• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
किरण अधिकारी
२०७८ जेठ २९ शनिबार ०८:०३:००
साहित्य

सिनेकर्मीले पढ्नुपर्ने पुस्तक 

२०७८ जेठ २९ शनिबार ०८:०३:००
किरण अधिकारी

सिनेकर्मी तथा सिनेमा हेर्ने दर्शक, मिडिया हाउसमा सिनेमा रिपोर्टिङ गर्ने पत्रकार र सिनेमा पढ्ने विद्यार्थीका निम्ति समेत पुस्तक सहयोगी हुनेमा द्विविधा छैन ।

 

निर्देशक मनोज पण्डितद्वारा लिखित ‘सिनेमा मन्थन’ पुस्तक प्रकाशन भएको छ । हेर्दा पुस्तक निकै सानो छ । तर, पुस्तकभित्र उठाइएका विषयवस्तु गहन छन् । नेपाली सिनेमा र यसलाई नजिकबाट हेर्ने र बुझ्नेहरूका लागि त्यसमा उठाइएका कुरा ठूला चुनौती हुन् । 

 

भूमिकाविनाको १५५ पृष्ठको पुस्तकमा कथ्य÷कथा, पात्र, चाहना, अवरोध, खलल, नेगेटिभ, जटिलता, अनिश्चितता, समस्या, संघर्ष र द्वन्द्वलगायतका शीर्षकमा लेखहरू छन् । लेखकले पुस्तकको सिलसिलेबार खण्ड वा अध्याय त प्रस्ट पारेका छैनन् । यद्यपि, उनले पुस्तकको अघि नै ‘टकराब अनि विस्फोटको बिगब्याङ,’ शीर्षकमा ६ वटा प्याराग्राफलाई उल्लेख छन् । ती प्याराग्राफमा पहिलो, अस्तित्व, ऊर्जा, चेतनाको फैलावट, समयको टिकटिक, धड्कनको ढुकढुकी, लयबद्धताको मिलन, कथाको आरम्भ र मानव मस्तिष्कको हार्डडिस्कमा मेमोरी डाटाबेस जतिवेला पनि क्र्यास हुन सक्नेलाई उल्लेख गरेका छन् ।

 

दोस्रो, सुरक्षित अवतरणका लागि लेखकको बीसवर्षे अनुभव, अनुभूति, जानकारी र परिकल्पनाको एउटा फोल्डर सिनेमा, तेस्रो सिनेमालाई यसको सूक्ष्मता, गहिराइ र अभौतिकतामा अनुभूत गर्न सिर्जित कथ्य संकलन गर्ने एउटा निकायलाई जन्माएका छन् लेखकले । चौथोमा सिनेमाको बहुआयामिकताभित्र गरिएको मन्थनमा उपलब्ध भएका अवधारणाको संग्रह ‘सिनेमा मन्थन’ भएको प्रस्ट्याएका छन् । पाँचौँमा सिनेमाको परिधिले मानव जीवनसँगको सम्बन्धलाई सार्थक बनाएको लेखकले देखाएका छन् । 

 

   लेखक : मनोज पण्डित
    प्रकाशक : इन्डिगो इन्क प्रालि
    मूल्य : रु.२९९
    पृष्ठ : १५५

 

‘कथ्य/कथा’लगायत सबै शीर्षकमा मावन जातिकै कारण कथाको निर्माण भएको निर्देशक तथा ‘सिनेमा मन्थन’ कथ्यको शृंखलाबद्धता, यात्रा, निर्माण–विनिर्माण, आत्मसात्का कारण एक–अर्कामा सम्बन्ध बन्यो । समयक्रममा मानिसले कुनै कथ्यलाई बुझाउन उदाहरण दिने अनुभव सुनाउने, कथ्यमाथि कथ्यको हिसाब गर्दा कथाको जन्म भएको सम्बन्ध उल्लेख गरेका छन् । कथामा शासक र धर्मलाई दिएको उदाहरण लेखकको छ (पृ.१३) । तर, कथाको यत्रो बयान गर्दा सिनेमासँगको उदाहरणको अभावले लेखकको कथा तर्कलाई कमजोर बनाएको छ । 

 

भूमिकाविनाको १५५ पृष्ठको पुस्तकमा कथ्य/कथा, पात्र, चाहना, अवरोध, खलल, नेगेटिभ, जटिलता, अनिश्चितता, समस्या, संघर्ष र द्वन्द्वलगायतका शीर्षकमा लेखहरू छन् ।

 

२३औँ शीर्षक ‘दर्शक’मा दर्शकको प्रतिक्रिया सिनेमा निर्माण प्रणालीमा सधैँ समाधानरहित रहेको लेखकले जनाएका छन् (पृ.९७) । दर्शकसँग आत्मसमर्पण र आत्मविश्लेषणसँगै सिनेमामा जटिलता र सहजता खोज्ने भए पनि सिनेमा निर्माण पक्षले दर्शकको मन्थन नचाहने प्रक्रियाले सिनेमामा असर परेको पुस्तकको संकेत छ । 

 

विभिन्न शीर्षक, उपशीर्षक र सहशीर्षकमा पुस्तकले उठाएका कुरा राम्रा हुँदाहुँदै पनि यसका केही कमजोरी छन् । पहिलो कुरा पुस्तकको सम्पादनमा लेखकसँगै प्रकाशकले ध्यान दिएको छैन । शुद्धाशुद्धीसँगै व्याकरणीय, भाषाको समस्या पुस्तकमा प्रस्ट छ । पुस्तक पढ्दा–पढ्दै ‘ह्या छाडिदिन्छु’ भन्ने सन्देश धेरैको मनमा नआउला भन्न सकिँदैन । त्यति मात्र होइन, पुस्तकमा उठाइएका विषय गहिराइमा पुगेका छैनन् । ‘सिनेमा मन्थन’ भन्ने विषय आफैँमा बृहत् विषय हो । ‘मेरो सिनेमा मेरो कमजोरी’ उपशीर्षकमा अप्रत्यक्षमा कथा हुँदैन भन्ने भाव लेखकले प्रकट गरेका छन् । पूरै पुस्तक कथा र पात्रमा आधारित भए पनि आफ्नो कमजोरीको नाममा तथ्यलाई स्वीकार गर्न नसक्नु लेखकको ठूलो कमजोरी हो । 

 

पुस्तकको सबै शीर्षकमा कथा र पात्रको बयान गर्दा पनि सिनेमामा कथा र पात्र किन आवश्यक प्रस्ट्याएका छैनन्, सबै शीर्षकमा राखेका मात्र छन्, छोड्न सकेनन् तर मोड्नका लागि कुँदी देखाएनन् लेखकले । पाठकले आफैँ बुझ्नुपर्ने बाध्यता दिएका छन् । सिनेमा मन्थन पुस्तकको नाम भए पनि सिनेमामा पात्रको आवश्यकताका कारण भन्न नसक्नु लेखकको समस्या हो (पृ.१६) । 

 

तेस्रो शीर्षक ‘चाहना’मा पात्रको चाहनाले कथा निर्माणको पूर्वाधार बनाउने दुईवटा बुँदाले चाहना प्राप्तिका लागि संघर्ष र खलल सिर्जना कसरी गर्न सक्छ भन्ने प्रस्ट उल्लेख छैन (पृ.२१) । मानिस र कथाको यथार्थबीच विरोधाभास र अवरोधलाई कथा र पात्रमा जोडेर ५१ बुँदामा तर्क गरेर

 

‘अवरोध’ चौथो शीर्षकमा जबर्जस्त प्रस्ट्याउन खोज्नु लेखकको यर्थाथको कमी प्रस्ट देखिन्छ (पृ.२४) । निष्कर्ष (पृ७५) र समीक्षा (पृ.९३) बुझ्न लेखक गुहार्नुपर्ने बाध्यता मलाई पर्‍यो भने सबै पाठक लेखक पण्डितसमक्ष पुग्नैपर्ने हो ?

 

पुस्तकमा उल्लेख सन्दर्भमध्ये केहीबाहेक लेखकले आफूलाई लागेका धेरै कुरा व्यक्त गर्न खोजेजस्तो देखिन्छ । किनभने उठान गरिएका विषयको सन्दर्भ र स्रोत प्रस्ट उल्लेख नगर्नु, आवश्यक ठाउँमा उदाहरण नदिनु, विगतका अध्ययनलाई उल्लेख नगरी पुस्तकमा भएका कुरा आफ्नै खोज जस्तो बनाएको प्रमाण पुस्तकमा दिन नसक्नु लेखक प्रकाशकको कमजोरी हो । यति हुँदाहुदै पनि लेखकले उठान गरेका विषय सिनेमा जगत्का लागि सान्दर्भिक र महत्वपूर्ण छन् ।

 

समग्रमा सिनेकर्मी तथा सिनेमा हेर्ने दर्शक, मिडिया हाउसमा सिनेमा रिपोर्टिङ गर्ने पत्रकार र सिनेमा पढ्ने विद्यार्थीका निम्ति समेत पुस्तक सहयोगी हुनेमा द्विविधा छैन । 

 

[email protected]