• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अनिलकुमार कर्ण 
२०७८ जेठ २९ शनिबार ०७:०४:००
इतिहास

‘जबसम्म पहाड तन्दुरुस्त हुँदैन, मधेस डुबिरहन्छ’

२०७८ जेठ २९ शनिबार ०७:०४:००
अनिलकुमार कर्ण 

चुरे चर्चा

 

जलाद खोलाछेउको चुरेगाउँ मौलाधारबाट ५९ वर्षअघि बुहारीका रूपमा भित्रिएपछि कुमारी मगरलाई घरधन्दा र अन्नबाली उब्जनीका लागि पानीपँधेरो खोला नै भएको सम्झना छ । पिउन होस् कि बालीनाली लहलहाउन खोलामा कलकल बग्ने पानी नै थियो । चुरेक्षेत्रका खोल्खाखोल्सीबाट रसाएर खोलामा आउने पानीबाट गाउँ आवाद भएको थियो । १३ वर्षको उमेरमा देखेको यस्ता सुन्दर दृश्यहरू बिस्तारै उनको आँखाबाट ओझेल पर्दै गएको छ । 

 

८६ वर्षअघि चुरेडाँडा फँडानी गरी सात थरी मगरहरूले बस्ती बसाएका थिए । त्यो गाउँमा म पहिलोपटक डेढ दशकअघि पुगेको थिएँ । म त्यहाँ पुग्नुभन्दा करिब दुई दशकअघिबाटै जुवातास र जाँडरक्सी मनाही गरिएको रहेछ । 

 

चुरेवन फँडानी गरेर ५१ बिघामा बसेको यो बस्तीका मानिसहरू पाखोभित्तो भन्ने शब्दबाट वर्षौँसम्म बेखबर रहे । पानीको भण्डार चुरेक्षेत्रको यो बस्तीका बासिन्दाहरू खेतीपाती र पशुपालनबाट आनन्दले बाँचिरहेका थिए । तर, प्राकृतिक बनाबटले कमलो पहाड चुरेले मान्छे र पशुको भार थाम्न सकेन । जथाभावी भूउपयोग, वनविनाश, खोरिया फँडानी र चरिचरनका कारण डाँडाहरू नांगिँदै गए । अन्ततः चुरेखोलामा सफा पानी बग्ने कुरा नयाँ पुस्ताका लागि अपत्यारिलो र उदेकलाग्दो ‘मिथ’ बन्न पुग्यो । वर्षौँअघिको भेटमा कुमारी मगरले सुनाएकी थिइन्, ‘डोलघैला लिएर हामी इनारबाट खानेपानी ओसार्ने गर्थ्यौँ । अहिले त त्यो इनार पनि खोलाले पुरेछ ।’

 

अव्यवस्थित बसोवास, पूर्वाधार विकास, वनविनाश, वनपैदावारको दोहन, खेतीपाती, पशुपालन आदिजस्ता कारणले चुरे भत्कँदा चुरेभावर क्षेत्र भएर बग्ने खोला ढुंगा, बालुवा र गिटी थेग्रिँदै गएको छ । जसले गर्दा खोलाको सतह वृद्धि भएको छ । यस्तो वृद्धि बर्सेनि ३० देखि ३५ सेन्टिमिटर भइरहेको छ । खोलाको चौडाइ पनि दिनानुदिन बढ्दो छ । तीन दशकयता ५०–३० मिटर चौडाइका खोलाहरू हजारभन्दा बढी मिटर चौडा भएका छन् । माथिल्लो र मध्य तटीय जलाधर क्षेत्रमा गहिरा र साँघुरा खोला देखिँदैनन् । चुरेक्षेत्रका खोल्साहरूको मुहान पनि सुक्दै गएका छन् । भएभरका खोलानाला खहरे भएका छन् । साता दिनअगाडि मधुवासा पुग्दा पानीको ‘रिजभ्र्वायर’ यो क्षेत्रमा पानीको ठूलै अनुपलब्धता रहेको थाहा पाएँ । खानेपानीका लागि एउटा बोरिङले जेनतेन काम गरे पनि सिँचाइका लागि गाड्न खोजिएको अर्को बोरिङबाट पानी आएन । माथिल्लो तटीय जलाधार क्षेत्रमा आठ सय मिटरमा समेत बोरिङ गर्दा पानी नआउने समस्या हाल धनुषाको मिथिला नगरपालिकामा पर्ने मधुवासामा मात्र होइन, माथिका सबै गाउँहरूमा छन् । पूर्व–पश्चिम राजमार्गभन्दा अलिक दक्षिणतिर भने तीन सय फिटमा बोरिङ गर्दा पानी आउँछ ।

 

चुरेक्षेत्र विनाश हुँदा जलाद नदीमा बाक्लो गरी थेग्रिएका ढुंगा, गिटी र बालुवामाथिबाट वर्षाको पानी बेसरी बग्दै बहाव परिवर्तन हुँदा उनीहरू सबै घरबारविहीन बने । उनीहरूको नुनतेल जोहो हुने आधार सकियो ।

 

एक अध्ययनअनुसार २०२२ सालदेखि २०३७ सालसम्म चुरेमा दुई लाख ६३ हजार हेक्टर वनविनाश भएको थियो भने त्यस अवधिमा जनसंख्या वृद्धि ह्वात्तै भयो । सन् १९७५ देखि २००१ सम्ममा चुरेमा कृषिक्षेत्रको वृद्धि ५२.३ प्रतिशतले भएको छ, तर वनक्षेत्र घटेको छ । जसले गर्दा चुरेक्षेत्रको मुख्य समस्या नै भूक्षय बन्यो । भूक्षय र पहिराहरूले चुरेका मध्यदेखि र तल्लो तटमा बाढी, नदी कटान, खेतीयोग्य जग्गाको मरुभूमीकरण, नदीको सतह पुरिनु, र पानीको सतह घट्नु आदि दुष्प्रभाव देखिएका हुन् । भूक्षयकै कारण चुरे खोलानालामा लत्रेपछि यस भेगका बासिन्दाले पिउनेपानीको स्रोत इनारहरू मात्र खोलामा परेनन् कि जलाद खोलामा मिसिने चमेलिया खोलाको दोभाननजिक पर्ने एउटा मगर गाउँ नै लोप भयो । 

 

गत साता मधुवासा पुग्दा सहकर्मी पत्रकार विजय साहले गाउँ बसाउने वीरबहादुर क्यापछाकीका कान्छा छोरा दशरथबहादुरलाई खोजे । कान कम सुन्ने भएका रहेछन् ६८ वर्षीय दशरथबहादुर । डेढ दशकअघि उनीसँग मेरो भेट भएको उनले यकिन गर्न सकेनन् । यसपटक भने उनले २०३८–२०३९ सालतिरको एउटा घटना सुनाए । पानीका लागि दुई गाउँका बासिन्दाबीच भएको झडपका कथा । चुरेको ‘जरुवापानी’ दुई फरक खोलामा बगाउने विषयमा तटीय क्षेत्रका गाउँलेहरूबीच घरेलु हातहतियारसहित भएका लडाइँका फेहरिस्त । जलाद पश्चिममा छ औरही खोला । यो खोला तटमा छ हरिहरपुर । जलादकिनारका मधुवासावासी र हरिहरपुरका जनताबीच चुरेको सिरानबाट आउने पानी कुनचाहिँ खोलामा लाने भन्ने विषयमा खुकुरी, कोदालो, लाठीजस्ता घरेलु हतियारका प्रयोगबाट ‘खुनी संघर्ष’ भएको र त्यसमा झगडामा आफ्नो पक्षका थुप्रै घाइते भएको दशरथबहादुरले सम्झे । उनले भने, ‘कोदालोको धारले गाउँलेहरूका टाउकामा चोट लाग्दा सात–सातवटा टाँका लगाउनुपरेको थियो, मलाई छपारी र तिघ्रामा लाठीको चोट लाग्यो । अहिले पनि झट्केर हिँड्दा दुख्छ ।’

 

खोल्साखोल्सी, खहरे र गल्छीहरूमा पानी आउने क्रम पातलिँदै जाँदा अहिले खोला वारिपारि र तलमाथिका बासिन्दाबीच चर्को झडपका घटना सामान्य भइसकेका छन् । दुई वर्षअघि महोत्तरी–धनुषाको रातु नदी प्रणालीका पश्चिमतर्फ राजावास र पूर्वतर्फ दूधपानीका बासिन्दाबीच पानी उपयोग गर्ने बखेडा झिकिँदा मर्नेमार्ने विवाद भएको थियो । प्रहरी हस्तक्षेपपछि मात्र त्यो विवाद सेलाएको थियो । पारिस्थतिकीय प्रणालीमा परेको प्रतिकूल असर र जलवायु असन्तुलनका कारण सबैभन्दा बढी वर्षा हुने चुरेक्षेत्रमा पानी नपर्दा खोल्साखोल्सीलगायत जलस्रोतहरू सुक्ने र तिनमा अपर्याप्त पानीको बहाव हुँदा परम्परागत लाभग्राहीहरूका बीच दिनानुदिन द्वन्द्व बढ्दै गएको बताउँछन् सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादव ।

 

चुरेबाट बगेर आएका ढुंगा, गिटी र बालुवा थेग्रिँदा खोलाहरू चौडा भएका छन् भने तिनको सतह अग्लिएको छ । किनारका खेतबारीको सतह होचो भएको छ । यो चुरे सिरानबाट तल भावरक्षेत्रसम्म हेर्न सकिन्छ । 

 

चुरे सिरानको यो गाउँबाट पूर्व–पश्चिम राजमार्ग छिचोल्दै हामी सीधा ओर्लियौँ सखुवा बजार । साबिकको महेन्द्रनगर सखुवा र हाल धनुषाको क्षिरेश्वर नगरपालिकामा पर्ने सखुवा बजार भावरक्षेत्रको अन्तिम दक्षिणी बिन्दु हो । चुरे फेदबाट सुरु भएर १० किलोमिटरसम्मको दक्षिणसम्मको भूभागलाई प्राविधिक भाषामा भावर भनिन्छ । चुरे, महाभारत र हिमालय क्षेत्रबाट बगेर आएका नदीहरू भावरक्षेत्र भएर बग्ने हुँदा भावर र तराई क्षेत्रमा भुइँ सतह पुनर्जलीयकरण हुने गर्दछ । चुरेबाट निस्केका नदी भावरक्षेत्रमा आइपुग्दा माथिबाट सफा पानी बग्दैन । तर, त्यहाँ थुप्रिएका ढुंगा, गिटी र बालुवामुनिबाट भने पानी बगिरहन्छ । भावर क्षेत्रको समाप्तिपछि तराई सुरु हुन्छ । 

सखुवाबजार क्षेत्रमा एउटा बस्ती छ ‘लवका टोल’ अर्थात् नयाँ टोल । यस टोलमा साबिक दिगम्बरपुर गाविस–४ र हाल क्षिरेश्वर नगरपालिका–८ क्षीरपोखरी क्षेत्रबाट तीन दशकभन्दा केहीअघि जलाद नदीमा आएको बाढीका कारण घरखेत गुमाएकाहरूको बसोवास छ । २०४४ साल साउनको अन्तिम सोमबारतिर आएको लगातारको मुसलधारे वर्षा र भीषण बाढीका कारण घर तथा खेतखलीहान बगेपछि अन्यत्र बसाइँ सर्न बाध्य करिब सय घरपरिवारमध्ये ६० भन्दा बढी घरपरिवारको थातथलो यो टोल नै बन्न पुग्यो । नांगिँदै गएको चुरेमा पानी सोस्ने रूखबिरुवा र पातपतिंगरमा कमी आएपछि बर्खाको पानी नअडी ढुंगा, गिटी र बालुवा थेग्रिएको खोलामा भेल आउँदा नदीले ठाउँ–ठाउँमा बहाव परिवर्तन गर्ने र यसबाट बस्तीकाबस्ती बगर हुने र खेतीयोग्य जग्गा कटान हुने सुरुवाती दिनका कहालीलाग्दो उदाहरण हो यो । 

 

करिब छ–सात वर्षअघि पुगेको थिएँ यस ठाउँमा । खोलाले ‘कोर्स’ परिवर्तन गरी पूर्वतर्फ बग्न थालेपछि क्षिरपोखरी क्षेत्र विलुप्त भएको थियो । त्यहाँ पुग्दा उठीबास भएकाहरूमध्ये धेरैसँग भेटेँ । उनीहरूको एउटै विलौना थियो, ‘खोलाले सर्वस्वहरण त ग¥यो नै, अहिले उकास भएका जग्गामा समेत हामीले खनजोत गर्न पाएका छैनौँ ।’ क्षिरपोखरीको भसानमा डेढ बिघा खेत र चौघरा (चारैतिरबाट घेरिएको खपडाको घर) परेपछि बिल्लीबाँठ भएका राजकिशोर यादवको दुखेसो थियो, ‘ढुंगा, गिटी र बालुवा उत्खनन गर्ने ठेकेदारेहरूले आफ्नै पुरानो ‘डिह’ (पूर्ववासस्थल)छेउ पनि पुग्न दिँदैनन् ।’ उनै राजकिशोरलाई खोज्न हामी गत साता नयाँटोल पुगेका थियौँ, घामपानीमा रुँझ्दै । लवका टोलको एउटा चियापसलमा भेट्टायौँ राजकिशोरलाई । क्षीरपोखरी भसानताका भर्खरै जुँगा पलाएका राजकिशोर ५७ वर्षका भइसकेका रहेछन् । बरबटैया र ज्यालामजदुरी गरेर परिवारको पेटपालो गरिरहेका राजकिशोर निकै थकित मुद्रामा बेलीबिस्तार लगाए । उनले भने, ‘एक वर्ष मात्र भएको थियो बिहे भएको । घरनीको घुम्टो पनि छोट्टिएको थिएन । भाइबैनीहरू ससाना थिए । बिहानदेखि परेको पानीले खोलाको बहाव मोडिएपछि धसना खस्न (नदी कटान) हुन थाल्यो । हेर्दाहेर्दै क्षीरपोखरी क्षेत्रको बस्ती नै स्वाहा भयो ।’ 

 

नदी कटान भएर बस्तीखेत जल मग्न भइरहँदा राजकिशोरलगायत कैयौँले घर उखेलेर काठबाँस जोगाए । लत्ताकपडा र अन्नद्रव्य जसोतसो पर्तिरका खेतसम्म पुर्‍याए । उनी सम्झन्छन्, ‘कैयौँ बोरा धानचामल त हिलोमै अड्कियो । खेतमा पानी जमेकाले धेरैजसो अन्न जोगाउन सकेनौँ ।’ परिवारका सबै सदस्य मुसलधारे बर्खामा आकाशमुनि बिताउनुपरेको कठिन क्षणलाई सम्झँदा उनका आँखा घरीघरी रसाइरहे । मुस्किलले जोगाएका काठबाँसले राजकिशोरले खोलाभन्दा पश्चिमपट्टिको नयाँटोलमा टाउको लुकाउने टहरो बनाए । उनीजस्तै दुर्नियतिका सिकार किसानहरू नयाँटोलबाहेक खोला पूर्वको इच्छापुर, उत्तरपूर्व दिगम्बरपुरमा बसोवास गर्दै आएका छन् । 

 

क्षीरपोखरीका एकअर्का प्रभावित व्यक्ति हुन् रामएकवाल महतो । क्षिरपोखरीकै जमिनदार लालबहादुर खत्रीकोमा घाँसदाउरा, खनजोत गर्ने र गाईबस्तु चराउने उनले बाढीका कारण काम गर्ने थलो र ओत लाग्ने ठाउँ गुमाएपछि पूर्व–उत्तर दिगम्बरपुरतिर बसाइँ सरे । पाँच–छ वर्षअघि भेट भएका भेला उनी ठेक्काबटैया गरिरहेका थिए । उनले भनेको अझै सम्झिन्छु, ‘क्षीरपोखरीको बस्तीमा पर्वते, चमार, कोइरी, यादव हामी सबै मिलेर खेतीकिसानी गरी खुसहाल जिन्दगी बिताइरहेका थियौँ । तर, त्यो कालो रातमा हामीले सबैथोक गुमायौँ र तितरबितर पनि भयौँ ।’

 

क्षीरपोखरी क्षेत्रका ठूले पम्पाली, ललितबहादुर बुढाथोकी, बिनु चमार, नेवुलालजस्ताका कथाहरू छन् । तर, ती जम्मै व्यथा समान छन् । चुरेक्षेत्र विनाश हुँदा जलाद नदीमा बाक्लो गरी थेग्रिएका ढुंगा, गिटी र बालुवामाथिबाट बर्खाको पानी बेस्सरी बग्दै बहाव परिवर्तन हुँदा उनीहरू सबै घरबारविहीन बने । उनीहरूको नुनतेल जोहो हुने आधार सकियो । 

 

अहिले चुरेक्षेत्रमा पानी नपरेको सात महिना भइसकेको छ । त्यति सारो झरी पनि आएको छैन । जसले गर्दा त्यहाँका खोल्साखोल्सीहरूको पुनर्जलीयकरण भएको छैन । तर, बर्खा भयो भने चुरेक्षेत्रमा पानी अडिँदैन र खहरे खोलामाथि भएर मैदानी भागतर्फ बगेर जाने निश्चित नै छ ।

 

यस्तै, दशकअघि समाचार कथाको खोजीमा पुगेको थिएँ महोत्तरीको उत्तरी गाउँ किसाननगर । हाल बर्दिवास नगरपालिकामा पर्ने यो गाउँमा खानेपानीको चरम अभाव हुन्छ । गाउँभरिका गहिरा इनारहरूमा पाइप र मोटर मात्र देखिन्छन् । कुनै वेला बालुवा खोस्रँदा पनि पानी आउने यो ठाउँमा हिउँदका वेला इनारमा पानी नै रहँदैन । किसान नगर त एउटा उदाहरण मात्र हो । भावरक्षेत्रका अधिकांश गाउँका इनार, स्यालो ट्युबबेल, हातेकल, आर्टिजन (बोरिङ)हरू सुकिरहेका छन् । तराई क्षेत्रका बस्तीहरूमा पानीको सतह पाँच सय फिटभन्दा मुनि पुगिसकेको छ ।

 

०५३–०५४ सालतिर जलउत्पन्न प्रकोप नियन्त्रणविद् रत्नेश्वरलाल कर्णसँग महोत्तरी सदरमुकाम जलेश्वरमा मेरो भेट भएको थियो । उनी जिल्ला सिँचाइ कार्यालय महोत्तरीमा इन्जिनियर थिए र म गोरखापत्रका महोत्तरी समाचारदाता । बर्खायाममा जलेश्वर र वरपरका क्षेत्र जलमग्न भयो । जलेश्वरभन्दा पश्चिममा पर्ने रानीरतबारावासीले रातु नदीको पूर्वपट्टिको छर्की भत्काएर खोलाको उर्लँदो भेल पन्छाउन खोज्दा अघिल्ला वर्षहरूभन्दा अलिक बढी नै डुबानमा जलेश्वर परेको थियो । इन्जिनियर कर्णसँग मेरो जिज्ञासा थियो, ‘गाउँलेले छर्की किन काट्नुपर्‍यो ? खोला भएर पानी किन बगेन ?’ उनले उत्तरतर्फ हेर्दै भने, ‘जबसम्म पहाड तन्दुरुस्त हुँदैन, खेत र नदीको सतह बराबर भइरहन्छ र खोलाबाट पानी चुहिन्छ नै ।’ त्यतिवेला उनको कथनको अर्थ बुझिनँ । राजनीतिक पत्रकारिताको दौरमा एउटा इन्जिनियरको पहाडलाई तन्दुरुस्त हुनुपर्ने वाक्यमा अन्तर्निहित अर्थ मैले ठम्याउन सकेको थिइनँ । 

 

बिस्तारै चुरे भनेकै आकाश सफा हुँदा जनकपुरबाट नीलो र सुन्दर देखिने पहाड हो भन्ने मेरो साँघुरो बुझाइ तन्किएपछि बुझेँ महाभारतभन्दा दक्षिण र दक्षिणी समथर भूभागभन्दा उत्तरतर्फका पहाडी शृंखला र दुनहरू भएको क्षेत्र नै चुरे हो । खस्रो बालुवाका कण र बालुवा मिसिएको कणले बनेका बोल्डरको चट्टान चुरे पर्वतको तल्लो र बीच भागमा बलौटे पत्थर र माटोमिश्रित ढुंगा छन् । खस्रो बालुवा कण र बालुवाका कारण बोल्डरहरूका बीचमा राम्ररी जोडिन दिँदैन र यसकारणले चुरे पर्वत कमलो छ । प्राकृतिक निर्माणका दृष्टिले सबैभन्दा कान्छो पहाड चुरे कमलो संरचनाका कारण वातावरणीय दृष्टिले अति संवेदनशील छ । देशमा अत्यधिक बर्खा हुने यो क्षेत्रको दोहन र त्यसबाट उत्पन्न प्रतिकूल असरका बारेमा जानकारी पाएपछि म गम्भीर भएँँ । तारन्तार लेख्न थालेँ चुरेक्षेत्रको वनजंगल अतिक्रमण र अनुचित भूउपयोग र तिनका परिणामहरूका बारेमा । त्यतिवेला बर्खा र बाढीमा खोलाको बालुवामिश्रित पानी घरखेतमा सजिलै पस्ने गरेको र चुरे नदीहरू ठाउँ–ठाउँमा बहाव परिवर्तन गर्दै एकअर्कासँग मिसिँदै ठूलो क्षेत्रफल मरुभूमीकरण भइरहेको समाचार कथा आजजस्तो चाखलाग्दा थिएनन्, पट्यारिला थिए । 

 

आज सफा पानीको ‘रिजभ्र्वायर’ चुरेक्षेत्र संरक्षित भएन भने कालान्तरमा भावर र तराई क्षेत्रमा जीवन अस्तित्व रहँदैन भन्ने समाचार कथा ‘मानवीय अभिरुचि’को विषय बनेको छ । चुरेमा भूक्षय, भावरमा कटान र पटान, तराईमा डुबानको समस्यालाई राष्ट्रिय सबालका रूपमा उठाउन थालिएको छ । चुरे संरक्षणप्रति यस्तो संवेदनशीलता सकारात्मक र सह्राहनीय छ ।  

 

केही वर्षअघि बालकृष्ण खाण सिँचाइमन्त्री हुँदा उनकै खटनमा म रुपन्देही पुगेको थिएँ । चुरे क्षय हुँदा दानव र तिनाउ नदी प्रणालीमा परेका असरबारे समाचारकथा तयार पार्न । अहिले विभिन्न सञ्चारमाध्यममा सयौँ ट्र्याक्टरबाट ढुंगा, गिटी र बालुवा उत्खनन भइरहेको देखिने तस्बिरमध्ये सर्वाधिक प्रयोग हुने तिनै दुई खोलाका तस्बिर हुन् । राजमार्गबाट दक्षिणी पुछारसम्म पुग्दाको एउटै दृश्य देखियो । त्यो भनेको कटान, पटान र डुबान । खोलाले ठाउँ–ठाउँमा ‘कोर्स’ परिवर्तन गर्न थालेका । यस्तै बिजोक बाँकेको राप्ती, कपिलवस्तुको वाणगंगा, बर्दियाको राजापुर क्षेत्र, नवलपरासीको गण्डक, कञ्चनपुरको जोगवरा नदीहरूमा हेर्न सकिन्छ । यस्तोमा सिद्धबाबा डाँडा भत्काएर त्यस भेगको प्राकृतिक जीवनप्रणाली भत्काउने मूर्खतापूर्ण कामका परिणाम चिताउँदा आङ सिरिंग हुन्छ । 

 

त्यसको अलिक वर्षपछि फरक–फरक समयमा वनकर्मी सुजितकुमार झा, लक्ष्मी चौधरी र अरुणा घिमिरेसहित मकवानपुरदेखि पूर्व सप्तरीसम्म पुगेको थिएँ । सप्तरीको खाँडो, सिराहाको बलान, धनुषाको जलाद, महोत्तरीका रातु, मरहा र जंघा, सर्लाहीका हरदी, झिम र लखनदेही, रौतहटका लालबकैया र पसाहा, मकवानपुरको लालबकैया आदि नदी प्रणालीहरूको अवस्था पनि कम्ती भयावह छैन । राजमार्ग बन्ने क्रममा मकवानपुरमा दक्षिण भिरालो जग्गामा खसाइएका माटाका थुप्राले अत्याएकै थियो । माटाका थुप्रा कहाँ पुग्छन् ? जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन प्रमुख राजेन्द्र न्यौपानेले भनेका थिए, ‘बर्खा र बाढीका वेला दक्षिणतिरै बग्ने हो ।’ चुरेक्षेत्र र माथिल्ला भेगमा हुने कुनै पनि अनुचित बन्दोबस्तीको भार तराई–मधेसले भूक्षय, बाढीपहिरो, नदी कटान, गेग्रान बहाव आदिजस्ता जलउत्पन्न प्रकोपका रूपमा उचाल्नुपर्ने हुन्छ । 

 

काठदाउराको उत्पादनबाट आरम्भ भएको चुरे दोहनको व्यापारिक सिलसिला ढुंगा, गिटी र बालुवाको उत्खनन र बिक्री–वितरणसम्म आइपुग्दा क्रोनिक भइसकेको छ । ढुंगा, गिटी र बालुवाको जथाभाबी दोहनका कारण जमिनभित्र पानी बग्ने च्यानल ध्वस्त हुँदै गएको छ ।

 

केही वर्षअघि कमला नदीमा आएको भीषण बाढी र पानीसँगै बगाएर ल्याएको बालुवाले गर्दा यस क्षेत्रका धेरैजसो भूभाग मरुभूमिमा परिणत भइसकेको छ । खेत डुबानमा परेर बलौटे भएपछि सुकुमबासी नै बन्न पुगेका त्यस भेगका धेरै मानिसहरू कमलापारि सिराहाको बन्दीपुरमा अझै विस्थापित जीवन बिताइरहेका छन् । कमलाको दुवै किनारमा बाँध बनेपछि त्यस क्षेत्रका बासिन्दाहरू अलिक ढुक्क भएका छन् । बाँध बनाउने काम भने चुरे दोहनको दुष्परिणाम रोक्ने स्थायी उपाय होइन । 

 

मैले चुरेकेन्द्रित लेखन थाल्दा अर्थात् ०५३–०५४ तिर चुरे नदी प्रणालीका माथिल्लो भागमा संरक्षणका कार्यहरू सुरु गरिएका थिए । तल्लो तटमा खासै काम भइरहेको थिएन । वनविज्ञ विजयकुमार सिंह दनुवार सन् २००३–२००४ तिर सर्लाही र महोत्तरी जिल्लामा जिल्ला वनक्षेत्र योजना तयार पारिरहेका थिए । त्यति नै वेला उनको आँखा चुरे किन विनाश भइरहेको छ भन्नेतर्फ सोझियो । उनले चुरेसँग जोडिएको विषयमा विद्यावारिधि नै गरे । उनले विद्यावारिधि गरिरहँदा मेरो उनीसँग भेट भयो २०६३ तिर । जनकपुरमा पहिलोपटक मैले संयोजन गरिदिएको एउटा कार्यक्रममा उनले चुरे र जलाद नदी प्रणालीको अन्तर्सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरे । धनुषा र महोत्तरीमा नागरिकस्तरमा चुरे बहसको थालनी सम्भवतः यहीँबाट आरम्भ भएको मेरो बुझाइ छ । 

 

तीन दशकयता कहिले छिटपुट त कहिले संगठित रूपमै चुरे चर्चा हुँदै आए पनि डा.रामवरण यादव राष्ट्रपति हुँदा एउटा विषय रोजेर अघि बढ्ने उनको अन्तप्र्रेरणाभित्र चुरे अटाएपछि नै यो बहस राष्ट्रिय आकार र स्वीकार्यता पाएकोमा असहमत हुने ठाउँ छैन । पछि वनविज्ञानका विद्यार्थी र अहिलेका माओवादी नेता रामकुमार शर्माले चुरे संरक्षणका विषयमा नागरिक समिति नै गठन गरी अघि बढे । काठमाडौंमा गठित यो समितिमा प्रारम्भिक दिनमा म आफैँ पनि थिएँ । पहिलो संविधानसभाको विघटनपछि अहिलेका ऊर्जामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा गठित राष्ट्रिय मधेस समाजवादी पार्टीको घोषणापत्रमा चुरे संरक्षणका विषय जोडतोडले उठाइएको थियो । त्यो घोषणापत्र मस्यौदा गर्ने काममा म र पूर्वराज्यमन्त्री जाकिर हुसेन संलग्न थियौँ । आज चुरे संरक्षणको मुद्दामा सरकारको स्वामित्व र अपनत्वको सर्वाधिक अपेक्षा गरिएको छ । यस्तोमा मन्त्री भण्डारीको पहलकदमी हेर्नैपर्ने हुन्छ ।   

 

काठदाउराको उत्पादनबाट आरम्भ भएको चुरे दोहनको व्यापारिक सिलसिला ढुंगा, गिटी र बालुवाको उत्खनन र बिक्री–वितरणसम्म आइपुग्दा क्रोनिक भइसकेको छ । चुरे, भावर वा तिनका नदी प्रणालीबाट ढुंगा, गिटी र बालुवाको जथाभावी दोहनका कारण जमिनभित्र पानी बग्ने च्यानल ध्वस्त हुँदै गएको छ । खोलाको चौडाइलाई तीन भागमा विभक्त गरी बीचको भागबाट चार–पाँच फिटसम्म ढुंगा, गिटी र बालुवा उत्खनन गर्न सकिने सामान्य मापदण्डविपरीत खोलाको जुनसुकै भाग अझ खेत–बगरसम्म नै पुगेर १५–२० फिट मुनिबाट ढुंगा, गिटी र बालुवा निकालिँदा पानीको च्यानल अवरुद्ध भएको छ । उत्खनन क्षेत्रमा भूमिगत च्यानल ‘डिस्टर्ब’ हुँदा माटोमिश्रित धमिलो पानीका कारण माथिबाटै बग्ने गरेकाले जमिनको भूमिगत पुनर्जलीयकरण भइरहेको छैन । 

 

चुरे संरक्षणका उपाय र सम्भावना अझै जीवित छ । जलाधार संरक्षणबाट भूक्षय रोकथाम, उच्च जलाशययुक्त बाँध निर्माण, नदीहरूले ल्याएको बालुवालाई नदीको वहाव क्षेत्रभित्र समेट्न नदीका दुवै किनारामा गाइडबन्ड निर्माण, वन संरक्षण, जैविक प्रविधि प्रयोग र जनचेतना अभिवृद्धिजस्ता कामहरू व्यापक र तीव्र रूपमा गर्नुपर्ने हुन्छ । 

 

चुरे वा महाभारतबाट होस्, प्राकृतिक स्रोतको उत्खनन गर्दा २५ देखि ३० प्रतिशत मात्र निर्यातयोग्य हुन्छ । बाँकी ७०–७५ प्रतिशत धुलो माटो कहाँ लगेर थुपार्ने ? यी प्रश्नका उत्तर खोज्ने वेला भएको छ ।