• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रस्तावित नयाँ राजधानी
डा. मुस्तफा मेन्सवी
२०७८ असार २६ शनिबार ११:३३:००
अनुवाद

इजिप्टले मरुभूमिमा किन बनाउँदै छ नयाँ राजधानी ?

२०७८ असार २६ शनिबार ११:३३:००
डा. मुस्तफा मेन्सवी

 

इजिप्टका तानाशाह अब्देल फताह अल–सिसीको शासनलाई वैधानिकता दिन अर्बौं डलर खर्चेर निर्जन मरुभूमिमा नयाँ सहर बसालिँदै छ

 

डा. मुस्तफा मेन्सवी

इजिप्टले आफ्नो राजधानी कायरोबाट निर्जन मरुभूमिमा सार्न लागेको छ । यसका लागि वर्तमान राजधानी कायरोबाट ४५ किमि पूर्व सिंगापुरजत्रै सहर बनिरहेको छ । नयाँ राजधानी निर्माणमा ४० अर्ब डलर खर्च हुने अनुमान छ । आखिर इजिप्ट सरकारले यस्तो खर्चिलो परियोजना किन सुरु गर्‍यो त ?

 

कायरोमा पुग्ने जोकोही त्यहाँको भिडभाड र अस्तव्यस्त यातायातबारे परिचित हुन्छन् । कायरोको केन्द्रस्थित तहरिर स्क्वायर वरपर रहेका मन्त्रालय र दूतावासहरूले गर्दा सहरको आवतजावत नै प्रभावित हुने गर्छ । ती भवन तथा तिनमा बस्ने पदाधिकारीको सुरक्षाको लागि धेरै मार्ग बन्द गर्नुपर्ने हुँदा सहरको यातायातमा अवरोध पुग्ने गर्छ । भविष्यमा यो सहरको जनसंख्या थप बढ्ने प्रक्षेपण गरिएको छ । हाल २.२ करोड जनसंख्याको बसोवास रहेको सहरमा सन् २०५० सम्म जनसंख्या दोब्बर हुनेछ । सहरको घुइँचो कम गर्न नयाँ प्रशासनिक राजधानी आवश्यक रहेको तर्कमा यसैकारण विश्वास गर्न सजिलो छ । 

 

नयाँ सहरमा देशको राष्ट्रपति भवन, संसद् भवन, ३० मन्त्रालय, सरकारी एजेन्सी र विदेशी नियोगहरू हुनेछन् । सहरको निर्माण पूरा हुँदा सो सहरमा ६५ लाख मानिस बसोवास गर्ने अपेक्षा पनि छ । यसको अर्थ नयाँ सहरमा सरकारी भवनहरू मात्र होइन, इजिप्टमा अत्यावश्यक बन्दै गएको आवासलाई पनि सघाउनेछ । नयाँ राजधानीको केन्द्रमा ‘हरित नदी’युक्त पार्क हुनेछ । न्युयोर्कको चर्चित सेन्ट्रल पार्कभन्दा दुई गुण ठूलो हुने यो पार्कमा नदी र हरियाली हुनेछ । यस हिसाबमा यो सहर इजिप्टलाई सफा र हरियो बनाउने अभियानको हिस्साको रूपमा प्रचार पनि गरिएको छ । 

 

सहर निर्माण सम्पन्न भइसकेपछि तिनमा कसले बस्न पाउनेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, सो क्षेत्रका दुई बेडरुमयुक्त एउटा अपार्टमेन्टको मूल्य ५० हजार डलर तोकिएको छ । प्रतिव्यक्ति आय तीन हजार डलर मात्र भएको मुलुकका अधिकांश जनताका लागि यो मूल्य निकै महँगो हो ।

 

परियोजना सञ्चालक कम्पनी ‘एड्मिनिस्ट्रेटिभ क्यापिटल फर अर्बन डेभलपमेन्ट’को ५१ प्रतिशत स्वामित्व इजिप्टको सेनासँग छ । बाँकी ४९ प्रतिशत मात्र देशको आवास मन्त्रालयसँग छ । सेनाले परियोजनाबाट विशाल वित्तीय फाइदा पाउनेछ । भविष्यमा नयाँ राजधानी तयार भएपछि त्यहाँको घरजग्गा बिक्रीको जिम्मेवारी सेनाको सबैभन्दा ठूलो हिस्सा भएको ‘एडमिनिस्ट्रेटिभ फर अर्बन डेभलेपमेन्ट’सँग नै रहेको छ । साथै कायरोका पछि खाली हुने मन्त्रालय, दूतावास तथा सरकारी एजेन्सीको भवनको सञ्चालन तथा बिक्री अधिकार पनि सोही कम्पनीलाई दिइएको छ । तीमध्ये केही भवन कायरोको सबैभन्दा महत्वपूर्ण स्थानमा भएकाले निकै महँगोमा बिक्री हुनेछन् । यस अर्थमा नयाँ राजधानीको निर्माण सम्पन्न भएपछि सेनाले ठूलो वित्तीय फाइदा गर्नेछ । सेनाको वित्तमाथि सरकारले प्रश्न गर्न नसक्ने भएकाले अधिकांश मुनाफामाथि नागरिकको निगरानी हुनेछैन । 

 

सहर निर्माणजस्तो ठूलो परियोजना आफैँमा ठूलो आर्थिक अवसर हो । कुनै सहर बनाउन लगानीका अतिरिक्त ठूलो मात्रामा सिमेन्ट, बिजुलीका सरसमान, सुरक्षा संयन्त्र र सबैभन्दा महत्वपूर्ण श्रमिक आवश्यक हुन्छ । यस परियोजनाले इजिप्टमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्नेछ र निर्माण क्षेत्रजस्तो प्रमुख उद्योगलाई सबल बनाउन सक्छ । एकातर्फ यो परियोजनाले देशको प्रमुख उद्योग र संघर्षरत व्यवसायलाई सहयोग गर्नेछ भने अर्कोतर्फ परियोजनामार्फत सेनाले इजिप्टको अर्थतन्त्रमा थप प्रभाव विस्तार गर्ने अबसर पाउनेछ ।

 

सहर निर्माण सम्पन्न भइसकेपछि तिनमा कसले बस्न पाउनेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन । तर, सो क्षेत्रका दुई बेडरुमयुक्त एउटा अपार्टमेन्टको मूल्य ५० हजार डलर तोकिएको छ । प्रतिव्यक्ति आय तीन हजार डलर मात्र भएको मुलुकका अधिकांश जनताका लागि यो मूल्य निकै महँगो हो । नयाँ प्रशासनिक राजधानी धनीहरूको लागि मात्र खुल्ने र कायरोको गरिब तथा अभावग्रस्त बासिन्दाहरूको आवासको समस्या सम्बोधन नहुने सम्भावना देखिएको छ । यसैले आलोचकहरूले अहिले नयाँ राजधानीमा ठुल्ठूला भवन निर्माणमा खर्च भइरहेको रकम कायरोका विपन्न हिस्सामा बसोवास गर्नेहरूको जीवनस्तर सुधार गर्न प्रयोग गर्नुपथ्र्यो भन्दै छन् । यस आलोचनाको जवाफमा इजिप्ट सरकारले नयाँ राजधानीमा विपन्नहरूका लागि सामाजिक आवासहरू पनि बनाइने बताएको छ । तर, ती आवास कहिले बन्छन् र ती घरबारविहीनहरूलाई कहिलेसम्म वितरण गरिनेछ भन्ने कुनै विस्तृत विवरण दिइएको छैन । 

 

वर्तमान राजधानी (कायरो सहर) । (तस्बिरः एजेन्सी)

 

सन् २०११ जनवरीमा इजिप्टमा भएको आन्दोलनको एक प्रमुख माग ‘सामाजिक न्याय’ थियो । होस्नी मुबारकको शासनको अन्तिम दशकमा देखिएको आर्थिक वृद्धिले धनाढ्यको धन मात्र बढोत्तरी भएको थियो । तर, देशको अधिकांशले त्यसको लाभांश पाउन सकेनन् । अहिलेको नयाँ सहर बसाउने परियोजनामार्फत अब्देल फताह अल–सिसीले मुबारककै गल्ती दोहोर्‍याउँदै छन् । इजिप्टको नयाँ प्रशासनिक राधानीले आमसर्वसाधारण नागरिकको जीवन सुधारमा उल्लेख्य भूमिका नखेल्ला तर यसले राष्ट्रपति अल–सिसीलाई महत्वपूर्ण सहयोग पुर्‍याउनेछ । 

 

नयाँ परियोजना अल–सिसी र इजिप्टका शक्तिशाली व्यवसायीबीच सम्बन्ध जोड्ने सेतु हुन सक्छ । मुबारकको शासनमा निजी क्षेत्रको उल्लेख्य आर्थिक र राजनीतिक शक्ति थियो । तर, अल–सिसीको उदयपछि तिनको स्थान सेनाले लियो र व्यवसायको भूमिका सहायक बन्यो । इजिप्टजस्तो नवउदारवादी अर्थतन्त्रमा अधिनायकवादी सरकारलाई स्थिरता कायम गर्नका लागि निजी क्षेत्रको समर्थन आवश्यक पर्छ । र, एक नयाँ राजधानी निर्माणजस्तो विशाल निर्माण प्रयासले व्यवसायीहरूलाई आकर्षित गर्छ भन्ने अल–सिसीलाई थाहा छ । नयाँ प्रशासनिक राजधानीको निर्माणबाट सबैभन्दा बढी फाइदा सेनालाई हुनेछ ।

 

उदाहरणका लागि इजिप्टको सबैभन्दा ठूलो निर्माण कम्पनी तलात मुस्तफा ग्रुपले नयाँ प्रशासनिक सहरभित्रको स्मार्ट सिटी ‘नुर सिटी’को जग हालेको छ । यस्ता परियोजनाले निजी क्षेत्र र सरकारको घनिष्टता बढाउँछ । नयाँ राजधानीले अल–सिसीलाई आवश्यक रहेको वैधानिकतासमेत दिनेछ । पहिलेदेखि इजिप्टका शासकले आफ्नो वैधानिकता निर्माण गर्न चर्चित सहर, भवन, सडक र पुललाई आफ्नो नाम दिँदै आएका छन् । इजिप्टका पूर्वनेता अनवर सदाताको नाममा एक सहर छ भने दर्जनौँ पुल र सडकको नाम पूर्वराष्ट्रपति होस्नी मुबारकको नाम जोडिएको छ । नयाँ प्रशासनिक राजनीतिको नाममा अल–सिसीको नाम त हुनेछैन तथापि यो उनले सुरु गराएको योजना हो । इतिहासमा सधैँ उनको नाम जोडिनेछ । अल–सिसीले नयाँ बन्दै गएको सहरमा गर्ने प्रत्येक भ्रमणलाई सरकारी मिडियाले महत्वका साथ प्रस्तुत गर्ने गर्छ । त्यहाँको प्रमुख्य मस्जिदको नाम ‘अल–फताह अल–अलिम’ दिइएको छ । यो दुवै नाम ईश्वरका नाम भए पनि ख्याल गर्नुपर्ने कुरा के छ भने अल–सिसीको नामको सुरुमा अब्देल–फताहा छ । 

 

नयाँ सहरको निर्माणपछि सत्ताविरुद्ध हुने प्रतिरोध कठिन हुनेछ । यसले अल–सिसीको सत्तामाथिको पकड थप बलियो हुनेछ । सन् २०११ मा तत्कालीन शक्तिशाली राष्ट्रपति होस्नी मुबारकले तहरिर स्क्वायरमाथिको नियन्त्रण गुमाएपछि उनको सत्तामाथिको नियन्त्रणसमेत कमजोर भएको थियो । जनवरी २८, २०११ मा प्रदर्शनकारीले चोकलाई नियन्त्रणमा लिए । उनीहरूले प्रतीकात्मक रूपमा अलग मन्त्रिपरिषद् र सुरक्षा संयन्त्र निर्माण गरे । चोकनजिक रहेको सत्तारुढ दल नेसनल डेमोक्रेटिक पार्टीको मुख्यालय पनि आक्रोशित प्रदर्शनकारीको सिकार बन्यो । त्यसपछि मुबारकको वैधानिकतामाथि नै प्रश्न उठ्यो । 

 

मुबारकको अवसानपछि जुन २०१२ मा सम्पन्न हुन लागेको पहिलो निर्वाचनअघि मोर्सीले तहरिर स्क्वायरमा भेला भएका समर्थकअघि ज्याकेट खोलेर बुलेटप्रुफ ज्याकेट नलगाएको देखाएका थिए । यसबाट उनले आफू जनतासँग सुरक्षित महसुस गर्ने, नडराउने संकेत गरेका थिए । तहरिर स्क्वायरको मन जिते पनि उनले इजिप्टकै भने मन जित्न सकेनन् । तर, केही महिनापछि मोर्सीका विरोधीहरू पनि सोही चोकमा पुगेर उनलाई सत्ताबाट हटाउन माग गर्न थाले । मोर्सी ‘कु’मार्फत सत्ताच्युत भए । र मोर्सीविरुद्धको सैन्य ‘कु’का नायक तत्कालीन कमान्डर–इन–चिफ अब्देल फताह अल–सिसीले तहरिर चोकको महत्वलाई ध्यान दिएको हुनुपर्छ । त्यसैले सत्तामा आएपछि उनले त्यस चोकलाई शक्तिविहीन बनाउने काम सुरु गरे । 

 

पहिले उनले तहरिर चोकमा प्राचीन इजिप्सेली शासकहरूको सामग्रीहरू राखे र तिनको सुरक्षाका लागि भन्दै निजी गार्ड राखियो । तिनका कारण तहरिर चोकमा भेला भएर प्रदर्शन गर्न कठिन भएको छ । अहिले आएर तहरिर चोकको महत्वलाई थप कमजोर बनाउन अल–सिसीले चोक वरपरका प्रशासनिक केन्द्रलाई नै सार्न लागेका छन् । सन् २०११ को क्रान्तिको सबैभन्दा महत्वपूर्ण दिन फेब्रुअरी ११ मा तहरिर स्क्वारमा भेला भएका प्रदर्शनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढेका थिए । यसले मुबारकलाई राजीनामा दिन दबाब प¥यो । इजिप्टका नयाँ प्रशासनिक राजधानीमा व्यापक अत्याधुनिक विद्युतीय निगरानी प्रणाली हुने भएकाले प्रदर्शनकारीहरू सजिलै पक्राउ पर्नेछन् । नयाँ प्रशासनिक राजधानी सरकार र सेनालाई थप शक्तिशाली बनाउन, निजी क्षेत्रलाई सरकारसँग नजिक ल्याउन र अल–सिसीको शासनलाई वैधता दिन बनाइँदै छ ।

 

(डा.मुस्तफा मेन्सवी युनिभर्सिटी अफ ल्यान्कास्टरका पोस्ट डक्टरल अनुसन्धाता हुन् । उनको लेख ‘अलजजिरा’बाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)