आमा अब बाँच्दिनन्
आइसियूबाहिर कुरुवाहरू भनिरहेका छन्–
‘भेन्टिलेटरमा हालिएको मान्छे
र, फ्रिजमा राखिएको बन्दाकोबी
उस्तै–उस्तै हुन्’
म आमाको वियोगमा
रुन सकिरहेको छैन
विछोडको पहिरोले पुरिएर
एकबाजि त मर्नुपर्ने हो म आफैँ
तर अहँ, त्यस्तो केही भइरहेको छैन
यो व्यवस्थाले मेरो आँसुलाई
निर्वासनमा त पठाएन ?
मलाई निर्दयी त बनाइसकेन ?
(क्रूरले क्रूरताको सङ्क्रमण फैलाउँछ)
म अस्पतालको बिलले अत्तालिएको छु
मलाई आजै समाजवाद चाहिएको छ
निश्चित छ
यो साल बेरोजगार भाइले
चौथोचोटि आत्महत्या प्रयास गर्नेछ
जीवन अमूल्य छ भनेर बुझाउन
म तर्कहरूको खोजीमा हुनेछु
उसलाई फ्रस्ट्रेसनको अन्धगल्छीबाट निकाल्न
झन्–झन् चिन्तनशील
चे ग्वेभाराको तस्बिर अघि सार्नेछु
वेस्टकोटको भित्री गोजीबाट केही निकाल्न खोजिरहेको
माक्र्सको दाहिने हातले दिलाउन खोज्नेछु ढाडस अलिकति
तर, पर्याप्त हुनेछैन यति
बहिनी माई क्लियर ब्यागमा सर्टिफिकेटहरू भरेर
अन्तर्वार्ता दिन गएकी थिई निजी कम्पनीमा,
बोसले भनिदिएछ सीधै–
‘क्लिभेज देखाउने कला पनि ठूलो क्वालिफिकेसन हो’
थुप्रै–थुप्रै बोसले थुप्रै–थुप्रै पटक उसलाई
यसो भनेका छन्
र, थुप्रै–थुप्रै पटक उसले थुकेकी छे बद्नियतको जगतलाई
भाइबहिनीको भविष्य सम्झ्यो कि
लम्बेतान ऐँठन हुन्छ, सय मृत्यु व्यहोरेजस्तो
मलाई आजै समाजवाद चाहिएको छ
छोराछोरी दिनभरि
विषालु कविता, झुटो इतिहास र व्यर्थको पहाडा घोकेर
गलित–थकित फर्किन्छन् डेरा
आफ्नै बोझले डिप्रेस्ड पहाडको मनजस्तो
गह्रुँगो ब्यागले किचेर कुन दिन दुर्घटना हुनेछ भयावह
आजसम्म मैले आफूलाई जोगाएकै छु, कि–
छोराछोरीको स्कुल फिस भर्नकै लागि
लुटेरा बन्ने प्रण गरेको छैन
जबकि देशभरि खुलेका छन् रहजनीका हजारौँ पाठशाला
कहिलेकाहीँ साथीहरूसँग समदिरा जमघटरत भएका वेला
तरकारीको भाउले माइग्रेन चर्काएपछि
रिसले फिलिङ्गो भएकी श्रीमतीको फोन आइदिन्छ
दलालहरूको भागको गाली पनि स्वयम् खाइदिन विवश हुन्छु
अनि, मित्रहरूसँग गर्छु ठट्टा–
‘परिवार, निजी सम्पत्ति र दुःखको उत्पत्ति !’
यद्यपि, यो न ठट्टा गर्ने समय हो
न ठट्टा गर्ने विषय हो
म जान्दछु– तरकारीको भाउ बढोस् या घटोस्
पितृसत्ता रेस्टुरेन्टमा बसेर रक्सी खान छोड्नेछैन
आफूलाई थुकिरहेको हुन्छु प्रायः
मलाई समाजवाद आजै चाहिएको छ
आनन्दहरूबाट वञ्चित छु म
चन्द्रमालाई आँखाको अँगालोमा नबाँधेको
एक जुग भइसक्यो
बिर्सिसकेको छु इन्द्रेनीको अनुहार
(साँच्ची, त्यसमा कति रङ हुन्छन् रे ?)
नानीहरूलाई दन्त्यकथा नसुनाएको पनि वर्षाैं भइसक्यो
र, यसरी, मलाई लाग्छ–
मेरो विकास अवरुद्ध भएको छ
एक्सकाभेटर र डोजरको धोद्रो गीतमा
चलिरहेको छ कङ्क्रिटको नग्न नृत्य
वन–उपवन, ताल–तलैया, खोला–खहरे, पाखा–पहरा
अभिशप्त छन् सबै सिमेन्टमा लीन हुन
चरा गुँड गुमाउँछ, मृग झाडी गुमाउँछ
मान्छे वास गुमाउँछ
र, परिभाषाहरूको दुनियाँमा जसलाई विकास भनिन्छ
म यस परिभाषाविरुद्ध अविकसित रहन चाहन्छु
मलाई आजै समाजवाद चाहिन्छ
मेरा यावत् समस्याहरूसँग सदा बेखबर रहन्छ
मग्नमस्त संसद्
आफ्नै चलखेल छ प्यारो उसलाई
सधैँ–सधैँ राजधानीबाट अचानक गायब भइदिन्छन् कुकुरहरू
मासुपसलेहरू किरिया खान्छन्— ‘धरोधर्म !
खसीको टाउकोबाहेक हामी संसद्लाई अरू केही सप्लाई गर्दैनौँ’
प्यान्डोराको बाकस खुलिसक्यो
साउदीबाट स्वदेश फिरेको बाकस पनि खुलिसक्यो
खुलेको छैन त केवल
गाडधनको कुलीन बाकस
र, कहिल्यै खुल्नेछैन यस सम्बन्धमा संसद्को मुख
मेरो समाजवादको तिर्खाको क्षेत्रफल
युगौँ वर्गमाइल छ
अधकल्चा क्रान्ति, अधुरा लालसलाम र
करोडपति कमरेडहरूका बीच पनि
म आफूलाई गर्वसाथ कम्युनिस्ट भन्छु
थाहा छ–
यात्रुले बस कुरेजस्तो सरल हुँदैन
समाजवादको प्रतीक्षा
प्रतीक्षारतहरूका हात
स्वप्न–इन्धनले चलिरहेको हुनुपर्छ अनवरत
म कहिल्यै यत्तिकै बसेको छैन,
विनाश्रम, बाँधेर हात
मलाई आजै,
यतिखेरै समाजवाद चाहिएको छ
भनिरहेका छन् उनीहरू–
‘भोलि आउँछ, अर्काे वर्ष आउँछ, आगामी चुनावपछि आउँछ’
यस्तो गतिले, यस्तो मतिले
यस्तोे थितिले, यस्तो विधिले
हजार वर्षमा पनि आउँदैन समाजवाद
समाजवादको युगौँ वर्गमाइल तिर्खा मेट्न
एक अञ्जुली पानीखातिर
म मेरो जुनिभरिको रगत दिन तत्पर छु ।
०००