• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ता कमली लमजुङ
२०७८ जेठ २२ शनिबार ०५:५१:००
रिपाेर्ट

जडीबुटी संरक्षणमा जुटे युवा

२०७८ जेठ २२ शनिबार ०५:५१:००
शान्ता कमली लमजुङ

कोभिड–१९ का कारण लमजुङसहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाले कृषिकर्ममा लागेकालाई भने धेरै प्रभाव पारेको देखिन्न । ग्रामीण क्षेत्रमा किसानहरू महामारीलाई अवसरको रूपमा लिँदै बिहानदेखि बेलुकासम्म खेतबारीमा व्यस्त छन् । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुटी संरक्षणमा लागेका छन् ।

 

बेसीसहरमा बस्दै आएका तामाङ लकडाउन भएसँगै गाउँ गएर कृषिकर्ममा जुटेका छन् । उनले गाउँमा बेरोजगार रहेका युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गर्दै गाउँमा बाँझो रहेको जग्गामा सतुवा, वनलसुन र टिमुरका बिरुवा रोपेका छन् । सतुवा खेतीमा लागेसँगै मस्र्याङ्दी गाउँपालिकाका १० जना युवाहरू आपसमा मिलेर एक वर्षअघि लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेका छन् । उनीहरूले १० रोपनी जग्गामा सतुवा खेती सुरु गरेका छन् । सतुवा खेतीमा लागेका तामाङले सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीप जिल्लाका विभिन्न ठाउँमा रहेका अन्य किसानलाई पनि सिकाउँदै आएका छन् । ‘अलैँची खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने मेरो सोच छ,’ उनले भने । 

 

तामाङले छिनखोलामा ४० रोपनी पाखो जग्गामा अलैँची खेती गरेका छन् । अलैँची खेतीसँगै अहिले उनी सतुवा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाइरहेका छन् । उनले भने, ‘कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीतर्फ आकर्षित भएको हुँ ।’ सुरुमा दोलखाबाट प्रतिबिरुवा ८० रुपैयाँका दरले पाँच सय बिरुवा ल्याई एक रोपनी जग्गामा उनले सतुवा खेती सुरु गरेका हुन् । अहिले उनले पाँच रोपनी जग्गामा रहेको तीनवटा ग्रिन हाउसमा झन्डै १२ हजार सतुवाका बिरुवा रोप्ने वेलाका बनाएका छन् । ‘सुरुमा एक लाखबाट सुरु गरेको सुतवा खेतीमा अहिले झन्डै १५ लाख लगानी भइसकेको छ,’ तामाङले भने ।

 

उनी मात्र होइन, छिनखोलाकै दिनेश तामाङ पनि लकडाउनको समयमा अहिले सतुवा रोपेर दिन बिताइरहेका छन् । उनी भन्छन्, ‘कोरोनाले सबै क्षेत्र प्रभावित बनायो । त्यसैले सतुवा पेसामा लागेँ । सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ ।’ अहिले छिनखोलामा अलैँचीसँगै सतुवा खेतीमा पनि स्थानीयको आकर्षण बढेको स्थानीय चितरिमाया तामाङ बताउँछिन् । 

 

उनी मात्र होइन, मस्र्याङ्दी गाउँपालिका–८, रिङटाङकी कृष्णकुमारी गुरुङ पनि गतवर्ष कोरोना महामारीसँगै बजारबाट गाउँ फर्किएकी छन् । लामो समयदेखि बेसीसहरमा बस्दै आएकी कृष्णकुमारीले गतवर्ष गाउँ फर्किएसँगै बाँझो रहेको एक रोपनी जग्गामा सतुवा खेती गरेकी छिन् । उनी भन्छिन्, ‘कोरोनाले बेसीसहरमा बस्ने उपाय भएन । गाउँ फर्किएसँगै अहिले कृषिकर्ममा लागेकी छु ।’ 

 

सतुवा जंगलमा पाइने एक प्रकारको जडीबुटी हो । समुद्री सतहदेखि १४ सय मिटर माथि उचाइसम्ममा यसको खेती गर्न सकिन्छ । संरक्षणको अभावमा यो जडीबुटी हराउँदै जान थालेको मस्र्याङ्दी गाउँपालिका–४ का वडाध्यक्ष सुमन गुरुङ बताउँछन् । उनका अनुसार सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । ‘यो बहुमूल्य जडीबुटी हो । आधुनिक प्रविधिको प्रयोग गरी यसको व्यावसायिक खेती गर्न सकिए राम्रो आम्दानी लिन सकिन्छ,’ उनी भन्छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिकाको रिङटाङ, छिनखोला, लुदी, ताघ्रिङ, घेर्मु, बेसीसहर नगरपालिकाको खाँचेलगायत दूधपोखरी गाउँपालिका र क्वहोलासोँथार गाउँपालिकाको घाम्राङलगायतका विभिन्न ठाउँका किसानले व्यावसायिक सतुवा खेती सुरु गरिसकेका छन् ।

 

जिल्लाको लेकाण्ली क्षेत्र र बाहिरी जिल्लाबाट विभिन्न प्रकारका जडीबुटीको बिउ ल्याएर नर्सरी स्थापना गरी लमजुङमा सतुवा खेती सुरु गरिएको हो । क्वहोलासोंथर गाउँपालिका–८, घाम्राङको सामुदायिक वनमा जडीबुटी नर्सरी तथा बगैंचा निर्माण गरिएको छ । कोम्रो सामुदायिक वन र हिमालयन हर्बो सेन्टरको सहकार्यमा जडीबुटी खेती गर्न थालिएको सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङ बताउँछन् । उनका अनुसार १० रोपनी जग्गामा जडीबुटीको नर्सरी र १५ रोपनी जग्गामा बगंैचा बनाइएको छ । दुई वर्षअघिदेखि बिउ जमाउन थालेको उनले बताए ।

 

नर्सरीमा लौठसल्लाका १८ हजार बिरुवा, तेजपात चार हजार, सतुवा दुई हजार, पाँचऔँले, धस्रिगरे, सुगन्धवाल, अश्वगन्ध, टिमुर, कुरिलो, जैतुन, अक्करकाँडालगायत २५ प्रकारका जडीबुटीका ४० हजार बिरुवा रोप्ने तयारी छ । बगैंचामा लौठसल्ला, चुत्रो, चिराइतो, सतुवा, सुगन्धवाल, घाँसमा किन्बु, बकाइनो, खनियो, काठमा सतिसाल, विजयसाल, नगदेबालीमा कफीलगायत दुई हजार बिरुवा छन् । जडीबुटी लोपोन्मुख हुँदै गएपछि स्थानीयको सक्रियतामा जडीबुटी संरक्षण अभियान थालिएको गुरुङले बताए । कोम्रो सामुदायिक वनका अध्यक्ष पसबहादुर गुरुङले जडीबुटी हराउँदै गएपछि यसको संरक्षणका जुटेको बताए ।