• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सत्यभामा माथेमा
२०७८ असार २६ शनिबार १०:२९:००
समाज

महिला भएर जन्मिनु नै अभिशाप हो ?

२०७८ असार २६ शनिबार १०:२९:००
सत्यभामा माथेमा

महिलाले समान अधिकार कहिले पाउने ? 

नारी तिमी कहाँ–कहाँ लुटिएनौ ? कहिले–कहिले लुटिएनौ ? कस–कसले लुटेनन् ? तिमी स्त्री भएकीले नै अभिशापित भयौ । पूर्वजन्ममा पापकर्म गर्नाले तिमी स्त्री भएर जन्म लिएकी भन्ने हिन्दूधर्मका विद्वान् भनाउँदाको मनगढन्ते प्रचार कति न्यायोचित छ ? यस्तो झुटो प्रचार तिमी कति दिन सहन्छ्यौ ? 

 

पुरुषको शूक्राणुलाई जीवन्त राख्न उनै स्त्रीले आफ्नो पेटभित्र रगतले पोषित गर्छिन्, चाहे त्यो शुक्राणु पुरुषजन्य होस् वा स्त्री । समान रूपमा हुर्काउँछिन्, अन्यथा शुक्राणुहरू अस्तित्वहीन हुन्छन् नै । यो तथ्य विज्ञानको शोधको निष्कर्षबाट प्रमाणित भएको छ । तर, त्यही हिन्दूधर्मको कुसंस्कारबाट ग्रसित भएर पेटमा हुर्किंदै गरेको स्त्रीलिंग पत्ता लगाएर बारम्बार तिम्रो हत्या गरिन्छ । हिन्दूधर्म प्रचारकको कथनलाई सत्य साबित गर्न पुरुषलिंगीलाई प्रश्रय दिइयो । कसले देख्यो स्वर्ग र नर्क ? ती धर्मभीरुहरूले बुझेको तथ्य पुष्टि गर्न न कसैले सकेको छ, न गर्न सक्ने नै छ ।

 

स्त्रीलिंग वा पुरुषलिंगप्रतिको भेदभाव हाम्रो नेपाली समाजको उपज तथा प्रचलन अवश्य पनि होइन । वास्तवमा भन्ने हो भने हिन्दूधर्मको भाइरस हाम्रो देशको दक्षिणबाट सरेको हो । त्यसैले सबैभन्दा नजिक दक्षिणतर्पmको हाम्रो तराई क्षेत्रमा यस भाइरसको प्रभाव सशक्त रूपमा पैmलिएको प्रत्यक्ष भेटिन्छ । पहाडतिर पनि दाइजो दिइन्छ, मातापिताको क्षमतानुसार तर दहेजको रूपमा बार्गेनिङ हुँदैन ।

 

तराई क्षेत्रमा दहेज प्रथा अहिले पनि प्रचलित छ । चाहे छोरीलाई शिक्षित बनाउन आमाबाबुले आफ्नो कमाइको खोलो नै बगाएको किन नहोस्, छोरीको विवाह गर्दा उनको शिक्षादीक्षाको मूल्यांकन हुँदैन । उल्टो वरपक्षले आफ्नो छोराको पढाइ–लेखाइमा खर्चेको लगानी बेहुली पक्षबाट असुल्न रत्तिभर लाज मान्दैन । यो प्रथा समस्त समाजभित्र छैन । तर, यस आधुनिक समाजमा भनौँ वा हिन्दू धर्मावलम्बीहरूमा बिस्तारै यसको प्रकोप बढ्दै छ ।

 

रावण प्रखर विद्वान् थिए भन्ने तथ्य त राम आफैँले पनि स्विकारेका थिए । उनले सीताको इच्छाविपरीत हातपात गर्ने चेष्टा गरेनन् भन्ने बुझिन्छ । यस अर्थमा रावण स्त्रीलाई इज्जत गर्ने सदाचारी थिए भन्न कर लाग्छ । तर, सत्यतथ्यको छानबिन नै नगरी सीतालाई अपवित्र साबित गरियो ।

 

हिन्दूधर्मले लादेको संस्कारबाट प्रभावित पुरुषले स्त्रीलाई वस्तुजस्तो व्यवहार गरेको यथार्थ समाजमा विद्यमान छ । त्यसैले पत्नीको गर्भमा हुर्किंदै गरेको छोरा वा छोरी कुन लिंग हो भनी कानुनविपरीत पत्ता लगाई यदि स्त्रीलिंग देखिए पत्नी अर्थात् हुनेवाला आमाको विरोधका बाबजुद गर्भपतन गराउँछन् । तथ्यले साबित गरिसकेको छ, आठपटकसम्म गर्भपतन गराएर स्त्रीको शरीरलाई कमजोर र रोगग्रस्त बनाउन पनि पछि परेका छैनन् । फलस्वरूप छोरा जन्माउन अक्षम भनी दोस्रो विवाह गर्छन् । छोरा वा छोरी जन्माउने शूक्रकीट वास्तवमा पुरुषकै शुक्राणुबाट निर्धारण हुने ध्रुवसत्य हो । तैपनि स्वर्गको सपना देख्ने अशिक्षित पुरुष मात्र होइन, शिक्षित पनि त्यत्तिकै जवाफदेही छन् ।

 

कुनै पनि धर्मलाई लाञ्छना लगाउने मेरो मनसाय अवश्य पनि होइन र छैन पनि । कुनै पनि धर्ममा केही विशेषता छन्, जस्तै मानवको धर्म दया, माया, अपराध नगर्नु वा सदाचारको महत्व दर्साएको पाइन्छ । तीबाहेक अमूर्त ईश्वरको कथन भन्दै ‘ब्रेनवास’ गरिदिएको देखिन्छ ।

 

हिन्दू धार्मिक ग्रन्थमा एकातिर महाकाली भगवतीलाई शक्तिशाली नारीको रूपमा प्रस्तुत गरिएको देखिन्छ भने उनै महाकालीलाई सशक्त बनाउनुमा कुन्नि अजन्मा ब्रह्मा, विष्णु, महेश्वर तथा अन्य देवताहरूले कालीको आठवटै हातमा आफ्ना शस्त्रहरू प्रदान गरेर अस्तित्वहीन बनाइएको छ । हिन्दूधर्मका विद्वान् भनाउँदाहरूले स्त्रीहरूलाई शक्तिहीन बनाउन सधैँ लागिपरेका छन् । महाकालीमाथि कुदृष्टि राख्ने एक महिषासुर कहल्यै पनि राक्षसको महादेव नामक काल्पनिक संहारकर्ताबाट प्रदान गरिएको त्रिशूलले संहार गरिएको हिन्दूधर्मग्रन्थमा लेखिएको छ ।

 

स्त्रीलाई धर्मभीरुहरूबाटै अवला नारीको संज्ञा दिइएको छ । त्यसैले स्त्री सबल हुन पुरुषको सहयोग अनिवार्य चाहिने बोध गराइएको पाइन्छ । यसबाट नारीको समान अधिकारको धरातल खोसिएको छ भनी ठहर गर्न सकिन्छ ।

नारी तिमीलाई पुरुष वर्गले अनेक अलंकारबाट सुशोभित गरेको छ, जस्तै ममताकी मूर्ति, दयावती, क्षमाशील इत्यादि । यिनै अलंकारहरूबाट लठ्ठ बनाएर तिमीले थाहै नपाउने गरी तिमी लुटिएको बुझ्नै सकिनौ, अथवा बुझ्ने मौका नै पाइनौ । कारण स्पष्ट छ, तिमीलाई घरगृहस्थी, बालबच्चाको पालनपोषणमा यति व्यस्त बनाइएको छ कि आफू के हो भनेर बुझ्ने क्षमतामा नै ह्रास आइसकेको छ । झुटो संस्कार लादियो तिमीमाथि । घरगृहस्थी व्यवस्थित बनाउने नाममा तिमीलाई लक्ष्मीको दर्जा दिइयो । तर, आमाको पेटबाट ओर्लिन नपाउँदै तिमी लुटियौ ।

 

महाभारत इतिहास थियो कि काल्पनिक कथा ? यसलाई छुट्याउन सम्भव देखिन्न, तर त्यस कथाभित्रका स्त्रीचरित्र जहीँतहीँ लुटिएका, अपमानित गरिएका र दबाइएका यथेष्ट प्रमाण भेटिन्छन् । 

 

जंगली युगदेखि विकासको गतितिर लम्किँदै जाँदा मानव जातिलाई व्यवस्थित बनाउन युग सुहाउँदो नियमहरू सिर्जना गर्दा धर्मको नाम स्थापित भएको हुन सक्छ । परन्तु कालान्तरमा त्यसैमाथि आफ्ना कल्पना र विचारहरू प्रसारित गर्दै लगेको भान हुन्छ । एउटा कुरा मननीय छ भन्नु अनुचित नहोला । विचारकहरूको दिमागमा किन स्त्रीहरूलाई मात्र अवमूल्यन गर्ने सोचले घर गर्‍यो होला ? त्यसैले तिमी जोसुकैबाट, जतासुकै पनि अस्तित्वहीन बनाएर लुटियौ । 

 

यहाँ ऋषि वाल्मीकिले कलमबद्घ गरेको वृत्तान्तलाई इतिहासको नामबाट सम्बोधन गर्न उपयुक्त ठान्दछु । रामायणभित्रको रामलाई भगवान् भनेर परिचय गराइएको छ । भारतमा अयोध्या यथास्थितिमा थियो र अहिले पनि छ । त्यहीँ जन्मेका रामले हाम्रो देश नेपालको जनकपुरमा आई राजा जनककी छोरी सीतालाई विवाह गरेका थिए भन्ने कुरा मिथक जस्तो मात्र हो भन्ने मलाई लाग्दैन । अयोध्यामा रामको शासनकालमा नागरिकहरू सुखी थिए, कारण रामजस्ता चरित्रवान्, नागरिकको सुख–सुविधामा समर्पित शासक थिए । त्यसैले पूज्य मानियो र कालान्तरमा रामलाई भगवान्बाट सम्बोधन गरियो । यतिसम्म मान्नु अनुचित भन्न मिलेन, तर भगवान् भएपछि जे पनि गर्न सक्ने शक्ति हुन्छ भन्नुको अर्थ राम म्याजिसियन भगवान् पो बन्न पुगे । यहीँनेर मलाई खट्किन थाल्यो ।

 

अर्को प्रश्न, के सीता एक स्त्री भएकै कारण अपहरणपश्चात् बिटुली भएकी थिइन् त ? एक नागरिकले सीताको चरित्रमा लाञ्छना लगाउँदैमा उनी अग्निपरीक्षा दिन बाध्य भइन् । रामले गर्भवती सीतालाई गलहत्याएर जंगलमा एक्लै त्यागिदिए । रामजस्ता विद्वान् तथा सक्षम शासकले एक्ली नारीमाथि गरेको के यो अपराध ठहरिँदैन ? रामले आफ्नी बहिनी सुपर्णखाको नाक लक्ष्मणद्वारा काटिएको अपमानको प्रतिशोध लिन सीतालाई अपहरण गरेको भनी वाल्मीकिले प्रस्ट लेखेको पाइन्छ । रामका प्रिय भाइ लक्ष्मणले एक नारीको नाक काटी अपमान गर्नु उचित ठहरिन्छ ? अर्को उपाय पनि सोच्न सकिन्थ्यो, जे भए पनि भगवान्का भाइ हुन् उनी । लंकाका शासक रावण पनि राज्य सञ्चालनमा रामभन्दा कमजोर थिएनन् । रावण प्रखर विद्वान् थिए भन्ने तथ्य त राम आफैँले पनि स्विकारेका थिए । उनले सीतालाई उनको इच्छाविपरीत हातपात गर्ने चेष्टा गरेनन् भन्ने बुझिन्छ । यस अर्थमा रावण स्त्रीलाई इज्जत गर्ने सदाचारी थिए भन्न कर लाग्छ । तर, सत्यतथ्यको छानबिन नै नगरी सीतालाई अपवित्र साबित गरियो । रामलाई प्रदान गरिएको भगवान् दर्जा यस मानेमा उपयुक्त थियो ? रामजस्ता चरित्रवान् तथा विद्वान् शासकले सीतालाई त्यही रामराज्यमा मानवोचित प्राकृतिक हक–अधिकारबाट वञ्चित गराए । उही राम भगवान्को नामबाट पूजनीय भन्न कसरी न्यायसंगत होला ? हुन त प्रतिशोधको भावनाले रावणद्वारा सीताको अपहरण भयो, त्यसलाई न्यायोचित भन्न त मिल्दैन । तर, स्त्रीको सम्मानको प्रश्नमा रामलाई रावणले पछि धकेलेको भने प्रस्ट छ । स्त्रीको सम्मानको प्रश्नमा रावण सचरित्रको द्योतकभन्दा अत्युक्ति नहोला । अझ रामायणमा राम भगवान् र रावण राक्षसको रूपमा परिभाषित गरिएको छ । 

 

महाभारत इतिहास थियो कि काल्पनिक कथा ? यसलाई छुट्याउन सम्भव देखिन्न, तर त्यस कथाभित्रका स्त्रीचरित्र जहीँतहीँ लुटिएका, अपमानित गरिएका र दबाइएका यथेष्ट प्रमाण भेटिन्छन् । माडीमा अयोध्या राज्य भएको भ्रामक प्रचार गरेर अन्धविश्वासमा लिप्त जनतालाई राममन्दिर निर्माण गर्न हौस्याउनु भनेको कोरोनालाई द्रुतगतिमा पैmलन सहज वातावरण बनाइदिनु हो । धर्मको नाममा पापपुण्य वा स्वर्ग र नर्कको नियम अब आवश्यक छ जस्तो लाग्दैन । भोकले छट्पटाएका नेपाली जनता, वर्षामा छाना चुहिएर जलमग्न भएको कोठामा छर्लंग रात बिताउन बाध्य भएको विषयमा प्रधानमन्त्रीलाई सोच्ने फुर्सद कहाँ छ र ? 

 

हाम्रो देशमा उच्च जात भनाउँदाहरूको हातमा डाडुपन्यु छ । त्यही डाडुपन्युको टक्करले नारी पिल्सिरहेकै छन् । जबसम्म हिन्दूधर्मको कुसंस्कारबाट छुटकारा पाइँदैन, तबसम्म स्त्रीलाई वस्तुको रूपमा हेरि नै रहिन्छ ।

 

अब स्वच्छन्द समाज परिवर्तित भइसक्यो । नियम–कानुनको उल्लंघन यदि शासकबाटै हुन्छ भने जनताले सिको नगर्ने कुरै भएन । ऐन–नियममा बाँधिएर अपराध निरपराधको छिनोफानो गर्ने आवश्यकता अब नेपालमा विद्यमान छैन भन्ने लाग्छ । पुरुषको उद्दण्डता सर्वोपरि मान्य छ । हिन्दूधर्मग्रन्थमा विद्वान् पण्डितहरूको व्याख्यामा चार युग दर्साएको पाइन्छ, सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग । मलाई थाहा छैन हाम्रो देश कुन युगमा प्रवेश गरेको छ । 

 

पशुपति आर्यघाटमा प्रायश्चित गरिरहेकोे विरुपाक्षको मूर्तिले धरातल टेकिसक्यो होला । लोककथामा वर्णित विरुपाक्षले आफ्नै आमासँग सम्भोग गरेर अक्षम्य पाप गरेको भनिन्छ, तर उक्त कार्य अन्जानमा गरिएको पनि प्रमाणित छ । तथापि आत्मग्लानिले ग्रस्त विरुपाक्षले प्रायश्चितको बाटो नै रोजेर महादेवको शरणमा कुन तरिकाले यस घोर पापको प्रायश्चित गर्न सकिन्छ भनेर बिन्ती चढायो । गाँजाको रंग चढेर मस्त महादेवले त्रिनेत्र खोलेर आठ पाथी तामा आगोमा गालेर तात्तातै पिउन सुझायो । तर, तामा डढेर कालो धुवाँले विरुपाक्ष निखुर कालो भयो । वरिपरिका जनहरूले कालो विरुपाक्षलाई त्यही माटोमुनि गाडिदिए । जब माटोमुनिबाट विरुपाक्ष बाहिर निस्कन थाल्छ, कलियुगको सुरुवात हुन्छ भन्ने कथन छ ।

 

लोककथामा वर्णन गरिएको जस्तो छोराले आमालाई बलात्कार गरेको घटना हामी आज सुन्न बाध्य छौँ । यस्तै हजुरबाले नातिनीलाई र बाबुले छोरीलाई, दाइले बहिनीलाई बलात्कार गरेको त पत्रिकामा पढ्नु परेको जगजाहेर नै छ । चार वर्षकी अबोध बालिका आफ्नै हजुरबाबाटै बलात्कृत भएकी, बलात्कार गर्नेले बलात्कृतको उमेरको विचारै गरेको पाइँदैन । सामूहिक बलात्कार गरेर बीभत्स हत्या गरिएका कैयाैँ घटना गनेर साध्यै छैन । दु:खद तथ्य, शारीरिक अपांग भएका महिलाहरू बलात्कृत भएका छन् । अन्जानमा बच्चा जन्माउँछन् । आमा न हुन्, जसोतसो हुर्काउँछन्, माया गरेरै हुर्काउँछन्, प्रकृतिको नियम नै यस्तै छ । ती अनिश्चित भविष्य बोकेका बालबालिकाहरू समाजमा लाञ्छित मात्र हुँदैनन्, कानुनले समेत बाबुको पहिचानविना नागरिकताबाट वञ्चित गर्छ । विडम्बना ! ती केटाकेटीहरूले कहाँबाट बाबु खोजेर ल्याउने ? जबकि तिनीहरूलाई जन्म दिने आमासमेत अनभिज्ञ हुन्छन् । सुनिन्छ, अहिलेको कानुनमा आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरिएको छ, तर प्रशासनबाट अनेक किसिमको खिचलो गरिने धेरै गुनासो पनि सुनिन्छ ।

 

महिला अभियन्ताहरू जर्मुर्‍याएर महिला अधिकारका निमित्त आवाज उठाइएकाले पुराना कानुन निकै संशोधित भएको त पाइन्छ, जुन अझ पर्याप्त छन् भन्न सकिँदैन । हाम्रो देशमा उच्च जात भनाउँदाहरूको हातमा डाडुपन्यु छ । अहिले त डाडुपन्युको टक्करले नारी पिल्सिएकै छन् । जबसम्म हिन्दूधर्मको कुसंस्कारबाट छुट्कारा पाइँदैन, स्त्रीलाई वस्तुको रूपमा हेरि नै रहिन्छ । यहाँ न कुनै नियम छ, न कुनै कानुन छ । लथालिंग नियम–कानुन ! भत्ताभुंग देश ! यस्तो देशमा महिलाले समान अधिकार कहिले पाउने ?