• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मदन अर्याल
२०७८ जेठ २२ शनिबार ०९:११:००
यात्रा

भूगोल मात्रै होइन चुरे 

२०७८ जेठ २२ शनिबार ०९:११:००
मदन अर्याल

 

चुरे, भित्री मधेस, खोच र तराई–मधेसमा करिब १ करोड ४५ लाख जनसंख्या बसोवास गर्छन्

 

कामचलाउ सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशवाट आव २०७८/०७९ को बजेट प्रस्तुत गर्नेक्रममा ‘खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने’ घोषणा गरेपछि फेरि एकपटक विकासको नाममा नेपालको प्राकृतिक स्रोत–साधनको प्रयोग/दुरुपयोगको सवाल सार्वजनिक चासोको विषय बनेको छ । 

 

विशेषगरी पछिल्ला वर्षहरूमा सरकारी प्रतिबन्धका बाबजुद ठूलो मात्रामा खानीजन्य ढुंगा, गिटी, बालुवाको अवैध र जथाभावी उत्खननले निम्त्याएको प्राकृतिक प्रकोप र विनाशको लीला भोगेका हामीले राज्य स्वयं उत्खनन र ढुंगा, गिटी व्यापारमा लाग्ने घोषणा गर्नुले आगामी दिनको प्राकृतिक प्रकोप र विनाशलीलाले कस्तो रूप लेला सहजै अनुमान लगाउन सकिन्छ । यसले अब पर्यावरण संरक्षणको सवाललाई केही सीमित वातावरणविद्हरूको मात्र होइन आमजनताको चासोको विषय बनाएको छ । नेपालको सन्दर्भमा खानीजन्य ढुंगा, गिटी, बालुवाको मुख्य स्रोत भनेको चुरेभावर क्षेत्र नै हो । यही चुरेभावर क्षेत्रको पर्यावरणसँग तराई–मधेसलगायत देशको आधाभन्दा धेरै जनसंख्या आश्रित रहेका छन् ।

 

चुरेक्षेत्रले चुरे–पहाडी शृंखला, सो क्षेत्र भएर बग्ने तराई–मधेस क्षेत्रसम्मको नदी प्रणाली र सोको जलाधार क्षेत्रलाईसमेत जनाउँछ । नेपालमा चुरे भन्नेबित्तिकै चुरे शृंखला वा ‘चुरे पहाड’लाई मात्र बुझ्ने गरेको पाइन्छ । चुरे शृंखलाको उत्तरी पानीढलो (जुन भित्री मधेस उपत्यका पर्छ) देखि चुरे शृंखलाको दक्षिणी पानीढलो अर्थात् भावरक्षेत्र र सोदेखि उत्तरको चुरे शृंखलासमेतलाई चुरे भनी बुझ्नुपर्छ जसलाई चुरे, चुरिया वा शिवालिक क्षेत्रसमेत भनिन्छ । भूगर्भविद्हरूको अध्ययनअनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा बगेका ग्रेगर र थेगर थुप्रिएर चुरेक्षेत्र निर्माण भएको हो । नेपालको पूर्वी सिमानादेखि पश्चिमी सिमानासम्म फैलिएको यो कमलो माटो र खुकुलो पत्रेचट्टानले बनेको भूभाग हो । पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३३ जिल्लाका केही न केही भूभागलाई समेटेको चुरेपर्वत शृंखला पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ । यसले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ । 

 

चुरेको जीवन प्रकृति र संस्कृति
केन्द्रीय तथ्यांक विभागको विसं २०६८ को जनगणनाअनुसार चुरे भूपरिधि (चुरे, भावर, भित्री मधेस, खोच र तराई–मधेस)मा करिब १ करोड ४५ लाख जनसंख्या बसोवास गर्छन् । सन् १९५० को दशकमा नेपालमा औलो रोग उन्मूलन कार्यक्रम सुरु भएपछि चुरेक्षेत्रको जंगल फँडानी तीब्र बन्यो । भित्री मधेस र भावर क्षेत्रमा अव्यवस्थित बसोवासको क्रम तीव्ररूपले वृद्धि हुन थाल्यो र चुरेको वनक्षेत्र प्रतिवर्ष करिब १.७ प्रतिशतदरले घट्दै जान थाल्यो । जसले यस क्षेत्रमा वर्षात्को कमी, अति वर्षालगायतका समस्या सिर्जना गर्‍यो । 

 

 

सामान्यतया चुरेलाई कोरा भूगोलको रूपमा मात्र बुझ्ने गरिएको छ, तर हामी के कुरामा स्पष्ट हुनुपर्छ भने चुरेक्षेत्र कुनै एक कोरा भूगोल मात्र होइन, यो एक सभ्यता पनि हो अनि संस्कृति पनि हो । विश्वको सबैभन्दा कान्छो पहाडको रूपमा रहेको चुरे भूगर्भशास्त्रको दृष्टिकोणवाट एक कमसल बनोट भएको ढुंगामाटोको थुप्रो भए पनि मानवशास्त्र/समाजशास्त्रको कोणबाट यो क्षेत्र यहाँका ‘आदी’ वासिन्दाहरूको पहिचान, जीवनशैली र जीवन–व्यवहार हो । यहाँका ढुंगा, माटो, खोला–नाला, रूखबिरुवालगायत सम्पूर्ण जैविक विविधताहरू मानवजीवनकै अभिन्न अंगहरू हुन् । चुरेक्षेत्रको प्रकृति आज त्यस क्षेत्र र त्यसको तल्लो तटीय क्षेत्रका मानवको जीवनधारा सँगाल्ने संस्कृति नै बनेको छ । उत्तरबाट हिउँ पग्लेर आउने सबै नदीहरू कमलो ढुंगामाटाले बनेको यही क्षेत्र भएर बग्ने हुनाले निरन्तर यो खिइने क्रममा नै छ । जसले यस क्षेत्रको पर्यावरणीय सन्तुलनलाई खल्बल्याउन धेर थोर मद्दत गरेको छ । यो पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील कुरा हो । यही असन्तुलित पर्यावरणको यो भूगोल अनि यसका ‘खोँच’, ‘टार’ र ‘फेदी’हरूमा हजारौँ वर्षदेखि मानवजीवन आफ्ना समवेदना र सुस्केराहरूले जीवनको परिभाषा कोरल्दै र जिजीविषाहरूको बिस्कुन सुकाउँदै आएको छ ।

 

चुरेको जीवन संस्कृतिको मूल आधार नै कृषि हो । अप्ठ्यारो भूगोल, सिँचाइको अभाव बजारको दुर्गमता आदि समस्याका बाबजुद चुरेक्षेत्रको जनजीवन विगत लामो समयदेखि परम्परागत र निर्वाहमुखी कृषि र पशुपालनमा आधारित छ । तर, पछिल्ला वर्षहरूमा यहाँका बासिन्दा कृषिक्षेत्रबाट पलायन हुँदै गइरहेको बर्दिवास नगरपालिकाको कृषिसम्बन्धी एक अध्ययनले समेत देखाएको छ । चुरे विनाश शृंखलाको बढोत्तरीले यो अवस्था आएको कुरामा अब कुनै शंका छैन ।

 

चुरेमा ९५ लाख वर्ष पुराना प्रागऐतिहासिक वन्यजन्तुका अवशेषहरू रहेको अनुमान गरिएको छ । पाल्पाको चुरेक्षेत्र दोभानआसपास भेटिएका निन्डरथल मानवका अवशेषदेखि सुनसरीको विष्णुपादुकालगायत चितवन, नवलपरासी मोरङ आदि जिल्लाका चुरेक्षेत्रमा भेटिएका वैदिक र रामायणकालीन भग्नावशेषहरूले यहाँको जैविक विविधताको महत्वलाई मात्र प्रस्ट्याउँदैन बरु चुरे क्षेत्रमा मानवजीवनकोे प्राचीनतालाई समेत उजिल्याउँछ । तर, यति पुरानो जीवनपद्धति र संस्कृति भएको चुरेको जीवनचक्र आज किन संकटमा पर्दै गइरहेको छ ? किन यहाँको पर्यावरणीय सन्तुलन लगातार खल्बलिँदै गइरहेको छ ? यस क्षेत्रको वनपैदावारको अत्यधिक र अबैध दोहन, नदीजन्य ढुंगा गिटीको अव्यवस्थित र अवैध उत्खनन तथा विकासका नाममा चुरेको प्राकृतिक जीवनमाथि गरिएको हस्तक्षेपको कारण नै आज चुरेको जीवन प्राकृतिक र सांस्कृतिक दुवै कोणबाट संकटमा परेको हो ।

 

मधेसको आत्मा चुरे
हामी सानो छँदा बुबाको मामाघर चेपकोट (हाल यो औरही नगरपालिकामा पर्छ) जाँदा बाटोमा २४ घन्टा आफैँ पानी निस्किरहने बोरिङ देख्थ्यौँ, तर आज स्वचालित रूपमा पानी निस्किरहने त्यस्ता बोरिङहरू मात्र होइन स्यालोट्युबेल र चापाकल (हाते कल)हरूसमेत मृतप्रायः भएका छन् अर्थात ती सबै सुकेका छन् ।

 

महोत्तरीको जलेश्वरमा बाढी आउन र डुबान हुन जलेश्वरमै पानी पर्नुपर्दैन बरु बर्दिवास र त्यसआसपासको चुरेक्षेत्रमा घनघोर वर्षा भयो भने जलेश्वरमा बाढी कटान र डुबानका लागि त्यो पर्याप्त हुन्छ ।

 

माथिका दुईवटा उदाहरण नै काफी छन् चुरेभावर क्षेत्रसँग तराई–मधेसको सम्बन्ध बुझ्न । अझ पछिल्लोपटक अर्थमन्त्रीको बजेट भाषणपछि चुरे दोहन अनि खानीजन्य बालुवा गिटीको उत्खनन र निकासी गर्ने राज्यको नीतिका विरुद्ध तराई–मधेस र भावर क्षेत्रबाट संसद्मा प्रतिनिधित्व गर्ने माधवकुमार नेपाल, उपेन्द्र यादव, गिरिराजमणि पोखरेललगायतका प्रायः सबै राजनीतिक दलका नेता तथा सांसदहरूको एक स्वर सुनिनुले पनि तराई–मधेसका लागि चुरेभावर क्षेत्रको महत्व र उपादेयता कति रहेछ भन्ने कुरा दर्शाउँछ । भलै महन्थ ठाकुर र राजेन्द्र महतोहरूले सत्तारोहणको पूर्वसन्ध्यामा त्यस चुरे दोहनबाट लाभ लिन उद्यत राज्यनीतिबिरुद्ध मुख नखोलेका नै किन नहुन् ।

 

चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिटी, बालुवा र कंकडले बनेको भावर क्षेत्रको समथर भूभाग छ । यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारण वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । जम्मा जंगलको ७२ प्रतिशत भूभाग यही चुरेक्षेत्रले ओगटेको छ र यसलाई तराईको भूमिगत जल भण्डारका रूपमा समेत चिनिन्छ । तराई–मधेसको उर्वराभूमिका लागि सिँचाइ तथा खानेपानीको मुख्य स्रोत नै चुरे पहाडअन्तर्गतको भावर क्षेत्रमा सञ्चित यही पानीको स्रोत हो । जहाँ देशकै झन्डै ५० प्रतिशत जनता उक्त पानीमा आश्रित रहेका र नेपालको ८० प्रतिशतभन्दा बढी खाद्यान्नको भण्डारलाई उक्त पानीले सिञ्चित गर्दै आएको छ ।

 

यही जलभण्डारमा अव्यवस्थित, अवैज्ञानिक र अवैध रूपमा क्रसर सञ्चालन गरी ठुल्ठूला मेसिनको प्रयोग गर्दै ढुंगा, गिटी र बालुवा उत्खनन र निकासी गर्दाको परिणाम के भइरहेको छ ? आज हामी सबैले नै भोगिरहेका छौँ । वर्षा भए अति वर्षा, बाढी, डुबान र कटान वर्षा नभए सुक्खा, खडेरी र पानीको हाहाकारको कहालीलाग्दो अवस्थाले सिंगो देशका बहुसंख्यक जनताको जीवन अस्तव्यस्त बनाइरहेको छ । त्यति मात्र होइन, वन पैदावारको अत्यधिक प्रयोग, ढुंगा, गिटी बालुवाका खानी जथाभावी सञ्चालनलगायतका चुरेमाथिको जबर्जस्त हस्तक्षेपको असर तराई–मधेसमा देखिने क्रम जारी छ । त्यसले भविष्यमा तराईको अन्न उत्पादनको क्षेत्र नष्ट हुनुको साथै तराईको मरुभूमीकरणजस्तो गम्भीर वातावरणीय तथा मानवीय संकट निम्त्याउन सक्ने सम्भावनालाई नजरअन्दाज गर्नुहँुदैन । यसैले मधेसको आत्माको रूपमा रहेको चुरेको संकटलाई ढिलो नगरीकन तराई–मधेसको पनि संकटको रूपमा बुझ्न जरुरी छ ।

 

पर्यावरणीय असन्तुलनले पैदा गरेको वातावरणीय विनाशलीला भोगेका जो कोहीले पनि आज अनुभव गर्न सक्छन् कि चुरेभावर क्षेत्रको प्रकृति र पर्यावरणीय सन्तुलनविना तराई–मधेसको न प्रकृति जीवित रहन सक्छ न त मानवीय मूल्य–मान्यता र संस्कृति नै । त्यसैले अध्यादेशमार्फत चुरे दोहनको ‘कु’ नीतिमा लालमोहर लगाएर राज्यले मधेसको मर्मस्थल अर्थात् आत्मामा नै प्रहार गरेको छ । जसको एकताबद्ध भएर प्रतिवाद गर्नुको विकल्प छैन ।

महोत्तरी, बर्दिबास नगरपालिका– ११ चुरे क्षेत्रको एउटा घर

 

चुनौतीका चाङ
चुरेक्षेत्रका चुनौती के–के हुन् ? भनेर एकछिन गम्यो भने लाग्छ चुरेक्षेत्रमा चुनौतीका चाङ नै खडा भएको छ । चुरेक्षेत्रमा धेरैअघिदेखि नै माफिया र लुटेराहरूको कुदृष्टि परेको कुरा कसैबाट छिपेको छैन । झन् अहिले त शासकहरूको नै कुदृष्टि परेपछि चुरेक्षेत्रमा चुनौतीका चाङ नै लाग्ने क्रम अझ बढ्दो छ ।

 

चुरेक्षेत्रमा करिब १,५७० प्रजातिका बिरुवाहरू पाइने र ७२ प्रतिशत भूभाग वनक्षेत्रले ढाकेको हुँदा यो जैविक विविधताका दृष्टिले धनी भौगोलिक क्षेत्रका रूपमा परिचित रहेको छ । तर, चुरेको यही धन नै यसको चुनौतीसमेत बनेको छ । यी जैविक विविधताहरूको संरक्षण गर्नु अनि संरक्षित जैविक विविधतासँग जोडिएका मानवीय समवेदना र अपनत्वको भावनालाईसमेत ख्याल गर्दै यसको जगेर्ना गर्नु निकै नै चुनौतीको विषय हो ।

 

विसं २०७१ सालमा तत्कालीन संविधानसभाअन्तर्गतको संसदीय समितिले तिनाउ नदीबाट उत्खनन गरिएको करिब एक अर्बबराबरको ढुंगा, गिटी र बालुवा निर्यात गर्दा त्यसको कारणबाट ११ अर्बबराबरको भौतिक क्षति पुगेको निष्कर्ष निकालेको थियो । केही वर्षअघि महोत्तरी र धनुषा जोड्ने रातुनदीमाथिको पुल भासिएको थियो, अनि धनुषाको महेन्द्रनगरछेउमा रहेको औरही खोलाको पुल पनि । यी दुवै पुल भासिनुको एउटै कारण थियो रातु र औरही खोलाबाट ढुंगा, गिटी र बालुवाको जथाभावी उत्खनन । यहाँ केही व्यक्तिको आर्थिक लाभका निम्ति गरिएको चुरे र त्यसको नदी प्रणालीबाट नदीजन्य पदार्थको दोहनले कति धेरै भौतिक र मानवीय क्षति भएको छ भन्ने कुराको मूल्यांकन कसले गरिदिने ? यसरी भुइँको टिप्न खोज्दा गोजीको खसेको पनि पत्तो नपाउने अवस्था सिर्जना हुनु कम्ता चुनौतीको विषय होइन । 

 

माफियाहरू आफ्नो लुटको स्वर्ग जोगाउन जस्तोसुकै हर्कत गर्न सक्छन् भन्ने कुरा त धनुषामा गिटी–बालुवाको अवैध उत्खननको विरोध गर्ने दिदिप महतोको क्रुरतापूर्वक गरिएको हत्या नै उदाहरणको रूपमा काफी छ । सिंगो राज्य संयन्त्रलाई नै प्रभावित बनाएर प्रतिबन्धित उत्खननलाई खुला गराउन सक्ने ढुंगा–गिटीका माफियाहरूले रातारात सिडिओ परिवर्तन गराउनु वा जिल्ला समन्वयका संयोजक, मेयर, प्रहरी प्रमुखलगायतका अधिकारीहरूलाई देखे पनि नदेखेझँै गर्न लगाउनु कुनै ठूलो कुरै भएन । चुरेभावर क्षेत्रको जीवनमा देखापरेको यो चुनौती निकै ठूलो चुनौती हो । जननेता निर्मल लामाले भनेजस्तै घनीभुत रूपमा हिसाब खोज आन्दोलन नचलाईकन यस्ता चुनौतीबाट पार पाउन सकिँदैन ।

 

चुरेले सामना गर्नुपरेको चुनौती यत्तिमा मात्र सीमित छैन । अव्यवस्थित बसोवास, वन पैदावारको अव्यवस्थित दोहन, अनुपयुक्त खेती प्रणाली, खुला चरिचरनजस्ता अन्य थुप्रै चुनौतीको सामना गरिरहेको छ चुरेले । यसले मधेसलाई बचाउनुपर्ने, डुबान र कटान मरुभूमि हुनबाट जोगाउनुपर्ने दायित्वसमेत आफैँमा समाहित गरेको छ । त्यो दायित्व पूरा गर्न पनि यसले आपूmलाई जोगाउनुपर्छ अनि हामीले यसलाई ।

 

चुनौतीलाई चिर्न सहकार्यको बाटो 
चुरेको चुनौतीपूर्ण जीवनधारालाई चिर्ने हो भने मान्छे र प्रकृतिबीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न जरुरी हुन्छ । प्रकृतिसँगको संघर्षवाट मात्र मानवजीवन सहजतापूर्वक अगाडि बढ्न सक्छ भन्ने पुरानो भाष्यलाई बदल्न जरुरी हुन्छ । अब प्रकृतिसँग संघर्ष होइन प्रकृतिसँगको सहकार्यमा नै आफ्नो प्रगति र जीवन देख्न सक्नुपर्छ । चुरे मात्र होइन, समग्र प्राकृतिक सम्पदाहरूको अतिशय दोहन र हस्तक्षेपका विरुद्ध एकजुट भएर प्रकृतिसँग सहअस्तित्वको सम्बन्ध स्थापित गर्न सकेको खण्डमा मात्र हामीले चाङ लागेर बसेका चुरेका चुनौतीजस्ता थुप्रै प्राकृतिक र मानवनिर्मित चुनौतीहरूको सामना गर्न सक्छौँ । चुरेको संरक्षण गर्ने भनेको यसमा रहेको ढुंगामाटोको मात्र होइन, यसको जैविक जीवनचक्रमा बाँधिएका मानव र अन्य सम्पूर्ण प्राणीहरूको समेत संरक्षण गर्नु हो । वास्तविक रूपमा प्रकृतितिर फर्कनु भनेको चुरेको भूगोल, त्यहाँ रहेका मानिस, अन्य प्राणी र त्यहाँको पर्यावरणको जीवन्त सम्बन्धलाई स्थापित गर्नु हो, मलजल गर्नु हो ।

 

[email protected]