• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सन्जु साम्पाङ
२०७८ असार १२ शनिबार १०:३५:००
यात्रा

अब निभ्दैन ‘परालको आगो’ 

२०७८ असार १२ शनिबार १०:३५:००
सन्जु साम्पाङ

मध्यदिन । टन्टलापुर घाम अनि सुनसान कोठा ! त्यसै पनि अस्तव्यस्त लाग्ने मौसम । तराईको गर्मी र टिनको छाना । यस्तैवेला बाहिरको तापले जति तताउँछ, भित्री मनको बाफले झनै बफ्याउँछ । यो बाफ कुनै बंगालको खाडीको बाफ होइन । न त अरब सागरबाट उडेर आएको आँधी नै हो । महिला हिंसाका घटना जब कतै सुन्छु, पढ्छु अनि मेरो मनमा पनि एक किसिमको बेचैनी सुरु हुन्छ । जीवनमा भेटिएका केही दुःखी नारीहरू र तिनका कथाहरूले अनायासै घाँटी निमोठ्न आएझैँ लाग्छ । उकुसमुकुस हुन्छ । अनि पोखिने ठाउँ उही सामाजिक सञ्जाल भइदिन्छ । सामाजिक सञ्जालमा लेख्न त लेख्छु, तर प्रश्नहरू अघि नै हुर्किसक्दा रहेछन् । के ती नारीहरू आफ्नो जीवनमा कहिल्यै हाँसेका त थिए ? के तिनका घाउहरूमा कसैले मलम लगाइदिए होलान् ? ती महिलाहरू आज कहाँ के गर्दै होलान् ? मैले भेटेका केही प्रतिनिधि महिलाका व्यथा यस्ता थिए : 

 

इलामको त्यो कोठा 
किशोर वय अनि कलेजको पढाइ । पेइङ गेस्टको जिन्दगी बाँच्थेँ म इलाममा । घर पुरानो भएर होला, कोठाहरू सस्तोमा उपलब्ध थिए । लेकाली शैलीको घर । तल सडकबाट सीधै पस्दा दुईतले, नत्र एक तले घर । हामी बस्ने पछाडिपट्टिको सानो कोठामा नेपाल प्रहरीको परिवार बस्थ्यो । सानासाना चिम्सा आँखाहरू र छरितो ज्यान बोकेर साथमा डेढ वर्षे छोरा काखीमा च्यापेर पुलिसपत्नी दिउँसो यसो छरछिमेकका साथीहरूसँग गफिन्थिन् । पातला ओठमा मुस्कान टाँसेर, लहरै मिलेका दाँतहरू देखाउँदै कहिले घाम खान्थिन्, कहिले बतास सोस्थिन्, कहिलेकाहीँ बाटोछेउ चट्पटे मुक्काउँथिन् । तर, दिउँसो मुस्कुराएजस्तो थिएन उनको खास जीवन । जब घाम डुब्थ्यो, हरेक रात प्रहरी जवानको ज्यानमारा कुटाइ खान अभिशप्त हुन्थिन् उनी ।

 

यतापट्टि म अकाउन्टको कुनै ‘ट्रायल ब्यालेन्स’ मिलाइरहेको हुन्थेँ, तर उतापट्टि कोठामा विनासन्तुलनको लात्ती र घुस्सी खान मजबुर एक नारीको चीत्कार सुनेर म थिलथिलो भैजान्थेँ । पुलिसपेटी जसरी बज्थ्यो, उसरी नै त्यो पातलो शरीर पड्किरहन्थ्यो । ‘चड्याम्म’ बज्ने थप्पडहरू मेरै गालामा परेझैँ लाग्थ्यो । भ्वाकभ्वाक गरेर बज्रने जोरलात्तीहरूले मलाई मेरै ढाडको पातामा लागेर भतभती पोलेर, करङहरू बाहिरै निस्कौँलाझैँ गरेर अररो भएजस्तो लाग्थ्यो । अनि म मनमनै तुरुन्तै एउटा आकस्मिक निर्णय गर्थें, ‘अहँ जीवनमा कहिल्यै बिहे गर्दिनँ ।’ 
पुलिस जवानको कोठामा गम्भीर निहुँ केही हुन्थेन । मात्र दिउँसो बाहिर निस्केर अरूसँग गफ गरेको विषयमा श्रीमतीले त्यस्तो कुटाइ खाइरहेकी थिइन् । एक त कच्चा उमेर, त्यसमाथि विद्यार्थी म । उनीहरूको झगडाको बीचमा पर्न म घरबेटी पनि परिनँ । यतिवेला म खुबै सोचमा पर्छु, रातदिन हिंसा खपेर स्याहारेको त्यो नानी कत्रो भयो होला ? हिंसा देखेर हुर्किएको उसको मानसिक स्वास्थ्य कस्तो होला ? त्यो निर्दयी श्रीमान्ले कहिलेसम्म त्यसरी कुटिरह्यो होला ? ती पातलो शरीर भएकी महिलाले कतिसम्म सहिन् होला ? 

 

याचना गरिरहेको त्यो कोठा
लामो रुटमा चल्ने बसका ड्राइभर श्रीमान् र भुटानी शरणार्थी परिवारकी श्रीमती, उनीहरू दमकमा भाडामा बस्दाका मेरा छिमेकी थिए । छिमेकमा रहँदा बस्दा केही दिनमा नै चिनजान र बोलचाल सुरु भएपछि श्रीमती चाहिँले मलाई दिदी सम्बोधन गर्न लागिन् । अब ती बैनीको बाध्यता मलाई मात्र होइन, त्यहाँ बस्ने भाडावाललगायत घरधनीसमेतलाई चित्त बुझेको थिएन रहेछ । तर, मुखैअगाडि कसैले केही भनेका थिएनन् । प्रत्येकपल्ट कोठा आउँदा नुहाउनलाई ट्युबवेलमा मुन्टो थाप्ने श्रीमान् अनि माथिबाट पानीचाहिँ श्रीमतीले पेल्दिनुपथ्र्यो ।

 

अरमट्ठ परेका, हृष्टपुष्ट ज्यान भएका पतिले पातली पत्नीलाई नुहाउनु अगाडि नै बाल्टिन या बोलमा पानी भर्न पनि दिन्थेनन् । जतिवेला नुहाउनु छ, उतिवेलै ननस्टप पानी पेल्दिनुपर्ने, अलिक आनाकानी गरेमा दुई–चार घर परसम्म सुनिने गरी थर्काउने !

 

महिलामाथि एकपछि अर्को हिंसाका शृंखला बढिरहेको देख्दा लाग्छ, घरझगडा उनीहरूले भनेजस्तै परालभित्रको आगो नै हो । तर, यो आगो छिनमै निभ्ने खालको छैन अब ।

 

 

कुरा त्यतिमै सकिनेवाला कहाँ थिएछ र ! दिनहुँजसो थर्काइ, आवेग अनि अत्याचार ! उनी निरीह थिइन्, सहनु उनको दिनचर्या । मसँग भने उनी बिस्तारै खुल्न थालिन् । उनकी आमासँग पनि परिचय गराइन् ।

 

एकदिन दिउँसो ठिक्क अफिस जानलाई तयारी अवस्थामा थिएँ । एक्कासि पल्लो कोठाबाट चिच्याहट बाहिर फुत्कियो । पर–परका छिमेकीहरू कुदेर भेला भए तर कोठाको दैलो भित्रबाट बन्द रहेछ । हतार–हतार सबैजना पश्चिमपट्टि झ्यालमा जम्मा भए ।

 

ओहो ! भित्रको दृश्य... ! शरीरमा कम्पन छुटाउने खालको थियो । ब्लाउज र पेटीकोटमा मात्र थिइन् उनी । पति भनाउँदाले अघि नै कति कोर्रा लगाइसकेका, आँखाभरि आँसु अनि त्रसित अनुहारले बिलौना गरिरहेकी ! निहुँ के त भन्दा अति कुटेपछि श्रीमान्लाई नभनीकनै माइत जान लाग्दा समातिएकी रहिछन् । हेर्दाहेर्दै पतिले आफ्नो कम्मरबाट स्वार्रै पेटी निकाल्यो । पत्नीलाई घोप्ट्याए पेटीले ढाडतिर हान्न तयार भइहाल्यो ।

 

एउटा आतंकित अनुहारले याचना गर्दै हामी तमासेहरूलाई भनिरहिन्, ‘दाइ ! मलाई बचाउनुस्, दिदी ! मलाई बचाउनुस् !’ निश्चय नै त्यो भयानक क्षण थियो । भित्रबाट बन्द कोठा खोलिनेवाला थिएन तर बाहिरबाट हामीले खुट्टै ढोगौँलाझैँ गरेर अनेक बिन्तीभाउ गरेर दैलो खोल्नेसम्म बनाई ती बैनीलाई कठोर यातनाबाट बचायौँ । तर, ती पतिको क्रुद्ध रूप अझै सिनित्त गएको थिएन । गह्रौँ पाइला चाल्दै अफिस गएँ ! त्यो पल पनि मैले कहिल्यै बिहे नगर्ने कसम खाएँ । 

 

रक्सी पार्ने दिदी
मेचीपारि लोहागढ बगान, प्रायजसो हाम्रा आफन्तहरूको बसोबास त्यहीँ छ । हिउँदमा घरेलु रक्सी बोकेर जानु अनि फर्किंदा जाँड पकाउनलाई खुदी ल्याउनु हाम्रो रुटिनजस्तै हुन्थ्यो । एउटा आइतबार, उताको छुट्टीको दिन, आमा, देमाहरूसँग गएको थिएँ । आफन्तको छिमेकी घरमा ड्याम–ड्याम बजेको आवाज चर्को सुनिन थाल्यो । सबै दौडिए उतै । अहो ! त्यहाँ त हामीले बर्खामा प्लास्टिकको बोरामा मकैको घोगा भरेर, बाहिरबाट मुंग्रोले बजाएजस्तो त मान्छेले कुटाइ खाइरहेको रहेछ ! अगाडि मान्छे थियो, तर कुट्नेले यसरी कुटिरहेको थियो कि त्यहाँ त बोरा छ । खासकुरा चाहिँ त्यो घरका श्रीमान् बिहानै कतै काममा गएका रहेछन् । श्रीमतीचाहिँ घरमा रक्सी पार्न थालिछन् । अनि एक बाहान उतारेपछि, चाख्दै जाँदा अर्को बाहानलाई आगो लाउन नि बिर्सिछन्, पानी फेर्ने त कुरै भएन । श्रीमान् आइपुगेर लगातार कुट्न थाले । त्यो दर्दनाक कुटाइ सम्झिँदा अहिले पनि थर्थर खुट्टा काम्छ । 

 

‘इज्जत’का लागि हिंसा सहने ती महिला
एकजना साथीको पीडा पोखाउने ठाउँ अन्त कतै थिएन । उनले आफूभित्रै दबाउने लाखौँ प्रयत्नपछि नसकेर अन्तिममा हामीमाझ पोखिन थालिन् । निकै टाढाबाट सानैमा प्रेमविवाह गरेर आएकी उनले के मात्र खपिनन् ? जसरी हुन्छ, बिहानै पिउनुपर्ने अल्कोहलिक श्रीमान्, जसले परस्त्रीगमन त गरेकै थिए, भएको सम्पत्ति पनि उडाएकै थिए । परिवार र इज्जतप्रति लापर्बाह त त्यसै छँदै थिए, त्यसको प्रायश्चित गर्नु त छैन, उल्टै श्रीमतीलाई अनेक शंका र लाञ्छना लगाउने गर्न थालेछन् । अनावश्यक आरोप लाउने, राति पिसाब गरेर फर्किंदा चिसो भएका गोप्य अंगहरू छोएर ‘कोसँग के गरेर आइस् ?’ भन्दै निहुँ खोज्ने । स्तनका मुन्टोहरू चिमोट्ने, निमोठ्ने, इन्कार गर्दा हातपात गरिहाल्ने । घरमा फुटाउन र तोडफोड गर्न मिल्ने सामान केही पनि बाँकी नराखेका । 

 

ती महिला लामो समयसम्म हिंसा सहन बाध्य थिइन् । किन रहेछ भनेर बुझ्दा सबैभन्दा पहिलो कुरा त उनले भागेर बिहे गरेकी रहिछन् । दोस्रो, श्रीमान्को कुटाइ खाएर आएको भन्दा माइतीको इज्जत जाने डर उनीसँग रहेछ । गाउँसमाजमा नाम कमाएर बसेको, दुई–चारजनाले चिन्ने आफ्नो परिवारसँग उनले एक शब्द पनि आफ्ना पीडाहरू सुनाएकी थिइनन् । तेस्रो, कुरा आफ्ना नानीहरू भए । उनीहरूको भविष्यका लागि भनेर उनी चुप थिइन् । जस्तो भए पनि छोरीले घर गरेर खाइरहेकी छ भन्ने पार्नलाई उनले घरको सारा आर्थिक, नैतिक, सामाजिक भार एक्लै खपिरहेकी थिइन्/छिन् ।

 

उनको व्यथा सुनेर यसपल्ट त मैले बिहे नगर्ने कसम पनि खाइनँ । किनकि विवाहित भएर आमा जो भइसकेकी थिएँ । ती साथीले राम्रै रकम बगाएर श्रीमान्लाई सुधार केन्द्र राखिन् । तर, बीसको उन्नाइस भएन । बरु निस्केपछिको दर्दनाक घटनाहरू सुनिनसक्नुको छ ।

 

०००                                        ०००

 

वास्तवमा कसैको सम्बन्धमाथि प्रतिक्रिया दिनु र नजिकबाट छाम्नु फरक कुरा हुन्, हुने रहेछ । ती दमककी भुटानी शरणार्थी बैनीले धेरै प्रताडना खपेपछि मसँग पीडा सेयर गर्न लागेकी थिइन् । म दुःखी हुँदै सुन्थेँ तर सल्लाह के दिन्थेँ कुन्नि अहिले बिर्सेँ । तर, जुन दिन उनले बन्द कोठाभित्र कठोर यातना भोगिन्, त्यसको भोलिपल्टचाहिँ मैले एउटा असुन्दर सल्लाह दिएँ उनलाई । त्यसवेला तेस्रो देश पुनः स्थापनाको लहर चलिरहेथ्यो । सोचेँ, उनी पनि अमेरिका, क्यानडा या अस्ट्रेलिया पुग्नेछिन् र यो बर्बर मान्छेको हिंसाबाट मुक्त हुनेछिन् । मैले पनि सजिलै सम्झेर भनिदिएँ । हुन पनि देखिनसक्नु अन्याय र अत्याचार अनि शारीरिक र मानसिक पीडा खपिरहेकी उनको अवस्थाबारे उनकी आमासमेतले मलाई अनुनय गरेकी थिइन् । 

 

अक्सर जनजाति महिला अन्याय सहेर नबस्ने स्वभावका नै देखिन्छन्, भेटिन्छन् तर आर्यन समुदायमा पतिदेव र कुलघरानको इज्जतका लागि भन्दै सकेसम्म अत्याचार सहेरै कुण्ठित भएर बसेका भेटिन्छन् । अत्याचारविरुद्ध विद्रोह गर्ने पनि होलान् । तर, जनजातिमा भन्दा कमै देखिन्छ, सुनिन्छ । 

 

अब उक्त घटना कोठा र छिमेकभित्र मात्र रहेन, थानासम्म पुग्यो । बैनीकी आमा न्यायालयको ढोका ढकढक्याउन पुगिन् । त्यसपछि भने त्यो कुरा बाहिर फिँजियो । सायद घटनाको चौथो दिन हुनुपर्छ, पल्लो घरबाट एकजना फुच्चे भाइ आएर मलाई भन्यो, ‘दिदी तपाईंलाई ऊ त्यो कोठाको अंकलले बोलाउनुभएको छ ।’

 

अरे ! त्यो निर्दयी मान्छे ! अनि चीत्कार गुञ्जिएको कोठामा म कसरी जाऊँ ? एकछिन त अलमलमा परेँ, तर लगत्तै लाग्यो, केही सोध्नलाई होला । ओहो ! एकतमासले भुइँमा खुट्टा पसारेर बसेका रहेछन् ती दाजु । कुनै विरही गीत पनि बजिरहेको, हातमा चुरोट, छेवैमा एस्ट्रे, अनि आँखामा बलिन्द्र धारा आँसु ! म पुगेपछि बस्नुस् भन्ने आग्रह गरे । दाजुले सुनाए रामकहानी । उनकी सासूले पुलिसको अगाडि छोरीको चोटपटकहरू देखाउँदा लुगा सोहोरेर माथि पु¥याइन् रे ! अनि उनले चाहिँ ‘प्लिज आमा यसो नगरिदिनुस् न, म हात जोडेर माफी माग्छु’ भने रे ! चिनजानकै महिला प्रहरीलाई पनि एकपटकलाई माफी दिनु भन्दै हात जोडे रे ! निकैबेर व्यथा पोखेपछि मलाई भने, ‘सन्जु बैनी, सक्नुहुन्छ भने उसलाई एकपल्ट सम्झाइदिनुस् न ।’ उनको बिलौना सुनेर फर्किएँ । 

 

केही महिनापछि उनीहरू भएको ठाउँ दमक पुगेँ । अहो ! ती बैनीको त सम्बन्ध सुध्रिएर पनि ओछ्यानमा चारमहिने नानी पो खेलिरहेको देखेँ । खुसी लाग्यो । उनी पहिलेभन्दा हँसिली थिइन् । ती बहिनीलाई जस्तो छुट्ने सल्लाह मैले आर्यन समुदायकी साथीलाई दिन सकिनँ । किनकि उनीहरू इज्जत इज्जत भन्दै बसिरहेका हुन्छन् । अक्सर जनजाति महिला अन्याय सहेर नबस्ने स्वभावका नै देखिन्छन्, भेटिन्छन् तर आर्यन समुदायमा पतिदेव र कुलघरानको इज्जतका लागि भन्दै सकेसम्म अत्याचार सहेरै कुण्ठित भएर बसेको भेटिन्छ । अत्याचारविरुद्ध विद्रोह गर्ने पनि होलान् । तर, जनजातिमा भन्दा कमै देखिन्छ, सुनिन्छ । 

 

जीवनमा यस्ता कैयौँ पात्रहरू देखेँ, भेटेँ । यस्ता कथाहरू हजारौँ लाखौँ होलान् । कतिले मनभित्रै पीडा लुकाएर बस्छन् । कतिले छिमेकीलाई भन्छन् । तर, यस्तो पीडाविरुद्ध कतै कुनै संगठित आन्दोलन हुँदैन । मैले भेटेका केही महिलाका व्यथा यति लेख्दा केही हलुका महसुस त भयो, तर यस्ता महिलाका कथा समाजमा कति होलान् कति ? यो सम्झिँदा फेरि मन छट्पटिन थाल्छ । 

 

यी घटनाहरू पढिरहँदा तपाईंलाई लाग्न सक्छ– ‘लोग्नेस्वास्नीको झगडा, परालको आगो ।’ यो पितृसत्ताले रचेको भनाइ हो । महिलामाथि एकपछि अर्को हिंसाका शृंखलाहरू बढिरहेको देख्दा लाग्छ, घरझगडा उनीहरूले भनेजस्तै परालभित्रकै आगो नै हो । तर, यो आगो छिनमै निभ्ने खालको छैन अब । बाहिरबाट हेर्दा निभेकै देखिन्छ, तर भित्रभित्रै आगोको ज्वाला लप्किरहेको छ । महिलाहरूले परालको आगो भन्दै कतिसम्म सहेर बस्ने ? महिलाहरूले अब ओठमा नक्कली हाँसो झुन्ड्याएर यस्ता अन्याय सहनु हुँदैन । पितृसत्ता खरानी हुने गरी आगो झोसिदिनुपर्छ । यो काम ढिला भइसकेको छ ।