• वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ जेठ २९ शनिबार ०९:२२:००
रिपाेर्ट

भोकालाई भोजन दिने ‘मनकारी’का नाममा

२०७८ जेठ २९ शनिबार ०९:२२:००

 

- सबिन निङ्लेखु लिम्बु

 

‘मानवता’ले मान्छेलाई मर्न दिँदैन । तर, ‘मानवता’ मात्रले मान्छेलाई मान्छे भएर बाँच्न पनि कहाँ दिन्छ र !

 

‘बडा दिल्कस, बडा रंगीन हे ये सहर कहते हैं
यहाँ पे हैं हजारों घर, घरों में लोग रहते हें
मुझे इस सहर ने गलियोंका बन्जारा बना डाला
चमकते चांदको टुटा हुवा तारा बना डाला’ 
(आनन्द बक्सी, १९९०)

 

समाघको कठ्यांग्रिने जाडो । टोरोन्टो सहरको सुनसान हुँदै गएको एउटा सडक । त्यही सडकपेटीको कुइनेटोमा एक साँझ, एक अपरिचित महिलाले चुरोटे गफमा गम्किँदै भनिन्, ‘यो टोल अहिले धेरै राम्रो भइसक्यो नि ! पाँच–छ वर्षअघि कहाँ यस्तो हुनु ? यहीँ पर केही वर्षअघिसम्म भाडामा बस्थेँ । भर्खरै यहीँ नजिकै एउटा घर किनेकी छु, एकदम मजाको छ घर ।’

 

ती अपरिचितलाई सोधेँ, ‘पहिलेभन्दा अहिले कसरी राम्रो भयो ?’ क्यानेडियनहरू अलि मिजासिला हुन्छन् भन्ने बुझाइ छ । सामान्य बोलीचालीमा हो पनि । उनले भनिन्, ‘अन्यथा नलिनुस् । कसैलाई छिछिः–दूरदूर गर्न खोजेको पनि होइन । तर, यहाँका गल्लीमा ड्रग एडिक्टहरू पहिलेजस्तो देखिँदैनन् । खासमा यहाँबाट म पहिले सर्नुको कारण पनि त्यही हो, अलि असुरक्षित महसुस गर्थें ।’

 

ती महिलाले नामै किटान गरेर उच्चारण गर्न नसकेको, तर इंगित गर्न खोजेकोचाहिँ वास्तवमा एउटा समुदाय हो । टोरोन्टोको ‘होमलेस’ भनेर चिनिने एक समुदाय । ‘होमलेस’, अर्थात् घर नभएका । बेघर । घरको ठेगाना नभएकाहरू । राज्य र ‘मूलधारे’ समाजबाट हेपिएका र तिरस्कृत भएका एउटा यस्तो वर्ग, जो ठेगाना नभएकै कारण कैयन्पटक राज्यबाट पाउने भत्ता पनि पाउँदैनन् । किनभने भत्ताको पैसा बोकेको ‘चेक’ आइपुग्नलाई घरको ठेगाना त चाहियो नि ! भत्ता नभएपछि टोरोन्टो सहरका धेरै ‘होमलेस’हरू ‘भिख’ मागेर गुजारा चलाउन मजबुर हुन्छन् । अनि तिनै ठेगाना नभएका ‘होमलेस’लाई ‘ठेगान’ पनि नभएकाझैँ गरी ‘हेर्ने’ गर्छ, मूलधारे समाजले । जसको एउटा दृष्टान्त ती अपरिचित महिलाले हावामा चुरोटको धुवाँ उडाउँदै भनिन् । ‘ड्रग एडिक्ट’ देख्दा डराउने मानसपटलले ठेगाना नभएका जस्ताहरूसँग सडकपेटीमा जम्का भेट हुँदा, ‘देख्ने’ भनेको वास्तवमा ‘ठेगान’ नभएको मान्छे नै हो । जे पनि गर्न सक्ने ‘ठेगान’ नभएको ‘ठेगाना’विहीन मान्छे । तब न ती महिला भन्छिन्, ‘अहिले पहिलाजस्तो छैन टोल ।’ उनका लागि, उनको संसार हेर्ने, बुझ्ने दृष्टिकोणका लाग पहिलाभन्दा सुरक्षित छ टोल । 

 

त्यो चिसो साँझ, चुरोटको धुवाँ उडाउँदै ती अपरिचितसँग गफिँदै गर्दा त्यतै वरिपरि, सडकको छेउछाउ, कुइनेटोतिर, फोहोर फाल्ने कन्टेनरभित्र सायद केही ‘होमलेस’हरू गुट्मुटिएर जाडोसँग जुध्दै थिए होलान् । हामी गफिरहेको सडकको ठीक पारि पार्कको रुखमुनि फलामको बेन्चमा चार ठाउँमा हात बिसाउने फलामकै अड्केउलो राखिएको थियो । बेन्चको हिउँ टकटकाएर त्यहीँ सुतौँ भन्दा पनि सुत्न मिल्दैनथ्यो । त्यो फलामको अड्केउलो बेघरहरूलाई हात बिसाएर बस्नसमेत सजिलो नहुने गरी राखिएकोजस्तो थियो । बेघरहरूलाई राति त्यस्ता ठाउँमा पनि सुत्न नदिन सरकारले अपनाएको सुनियोजित हर्कत थियो त्यो । त्यसैलाई सहरका सम्भ्रान्तहरूले भनेका थिए, ‘सहरी डिजाइन ।’

 

पश्चिमेली सहरमा गरिबीका त्यस्ता धेरै ‘कन्टेनर’ छन् । त्यो दृश्य सम्झिँदा लाग्छ, दैनिक जीवनमा आइपर्ने अन्याय र कठिनाइलाई सामना गर्न चाहिने ऐक्यबद्धताको कुरा छोडौँ, आफूलाई ‘विकसित’ ठानेका सहरहरूमा मानवता नै मरिरहेको छ । यसरी, ‘होमलेस’ समुदाय, मूलधारे सहरी समाज र राज्यका लागि ‘आँखाको कसिंगर’ भएको प्रशस्त उदाहरण संसारैभरि छ, चाहे त्यो उदारवादी भनिएमा सहर हुन् वा लोकतान्त्रिक समाजवाद भनिएका सहरहरू । अब कुरा गरौँ, विकासोन्मुख सहर अनि ‘समाजवाद–उन्मुख’ राज्यको ।

 

नेपालमा, अझ भनौँ काठमाडौँ सहरमा, ‘होमलेस’ भनेर चिनिने समुदाय छैन । यसको ठाउँमा ‘सुकुम्बासी’ छ । यहाँको मूलधारे समाज र राज्यले सुकुम्बासीलाई हेर्ने चस्माको डिजाइन ठ्याक्कै क्यानडामा ‘होमलेस’लाई हेर्ने जस्तो त छैन, तर धेरै कुरा मिल्दाजुल्दा छन् । एकजना मानवशास्त्रीको वाक्यांश सापटी लिएँ, एक छिनलाई । हाम्रो सन्दर्भमा मूलधारे समाज र राज्यका लागि सुकुम्बासी भनेको ‘म्याटर आउट अफ प्लेस’ हो भन्दा फरक नपर्ला । भनेको, सुकुम्बासीहरू जहाँ छन्, त्यहाँ नहुनुपर्ने हो । सहरबाट धेरै टाढा गइदिएहुन्थ्यो भन्ने हो, उनीहरूको चाहना । ‘डिफ्रेन्ट प्लेस’, अर्कै ठाउँमा, अर्कै ठेगानामा, आँखाले देख्न नपर्ने ठाउँमा । राज्यको ‘सुकुम्बासी÷भूमिहीन समस्या समाधान आयोग’ले काठमाडौंलाई आफ्नो कार्यक्षेत्रभित्र नराख्नुले त्यही जनाउँछ । किनभने, काठमाडौंका सुकुम्बासी, सरकारका लागि समाधान गर्ने ‘समस्या’ होइन, हटाइनुपर्ने ‘कसिंगर’ हो । अनि सरकारकै सिको गर्छ मूलधारे समाजले । त्यसपछि उठिबास लगाइन्छ सुकुम्बासीबस्तीलाई । उनीहरू अर्को ठाउँमा पुग्दा पनि राम्रोसँग डेरा बसाउनै सक्दैनन् । सुकुम्बासी बस्ती कथित मूलधारे समाजको ‘छिमेकी’ कहिल्यै बन्नै सक्दैन । किनकि सुकुम्बासी ‘हुनु’ भनेको, सुकुम्बासी ‘देखिनु’ हो । मूलधारेहरूको घृणा खेप्नु हो । मूलधारेभन्दा ‘फोहोर’ देखिनु हो । क्यानडाको मूलधारे समाज अनि राज्यले ‘होमलेस’ र ‘ड्रग एडिक्ट’लाई जसरी ‘देख्छ’, हो त्यसैगरी देख्नु हो । राज्यका लागि मूलधारे समाजका लागि डर र फोहोरको आफ्नै ठेगाना हुन्छ, नदेखिने ठेगाना । सहरदेखि बाहिर । सहरदेखि धेरै टाढा । ‘म्याटर आउट अफ प्लेस ।’ 

 

तर यो सहरमा मानवता भेटिन्छ, कहिलेकाहीँ । विडम्बना के हो भने, त्यसका लागि सहरलाई असामान्य समयको कहरले छोप्नुपर्छ । प्रकोप अनि महामारीको कहर । ०७२ को भूकम्पलगत्तै सहरमा मजदुरी गरी खानेहरूप्रति पलाएको थियो, उपत्यकाका विभिन्न चोक–गल्लीहरूमा मानवता । भूकम्पले निमिट्यान्नै बनाएको थियो, एउटा दलित सुकुम्बासी बस्तीलाई । झन्नै चार दशक पुरानो बस्ती । बिल्लीबाठ भएका बासिन्दाहरूका अगाडि एक दिन पालिकाका पदाधिकारी आएर भने, ‘जमिन तिमीहरूको होइन । वास्तवमा तिमीहरूलाई बस्न दिन नमिल्ने हो । तर, अब अन्त जाने ठाउँ छैन भने यहीँ बस । घर बनाऊ । तर पक्की घर नबनाऊ । हामी नदेखेको झैँ गर्छौं ।’ 

 

‘हामी’ अर्थात् सरकार । दलित समुदायले ढलेका घरहरू उभ्याइरहेको हेर्दा सरकारले जे ‘देख्छ’ त्यो ‘गैरकानुनी’ ठहर हुन्छ । ‘अवैधानिक’ ठहर हुन्छ । अनि जो ‘अवैधानिक’ हुन्छ, ‘गैरकानुनी’ हुन्छ, त्यो उभिन हुन्न । ढलिरहनुपर्छ । अनि ‘नदेखेझैँ गर्छौं’ भनेको । ‘मानवता’ जताएको । जताउनुपर्नेचाहिँ हक र अधिकारका कुराहरू हो । जग्गाको भोगचलन गरेको दशकौँ भएपनि, जग्गामाथि हक जताउन सक्दैनन् ती दलित समुदाय । संविधानका धाराहरूले हक जताउने अधिकार नदिएको होइन, छ । तर, त्यस्ता धारा भनेका हात्तीको देखाउने दाराभन्दा बढी केही होइनन् । उपधाराहरू खोज्दै जाँदा न धाराको अर्थ बाँकी रहन्छ, न त संविधानको मर्म नै । त्यसैले सरकारले भन्छ, म तिमीहरूतिर हेर्दिनँ । अब दलितहरूतिर फर्केर ‘हेर्दा’ कि त गैरकानुनी भयो भनेर कारबाही अघि सार्नुप¥यो । भूकम्पले निम्त्याएको क्रन्दन र कोलाहालले त्यो गर्न दिएन । कि त संविधानमा निर्दिष्ट कानुनलाई नै वैधानिक आधार मानी औपचारिक प्रक्रिया अघि सारी दलित परिवारहरूको भूमिमाथिको हक सुनिश्चित गर्नुप¥यो । त्यसो गर्न पनि सत्तामा बस्नेहरूको मनले मान्दैन । किनकि, ‘कानुन’ र ‘गैरकानुन’बीचको भूमध्यरेखामा एक किसिमका जनतालाई राखेर शासन गर्दाको मजा नै उनीहरूलाई बेग्लै हुन्छ । शक्तिमाथिको नियन्त्रण कायमै राख्न पाइयो । न्यायिक जवाफदेहिताको जिम्मेवारी लिन परेन । बेथितिको समयमा यदाकदा कथाले मागेजस्तो ‘मानवता’ देखाए पुग्छ । 

 

त्यसैले सरकार भन्छ, बस्नसम्म बस, तर ‘ठेगाना’ नै चाहिँ नबनाऊ । ‘ठेगाना’ माग गर्दा सरकारले दिने–नदिने के हो, ‘ठेगान’ नभएपछि, चुप बसेकै बेस । जवाफमा ‘ए अधिकार चाहियो ? !’ भनेर मालिक गर्जियो भने, गर्ने के ? एक अर्को राजनीतिशास्त्रको वाक्यांश फेरि सापटी लिएँ, ‘अधिकार माग्ने अधिकार’ नभएका परे, ती दलित समुदाय । नागरिकता नभएका, र भए पनि जातीय, वर्गीय वा लैंगिक कारणले नागरिक हक र अधिकारको प्रयोग गर्नका लागि चाहिने सामाजिक, सांस्कृतिक र राजनीतिक पुँजी नभएका ‘सरप्लस ह्युम्यानिटी ।’ ‘सरप्लस ह्युम्यानिटी’ अथवा मानवहरूको ‘अतिरिक्त’ झुण्ड, जसलाई जसरी प्रयोग गरे पनि हुने । जो मेटिएर गए पनि राज्यलाई फरक नपर्ने । मानवताका नाममा सरकारले जे दिन्छु भन्यो, चुपचाप टाउको हल्लाउँदै हुन्छ भने ती दलित समुदायले । नत्र ‘अतिरिक्त’ करार हुने डर । ‘एक मुठी सास फेर्न पाए, बाँच्ने आस छ । देऊ न, किन्नलाई जसोतसो पैसा जोहो गरेको छु’ भनेर राज्यबाट तिरस्कृत भएपछि ‘कालो बजार’को पाउ परेर बिन्ती गर्दा पनि फेर्ने सास शुद्ध खरिद गर्न नपाएर जो मर्दै छन्, उनीहरू जस्तो ‘सरप्लस ह्युम्यानिटी ।’ ‘अतिरिक्त मानव’को झुण्ड ।  

 

७२ को भूकम्पको करिब आधा दशकपछि सहरमा फेरि मानवता पलाएको छ । कोरोना कहर र राज्यको वैमनस्यता देखेर विवश भई सहरवासीबीच जन्मिएको मानवता । जसोतसो मर्नबाट जोगाएर राखेको मानवता । केही हप्ताअघि एकजना सुकुम्बासी मित्र भन्दै हुनुहुन्थ्यो, ‘पोहोर सालको लकडाउनले पढाएको पाठ यसपालि काम लाग्यो । यसपालि त सरकारले लकडाउन घोषणा गर्नेबित्तिकै हामीले ऋणपान गरेर भए पनि नुनतेलको जोहो गर्यौं । केही समयलाई धान्छ । भोको मरिन्न ।’ अब त्यसरी जोहो गर्न सक्नेहरूले त गरे । नसक्नेहरू सहर छाडेर हिँडे, सहरले मार्ने बचाउने ठेगान नभएपछि, आफ्नै गाउँको ठेगाना पछ्याउँदै हिँडे । सहर अब बिरानो भयो । कर्म गरी खाने गाउँ सहरभन्दा धेरै टाढा छ । तर, गाउँमा भोकभोकै मरिन्न । गाउँमा परिवार छन्, साथी–संगिनी छन्, समाज छ । मरिहाले पनि जलाउन–गाड्न काँधमा बोक्ने मलामीको कमी हुन्न ।

 

जो बाँकी छन् सहरमा, तीमध्ये धेरैको जोहो गरेको खाद्य अब बिस्तारै रित्तिँंदै छ । खाद्य जोडजाम गर्नलाई पैसा चाहिन्छ । ऋणमा कारोबार केही हुनेहरूसँग मात्र गर्छन्, पसलका साहुहरू । नांगो शरीरले दिने भनेको केही पैसाको सट्टा मजदुरी हो । ज्याला–मजदुरी ठप्प भएको केही हप्ता भयो । मजदुरीको किनबेच हुने ‘बजार’ बन्द भएपछि लाग्ने भोक नै हो । भोक नमेटिएमा पुग्ने गन्तव्य भनेको मृत्यु हो । मलर सदा र सूर्यबहादुर तामाङको जस्तै अकालमै अन्यायी मृत्यु । सुनियोजित र संरचनात्मक हत्याभन्दा पनि हुन्छ । मजदुरी गरेर पेट पाल्नेहरूको जब भोकले मृत्यु हुन्छ, त्यो ‘प्राकृतिक’ मृत्यु हुनै सक्दैन । 

 

उही सुकुम्बासी मित्रसँग केही दिनअघि कुरा हुँदा भन्नुभयो, ‘अब सरकारले लकडाउन लम्ब्यायो । साथी–भाइहरूले धेरै सम्झिन थाले । त्यसको अर्थ, बस्तीहरूमा पोहोर सालकै जस्तो स्थिति दोहोरिँदै छ फेरि ।’ भनेको कोरोनासँगै भोकको कहरले छोप्दै छ बिस्तारै बस्तीहरूलाई । तर, भोकाएकाहरूलाई ‘भात खुवाउने’ दयालु मनहरू पनि धेरै रहेछन् अहिले सहरमा । एक छाक खान पाउने आसमा सहरका एकाध खुला चौरहरूमा हरेक बिहान र बेलुकी भोकाएकाहरू जम्मा हुन्छन् । लाइन लगाएर टुक्रुक्क केही समय पर्खेर बसेपछि, खाना बोकेको गाडी आउँछ । गाडीबाट ओर्लिंदै भन्छिन् एक महिला, ‘एता खाएर फेरि अन्त पनि खानलाई बस्न जाने हैन है ।’ सायद उनको आफ्नै सीमितता थियो होला । सयौँ भोकाहरूका लागि अन्नपानी जोड्न सजिलो छैन । त्यही पनि कोरोनाको वेलामा । जवाफमा खाना खान सडकमा टुक्रुक्क बसेकामध्ये एकजनाले आधाउधी उठेर भन्छन्, ‘गुरुआमा, हामी एक टाइममा एकचोटिभन्दा बढी खाँदैनौँ । म जिम्मेवारी लिन्छु ।’ सायद एक टाइममा एकचोटिभन्दा बढी खाएको थाहा पाएमा, भएको खाना पनि नआउला भन्ने डरले होला, आफ्नो वरिपरि आफूजस्तै टुक्रुक्क बसेकाहरूतिर फर्किएर, आँखा ठुल्ठूलो बनाउँदै भन्छन् उनी, ‘ए ! कसैले एकचोटिभन्दा बढी खाने हैन है !’

 

‘मानवता’ र ‘ऐक्यबद्धता’बीचको फरक यहीँ देखिन्छ होला सायद ।

 

‘मानवता’ अपरिहार्य छ, यो असामान्य घडीमा । त्यसमा कुनै शंका छैन । मानवताले ‘लिने’को पेट भरिन्छ । उनको शरीरले ऊर्जा पाउँछ । एकछिनकै लागि भए पनि, पेट भरिएपछि, दिमाग लाटिन्छ । अनि मन अलि हल्का हुन्छ । तर, ‘मानवता’ एक किसिमको बिलासिता पनि हो । ‘दिने’ राम्रो बन्छ । राम्रोमा गनिन्छ । ‘लिने’को न नाम हुन्छ, न पहिचान । उनको कथा हुँदैन । उनको सपना र संघर्षको खासै लेखाजोखा हुँदैन । कसैको फुर्सद पनि हुँदैन, लेखाजोखा लिनलाई । उनीहरू त केवल भोकाहरूको तथ्यांकमा एउटा नम्बर मात्रै हुन्छन् । कुनै कविले भनेजस्तो, आँसु पुछिएको, आँसु अदृश्य बनाइएको फगत एउटा ‘नम्बर ।’

 

उसो त तथ्यांक शुद्ध हुने हैसियत नराख्ने अदृश्य कथा–व्यथाहरू पनि कति हुँदा हुन् कति ? त्यसैले ‘मानवता’ भनेको ‘अधिकार माग्ने अधिकार’ भएकाहरूले चढ्ने गाडी पनि हो । भावनाले भरिएको गाडी, जसमाथि चढेर ‘अधिकार माग्ने अधिकार’ भएकाहरू दयारूपी झन्डा फर्फराउँदै वास नभएकाहरूलाई छत बाँड्दै अनि गाँस नपाएकाहरूलाई भात खुवाउँदै हिँड्छन् । यो राम्रो कार्य हो । यो जरुरी कर्म हो । ‘मानवता’ले मान्छेलाई मर्न दिँदैन । तर, ‘मानवता’ मात्रले मान्छेलाई मान्छे भएर बाँच्न पनि कहाँ दिन्छ र !

 

‘मानवता’ भनेको ‘अधिकार माग्ने अधिकार’ भएका र नभएकाहरूबीचको खाडल भएर गयो । एउटा ऐतिहासिक खाडल । यसलाई पुर्न चाहिने भनेको ऐक्यबद्धता हुँदो हो । ‘हुँदो हो’ भन्छु ।

 

‘हो’ भनिनँ । यसको कारण छ । ‘मानवता’मा भावना हुन्छ । तर, त्यो क्षणिक हुन्छ । अनि त्यो ‘रिएक्टिभ’ हुन्छ । प्रकोपको प्रभावले ल्याएको अभावको परिपूर्ति भएपछि, मानवताको भूमिका सकिन्छ । त्यो आफैँ हराएर जान्छ । त्यसैले मानवता भनेको प्रतिक्रिया हो । ऐक्यबद्धता भनेको प्रतिकार्य । ऐक्यबद्धता अनन्त संघर्षको उपज हो । अनि यो ‘प्रोएक्टिभ’ हुन्छ । प्रकोपले निम्त्याएको अभाव र अभावलाई जन्माइरहने अन्यायी संरचनाको ऐतिहासिक बुझाई हुन्छ, ऐक्यबद्धतासँग । अनि औँला ठडाएर प्रतिरोध गर्ने औकात र सडक नै आन्दोलित बनाउने वैचारिक हैसियत राख्छ, ऐक्यबद्धताले । तर, विचार मात्रले पेट भरिँदैन । 

 

भोक र रोगले मान्छे नमरून् भनेर, यो ऐतिहासिक समयले अहिलेको विषम घडीमा हामीसँग गरेको माग भनेको ‘म्यानुअल लेबर’, अर्थात् भोकाएका पेटहरू भरिदिने जमर्को, र ‘इन्टेलेक्चुअल लेबर’, अर्थात् ‘भोकको अर्थ–राजनीति’मा बुद्धि–बिलासी कलमको मसी खर्चिने कर्मकाण्डबीचको ‘भर्टिकल दूरी’को अन्त्य गर्नु हो । तर, ऐक्यबद्धता र त्यसले ब्युँत्याउने प्रतिरोधको सिमाना र सीमितता भनेको यस्तै वेला स्पस्ट देखिने रहेछ । एक किसिमको सैद्धान्तिक जगमाथि उभिएको वैचारिक अकड । प्रतिरोधलाई सशक्त आन्दोलनमा रूपान्तरण गर्न सक्ने अवस्था र आधारहरूको अभाव । मानवतालाई ऐक्यबद्धतासँग जोड्ने ‘दोभान’, जहाँ ‘म्यानुअल लेबर’ र ‘इन्टेलेक्चुअल लेबर’को संगम हुन्छ, त्यहाँ पुग्नलाई चाहिने इच्छाशक्ति र सिर्जनशीलताको खडेरी । अनि यी सबले निम्त्याएको सीमितता । अहिलेको हाम्रो यथार्थ यही हो ।

 

अब अन्तिमपटकलाई उही सुकुम्बासी मित्रको कुरा झिकेँ फेरी । पोहोर साल बस्ती–बस्तीमा खाना होइन, खाद्यसामग्री बाँड्ने एउटा समूह भेटियो । जुन–जुन समुदायबाट माग आउँछ, लकडाउन, कोरोना नभनी प्लास्टिकको प्याकेटमा खाद्यसामग्री पोको पारेर बाँड्दै हिँड्दा रहेछन् त्यो समूहका मान्छे । मेरा उही मित्रले एकदिन मलाई फोन गरेर भन्नुभयो, ‘ओहो ! उहाँहरूको प्याकेट त कस्तो राम्रो । अरूहरूको जस्तो छैन । चामल पनि वासमती नै रैछ । अनि नुनतेल मात्र होइन, हरियो परियो पनि छ प्याकेटमा । दाल, गाजर, मुला सबै कस्तो मिलाएर राखेछन् । बस्तीका साथीहरूको त हेर्नु न प्लास्टिक खोल्नेबित्तिकै, कस्तो अनुहार नै उज्यालो भयो भनेको !’ अर्थात्, पेट भरिदिने त्यो राहतका पोकाभित्र, पौष्टिक आहार मात्र होइन, मानवताले भरिएको आत्मसम्मान पनि प्याक भएर आएको रहेछ । तर, पेट भरिदिने जमर्को जुटाएको यस्ता प्लास्टिकको पोकाभित्र जति खोतले पनि आत्मसम्मान भेटिन्न । अहिलेको हाम्रो यथार्थ यही हो ।