• वि.सं २०७८ श्रावण १२ मंगलबार
  • Tuesday, 27 July, 2021
नवीन विभास
२०७८ असार १९ शनिबार ११:२१:००
सम्झना

कोरोनाकालमा तीतेपाती मन्थन

२०७८ असार १९ शनिबार ११:२१:००
नवीन विभास

आफ्ना आँगनका अर्गानिक औषधि बेवास्ता गर्दै कृत्रिम रसायन सेवनले जनस्वास्थ्य नाजुकिँदै छ 

 

कोरोनालाई कोर्रा कसले लाउला ? कोरोनाकालीन जारी मन्थनमा तीतेपाती पनि सहभागी छ । भलै तीतेपाती मन्थन सायदै सुनिएको किन नहोस् । तीतेपाती गन्थन गर्न‘अघि भने एकैघरी २०४६ तिर फर्कनु छ । यसको कारण मेरो बालापनको सम्झनासँग सम्बन्धित छ । तीतेपाती सिउरिँदै घर(रोल्पाको जैपा)बाट घोराही र घोराहीबाट घर पुगेको सम्झना । घोराहीबाट फर्कंदा हटारु, कालापारे र लाहुरे हुलसँग खच्चर र घोडाका लस्कर पछ्याउँदै हिँडेको याद ।

 

त्यो सम्झना त कुनै युवतीको टाउको कसक्क गुथेको कपाले ऐसेलु काँडामा खुन्टिएजसरी नोस्टाल्जिक कुरुसले उनेको छ । जस्तो कि, निधारमा ऐना र श्रीपेचजसरी चौरीगाईको भङ हल्लाउँदै हिँडेको अघौरे घोडा/खच्चर ! जस्तो कि, कालापारे र लाहुरे काँधमा झुन्डिएको टेपरिकर्डबाट बर्खेझरीजसरी झरिरहेका गीत ! जस्तो कि, कालापारे पिठ्युँका सूर्यका किरण ठोक्किँदा झल्याकझिलिक गर्ने ९८६४७२९८०८ सेतो अनुहारे टिनका बाकस ! जस्तो कि, नुन बोकी थुर्पाधुरी उकालिइरहेका हटारु हुल ! जस्तो कि, विपरीत दिशातिर हिँडेका कमिला भेट हुँदा मुख सुँघासुँघ गरी आ–आफ्ना बाटो लागेजसरी चिनजानका बटुवाले साटेका सन्चोबिसन्चो ! जस्तो कि, कालापारे, लाहुरे र हटारुले ‘बाटानु चा खानु’ भनी दुई–चार रुपैयाँ हात पारेको ! जस्तो कि, हटारु र कालापारेले ‘मुख रसाऊ’ भनेर दिएका गुर (भेली) ख्वाप्प खाएको ! जस्तो कि, बटुवाका निधारबाट आफैँ बिदा हुन हतारिएका बिदा टीकाका दुईचार गेडा चामल ! जस्तो कि, पर्साैनी (जन्ती, मैतालु, कालापारे, लाहुरे वा सामान्य बटुवालाई स्वागत/सम्मानार्थ बर्को वा रुमाल वा टोपीमा राखिएका दुबो, पाती, फूल, पानी वा रक्सी वा जाँड वा दहीजस्ता खान्की) ! 

 

हो, त्यसैवेलाको कुरा हो । र, पर्साैनी थापिएको छ, भांगुबारीमा पनि । बाटोमा बिछ्याइएको बर्काेमा छ– एकलोटा पानी । लोटासँगै दुबो, पाती र हजारी (सयपत्री) फूल । यसैगरी नै पर्साैनीले स्वागत गरेका हुन्–

उकालिने वा ओरालिने वा तेर्सिने बाटो या दोबाटोमा । 

 

हो, भांगुबारीमा पनि फूल, दुबो र तीतेपाती शिरमा सिउरिन्छौँ । पानी पिउँछौँ । ठुल्दाजुले बर्कोमा पाँच रुपैयाँ राखिदिन्छन् । 

 

भांगुबारी पुग्नुअघि र पछि कतै ठेकामा दही छ त कतै आम्खोरामा पानी । कतै जाँडरक्सीले भरिएका जर्किन–बोतल । थुर्पाधुरीमा पुग्दाखेरि बटुवा खर्सुको बूढो बोटमा कतिले तीतेपाती चढाउँदै छन्, कतिले रंगीबिरंगी धजा त कतिले फूल । स्मरणीय त के छ भने, लाहुरे काँधमा ‘पुलअप’ गरिरहेको टेपरकर्डबाट ‘प्रेमपिण्ड’की अनुराधा पौड्वाल ओर्लन्छिन्ः

 

देउरालीका देउदेउता, पाती चढाउँला
भन्ज्याङका मानेजति, तिम्लाई मनाउँला ।

 

पाती चढाएजसरी दहवनमा ढुंगा चढाएका हौँ । बटुवाले ढुंगा चढाउँदा–चढाउँदा बनेको पहाड भने मोटरबाटो बनेपछि अलप भएको छ । घोराही जाँदा र फर्कँदाका एक सातामा कति पाती, फूल र ढुंगा चढाइए होलान् ? कति पर्सौनी पर्सिइए होलान् ? तपाईं आफैँ अनुमान लाउनुस् है । अहिले ? जैपामुन्तिर बागमारामै काठमाडौंबाट रात्रिबस पुग्छ । गाउँमै गाडी पुगेपछि वर्षको एकपटक नुन बोक्न निक्लने हटारु हुल, घोडा–खच्चर लस्कर, तीतेपातीवाल पर्सौनी अनि देउरालीमा ढुंगा, फूल, धजा र पाती चढाउने चलन ‘किस्सा’ भएको छ । कालापारे (कमाउन भारत जाने मानिस) लर्को अरबको खाडी पुगेको छ । सुखद समाचार भनूँ, तपाईंको ढिककान्लामा हल्कने तीतेपातीचाहिँ किस्सा बन्न बाँकी छ ।

 

तीतेपाती: कोरोनालाई कोर्रा नेपाली लोकजीवनको पर्सौनीमा समेत सामेलिने तीतेपातीले कोरोनाविरुद्ध मोर्चा सम्हाल्ला कि भनी एकथरी मानिस तीतेपाती मन्थनमा छन् । एक वर्षअघि बिबिसीमा ‘डेक्समेथासोनले कोरोना भाइरस संक्रमित गम्भीर बिरामीका ज्यान बचायो’ भन्ने समाचार नै आएको हो । जुन समाचारमा बेलायती विज्ञहरूलाई उद्धृत गरिएको छ । 

 

तीतेपातीले कोरोनाविरुद्ध मोर्चा सम्हाल्ला–नसम्हाल्ला तर नेपालको अर्थतन्त्रको काँचुली फेर्ने मोर्चा सम्हाल्नेमा भने शंका छैन । कारण हो, नेपालले निकासी गर्न सक्ने प्रमुख वनस्पतिमध्ये एक हो, तीतेपाती । यही तीतेपातीमा राज्यको आँखा नपुग्दा नेपालको अर्थतन्त्र चौपट छ ।

 

औषधिविज्ञ नारायण घिमिरेका अनुसार तीतेपातीको पेय कोरोना भाइरसविरुद्ध ‘चमत्कारी उपचार’ मानिएको छ । वैज्ञानिकहरूले मडागास्करबाट तीतेपातीको परीक्षण उपचार गरिरहेको उल्लेख गरेर भनेका छन्, ‘कोरोनाको हर्बल ओखती बन्दै छ ।’ तीतेपातीबाट कोरोनाकालमा ह्यान्ड स्यानिटाइजर बनेको छ ।नेपालमा कोरोना भाइरसविरुद्ध तीतेपाती प्रयोग भएको छ ? के हुँदै छ ? समाचार छैन । 

 

तीतेपातीको रसायनबाट निकालिएको परम्परागत चिनियाँ औषधि अन्वेषण गरेकाले युयु तुले सन् २०१५ को नोबेल चिकित्सा पुरस्कार पाएकी हुन् । युयुले मुसा र बाँदरमा तीतेपाती पहिलो प्रयोग गरी मानवजातिका लागि ‘औलो’जस्तो रोगबाट बचाउने औषधि बनाउन सफल भएकी हुन् ।जानकार भन्छन्– संसारमा झन्डै ६ सय प्रजातिका तीतेपाती छन् भने नेपालमा मात्रै झन्डै एकदर्जन । तिनका औषधीय गुण भने समान छैन । 

 

‘तीतेपातीको मीठोपन’ शीर्षकको लेखमा डा. अरूणा उप्रेती तीतेपाती प्रयोगले दैनिक जीवनमा आइपर्ने स्वास्थ्य समस्या समाधान हुने तर्क गरेकी छिन् । उदाहरण दिएकी छिन्ः महिनावारी ढिलो हुने र महिनावारी हुँदाको दुखाइमा पनि तीतेपातीले सघाउँछ । गुप्तांग चिलाउँदा तीतेपातीको पातबाट निकालिएको रस लगाए निको हुन्छ । 

 

तीतेपातीको रसले लुतो, ससाना घाउ, खटिरा निको हुन्छ । सिस्नोले चिलेको भागमा तीतेपाती दल्ने चलन त छँदै छ । यसरी दल्दा गाउँघरमा त लय हालेर भन्छन्, ‘सिस्नाले हारो, पातीले जितो ।’ 

 

जीउ चिलाए तीतेपाती दल्छन् । तीतेपाती भिजाएको पानीले नुहाउँछन् । काटेको घाउमा समेत तीतेपाती निचोरेर लगाउँछन् । मोक्जिविसन विधिबाट तीतेपातीलाई धुवाँको रूपमा दुखाइ कम गर्न र अन्य रोगहरूमा पनि प्रयोग गरिन्छ । 

 

जेनिसा सापकोटा ‘तीतेपातीको बुझ्न नसकिएको महत्व’बारे लेख्छिन्, ‘तीतेपातीको पञ्चांग (जरा, डाँठ, पात, फल र फूल) नै औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । लेपका रूपमा दुखेको, सुन्निएको ठाउँमा प्रयोग गर्न सकिन्छ । यसको तेल किटनाशक गुणयुक्त भएकाले छाला चिलाउने, घाउ, खटिरा र अन्य छालाको समस्यामा प्रयोग गर्न सकिन्छ । तीतेपातीको रस ५–१० मिलिलिटर अथवा सुकाएर बनाएको धुलो ०.५—१ ग्राम अपच, पेटको दुखाइ, पेट फुलेको र पेटमा जुका पर्दा सेवन गर्न सकिन्छ । पित्तथैलीबाट पित्त बाहिर निकाल्न मद्दत गर्ने भएकाले आयुर्वेद उपचार पद्धतिमा यसलाई कलेजो र पित्तसम्बन्धी बिकारमा प्रयोग गरिन्छ । रक्तबिकार र शरीर सुन्निने समस्यामा पनि तीतेपाती लाभदायक छ ।’ 

 

मुम्स तीतेपातीको भुवा हो । जो फिजियोथेरापीमा प्रयोग हुन्छ । जोर्नी, नसा, बाथ, पिनास, माइग्रेनजस्ता रोगका लागि यसले काम गर्छ । संखुवासभा, पाँचथर र पर्सामा खेती गरिएको तीतेपाती ईश्वर बलामीले जापान पठाउँछन् । ‘सीतापाइलाको यामासो प्रालिले तीतेपातीबाट तयार पारेको सामग्री जापानको एउटा कम्पनीलाई पठाउँछौँ,’ बलामी भन्छन् । 

 

तीतेपातीमा विद्यावारिधिरत सरोज सापकोटा दामनदेखि चितवनसम्मको तीतेपाती संकलन गरी अध्ययन गरिरहेका छन् । ‘कस्मेटिक, साबुन, स्याम्पुमा मिसाए के हुन्छ ? स्थानीय साबुन र स्याम्पुमा तेल मिसाइदिनु न भनेका छौँ,’ सापकोटा भन्छन् । तीतेपातीले किरा, ब्याक्टेरिया मार्न सहयोग गर्छ भने लामखुट्टे भगाउन पनि ।  ‘हामीले आर्टिमिसिन छ कि छैन ? नेपालको तीतेपातीमा यस्तो कम्पाउन्ड छ कि छैन हेर्दै छौँ,’ सापकोटा सम्झन्छन्, ‘नेपालमा कति प्रजातिको तीतेपाती छ ? डिएनए हेर्दै छौँ ।’ 

 

गाउँघरमा त अन्नबालीमा किरा लाग्न नदिन तीतेपाती प्रयोग गर्छन् । अर्गानिक विषादी र अर्गानिक मल पनि तीतेपातीबाट बन्छ । सापकोटा तीतेपातीको अध्ययन सिलसिला सुनाउँछन्, ‘कोलेस्ट्रोल घटाउँछ कि घटाउँदैन ? मुसामा हेर्दै छौँ ।’ तीतेपाती खोकीको ओखती हो भन्ने लोक मान्यता छ । पकाएको तीतेपाती कपडामा लपेटी छातीमा राखेर घरेलु उपचार गरेको सम्झन्छन्, लेखक मित्रलाल पंज्ञानी । 

 

तीतेपाती संस्कृति
सम्मान गर्दासमेत गाउँघरमा त तीतेपाती नै सहभागी हुन्छ । कानमा अडेसिँदै लोग्नेमानिसको टोपी र महिलाको कपालले समाएर दुबोसहित तीतेपाती टुसुक्क बस्छ । यसैगरी, ‘आशिर्वाद’मा समेत दुबोको साथमा नै तीतेपाती सामेलिन्छ । ढोग गरेपछि पाकाले आशिर्वाद दिँदा भन्छन्, ‘दुबो नै फैलनू, पाती नै मौलनू ।’ त्यसैगरी, आशिर्वादका साथ कानमा पातीलाई फूलको रूपमा सिउरिदिने चलन छ । जसलाई ‘पातीफूल लाइदिने’ भन्छन् । राम्रो काम गर्नेलाई पातीफूल लगाइदिएर हौसला दिन्छन् । 

 

झगडियालाई ढोगभेट गराई गाउँघरमा झगडा मेट्छन् । यसरी झगडा मेट्दा उमेर वा साइनोले जुन झगडिया सानो छ, उसले ‘नगद’ राखी ढोग गर्नुपर्छ । ढोग पर्सिएर उही नगद ढोग गर्नेको शिरमा फूलजसरी सिउरिदिन्छन् । यसलाई पनि पातीफूल लाइदिने भन्छन् । 

 

खोला, देउराली, ठूलो रूखमा धजा, फूल र पाती चढाउने सन्दर्भ माथि उल्लेख भइसकेको छ । यसैगरी, शुभयात्रा र शुभसाइतको कामनार्थ बाटोमा दुबो, पाती, फूल अनि पानी वा दही वा रक्सी–जाँड बर्को वा रुमालमा पर्सौनी थाप्ने चलन पनि चर्चामा आउँछ । यस्ता पर्सौनी सामान्य बटुवालाई भन्दा पनि जन्ती, मैतालुका लागि थाप्ने चलन छ । बर्को वा रुमाल वा टोपीमा तीतेपाती मात्र राखे पनि पर्सौनी नै हो । यसको अर्थ हो, पर्सौनीमा दही, पानी, फूल, दुबो, रक्सी–जाँड अनिवार्य होइन । 

 

 

कतै जान होस् या नयाँ कामको साइत गर्दा पनि दुबोपाती प्रयोग हुन्छ । कालापार, लाहुर, हाट जाने साइत गर्दा मुखमा दुबोपाती च्यापेर निक्लने चलन छ । बिदा हुनेले लोटाको पानीमा दुबोपाती डुबाएर पिउने र जीउमा छर्केर बाटो लाग्छन् । शुभकार्यमा मात्र होइन, बिदाइमा पनि तीतेपाती नै सामेलिन्छ । मगर संस्कृतिविद् बमकुमारी बुढामगरका अनुसार तिहारमा सैल्यारीभैल्यारीले घरपतिलाई तीतेपाती हात पार्छन् । 

 

पित्तरलाई पाती 
प्रकृति पूजक मगर समुदाय खोलानाला, देउरालीलाई मात्र होइन, पित्तरलाई पनि तीतेपाती चढाउँछन् । नयाँ अन्नका साथै कोसेली खानुअघि पित्तरलाई चढाउँछन् । बली दिँदा रगतमा तीतेपाती चोबेर चारै दिशातिर फाल्छन् । त्यसवेला भन्छन्, ‘सैसक्क कुलपित्तर तम् दाइना भए, खाऊ तिम्रो फुकार ।’ 

 

यसैगरी, कुलदेउता, कुलपित्तर पुज्दा तीतेपातीको धुप बाल्छन् । गाईको गोबरले लिपी तीतेपातीको धुप बालेर खानेकुरा चढाउँछन् । देउता थानमा पातीमा धजा बाँधेर चढाउँछन् । 

 

मगर समुदायको जन्म, बिहे र मृत्युजस्ता जीवनका सबभन्दा ठूला परिघटनामा पनि तीतेपाती प्रयोग हुन्छ । बुढामगरका अनुसार अठार मगरातमा तीतेपाती प्रचलनमा छ भने बाह्र मगरातमा भीमसेनपाती ।

 

तीतेपातीको रसायनबाट निकालिएको परम्परागत चिनियाँ औषधि अन्वेषण गरेकाले युयुले सन् २०१५ को नोबेल चिकित्सा पुरस्कार पाएकी हुन् । युयुले मुसा र बाँदरमा तीतेपाती पहिलो प्रयोग गरी मानवजातिका लागि ‘औलो’जस्तो रोगबाट बचाउने औषधि बनाउन सफल भएकी हुन् ।

 

बच्चा जन्मेपछि मगर समुदायले तीतेपातीलाई मिची तेल हालेर धुप लगाउँछन् । धुवाँ सुघाउँछन् । डा.हर्षवहादुर बुढामगरले ‘नेपालका जातीय संस्कार’ नामक किताबको ‘मगरका सामाजिक संस्कार’मा लेख्छन्, ‘नाइटो झरेपछि एक जेठो महिलाले मुखमा दुबोपाती च्यापी बच्चालाई पिठ्युँमा बोकेर घरबाहिर निकाली नुहाइदिन्छन् (२४४)’ । यसैगरी, परंगीपूजामा पनि पाती नै प्रयोग हुन्छ । एउटा ढुंगालाई गोबरले पोतेर त्यसमाथि आगोको झरिलो कोइला राखी तोरीको तेलमा पाती मोलेर बनाएको धुप जलाइन्छ । सुत्केरीले बच्चा बोकेर सातपटक धुप नाघ्नुपर्छ (२४५) । न्वारानमा सुनपानी छर्कने तीतेपातीले नै हो ।

 

दुलहीले मुखमा दुबोपाती च्यापी पानीले भरिएको करुवा हातमा लिएर घर भित्र्याउने चलन छ, मगर समुदायमा । भित्र्याइएकी दुलहीले धुरी खाँबोमा गोबरले लिपी चामलको टीका लगाई सेता, राता धजा बाँधेको दुबोपाती सिउरिदिन्छन् ।  घाटबाट फर्केपछि मलामी आङमा पनि तीतेपातीले पानी छर्कने चलन छ ।बमकुमारीका अनुसार बाह्रै महिना पाइने भएकाले पाती र दुबोलाई मगर समुदायले आफ्नो जीवनशैलीमा सामेल गरेको हो । 

 

किराँत समुदायमा पनि चोटपटक लाग्दा तीतेपाती निचोरेर झोल लगाउने, पेट वा टाउको दुख्दा तीतेपाती मिचेर सुँघ्ने चलन छ । अनुसन्धाता भोगीराज चाम्लिङका अनुसार किराँत समुदायले वाइके संस्कार गर्दा हर्रो र तीतेपाती बाँधेर गर्छन् ।

 

तराईका राजवंशी समुदाय घाउ–खटिरामा तीतेपाती लगाउने चलन रहेको सापकोटा सुनाउँछन् । सापकोटाका अनुसार उच्च रक्तचापका बिरामी र मुखमा घाउ आएको वेला तीतेपातीको पात चपाउने चलन पनि छ । उनका अनुसार मुसहर समुदाय दादको औषधिको रूपमा तीतेपाती लगाउँछन् भने चितवनका थारू समुदाय तीतेपाती भिजाएको पानीले नुहाउँछन् । 

 

जाँड बनाउने रसायन पनि हो, तीतेपाती । थारू समुदाय जाँड बनाउने औषधिको रूपमा तीतेपाती प्रयोग गर्छन् । थारू संस्कृतिविद् अशोक थारूका अनुसार केराको थामको रस र तीत्या (तीतेपाती) पिठोसँग मुछेर जाँड बनाउने औषधि बनाउँछन् । जसलाई थारू समुदाय ‘ल¥वा’ भन्छन् । यो औषधि पकाएको भात वा अन्य कुनै अन्नमा मिसाएपछि जाँड बन्छ । यसैगरी, जुका मार्न पनि तीतेपाती प्रयोग गर्छन् ।

 

चोख्याउने पाती

 

तीतेपाती पवित्र बनाउने वनस्पतिको रूपमा पनि पूर्वजले प्रयोग गरेका छन् । मकै, गहुँ, जौजस्ता बालीका बिउ छर्न‘अघि बिउ चोख्याउन भनेर पातीको प्रयोग हुन्छ । जसको लागि तीतेपाती सुनमा छुवाएर बिउमा पातीका मुर राख्छन् । यसरी तीतेपाती राखेर चोख्याएको बिउ बारीमा रोप्ने वा छर्ने चलन छ । 

 

बिउ रोप्ने पहिलो दिन कुखुरा काटेर तीतेपाती राख्ने चलन पनि छ । मकै, गहुँ थुपारेको मेहनमा पाती पनि राख्छन् । ‘कसैको आँखा नलागोस्’ र ‘रक्खे गर’ भन्दै तावामा वा खला वा आँगनमा राखेका धान या गहुँ या जौमा तीतेपाती राख्ने चलन छ । जसलाई पातीको मेहन बनाउने भन्छन् । ‘शासक खाद्य संस्कृति’ले बितुलु ठान्ने सुँगुर, गाई, भैसी र सिस्नो खाएपछि हातमुखमा तीतेपाती दलेर मात्र घरभित्र पस्ने चलन छ ।

 

झाँक्रीधामीसँग तीतेपाती

 

झाँक्रीधामी र पुजारुले देउता मन्साउँदा मदौरोको हातगोडा र शरीरमा तीतेपाती दल्छन् । गाउँघरमा त ‘पाती पुछिदेऊ’ भनी आग्रह गर्ने चलन नै छ । झाँक्री, धामी र पुजारुले बिरामीलाई निको होस् भन्ने कामनासहित मन्त्र फलाक्दै पाती पुछिदिन्छन् । आफू अशक्त हुँदा तीतेपाती जीउमा दल्दै र चपाउँदै छिटो निको हुने कामना गर्छन् । झाँक्री, धामी र पुजारुकै सिको गरी जीउमा तीतेपाती दल्दै सर्वसाधारण भन्छन्, ‘पाती पुछेको छु, चोखोनितो गरेको छु, अब त मान !’

 

झाँक्री, धामी र पुजारु मन्त्रले बिरामीलाई ‘अब म निको हुन्छु’ भन्ने विश्वास जगाएर मनोवैज्ञानिक बल देला, तर तीतेपाती दल्दा वा चपाउँदा के असर हुन्छ ? यो खोजको विषय छ । 

 

मगर संस्कृतिविद् बमकुमारीका अनुसार जेठांसे पुन्नी(पूर्णिमा), भदौरे पुन्नीमा धामी नजिकका धुरी(लेकको टुप्पो)मा पुग्छन् । धुरीमा पुगी पातीको झुप्पासँगै घन्ट समाएर बजाउँछन् । घन्टको धुनमा धामी नाच्छन् । रोल्पाका प्रायः धुरीमा धामी पुगेर लय हाल्छन्, ‘स्याउली फुर्का, पाती फुर्का चढाइल्यायौँ । तिम्रो चरणमा आयाैँ ।’ 

 

पूर्णिमाको दिन धुरीमा पुग्दा मात्र तीतेपाती चाहिने होइन, कुनै घरमा धामीले पाती लिएर घन्टसँगै पाटीको मुर, मुठा राख्छन् । झाँक्री र धामीले पातीसहित सेर्घा, कटौजा, पैयो, दुबो, सल्लाको सुवा, तुसारा, चोया, चर्कने प्रयोग गर्छन् । 

 

बिसाउनीमा

 

भन्छन्– जाने औषधि, नजाने झारजंगल । तीतेपाती झारजंगल भएर खेर गएको छ । तीतेपातीले कोरोनाविरुद्ध मोर्चा सम्हाल्ला नसम्हाल्ला, तर नेपालको अर्थतन्त्रको काँचुली फेर्ने मोर्चा सम्हाल्नेमा भने शंका छैन । कारण हो, नेपालले निकासी गर्न सक्ने प्रमुख वनस्पतिमध्ये एक हो, तीतेपाती । यही तीतेपातीमा राज्यको आँखा नपुग्दा नेपालको अर्थतन्त्र चौपट छ । यतिमात्र होइन, आफ्ना आँगनका अर्गानिक औषधिको बेवास्ता गर्दै कृत्रिम रसायन सेवनले जनस्वास्थ्य नाजुकिँदै छ । 

 

किन हाम्रो लोकजीवनमा तीतेपाती सामेल छ ? तपाईं नै भन्नुस् त, तीतेपातीको समाज, स्वास्थ्य, अर्थशास्त्रबारे केस्राकेस्रा नकेलाई किन ‘जानभान’ पनि राज्यजस्तै मौन छन् ?