कविता
आँगनमा निस्कन डराएर केटाकेटीहरू
खेलिरहेछन् घरभित्रै भाँडाकुटी
लुकामारी र ओकल दोकल
केटाकेटी न हुन्
छाड्यो भने माटोले समात्न जरा
छाड्यो भने पृथ्वीले आफ्नो लय
छाड्यो भने धर्तीमा पोखिन घाम
छाड्यो भने हावाले हल्लिन पात
नतिजा के होला ?
सम्हालिन होइन
मात्र पोखिन जान्दछन् केटाकेटीहरू
बनाएर छिमेकी भाइलाई श्रीमान्
बनेर आफू श्रीमती
मानेर गुडियालाई आफ्ना छोराछोरी
बनाएर गोलो चेप्टो ढुंगालाई पकाउने भाँडो
पस्केर केराका पातमा माटोको भात
जब बच्चालाई खुवाएर खाएको अभिनय गर्थे
मलाई लाग्थ्यो–
मात्र खेल्न जान्दछन् केटाकेटीहरू
एक दिन
खेल्ने बहानामा छोराले
घरलाई बनायो देश
मलाई बनायो प्रधानमन्त्री
आमालाई बनायो राष्ट्रपति
दाइलाई बनायो विदेशमन्त्री
काकालाई बनायो मुख्यमन्त्री
बहिनीलाई बनायो रक्षामन्त्री
र आफू बनेर विपक्षी दलको नेता
सोध्यो बालाई प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यू !
यसरी आफूअनुकूल बनाएर सरकार
आफूखुसी चलाएर शासन
तपाईं घर बनाउनुहुन्छ कि देश ?
अनि
घरमा भएका थुप्रै गुडियामध्ये
एउटा गुडियालाई बनायो बेरोजगार युवा
अर्को गुडियालाई बनायो भोको मजदुर
अर्को गुडियालाई बनायो गरिब किसान
र यी सबैलाई समेटेर
केही गुडियालाई बनायो जुलुस
गर्यो आमसभा
र फेरि सोध्यो बालाई प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यू !
यी निमुखा जनताको पसिना चुसेर
तपाई शासन गर्नुहुन्छ कि शोषण ?
र खेलको अन्त्यमा
बनायो खेल्दै गरेको बरन्डालाई आर्यघाट
बनायो बाँकी गुडियालाई लास
र जलाउन पालो पर्खिरहेका मलामी
अनि आफूचाहिँ
बा–आमाको अन्तिम मुख देख्न नपाएर
प्रवासमा बसेको भावविह्वल छोरोको अभिनय गर्दै
फेरि सोध्यो बालाई अन्तिम प्रश्न
सम्माननीय प्रधानमन्त्रीज्यू !
कतै खाना र उपचार नपाएर
जनता भोक, रोग र शोकले मर्ने भए
अब तपाईं कुन जनतामाथि गर्नुहुन्छ शासन
र कसरी चलाउनुहुन्छ देश ?
यी केटाकेटीको खेल देखेर
साँच्चै ! त्यतिवेला
मलाई खुब लाज लागेको थियोे आफैँसँग ।