्चिम हुँदै विशाल मैदान र मध्यपश्चिमबाट सिकागोमा १२ सेप्टेम्बेर १८९५ मा पुगेर यात्रा टुंगियो । अन्ततः सिकागोमा १० हजार डलरको पुरस्कार लिइन् अनि घर फर्किइन् ।

 

कतिपयले उनको यात्रा साइकलमा भन्दा बढी पानीजहाजमा बित्यो भनेर आलोचना पनि गरे । तर, पुरुषप्रधान विश्वमा उनको यो प्रयास दह्रो हस्तक्षेप थियो । उनी सबैका लागि प्रेरणाको स्रोत भनिरहिन् । सन् १९४७ मा उनको मृत्यु भयो ।

 

साइकल, महिला हक र सशक्तीकरणको सम्बन्ध इतिहासदेखि वर्तमानसम्म जारी छ । अफगानिस्तानमा महिलाहरूले साइकल चलाएर काबुलमा गरिरहेको प्रयासहरू यसको ज्वलन्त प्रमाण हो । अफगान राष्ट्रिय महिला साइक्लिङ टिमलाई २०१७ मा नोबेल शान्ति पुरस्कारका लागि नोमिनेट गरिएको थियो ।

 

‘वर्ल्ड बाइसाइकल रिलिफ’ संस्थाले अफ्रिकाको जाम्बियालगायत देशमा ‘बाइसाइकल फोर इडुकेसन इम्पावर्मेन्ट प्रोग्राम (बिइइपी)’ मार्फत हजारौँ छात्रा र महिलाहरूलाई साइकल प्रदान गरेर उनीहरूको जीवनमा मोबिलिटीमार्फत शिक्षा, सामाजिक र आर्थिक उत्थान गर्न महत्वपूर्ण सहयोग गरिरहेका छन् । अफ्रिकाको बस्ती गाउँहरूमा साइकलको उपयोग नेपाल र भारतको भन्दा खासै फरक छैन । 

 

नेपालमै पनि प्रदेश नं. २ को सरकारले ‘बेटी पढाओ’ अभियानअन्तर्गत १४ हजार छात्राहरूलाई साइकल प्रदान गर्‍यो । जसले हाम्रो तराईको आम भुइँ तहको महिलाहरूलाई स्कुल जान–आउनसँगै उनीहरूको दैनिकी आउजाउमा धेरै हदसम्म सहज बनायो । इस्लामिक मुलुक इरान, साउदी अरब, जोर्डन, इजिप्टलगायत देशमा पनि महिलाहरू बुर्का छाडेर वेलावेलामा साइकलमा बाहिर निस्केर महिला अधिकारका स्वर उठाउने गरेका छन् । सन् २०१६ मा इरानका सुप्रिम नेताले महिलाहरूलाई सार्वजनिक स्थलहरूमा साइकल चलाउन प्रतिबन्ध लगाउँदै फतवा जारी गरे । यसले इरानमा महिला असमानतामा भइरहेको अवस्थामा विश्वको ध्यान तान्यो । यसको प्रतिक्रियामा विश्वका महिला साइक्लिस्टहरूले आवाज उठाएका थिए । 

 

आज साइकल केवल साधारण साधन मात्र नभएर नागरिक स्वतन्त्रता, सोलिडारिटी, फ्रिडम, प्रतिरोध, विरोध, दमित र सीमान्तकृतहरूका आवाज बोक्ने एवं राजनीतिक चेतनाको बिम्ब प्रतिनिधित्व गर्ने माध्यममा पनि परिवर्तित हुँदै गएको छ । जब कुनै सहरमा नारी आफ्नो बच्चासहित साइकलमा निस्किन स्वतन्त्र र सुरक्षित महसुस गर्छिन् भने त्यो सहरमा समानता र स्वतन्त्रता छ भनेर बुझ्न सकिन्छ । 

 

आजको यान्त्रिक युगमा सबै वर्गको पहुँच र प्रयोगको आधारमा सबैभन्दा बढी प्रचलित अविष्कार मोबाइलपछि दुईपांग्रे साइकल नै हो । साइकलले हामी सबैलाई थप स्वतन्त्रता प्रदान गरिरहेको हुन्छ । मोटरगाडी र तिनका अत्यासलाग्दो लाम र जामहरूबाट, महँगो पेट्रोल डिजेल तेलबाट र धुवाँधुलो प्रदूषणबाट हामीलाई साइकलले मुक्ति दिइरहेको हुन्छ । सुन्दर प्राकृतिक भूगोलतिर डोर्‍याउँदै हामीलाई फेरि प्रकृतिसँगै एकाकार हुन साइकलले सहयोग गरिरहेको हुन्छ । तर, हामी साइकललाई चिन्दैनौँ । तल्लो वर्गका मानिसले हाँक्ने साधन भन्दै हेला गर्छौं । 

 

साइकलले उमेर भन्दैन, वर्ग भन्दैन, जात भन्दैन, धर्म भन्दैन । साइकलले समाजको वर्गभेद कम गराउँदै प्रकृतिसँग एकाकार भएर जिउन सिकाउँछ । साइकलले हामीलाई स्वतन्त्रताको गहिरो अनुभूति गराइरहन्छ । 

 

(लेखक साइकल अभियन्ता र ‘नेपाल साइकल सोसाइटी’का अध्यक्ष हुन्)