• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शक्तिकुमार वंशकार
२०७८ असार २६ शनिबार ११:०५:००
इतिहास

हाम्रो बन्न नसकेको ‘हाम्रो’ नेपाल

२०७८ असार २६ शनिबार ११:०५:००
शक्तिकुमार वंशकार

 

नेपाल कसैका लागि फूलबारी बन्यो, कसैका लागि काँडाघारी 

 

नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ भनेर पृथ्वीनारायण शाहले भनेका थिए । तर, व्यवहारमा नेपाल सबै फूलको फूलबारी हुन नसकेको विभिन्न तथ्यहरूले देखाइसकेको छ । भनिएजस्तै नेपाल भन्ने मुलुक सम्पूर्ण नेपालीहरूको साझा फूलबारी हुनुपर्ने थियो, तर हुन सकेन ।

 

२०४७ सालतिरको कुरो हो । कक्षा ४ मा पढ्ने क्रममा केही बालबालिकाले कुरा गरेको सुनेँ, ‘हाम्रोमा त तल्लो जातका मानिसले छोएको पानी पनि चल्दैन ।’ अलि ठूलो भइसकेपछि ९ कक्षामा पढ्ने साथीको मुखबाट पनि त्यस्तै कुरा सुनेँ । कथित उच्च भनिएको जातका ती साथीका बुबा पूजाको थाली लिएर आइरहेका वेला एकजना कथित तल्लो जातको भनिने व्यक्तिसँग ठोक्किन पुगेछ । पछि उनको बुबा बिरामी परेछन् । बिरामीको दोष उनै तल्लो भनिएको जातको मान्छेलाई लगाइयो । यस्ता घटना विद्यालयदेखि विश्वविद्यालय तहमा पढ्दासम्म जताततै सुनियो । 

 

एकजना मुस्लिम साथीले एकपटक आफ्नो जीवनमा घटेको एउटा घटना सुनाए । उनी तराईमा बस्थे । उनको बुबा नाम चलेकै व्यापारी थिए । पहाडमा सामान पुर्‍याउने उनको काम थियो । एकपटक उनको बुबाले मेरो साथीलाई व्यापारका लागि केही सामान दिएर पहाडतिर पठाएछ । सामान लिएर पहाड जाने क्रममा उनी एउटा होटेलमा खाना खाए । पैसा तिर्न जाँदा होटेलको साहुले थर सोधेछन् । साथीले ‘म मुस्लिम हुँ’ भने । थर सुन्नेबित्तिकै होटेल साहु झस्के । अनि भनेछन्, ‘ओहो ! यो मान्छे त चुरौटे पो रैछ ।’ यति भन्दै साहुले ‘खाएको भाँडा मस्काएर राख्’ भन्दै अभद्र व्यवहार गर्न थालेछन् । साथीले मैले खानाको पैसा तिर्छु तर भाँडा मस्काउँदिनँ भन्दै विरोध गरे । तर, विवादको समाधान नभएपछि उनले आफूले खाएको भाँडालाई भिरबाट तल फ्याँकिदिए । अनि खानाको साथसाथै भाँडाको पैसा पनि तिरेछन् । त्यसपछि त त्यहाँ बबाल भयो । मेरो साथीले सुनाए, ‘मलाई तुरुन्तै समातेर एउटा खम्बामा बाँधे । घन्टौँसम्म त्यत्तिकै बाँधेर राखे । तीन–चार घन्टा बितिसकेपछि एकजना लाहुरे आइपुगे । उनले मलाई छुटाए । ती लाहुरे शान्ति सेनामा काम गरेर मुस्लिम राष्ट्रहरू घुमेर आएका रहेछन् । त्यहाँ मुस्लिमहरूले उनलाई आफ्नो भागसमेत काटेर खान दिएका रहेछन्, माया गरेका रहेछन् । ती लाहुरे नआएका भए रातभरि नै खम्बामा बाँधेर राख्थे कि?’

जबसम्म एकअर्कालाई सम्मान गर्दै सबैको अस्तित्वलाई मनैबाट स्विकार्दैनौँ, तबसम्म नेपाल वास्तविक रूपले नेपालमा बस्ने सम्पूर्ण नेपालीहरूको साझा फूलबारी बन्नै सक्दैन । 

यसरी नै एकजना सामाजिक क्षेत्रमा काम गर्ने मुस्लिम महिलाले आफ्नो जीवनमा घटेको वृत्तान्त सुनाइन् । तराई क्षेत्रमा मुस्लिमहरूलाई भोजहरूमा बिलाउँदा टपरी अथवा एकपटक प्रयोग गरेर फाल्नुपर्ने प्लास्टिकका भाँडामा खान दिइन्छ । तर, उनलाई एकपटक निम्तोमा बोलाएर स्टिलको थालमा खान दिइयो । त्यो उनले समाजप्रति तथा त्यो परिवारप्रति गरेको योगदानबापत पाएको सम्मानको रूपमा हेरियो । तर, उनले खाइसकेको भाँडा घरभित्र फेरि लगिएन । उनले भनेकी थिइन्, ‘म त्यहाँबाट हिँडेँ । पछि थाहा पाएँ, मसँगै गएको मेरो साथीलाई मैले खाएको त्यो थाल दिएर घर पठाएछन् ।’

 

काठमाडौंमा केही वर्षअगाडि एउटा मुस्लिम संस्थाले एउटा घरमा अफिस खोल्यो । त्योभन्दा अगाडि तीन ठाउँमा मुस्लिम भनेर अफिस दिन इन्कार गरियो । एक ठाउँमा त अग्रिम रकम लिइसकेपछि मुस्लिम भन्ने थाहा पाएर रकम फिर्ता गरियो । बल्ल–बल्ल एक ठाउँमा अफिस पाइयो । त्यो अफिसको तल्लो फ्ल्याटमा एउटा मुस्लिम परिवार बस्थ्यो । त्यो अफिसमा काम गर्ने मुस्लिमहरू तथा तलको परिवार मिलेर एउटा कोठालाई नमाज पढ्ने कोठा बनाए । समूहमा नमाज पढ्दा मुस्लिमहरूमा आजान दिने चलन हुन्छ, जसमा कुनै एकजना व्यक्तिले केही श्लोक उच्चारण गर्छन् । कुनै पनि माइक अथवा लाउडस्पिकरको प्रयोग नगरी एकजना मानिसले आजान दिने प्रयास गर्दा टोलबाट एकजना व्यक्तिले उनीहरूको झ्यालको सिसा फुटाइदिने धम्की दियो । जबकि त्यो अफिसकै छेउको घरमा बिहान र बेलुकी दिनहुँ दुई घन्टा एउटा अर्को समुदायका व्यक्तिहरूले लाउडस्पिकरमा भजन बजाएर प्रार्थना गर्थे । त्यो घरको पछाडि रहेको स्कुलमा लाउडस्पिकर लगाएर गीत–संगीतको कार्यक्रम लगभग दिनहुँ हुने गथ्र्यो । तर, उनीहरूले बजाएकोभन्दा १० गुणा कम आवाजमा जम्माजम्मी दुई मिनेट पनि आजान गर्न दिइएन । यस्ता विभेद अनगिन्ती छन् । 

 

 

 

यी सबै प्रतिनिधिमूलक घटनाहरूले नेपालको समाजभित्र गहिरिएर बसेको असमानता, असहिष्णुता, विभेद र यातनालाई प्रतिबिम्बित गर्छन् । नेपालको इतिहासलाई पल्टाएर हेर्ने हो भने विभेदलाई कानुनी मान्यता दिएर संस्थागत गरेको उदाहरण पाइन्छ । नेपाली समाजले धेरै प्रगति गरिएको भनिए पनि त्यो विभेदबाट नेपाली समाज अहिले पनि मुक्त हुन सकेको छैन । बरु गहिरिएर हेर्दा स्वतन्त्रता हरण भएका ठाउँहरू कति देखिन्छन् कति । अहिलेसम्म नेपाली समाजमा मानिसको अनुहारको बनोट, थर, धर्म, रङ, उसको बोलीको आधारमा अलग–अलग व्यवहार गरिन्छ । उसको विचारको कदर गर्नेभन्दा जात, धर्म, रंगको आधारमा उसलाई सम्मान गर्ने कि अपमान गर्ने तय हुन्छ । 

 

छुवाछुत तथा जात–व्यवस्थाको औचित्यलाई प्रमाणित गर्न चाहने व्यक्तिहरूले स्पष्टीकरण दिँदै भन्ने गरेका छन्, ‘पहिलेको समयमा अस्वस्थ तथा फोहोर वातावरणमा काम गर्ने व्यक्तिहरूसित छोई मान्ने चलन थियो । किनभने यसको पछाडि वैज्ञानिक कारण थियो । फोहरमैलामा काम गर्ने पेसा अँगालेका व्यक्तिहरूबाट संक्रामक रोगहरू लाग्न सक्ने सम्भावना हुन्थ्यो ।’ केही व्यक्तिहरूले त्यो पेसामा संलग्न भएको भेदभावलाई बुझे, तथा त्यो पेसालाई छाडेर अर्को पेसा अँगाल्ने प्रयास गरे तर त्यस्ता व्यक्तिहरूलाई सामाजिक बहिष्कार गर्ने तथा दण्डित गर्नेजस्ता कठोर कदमहरू चालेर उनीहरूलाई त्यही पेसा गर्न विवश पारियो । बिस्तारै ती मानिसले गर्ने पेसालाई उनको आउँदो पुस्तामाथि लादियो र यसरी जात–व्यवस्थाको निर्माण भयो । माथिका घटनाले थुप्रै प्रश्न जन्माउँछन् । 

मुस्लिमभित्र भएका विभिन्न जातजाति पहिचानका लागि मात्र छन् । इस्लामको नियमअनुसार असलपनाको आधारबाहेक अरू कुनै आधारमा मुस्लिममध्ये कोही तुच्छ तथा कोही उच्च हुन सक्दैन । कसैले जातीयताको कुरा गर्छ भने उसले इस्लामविरुद्ध कुरा गरेको मानिन्छ ।

एउटा दलितले सुनको गहना बनाउँछ । तर, त्यही दलितले केही कुरा छोएमा उसले बनाएको सुनको गहनाबाट सुनपानी छर्केर पवित्र पारिन्छ । यो चमत्कार कसरी हुन्छ ? ल मानौँ, कुनै तथाकथित दलितको पूर्वजले फोहोरमैला छुन्थे । त्यसैले उनीबाट रोग सर्ने सम्भावना थियो । तर, आजको पुस्ताले त्यो काम गर्दैन । फेरि पनि स्थायी तवरमा ऊ कसरी अछुत भयो ? उसको पूर्वजले छोएको फोहोर आनुवंशिक रूपमा उसभित्र कसरी हस्तान्तरण हुन्छ र ? यावत् प्रश्नहरूको के वैज्ञानिक स्पष्टीकरण छ ?

 

वास्तविकता हेर्ने हो भने जात–व्यवस्था तथा छुवाछुत वैज्ञानिकभन्दा पनि आर्थिक सामाजिक कारकहरूको उपज हो । प्राचीनकालदेखि नै समाजमा दुई किसिमका वर्ग रहँदै आएका छन् । एउटा वर्ग कथित भद्र, सभ्रान्त तथा शासकहरूको तथा अर्को वर्ग गरिब शासितहरूको । जात–व्यवस्थाका संस्थापक ती व्यक्तिहरू थिए, जसले केही काम आफैँ गर्दैनथे । त्यसका लागि उनीहरूलाई यही गरिब शासित वर्गको आवश्यकता पथ्र्याे । यदि यो शासित वर्गले शासकले अह्राएको काम नगरे शासितहरूले बनाएको व्यवस्था ध्वस्त हुन्थ्यो । त्यसैले उनीहरूले गरिब शासित वर्ग तथा उनका आउँदा पुस्ताहरूलाई समेत त्यही पेसामा बलपूर्वक सीमित गरे । अहिलेसम्म केही पेसाहरू उपल्लो जात भनाउँदाहरूका लागि सीमित गरिएका छन् । दलित तथा अन्य पिछडिएका समुदायहरूलाई ती पेसाहरूमा प्रवेश गर्न दिइँदैन । जाति, धर्म, संस्कृति तथा अन्य विभिन्न बहनामा प्रतिबन्धहरू खडा गरेर अमुक समुदायलाई आर्थिक रूपमा पछाडि पारिन्छ र स्वतः अमुक समुदाय गरिबीको चक्रमा फसेर पुस्तौँसम्म अरू सबै कुराहरूमा पछाडि पर्दै जान्छ । यो संकीर्ण तथा स्वार्थी मानसिकताको पराकाष्ठा हो, जहाँ केही मानिसहरूको स्वार्थपूर्तिका लागि एउटा ठूलो समुदायलाई नारकीय जीवन जिउन बाध्य पारिन्छ । दिनहुँ उनीहरूको आत्मसम्मानलाई छिया–छिया पारिन्छ । दिनहुँ उनीहरूले अपमानजनक व्यवहारको सामना गर्नुपर्ने हुन्छ । हीनताबोध, डर तथा त्रासको वातावारणमा बाँच्नुपर्ने हुन्छ ।

 

आश्चर्यको कुरा के छ भने प्रताडित समुदायका व्यक्तिहरूले पनि पीडकहरूको नक्कल गर्दै आफ्नो समुदायभित्र तथा अर्को पीडित समुदायमाथि विभेद गर्छन् । एकपटक मेरो एकजना दलित साथीले आफ्नो प्रशंसा गर्दै उसको आफ्नो जात दलित समुदायको बाहुन हो भन्ने कुरा गर्‍यो । तर, सायद उसलाई भान भएन, उसको त्यो कथनले उसले त्यही व्यवस्थाको अनुकरण गरिरहेको देखियो, जुन व्यवस्थाबाट ऊ स्वयं प्रताडित छ । 

 

मुस्लिमभित्र भएका विभिन्न जातजाति पहिचानका लागि मात्र छन् । इस्लामको नियमअनुसार असलपनाको आधारबाहेक अरू कुनै आधारमा मुस्लिममध्ये कोही तुच्छ तथा कोही उच्च हुन सक्दैन । कसैले जातीयताको कुरा गर्छ भने उसले इस्लामविरुद्ध कुरा गरेको मानिन्छ । फेरि पनि नेपाललगायत भारतीय उपमहाद्वीपमा पाइने केही मुस्लिमहरूले जात–व्यवस्थालाई नक्कल गर्दै बडो गर्वका साथ आफूलाई अरूभन्दा कुलीन प्रमाणित गर्ने प्रयास गरेको पाइन्छ । स्वयं विभेद भोगेका जनजातिका केही समूहले पनि यही कुरीतिलाई नक्कल गरेको हेर्न सकिन्छ । त्यसरी नै तराईमा पाइने मधेसी मूलका विभिन्न समूहहरूले मधेसीहरूको पहिचान हुनुपर्ने, उनीहरूको आत्मसम्मानको कदर हुनुपर्ने तथा उनीहरूमाथि हुँदै आएको विभेदको अन्त्य हुनुपर्ने माग राख्दै विभिन्न संघर्षहरू गर्दै आएका छन् । फेरि पनि मधेसभित्र रहेका विभिन्न समूहहरूले एकाअर्कामाथि कहिले जात त कहिले धर्मको आधारमा विभेद गर्छन् । आखिर मानिसहरूले यो सरल नियम किन बुझ्दैनन् कि अरूमाथि त्यो व्यवहार नगर्नु, जुन व्यवहार आफूसित अरूले गर्दा मन पर्दैन । 

 

नेपालभित्र भएका समुदायहरूको मानसिकता हेर्ने हो भने नेपाल विभेद नै विभेदले भरिएको छ । यहाँ एउटा समुदायले अर्को समुदायलाई अपमानजनक उपनामबाट बोलाउँछ । उसमाथि विभेद र अपमानजनक व्यवहार गरिन्छ । अरूलाई तुच्छ प्रमाणित गरेर आफूलाई श्रेष्ठ प्रमाणित गर्ने प्रयास गरिन्छ । एकअर्काको अस्तित्वलाई स्वीकार गर्दैन । यहाँ व्यक्ति–व्यक्तिबीच अविश्वास तथा विभेदका खाडलहरू छन् । जबसम्म यी खाडल पुर्दैनौँ, जबसम्म विभेदलाई हामी सम्पूर्ण नेपालीहरूले मिलेर समाजबाट उन्मूलन गर्न सक्दैनौँ । जबसम्म विभेदलाई मलजल हुने सबै प्रकारका कार्यहरूलाई निषेध गर्दैनाैँ, जबसम्म एकअर्काको आत्मसम्मानको रक्षा गर्नु हामी सबैले आफ्नो संयुक्त दायित्व ठान्दैनौँ । जबसम्म एकअर्कालाई सम्मान गर्दै सबैको अस्तित्वलाई मनैबाट स्विकार्दैनौँ, तबसम्म नेपाल वास्तविक रूपले नेपालमा बस्ने सम्पूर्ण नेपालीहरूको साझा फूलबारी बन्नै सक्दैन । यो देश केही व्यक्तिहरूका लागि फूलबारी हुन्छ, अरूका लागि केबल काँडाघारी मात्र भइरहन्छ ।