• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सुरेश किरण काठमाडाैं
२०७५ चैत ३० शनिबार ११:१०:००
सम्झना

‘कम्युनिस्ट’ भिक्षु जो खोजिरहन्थे बुद्धवादमा मार्क्स

२०७५ चैत ३० शनिबार ११:१०:००
सुरेश किरण काठमाडाैं

उसै पनि बुद्ध शान्तिका प्रतीक हुन् । शान्त रहनु बौद्धहरूको पहिलो चरित्रभन्दा हुन्छ । तर, संघनायक भिक्षु अश्वघोष महास्थवीर एक त्यस्ता बौद्ध भिक्षु हुन् जसले शान्त रहन कहिले पनि जानेनन् । थेरवादी बौद्ध समुदायको शान्त वातावरणमा सधैँ लहर उत्पन्न गरिरहे । र, उनको यो लहरले नेपाली थेरवादी बुद्ध धर्मलाई उँभो लगाउन सधैँ सहयोगी भूमिका निभाइरहे । 

उनी नेपालमा विद्यमान सम्पूर्ण भिक्षुहरूमध्ये ज्येष्ठ थिए । त्यसैले उनलाई ज्येष्ठ भिक्षुलाई प्रदान गरिने सर्वोच्च सम्मान ‘संघनायक’ उपाधि प्राप्त थियो । उनै संघनायक भिक्षु अश्वघोष महास्थवीरको गत शुक्रबार ९३ वर्षको उमेरमा निधन भयो । सरकारले प्रदान गरेको राष्ट्रिय सम्मानसाथ उनको अन्त्येष्टि गरियो । उनैको इच्छाबमोजिम अन्त्येष्टिलाई सकभर सामान्य गरिएको थियो । 

भिक्षु अश्वघोषको नाम लिँदा धेरैले चिन्ने भनेको उनको सांसद छविलाई हो । २०४६ सालको जनआन्दोलनपश्चात् गठन भएको माथिल्लो संसद् राष्ट्रिय सभामा उनी एमालेका तर्फबाट सांसद बनेका थिए । भिक्षु अश्वघोष पहेँलो चीवर लगाएर संसद्मा उपस्थित हुँदा त्यो सबैको आकर्षण र केहीका लागि आश्चर्यको विषय बनेको थियो । उनको संसद् प्रवेशले धेरैले प्रश्नहरू पनि जन्माए, जस्तो कि भिक्षु भएर पनि राजनीति गर्नुहुन्छ ? उहाँ भिक्षु हो कि कम्युनिस्ट नेता ?

तर, यी सबै प्रश्नको उत्तर भने उनको नेपथ्यमा जीवित थियो । चीवर लगाएर संसद् जानु जति क्रान्तिकारी देखिन्थ्यो, भिक्षु अश्वघोष वास्तवमा त्योभन्दा बढी क्रान्तिकारी थिए । उनको क्रान्तिकारिता देख्दा यस्तो लाग्थ्यो कि भिक्षु अश्वघोष बाटो बिराएर मात्रै बौद्ध भिक्षु बन्न पुगेका हुन्, होइन भने त्यो उनी हिँड्ने मार्ग थिएन । 

भिक्षु अश्वघोष श्रीलंकामा पढेर आएका बौद्ध अनुयायी हुन् । श्रीलंका संसारमै अत्यधिक बौद्ध भिक्षुहरू भएको देशमध्ये पर्छ । अश्वघोष श्रीलंकामा हुँदा त्यहाँ भिक्षुहरू पनि मुलुक बनाउन ‘देशपालन (राजनीति)’ मा लाग्नुपर्छ भन्ने धारणा अधिक थियो । कति बौद्ध भिक्षुहरू चुनावै लडेर सांसद भए । कति मन्त्रीसमेत भए । कोही चाहिँ भिक्षुहरू राजनीतिमा लाग्नुहुन्न भन्ने पक्षमा पनि थिए । तर, त्यो माहोलमा भिक्षु अश्वघोष र उनका मित्र भिक्षु कुमारकाश्यप भने भिक्षुहरू पनि राजनीतिमा लाग्नुपर्छ भन्ने पक्षमा लाग्ने गरेका थिए । अध्ययन सकेर नेपाल फर्किसकेपछि पनि उनको त्यो धारणा कायमै रहिरह्यो तथापि नेपालमा भिक्षुहरू राजनीतिमा लाग्ने वातावरण भने थिएन ।

भिक्षु अश्वघोष पहेँलो चीवर लगाएर संसद्मा उपस्थित हुँदा त्यो सबैको आकर्षण र केहीका लागि आश्चर्यको विषय बनेको थियो । उनको संसद् प्रवेशले धेरैले प्रश्नहरू पनि जन्माए, जस्तो कि भिक्षु भएर पनि राजनीति गर्नुहुन्छ ? उहाँ भिक्षु हो कि कम्युनिस्ट नेता ?

राजनीतिप्रतिको उनको यस्तो धारणा चीन गएपछि भने अझ तिखारियो । पहिलोपटक उनी भ्रमणको सिलसिलामा चीन पुगेका थिए । पछि सन् १९५९ मा टिबी रोग लागेपछि उनी चीनमै दुई वर्षसम्म उपचारार्थ बसे । सांस्कृतिक क्रान्ति चलिरहेको यो बखतको चीनले उनको राजनीतिप्रतिको विश्वासलाई अझै चुल्याइदियो ।

उपचार सकेर नेपाल फर्कँदा उनी चीवरले मात्रै भिक्षु, विचारले भने पूरा कम्युनिस्ट बनिसकेका रहेछन् । उनी त्यतिवेला स्वयम्भूको आनन्दकुटी विहारमा बस्ने गर्थे । विहारभित्र उनी बस्ने कोठामा भगवान् बुद्धका तस्बिर होइन, माओत्से तुङ, लेनिन, कार्ल माक्र्स र स्टालिनका फोटाहरू टाँगिन थालियो । उनको कोठामा छिर्ने बौद्ध उपासक, उपासिकाहरू त्यो देखेर छक्क पर्थे । उनको कोठा बौद्ध विहार होइन कि कुनै वामपन्थी पार्टीको कार्यालय जस्तो देखिन्थ्यो । 

कोठामा कम्युनिस्ट नेताहरूको फोटो टाँग्ने भिक्षु अश्वघोषको त्यो ‘कर्तुत’ बौद्ध जगत्मा अत्यन्त आलोचित बन्यो । तर, उनैको सामु गएर त्यसको विरोध गर्ने हिम्मत भने कसैको थिएन । किनभने, युवावस्थामा भिक्षु अश्वघोष अत्यन्त क्रोधीसमेत थिए । उनलाई तत्कालीन भिक्षुहरूमध्ये नै सबैभन्दा रिसाहा भिक्षु भन्ने गरिन्थ्यो । कोठामा माक्र्स, माओ र लेनिनको फोटो टाँगेपछि उनलाई ‘कम्युनिस्ट भिक्षु’ पनि भन्न थालियो ।

कोठामा राखिएका कम्युनिस्ट नेताहरूको फोटो झिक्न उनलाई आफ्नै गुरु डा. भिक्षु अमृतानन्द महास्थवीरले सम्झाए । भिक्षु अमृतानन्द अत्यन्त शालीन, कूटनीतिक एवं विद्वान्समेत हुन् । भिक्षु अश्वघोष उनै अमृतानन्द महास्थवीरका प्रथम शिष्य हुन् । तर, आफ्नै गुरुले सम्झाउँदा समेत उनी मानेनन् । बरु, भने, ‘म यो विहारै छोड्छु, यी फोटाहरू छोड्दिनँ ।’

पटक्कै नमानेपछि उनलाई एकपटक विहार छोडेर जानसमेत चेतावनी दिइयो । तर, उनी भने झुकेनन्, बरु चेतावनी स्वीकारे । विहारमा रहेको आफ्नो सम्पूर्ण सामानको गुन्टा कसेर उनी विहार छोड्नसमेत ठिक्क भए । उनको त्यो हठ देखेर गुरु अमृतानन्दले फेरि फकाए, ‘ल ल, ठीक छ । तिमी ती फोटाहरू पनि टाँगेरै बस ।’ उनी फोटा झुन्ड्याएर फेरि त्यहीँ बस्न थाले । 

तर, त्यो घटनापछि उनलाई लाग्यो– अब यो विहारमा धेरै दिन बस्न सकिँदैन । त्यसैले अर्को वासस्थान बनाउनुपर्छ । त्यसपछि उनले बनेपामा अर्को विहार बनाउने योजना बुन्न थाले । 

विचारमा उनी कति क्रान्तिकारी थिए त भन्दा लेखहरू लेख्दा समेत उनको शीर्षक हुने गथ्र्यो ‘क्रान्तिकारी बुद्ध,’ ‘बुद्धवाद र माक्र्सवाद’ आदि आदि । बौद्ध भिक्षु भए पनि उनको विचार भने बुद्ध र बौद्ध धर्मको घेरोभित्र मात्र सीमित थिएन । सबैलाई सुख, समानताले भरिएको मुलुक, शोषणरहित समाज आदि जस्ता माक्र्सवादले कल्पना गरेको राजनीतिक उद्देश्यहरू बुद्धले उतिवेलै सोचिसकेका थिए भन्ने उनको दलिल थियो । 

फराकिलो विचार भएकै कारणले होला, उनी एकपटक लुम्बिनी विकास कोषका उपाध्यक्षसमेत बने, एमाले सरकारको पालामा । चीवर लगाएर कुनै पनि कार्यकारी प्रशासनिक पदमा नियुक्त हुने उनी पहिलो भिक्षु थिए । उनी पछि अरू बौद्ध भिक्षुहरू पनि कोषमा पुगे । तर, उनले जत्ति सम्मान भने अरूले पाएको देखिँदैन । लुम्बिनी विकास कोषलाई भ्रष्टाचार गर्नेहरूको अखडै पनि भन्ने गरिन्छ । तर, उनी कोषको बैठकमा सहभागी हुन काठमाडौंदेखि रात्रिबस चढेर लुम्बिनी जाने गर्थे, जब कि उनका लागि प्लेनको टिकट उपलब्ध थियो । काठमाडौं बस्दा पनि बनेपास्थित आफ्नो विहारमा जानु परे कोषको गाडीमा आफैँ पेट्रोल भरिदिन्थे । व्यक्तिगत काममा सरकारी साधनको प्रयोग उनलाई मनपर्दैन थियो । 

उमेर छिप्पिँदै गएपछि उनले कोठामा टाँगिएका तस्बिरहरू त झिके तर मस्तिष्कमा गढिएको विचार भने कहिल्यै झिकेनन् । चीवरमा बाँधिनुपरेकाले उनले माक्र्सवादको खुला वकालत त कहिल्यै गरेनन् तर बौद्ध दर्शन र बौद्ध व्यवहारभित्र माक्र्सवाद खोज्ने उनको प्रयास पनि कहिल्यै रोकिएन । बुद्ध धर्मलाई अरू धर्मभन्दा वैज्ञानिक भनिए पनि त्यसभित्र विश्वास गरिने पुनर्जन्मको अवधारणा भने भिक्षु अश्वघोषलाई मन परेको थिएन । पुनर्जन्मजस्ता कुरालाई भौतिकवादीहरू जत्तिकै भिक्षु अश्वघोष पनि अस्वीकार गर्थे । उनको तर्क थियो, ‘भगवान् बुद्धजस्ता अनात्मावादी महामानवले पुनर्जन्मबारे बोलेको जस्तो मलाई लाग्दैन । बुद्धको देहावसान भएको पाँच सय वर्षपछि मात्रै उनका उपदेशहरू लिपिबद्ध गर्न थालिएकाले त्यसमा पुनर्जन्मजस्ता अभौतिक कुराहरू कसैले बीचमा घुसाइदिएको हुनुपर्छ ।’ धर्मप्रति थोरै आस्था राख्ने सामान्य भक्तले समेत विश्वास गर्ने पुनर्जन्मलाई उनी चीवर लगाउने वरिष्ठ भिक्षु नै भएर पनि अविश्वास गर्थे ।

नेपालको थेरवादी बौद्ध परम्परामा पुरुष श्रावकलाई ‘भिक्षु’ भनिए पनि महिला श्रावकलाई भने ‘भिक्षुणी’ भन्ने चलन छैन । गृहत्याग गरिसकेका महिलालाई ‘अनगारिका’ वा ‘गुरुमां’ सम्बोधन गरिन्छ । महिला श्रावकहरूले आफूलाई पनि ‘भिक्षुणी’ सम्बोधन गर्नुपर्ने दाबी गरिरहे पनि भिक्षु महासंघले भने आजसम्म त्यसलाई मान्यता दिएको छैन । त्यसको कारणभित्र आफ्नै तर्क र परम्पराहरू रहेका छन् । तर, भिक्षु अश्वघोष भने महिला र पुरुष बराबर हुने भएकाले पुरुषलाई ‘भिक्षु’ भनेपछि महिलालाई पनि ‘भिक्षुणी’ नै भन्नुपर्छ भन्ने विचार राख्ने गर्थे । यस्तो विचार राख्ने भिक्षुहरू अरू पनि होलान्, तर उनीहरू खुला रूपमा त्यसलाई प्रकट गर्दैनन् । अश्वघोषचाहिँ मञ्चमै बोलिदिन्थे जहाँ योभन्दा फरक विचार राख्ने बौद्ध व्यक्तित्वहरू पनि डाय्समै बसिरहेका हुन्थे ।

सामान्यतया बौद्ध भिक्षु भएपछि उनी लोभ, पाप, क्रोध, कुण्ठा, आशक्तिजस्ता अवगुणहरूबाट मुक्त छन् भन्ने विश्वास गरिन्छ । तर, यो विश्वासमाथि पनि अश्वघोषको अविश्वास थियो । उनी भन्ने गर्थे, ‘भिक्षु होस् वा अरू कोही, ऊ सबैभन्दा पहिले मान्छे हो । मान्छे भएपछि मानवीय कमजोरीहरू पनि हुने नै भए । अध्ययन, अनुशीलन र अनुशासनले भिक्षुहरूमा ती कमजोरीहरू तुलनात्मक रूपले कम हुने मात्रै हो, पूरै हट्ने होइन ।’

स्वयं भिक्षु भएर पनि भिक्षुका कमजोरीबारे बोल्न दह्रै मुटु चाहिन्छ । भिक्षु अश्वघोष त्यही दह्रो मुटु भएका मानव हुन् । तर, आफूले यति खरो बोल्न सक्नुको श्रय भने उनी बुद्ध र उनको दर्शनलाई नै दिन्छन् । भन्थे, ‘बुद्ध धर्मको गहन अध्ययन र ज्ञानले नै मलाई यति बोल्न सिकाएको हो । अर्को बाटो लागेको भए यति भन्न सक्ने क्षमता ममा हुन्नथ्यो ।’

भिक्षु अश्वघोषको निधन नेपालको बुद्ध धर्म क्षेत्रका लागि अत्यन्तै ठूलो नोक्सानी हो । यसको पूर्ति कुनै पनि मूल्यमा हुन सक्दैन, यो निश्चय छ ।