• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
आर मानन्धर
२०७८ असार २६ शनिबार १२:०८:००
सम्झना

जब नाघ्यो असी, गाढा भयो मसी

२०७८ असार २६ शनिबार १२:०८:००
आर मानन्धर

राम्रा नराम्रा सबै समसामयिक घटनाहरूले कविहृदयलाई छोइरहेको हुन्छ । देशको भूमि अतिक्रमित भएकोमा होस् वा सरकारले जनताको घर अतिक्रमण गरेका वेला होस्, त्यस्ता घटनाहरूले उनलाई छुन्छ र तत्काल कविता कोरिहाल्छन् ।

 

आर मानन्धर

८७ वर्ष टेकेका कवि दुर्गालाल श्रेष्ठ अनेक रोगले ग्रसित छन् । एक–डेढ दशकै भइसक्यो उनलाई हात काँप्ने रोग (राइटर्स क्र्याम्प)ले सताउन थालेको । आज आफैँले लेखेको अक्षर नचिन्दा उनको मन कुँडिन्छ । वर्षौँ भयो कानले पनि साथ दिन छाडेको । उनी कानमा यन्त्र जडान गरेर बस्छन्, तर त्यसले पनि राम्ररी सघाइरहेको महसुस हुँदैन । प्रोस्टेट ग्लान्डको वृद्धिले छिनछिनमा पिसाब लाग्ने भएको छ । अनि अनिद्रा (इन्सोम्निया)ले गर्दा राति निदाउन गाह्रो हुन्छ । उनले नियमित डाक्टर जाँच गराई औषधि सेवन पनि गरिरहेका छन् । तर, पनि स्वास्थ्य खासै सुध्रेको महसुस गर्दैनन् । साथमा उनकी श्रीमती छिन्, जो आफैँले पनि ढाडको शल्यक्रिया गरिसकेकी छिन् । उनी पनि सहाराविना हिँडडुल गर्न सक्दैनन् ।

 

यस्ता यावत् समस्या हुँदाहुँदै पनि उनी लेखन र सामाजिक कार्यमा भने अझै सक्रिय हुन छाडेका छैनन् । हो, उमेर र रोगका कारण शारीरिक शिथिलता आएको छ । तर, घरमै धेरै बसिरहने भएकाले पनि होला लेखनमा अभैm बढी तीव्रता आएको छ । उनी भन्छन्, ‘राति निद्रा लाग्दैन । निद्रा नलाग्दा मनमा कविता खेल्न थाल्छ ।’ मनमा उब्जिएको कवितालाई कागजमा उतार्न उनलाई निकै कष्ट हुन्छ । कागजमा नउतारेसम्म उनलाई चैन पनि हुँदैन । त्यसैले बडो यत्नले मनमा उम्रेको कवितालाई कागजमा सार्छन् । यसरी कष्टका साथ कापीमा उतारेका उनका अप्रकाशित कविताहरू सयौँ भइसके । उनी भन्छन्, ‘झन्डै ४० वटा संग्रहलाई पुग्ने कविता जम्मा भइसके ।’

 

उनका कविताहरू लामालामा छैनन् । स्वास्थ्यकै कारण रचनाहरू झन्झन् छोट्टिँदै गएका छन् । वि.सं. २०६७ सालमा प्रकाशित ‘सँघारैनेर’ कवितासंग्रहमा तीन चरणका कविता छन् भने त्यसपछिको ‘दुबो’ (२०७०) कवितासंग्रहमा दुई चरणका कविता छन् । त्यसपछिको कवितासंग्रह ‘कावा’ (अप्रकाशित) मा त कविताको आकार झनै छोटो भएको छ । तर आकारमा छोटो भए पनि झनै सटिक र गम्भीर कविता छन् । उनको अप्रकाशित कवितासंग्रह ‘कावा’मा एउटा कविता यस्तो छ : 

 

कावा
शून्य अहो !
कत्रो ठूलो
घोप्टिएको तावा !

 

एक्लो चरो
त्यसैभित्र
खाँदै छु म कावा !

 

सोही संग्रहको अर्को कविताले उनी आफैँबारे बोल्छ–
कस्तो कलम
जिन्दगी यो
कस्तो कलम
जब नाघ्यो अस्सी,

 

लेख्दै गर्दा
भर्खरै पो
गाढा भयो मसी !

 

समाजप्रतिको जिम्मेवारी

शारीरिक रूपले दैनिक बाहिर हिँडडुल गर्न गाह्रो भए पनि उनले सभा–गोष्ठीहरूमा भाग लिन छोडेका छैनन् । नेपालभाषाका धेरैजसो गोष्ठीहरूमा उनी एक किसिमले शोभा बनेका हुन्छन् । त्यसैले थुप्रै गोष्ठीहरूमा उनलाई अतिथिका रूपमा निम्तो आउँछ । स्वास्थ्यले सक्दै नसक्ने अवस्थाबाहेक सबैजसो गोष्ठीमा उनी उपस्थित पनि हुन्छन् । नेपालभाषाको भनेपछि जस्तै सानो गोष्ठीमा पनि उनले भ्याएकै हुन्छन् । मातृभाषाप्रति उनको यो हार्दिकता नै हो कि उनले गोष्ठीलाई सानो र ठूलोको दृष्टिले हेरेका छैनन् ।

 

ऋतुपर्व आदि आउँदा तिनैसित सम्बन्धित गीत/कविता लेख्ने उनको पुरानो बानी अझै पनि छँदै छ । अनि देश–विदेशमा भइरहने मानवतासित जोडिएका कुनै पनि घटनाविशेषमा जागरुक र संवेदित भई कवितामार्फत नै प्रतिक्रिया जनाउने बानी पनि यथावतै छ । यसैले गर्दा नै उनको कविताको संख्या दिनरात बढ्दो छ । 

 

राम्रा–नराम्रा सबै समसामयिक घटनाहरूले कविहृदयलाई छोइरहेको हुन्छ । देशको भूमि अतिक्रमित भएकोमा होस् वा सरकारले जनताको घर अतिक्रमण गरेको वेला होस्, त्यस्ता घटनाहरूले उनलाई छुन्छ र तत्काल कविता कोरिहाल्छन् । न्याय र जनताको पक्षमा साथ दिनुपर्ने आफ्नो जिम्मेवारी ठान्छन् । रुकुमको सोतीमा भएको जातीय नरसंहारको घटना होस् वा अमेरिकी प्रहरीबाट काला जातिको मानिसको हत्या भएको घटना होस्, उनी संवेदनाले उद्वेलित भइहाल्छन् । रुकुम घटनाको समाचार सुन्दै उनले यस्तो कविता लेखे :

 

आयो रे गणतन्त्र !
तन्त्र अहो ! यो गुडियाजस्तै
दमले चल्ने यन्त्र !

 

आज रुकुम त्यै युद्ध थलोको
जुन हो मूलाधार
उल्टै पो झन् त्यहीँ झाँगियो
ऐँजेरोको झार !

 

सामाजिक मुद्दा बोकेका जुलुस, जनसभामा पनि उनी शरीरले धानेसम्म उपस्थित नै हुन्छन् । त्यस्तैमा एउटा घटना हो, २०७६ सालमा नेपाल सरकारले ल्याएको गुठी विधेयकको व्यापक जनविरोध । त्यसको विरोधमा माइतीघर मण्डलामा भएको विशाल जनप्रदर्शनलाई सम्बोधन गर्न उनी पुगेका थिए । काठमाडौंमा सरकारले सडक फराकिलो बनाउने नाउँमा जनताको घर भत्काउने कार्यको विरोधमा पनि पीडितहरूसित ऐक्यबद्धता जनाउन पुगेका थिए । अहिले कोरोनाकालमा बाहिर गएर पीडित जनताको माझ आफ्नो सहभागिता जनाउन नसकिएको अवस्थामा पनि उनले आफ्नो सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न छुटाएका छैनन् । ऐतिहासिक थलो खोकनामा सरकारले गर्न खोजेको स्थानीयको जग्गा अधिग्रहणको विषयमा पनि उनले कविता लेखेका छन् । 

 

नेताहरूप्रति वितृष्णा

 

उनी जीवनको उत्तरार्धमा पुगेका छन् । नेताहरू सम्झिएर एकदमै निराश हुन्छन्, उनी । भरोसा गरेका नेताहरू सत्तामा पुगे । तर, तिनकै व्यवहारले उनलाई झन्झन् निराश पार्दै लग्यो । यस्तो निराशा र धोकाप्रति विक्षुब्धताको प्रतिध्वनि उनका पछिल्ला थुप्रै कविताहरूमा देख्न पाइन्छ ।  बन्दाबन्दीको समयमा निम्न अवस्थाका मानिसहरू भोकभोकै मरेका घटना सुनेर पनि उनले कविता लेखेका छन् । 

 

राजु सदाको उत्सुकता 
यो गणतान्त्रिक सरकार अहो !
कोरोनाभन्दा पनि क्रुर !
हुन्छ यहाँ है नौलो क्रान्ति
अब अविलम्बै हुन्छ जरुर

 

यस्तो लाग्छ अचेल मलाई
शून्यले पनि पायो ज्यान !
हैन हैन त्यो अरू क्यै हैन
राजु सदाकै हो त्यो प्राण !