• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बसन्त थापा काठमाडाैं
२०७५ चैत ३० शनिबार ११:१६:००
सम्झना

दोस्ती कुदरती गायक दीपसँग

२०७५ चैत ३० शनिबार ११:१६:००
बसन्त थापा काठमाडाैं


हिजोजस्तो लाग्छ, दीपले आधुनिक नेपाली संगीतको आकाशमा एउटा चम्किलो नक्षत्र बनेर प्रवेश गरेको । तर, हिसाब गर्दा ५० वर्ष पुगेछ। संवत् ०२५ मा हो उसको स्वर रेडियो नेपालबाट पहिलोपटक गुञ्जिएको । त्यो गीत थियो, ‘म पत्थरको देवता होइन तोडिएर जोडिने ।’ इनरुवाका विजय श्रेष्ठले लेखेको यस गीतले रेडियो नेपालको ध्वनितरंग पुग्ने सबै ठाउँका श्रोताका मनमा तत्कालै घर बनायो ।

उसवेला राजा महेन्द्रको जन्मोत्सवको अवसरमा अञ्चल–अञ्चलबाट सांस्कृतिक टोलीलाई काठमाडौं झिकाएर राष्ट्रिय नाचघरमा कार्यक्रम प्रस्तुत गर्न लगाउने चलन थियो । त्यही कार्यक्रममा भाग लिन आएको धरानको सांस्कृतिक संस्थानको टोलीमा सामेल भएर दीप काठमाडौं गएको त थाहा थियो । तर, हाम्रो दीपनारायण यसरी अचानक दीप श्रेष्ठ बनेर रेडियो नेपालमा गुञ्जिएला भन्नेचाहिँ हामीलाई थाहा थिएन । उसले विजय श्रेष्ठसित मिलेर भित्र–भित्रै गीत संगीतबद्ध गर्दै गरेको पनि हामीलाई थाहा थिएन । जसरी दीपको स्वर अन्य ठाउँका श्र्रोताहरूका लागि एउटा नौलो उपहार थियो, हामी धरानका नजिकका साथीभाइहरूका लागि रेडियोमा उसको स्वर सुनिनु ‘सरप्राइज’ थियो । 

मलाई र दीप दुवैलाई चिन्नेहरू हामीलाई बालसखा भन्ठान्छन् । तर, खाली गोडा र हाफप्यान्टमा खहरे र सर्दुका बगर चहारी हिँड्ने मेरो वास्तविक बालसखा त गोविन्द बोहरा थियो, जो पछि कवि गोविन्द विकल भनेर चिनियो । गोविन्दको घर हाम्रो टोलनजिक थियो । त्यसको तुलनामा हाम्रो घर भएको ठाउँ माथ्लो छाता र पुतलीलाइननजिकको दीपको घर केही टाढा थियो । त्यसैले दीपसित मेरो यारी हुँदा हामी दुवै किशोरावस्थामा प्रवेश गरिसकेका थियौँ । यद्यपि, हामीले एसएलसी पास गरेको स्कुल उही थियो– धरान पब्लिक हाई स्कुल र कलेज पनि उही थियो– धरान महेन्द्र कलेज । त्यति मात्र होइन, हाम्रो पुख्र्यौली थलो पनि एउटै थियो– धनकुटा ।

कोही ठूलो मिहिनेत र अभ्यासले गायक बन्छ । कोही कुदरती गायक हुन्छ । दीप पछिल्लो कोटिको गायक हो । उसको स्वभाव नै यस्तो थियो कुनै धुनलाई तुरुन्तै टिपिहाल्ने, बाजा छिट्टै बजाउन सिकिहाल्ने । अरूलाई घोरिनुपर्ने, उसलाई समय नलाग्ने । हुन त संगीत दीपको रगतमै थियो जो निःसन्देह उसले पिताको रक्तकणबाट पाएको थियो ।

मैले दीपको पितालाई देख्न पाइनँ । हाम्रो दोस्ती गाँसिदा उसले पिताको छहारी गुमाइसकेको थियो र उसकी माताको वैधव्य जीवन दुई छोरा र दुई छोरीका साथ बितिरहेको थियो । सुनेको, दीपका पिता बडा रइस थिए रे र उत्तिकै रहुसेको पनि । घरमा महफिल जमाउँथे रे उस्ताद र गवैयाहरूको । आफैँ पनि भायोलिन, सितार र तबला बजाउन जान्ने । रंगिन मिजासका उनमा संगीतको जति सोख थियो, त्यति नै सोख सुरा र सुन्दरीप्रति पनि । कालिम्पोङ माइत भएकी दीपकी माता साहु जयनारायणकी कान्छी पत्नी थिइन् । गोरो र सुन्दर मुखमण्डलकी दीपकी माताको ममतामयी स्वरूप म सम्झन्छु । हामी बरालिएर कुसमयमा घर पुग्दा पनि किन ढिला, कहाँ गएका थियौ भनेर झाँप्नुको सट्टा तिमीहरूले खाना खायौ, खाजा खायौ भनेर सोध्ने ।

कोही ठूलो मिहिनेत र अभ्यासले गायक बन्छ । कोही कुदरती गायक हुन्छ । दीप पछिल्लो कोटिको गायक हो । उसको स्वभाव नै यस्तो थियो कुनै धुनलाई तुरुन्तै टिपिहाल्ने, बाजा छिट्टै बजाउन सिकिहाल्ने । अरूलाई घोरिनुपर्ने, उसलाई समय नलाग्ने । हुन त संगीत दीपको रगतमै थियो जो निःसन्देह उसले पिताको रक्तकणबाट पाएको थियो । उसको यस्तो जन्मजात प्रतिभाले मलजल पायो उसको घरछेउ खुलेको सांस्कृतिक संस्थान नामक संस्थाबाट । त्यसका मूली थिए धरानका समाजसेवी र सांस्कृतिक व्यक्तित्व चन्द्रशेखर श्रेष्ठ । राधाकुमार उदास थिए त्यसका अर्का स्तम्भ र रामचन्द्र बनेपाली थिए संगीतका मास्टर, जो अरू बाजाका अतिरिक्त पियानो एकोर्डियन बजाउँथे । त्यही सांस्कृतिक संस्थानमा रोज गई–गई अरूको देखासिखी गरेको दीपले त्यसवेला भर्खर–भर्खर आएको बाजा बंगोे र गिटार बजाउन अनि गाउन सिक्यो । सुरु–सुरुमा ऊ केटीको स्वरमा गाउँथ्यो शकुन्तला र इन्दिरा मास्केसित स्वरमा स्वर मिलाएर स्टेजमा । यस्तो लाग्थ्यो, ती तीनजना लता मंगेशकर, आशाभोसले र उषा मंगेशकरको संयुक्त टोली हो । दीपको स्वर घोर्ले भएको निकैपछि मात्रै हो । 

कुन साल हो सम्झन्न सकिएन । पुष्प नेपाली, नातिकाजी र तारादेवी आएका थिए धरानमा र उनीहरूको सो भएको थियो शिव सिनेमा हलमा । अरू सभाभवन नभएको उसवेला नाटक होस् वा सांगीतिक कार्यक्रम सबै गर्ने थलो त्यही शिव सिनेमा हल थियो । रेडियो नेपालका स्वनामधन्य टोलीलाई दीपले बंगोे बजाएर साथ दिएको थियो । पुष्प नेपालीले ‘पिरतीको बिखालु काँढा’ र तारादेवीले ‘टाढाबाट बोलाएको तिमीलाई नै हो मैले’ भन्ने गीत गाएका थिए । ईष्र्या जागेको थियो दीपप्रति त्यत्रा ठूला कलाकारहरूसित संगाती गर्न र उनीहरूका लागि बजाउन पाएको देखेर । त्यस कार्यक्रमको संयोजन सांस्कृतिक संस्थानले गरेको थियो । 

ऊ सांस्कृतिक संस्थानमा त्यसरी लागेका वेला म भने लोकनृत्य संघ भन्ने संस्थामा लागेको थिएँ कलेजमा खुट्टा टेकेकै साल । संघका प्रमुख थिए नवीनकिशोर राई जो गीत लेख्थे, गाउँथे र नाच्थे । त्यस अतिरिक्त हार्मोनियम र गिटार बजाउँथे । गाउन त पहिलेदेखि नै गाउँथे, उनको सागिर्दीमा नाच्न र बजाउन सिकेँ । लोकनृत्य संघकै ब्यानरमा धरानमा धेरै स्टेज सोमा निस्किएँ र बनारससम्म पुगेँ । त्यहाँको नेपाली छात्र संघको वार्षिकोत्सवमा कार्यक्रम प्रस्तुत गर्न । ती दुईवटा संस्थाबाट धानिएको थियो धरानको सांस्कृतिक गतिविधि र निकै जीवन्त थियो उसवेला धरानको सांस्कृतिक माहोल । 

पछि दुवै संस्थामा केही शिथिलता छाएकावेला आयो । त्यसवेला हामी भने कलेजमा केही न केही गरिरहन्थ्यौँ । आवधिक कविगोष्ठी, साहित्यिक जमघट, सांगीतिक कार्यक्रम, नाटक आयोजना हुन्थे र हामी त्यसमा सक्रियतासाथ लाग्थ्यौँ । एकपटक विजय मल्लद्वारा लिखित ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन गरेका थियौँ जसलाई हेर्न मानौँ सिंगै धरानबजार महेन्द्र कलेजको प्रांगणमा झुत्तिएको थियो । नाटकमा एउटा पात्रको भूमिका मैले गरेको थिएँ र त्यसबाहेक छुट्टै एउटा युगल गीत पवित्रा रसाइलीसित गाएको थिएँ जसमा दीपले हार्मोनियम बजाएर साथ दिएको थियो । 

दीपसित मेरो यारी हुँदा हामी दुवै किशोरावस्थामा प्रवेश गरिसकेका थियौँ । यद्यपि, हामीले एसएलसी पास गरेको स्कुल उही थियो, कलेज पनि उही थियो । त्यति मात्र होइन, हाम्रो पुख्र्यौली थलो पनि एउटै थियो– धनकुटा । 

अनि यस क्रममा हाम्रो एउटा अनौपचारिक टोली आफसेआफ खडा भयो । यो कुनै संस्था थिएन, त्यसैले यसको कुनै नाम थिएन । पूरै कलेज राजनीतिक रूपमा विभक्त भएको वेला थियो, तैपनि यसको कुनै राजनीतिक संलग्नता थिएन, राजनीतिबाट बिल्कुल निस्पृह । त्यसोभन्दा पनि ‘श्रीमान् गम्भीर’ गाउनबाट भने हामी तर्कन्थ्यौँ । नाच्न, गाउन, बजाउन मन पराउने ठिटाठिटी मिलेर बनेको एउटा खुकुलो र अनौपचारिक समूह थियो यो । समय दिनसक्ने लाग्थे, नसक्ने आफैँ छाड्थे । यस समूहमा कलेजका त दीप र म मात्रै थियौँ र पछि गोविन्द कटुवाल आयो ।

कलेजबाहिरका लाखबहादुर तामाङ, सुशीला सुब्बा यसमा सामेल थिए । दुवै अतिप्रतिभावान् थिए, बरा अल्पायुमै बिते । सुशीलाले दीपसित गाएको केही युगल गीत त रेकर्ड पनि भएका छन् । अञ्जला र बाबा मास्केको पनि साथ थियो । काठमाडौंबाट बिदाका वेला आउँदा प्रेम सुब्बा र सुरेश सुब्बा यसमा लाग्थे । शिवशंकर थापा पनि पछि यसमा मिसिए । दार्जिलिङबाट आएका दिलीप ठटाल थिए गजब तबला बजाउने । यसप्रकार बनेको त्यस समूहले निकै ठाउँ कार्यक्रम प्रस्तुत गर्दै हिँड्यो । घोपा क्याम्पभित्र गोराका लागि नयाँ वर्षको उत्सवमा पनि कार्यक्रम ग‍¥यौँ । रिहर्सलका लागि ठाउँ जुटाउने, सबैलाई जम्मा पार्ने, चियाखाजाको बन्दोबस्त गर्ने, बाजागाजा खोज्ने र अरू तारतम्य मिलाउने संयोजनकर्ताको काम मेरो जिम्मा थियो । म पढ्न भनेर काठमाडौं हिँडेपछि पनि यो समूह सक्रिय नै थियो । दीप पनि काठमाडौं हानिएपछि भने यो समूह स्वतः बिलाएर गयो ।

यसै वेला हो दीपको आग्रहमा मैले गीत लेख्न थालेको । विजय श्रेष्ठले लेखेका त छँदै थिए, तर ऊ नयाँ–नयाँ गीतमा संगीत भर्न चाहन्थ्यो ।दीपकै करकरको परिणाम हो ‘मुटु चिरी रगत पोखेँ अञ्जुली थापेनौ’ भन्ने मैले लेखेको गीत । दीपले त्यसलाईसंगीतबद्ध गर्न समय लगाएन र गीत निकै राम्रो पनि बन्यो। त्यसपछि गीत लेख्ने मेरो सिलसिला सुरु भयो । त्यसवेला मैले लेखेका अरू पनिगीत उसले संगीतबद्ध गरेको थियो । धेरै उसकै डायरीमा थन्किए, केही रेकर्ड भए । डिस्क रेकर्ड हुनेमा ‘मुटु चिरी रगत पोखेँ’ र ‘कहाँबाट ल्याऊँ म सपनाको देश’ यी दुईवटा परे, जो रत्न रेकर्डिङ संस्थानबाट संवत्०२७ सालमा रेडियो नेपालमा रेकर्ड गरिएका थिए । 

ती गीत रेकर्ड गर्ने सिलसिलामा दीप काठमाडौं आएपछि उसकै कारणले नै मलाई रेडियो नेपालको उसवेला भर्खर–भर्खर बनेकोनयाँ भवन र स्टुडियो टेक्ने मौका मिल्यो । म डेरा गरिबस्थेँ प्युखाटोलमा, गायक माणिकरत्नको घरको ठीक सामुन्ने । दीप आएर मेरै डेरामा घुस्रिएको थियो । उसलाई सिंहदरबार जाने साथी चाहिन्थ्यो त्यसका लागि म छँदै थिएँ । त्यसमाथि मैले लेखेका गीत पनि रेकर्ड हुनेमा परेका । म खुसी–खुसी उससित धेरै दिन धाएँ रेडियो नेपाल, एक महिनाभन्दा बढी नै । गीत रेकर्ड गराउनत्यति सजिलो थिएन । सबभन्दा पहिले त रेकर्ड हुनुअघि गीतहरू सेन्सर गरिन्थे । एक–एक शब्द खोतलेर हेरिन्थे । मलाई दीपले पछि सुनाएको,सेन्सरको जिम्मा पाएको हाकिमले‘सपनाको देश’ र ‘रगत पोखेँ’ शब्दमा यो कस्तो सपनाको देश, कस्तो रगत भनेर प्रश्न उठाएका थिए रे । धन्न ती पास भए, तर रेकर्ड गर्नलाई स्टुडियोको डेट पाउनु उत्तिकै गाह्रो थियो । 

त्यही क्रममा हामी दिनहुँजसो त्यहाँ जान्थ्यौँ, रेडियो नेपालको क्यान्टिनमा चियाखाजा खान्थ्यौँ, सबैलाई नमस्कार भन्थ्यौँ र फर्कन्थ्यौँ । त्यही समय हो मैले नातिकाजी, शिवशंकर, तारादेवी, पुष्प नेपाली, कुमार बस्नेत, रुबी जोशी, प्रेमध्वज, माणिकरत्न प्रभृतिलाई नजिकबाट देख्न पाएको । त्यसबाहेक अनेक वाद्यवादकले एकसाथ बजाएर ‘लाइभ टेक’ गरेको देखेको । 

आखिर रेकर्ड गर्ने दिन तय भयो । तर, त्यो दिन नजिकिँदै जाँदा दीपलाई हनहनी ज्वरो आयो, गला त ठ्याप्पै । डाक्टर देखाउँदा थाहा लाग्यो उसलाई भएको रहेछ ल्यारिन्जाइटिस (कण्ठको संक्रमण) । परेन फसाद ! एन्टिबायोटिक औषधि किन्नलाई पनि धौधौको अवस्था छ । उता रेकर्डका लागि बल्ल–बल्ल मिलेको डेट उम्कने डर । जे होस्, येनकेन ऊ निको भयो एन्टिबायोटिकको कडा डोजले । उसले गीत रेकर्ड पनि ग‍¥यो । तर, त्यसवेला रेकर्ड भएका गीत दीपले गाउँदा ऊ राम्ररी तंग्रिइसकेको थिएन ।

पछि दीप काठमाडौंमै बस्ने मनसुबाले आयो । उसले आफ्नै कोठा लियो र अरू साथीसित मिलेर बस्न थाल्यो । काठमाडौं सहरमा टिक्न अनेक प्रयत्न ग‍¥यो, त्यसमध्ये एउटा न्युरोड पीपलबोटकै छेउमा खुलेको रेस्टुरेन्टमा गाउने काम थियो । रत्नपार्कमा रहेको पार्क रस्टुरेन्टमा, सोल्टी र अन्नपूर्णा होटेलमा लाइभ ब्यान्ड बज्थे त्यो अर्कै कुरा हो । तीबाहेक उसवेलाको काठमाडौंमा सायद त्यही एउटा ठाउँ थियो, जहाँ यसप्रकार ‘लाइभ म्युजिक’ उपलब्ध थियो । ‘सानु’ नामको त्यो रेस्टुराँ महँगै खालको थियो । रेस्टुराँले दीपलाई धान्यो वा दीपले रेस्टुराँलाई धान्यो त्यो त भन्न सकिन्न । जे भए पनि त्यो रेस्टुराँ निकै पछिसम्म चल्यो । 

यसबीच उसका राम्रा–राम्रा गीत आए । शिवशंकर थापाका ‘तिमी आकाशको जुन भयौ’, ‘मेरो आँखामा भरदिन’ उसको आफ्नै ‘सुनिदेऊ सानो छँदाको कथा’, युवान तुलाधरको ‘कति कमजोर रहेछ भाग्य’ यसैवेला आएका हुन् जो औधी लोकप्रिय साबित भए । उसले ईश्वर बल्लभ, किरण खरेल र रत्नशमशेर थापाका रचना पनि यस अवधिमा गायो जसले दीपको सिर्जनशीलतालाई उकास्यो । अनि ‘बितेका कुराले’, ‘भन्थी मेरी उनी’, ‘विधवाले सिन्दूरको रहर’ उसका अन्य गीत थिए जसले उसको लोकप्रियताको ग्राफलाई झनै बढायो ।

यसरी उसको गायकीको ग्राफ मास्तिर उक्लिरहेकावेला उसलाई क्षयरोगले समात्यो । काठमाडौंको जिप्सीशैलीको बसाइ, चुरोट, मदिराको बेहिसाब सेवन र बेतरतिब जिन्दगीको परिणाम थियो त्यो सायद । काठमाडौंको औषधिले नछोएको उसको रोग धन्न धरान घोपा क्याम्प अस्पतालको उपचारबाट निको भयो । रोगको निदान, उपचार र पूर्ण स्वास्थ्यलाभमा उसका ६–७ वर्ष बिते । प्रशंसकहरूले उसका नौला रचना सुन्न नपाएको यो अवधि संवत् ०३० को दशकको सुरु र अन्तिमतिरको थियो ।

रोगमुक्त भएपछि उसले संवत् ०४० मा तत्कालीन रोयल नेपाल एकेडेमीमा संगीतकारका रूपमा तेस्रो श्रेणीको जागिर समात्यो र २५ वर्षपछि तेस्रो श्र्रेणीबाटै सेवानिवृत्त भयो । जागिरले एकप्रकारको सुरक्षा त उसलाई मिल्यो, तर सिर्जनात्मकताका हिसाबले अपेक्षा गरेजति उर्वर हुन सकेन । संगीत महारथी अम्बर गुरुङको साथ त पायो, तर छत्रछहारी पाएन । जागिरेकालमा केही हुँदै नभएको होइन । रचनाधर्मिता त उसले छाडेको थिएन । उसका केही राम्रै गीत आए । एकेडेमीको टोलीमा विदेशका केही फन्का पनि मार्न पायो उसले । यसै अवधिमा उसले घरजम पनि ग‍¥यो । आफ्नो गायनलाई उजिल्याउन इलाहावादको शास्त्रीय संगीत कोर्समा विशारद पनि ग‍¥यो जसका लागि तीन साल उसले चेतनाथ गुरुबाट प्रशिक्षण लियो । यति हुँदाहुँदै पनि ऊ श्रोताका लागि ‘बितेका कुरा’ बन्दै गएको थियो ।

यही त्यो अवधि थियो, जतिवेला हामी दुवै काठमाडौंमै भएर पनि आ–आफ्नो बाटो समातेर हिँडिरहेका थियौँ र हाम्रो बाटो एक–अर्कासित यदाकदा मात्रै ठोकिन्थ्यो । ऊ आफ्नै धुनमा, म आफ्नै सुरमा । 

संवत् ०५७ को सुरुतिर उसको पहिलो एल्बम निस्क्यो ‘दृष्टि’ – नौवटा गीतको सँगालो । यो एल्बम उसको ‘सेकेन्ड कमिङ’ साबित भयो । यसो त, यस एल्बमका सबै गीत एकसे एक थिए, त्यसमा पनि विप्लव प्रतीकको ‘हर रात सपनीमा ऐँठन हुन्छ’, राजेन्द्र थापाको ‘झीरमा उनिनु एउटा कुरा’ र उसको आफ्नै ‘म त दूरदेखि आएँ’ विशेषगरी, श्रोताले रुचाए । त्यसै साल असोजमा दीपको पहिलो एकल गायन साँझ ‘आवृत्ति’ आयोजना भयो रुसी सांस्कृतिक केन्द्रको अडिटोरियममा । हिमाल एसोसिएसनको ब्यानरमा आयोजित त्यस साँझको संयोजन गर्ने जिम्मा फेरि एकपटक मैले बहन गर्नुपरेको थियो । त्यस अनुष्ठानमा एकपटक हामी फेरि साथसाथ उभिएका थियौँ ।

‘दृष्टि’ एल्बम र ‘आवृत्ति’ साँझ गायक दीपको पेसेबर जिन्दगीमा कोसेढुंगा बनेर आएभन्दा फरक पर्दैन । एल्बमले उसको संगीत सिर्जनाको पाइन पुनः सिद्ध गरिदियो भने एकल साँझले एकल प्रस्तुतिउपर उसको आत्मविश्वास जगायो । नभन्दै त्यसपश्चात् दीपले फेरि पछाडि फर्केर हेरेको छैन । देशभित्र र देशबाहिर कन्सर्ट गर्नमा उसलाई फुर्सद छैन । उसले दोस्रो एल्बम ‘शृंखला’ पनि निकाल्यो (दृष्टि र शृंखला दुवै उसका छोरीका नाम हुन्)। जुन एकेडेमीको जागिरलाई उसले सुरक्षा ठानेको थियो र निवृत्तिपछि के गरौँला भन्ने संशय थियो त्यो उसको भ्रम ठहरियो । बरू उसले निवृत्तिबाट आफूलाई बेडीमुक्त रस्वतन्त्र महसुस ग‍¥यो । अहिले फर्केर हेर्दा उसलाई एकेडेमीमा पस्नुसम्म ठीकै भए पनि त्यतिका समय झुन्डिरहेको निरर्थक लाग्छ ।

दीप गीतका गेडालाई राम्रोसित बुझ्ने र त्यसलाई समात्ने गायकमध्ये पर्छ । उसको सफलताको एउटा कुञ्जी सायद त्यो पनि हो । उसले आफैँले पनि केही गीत कोरेको छ र ती ‘हिट’ पनि भएका छन्, तैपनि उसले आफूलाई गीतकारको परिधानमा कहिल्यै हेरेन । उसले अरूकै गीत खोजी–खोजी संगीतबद्ध गरेको छ र गाएको छ । तर, यो केवल संयोग होइन, होला उसले गाएका अधिकतर गीत विरह, विशाद र वेदनाले भरिएका छन् । त्यसैले कतिले उसलाई दुःखी गायकका रूपमा हेर्ने गरेका छन् र यस तथ्यबारे ऊ अनभिज्ञ छैन । अपितु, यसलाई उसले जीवनदर्शनकै रूपमा लिएको छ र दुःखलाई मानिसको स्थायी साथीका रूपमा हेर्छजस्तो– मजरूह सुल्तानपुरीले ‘दोस्ती’ फिल्ममा अभिव्यक्त गरेका छन्ः
राही मनवा दुःख की चि‌‌न्ता क्यों सताती है, दुःख तो अपना साथी है । 
सुख है इक छाँव ढलती आती है जाती है, दुःख तो अपना साथी है ।

उसले जुन ढब र ढाँचाको संगीत अँगाल्यो त्यसमा दोष यदि छ भने त्यस जमानाको छ जुन जमानामा ऊ हुर्कियो । त्यो जमाना अम्बर गुरुङ, बच्चुकैलाश, नारायणगोपाल र गोपाल योञ्जनबाट निर्मित थियो । हुन त आपूmले कुनै घरानालाई पछ्याएको कुरा दीप स्विकार्दैन, यद्यपि भर्खर जसको नाम उच्चारण गरियो, ती अग्रजको बिँडो थाम्ने आफ्नो पुस्ताको एक्लो दीप मात्र हो । जानीनजानी तिनकै बिरासत बोकेको हुनाले दीप चिन्ता गर्छ आपूmले गाउने ‘गम्भीरे’ संगीतलाई आजको होहल्लामा कसरी धान्ने ?

गएको मंसिरमा पोखरामा भएको लिटरेचर फेस्टिभलमा मैले ऊसित गरेको कुराकानीमा उसलाई सोधेको थिएँ, ‘तिमी गायक नभए के हुने थियौ?’ उसले जवाफमा खेलाडी हुने थिएँ भनेजस्तो लाग्छ । स्कुले विद्यार्थी हुँदा ऊ फुटबलको राम्रो खेलाडी थियो । पछि ब्याडमिन्टन समात्यो जुन खेल अहिले पनि नित्य खेल्छ । उसले चुरोटको कुलत त त्यागिदियो, ह्विस्कीको चुस्की भने नियमित लिने गर्छ, तर गतिलो ब्रान्डको र सीमित मात्रामा । यो उमेरमा आएर पनि उसको आवाजमा किञ्चित ह्रास आएको छैन र ऊ दुई घन्टाको कन्सर्ट आरामले भ्याइदिन सक्छ । सायद यसका पछाडि उसको खेलाडी मनोविज्ञान र खेलाडी शरीरले काम गरेको हुनुपर्छ । 
धन्न दीप खेलाडी भइदिएन, नत्र नेपाली संगीतको आकाश एउटा उज्ज्वल नक्षत्रबाट खाली हुने थियो र हाम्रो हृदय एउटा विशिष्ट स्वरलहरीबाट झंकृत हुनबाट वञ्चित हुने थियो ।