• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
निर्मल अर्याल
२०७८ श्रावण २ शनिबार १२:३०:००
साहित्य

साहित्यकार जन्माउने साहित्यकार

२०७८ श्रावण २ शनिबार १२:३०:००
निर्मल अर्याल

ठूलो साधनापछि अन्ततः उनकै अथक प्रयासका कारण नेपाली बृहत् शब्दकोशमा करिब २५ सय नयाँ नेपाली मौलिक शब्द थपिए । उनको सम्पादनमा नेपाली बृहत् शब्दकोश अझ ‘बृहत्तर’ भयो ।

 

केवल ‘साहित्यकार’ हुनु र साहित्यकार भएर साहित्यकार जन्माउनु नितान्त फरक पाटा हुन् । साहित्यकार हुनुभन्दा ‘साहित्यकार’ जन्माउनु ठूलो चुनौती हो । यस्तो चुनौती विरलैले पार लगाउन सक्छन् । नेपालमा पनि धेरै साहित्यकार छन्, तर कुशल साहित्यकार भएर सोहीअनुसारका शिष्य जन्माएका भने अत्यन्त न्यून छन् । 

नेपाली साहित्य, भाषा, कला तथा संगीतमा सात दशकभन्दा बढी अनवरत योगदान दिएका मूर्धन्य स्रष्टा कृष्णप्रसाद पराजुली एक त्यस्ता दुर्लभ कालजयी पात्र हुन् जसले धेरै साहित्यकार जन्माए । एकातिर उनले विश्वविद्यालयमा ‘नम्बरी’ अध्यापक भएर नयाँ सर्जकहरू जन्माए, उनका कक्षामा विद्यार्थीहरूको चाप यति हुन्थ्यो कि बरन्डा र झ्यालबाट उनलाई सुन्नेको संख्या अनगिन्ती हुन्थ्यो । अर्कोतिर भाषा–साहित्यसम्बन्धी उनका बेजोडका कृतिहरूको स्वाध्यायन गरी साहित्यकार हुनेहरूको जमात पनि उल्लेख्य नै छ । उनका कृतिहरू पढ्दै जन्मिएका ‘एकलव्य’हरूका कारण नै नेपाली साहित्य आज धेरै हदसम्म पोषित भएको छ । त्यसैले उनी सर्वप्रिय छन्, नानीका कवि, कृष्ण गुरु, पराजुली सर आदि इत्यादिका नामले । 

 

पराजुलीको जन्म विसं १९९२ साल असार २४ गते काभ्रेको भमरकोटमा भएको थियो । पण्डित रहेका पिता पशुपतिप्रसाद पराजुलीको निगरानीमा पिर्कामा धुलो छरी सिन्काले लेख्न थालेर अक्षरारम्भ गरेका पराजुलीले कालान्तरमा ठेलीकाठेली कृतिहरू लेखे जसले नेपाली वाङ्मयको साखलाई युगयुगान्तरसम्म ‘उचो’ बनाइ रहनेछन् । बाल्यकालमा बाँसको कलमले नेपाली कागजमा लेख्न पाउँदा ठूलो ‘धीत’ मरे पनि ‘बालसाहित्य’ पढ्न नपाउँदा भने उनी सधैँ पिरोलिन्थे, सायद त्यही ‘कुण्ठा’ले होला पछि उनी बालसाहित्यका यस्ता ‘धरोहर’ भए कि जसलाई बिर्सने हो भने यो विधा नै अपूरो हुन जान्छ । १३ वर्षको कलिलो उमेरमै कविता लेखी नेपाली साहित्यमा पदार्पण गरेका पराजुलीलाई ‘जयतु संस्कृतम्’ तथा ‘सात साल’को क्रान्तिले मुलुकका लागि केही गर्नुपर्छ भन्ने ‘चेत’ दियो । त्यसपछि मातृभाषालाई समृद्ध बनाएर नेपाली साहित्यलाई ‘भरिलो’ बनाउने अभियानमा उनी तल्लीन हुन थाले । गहकिला पुस्तकहरूको अभाव भएको त्यस समयमा उनको ‘तृष्णा’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ले मेट्यो । पछि महाकवि स्वयं उपस्थित कार्यक्रममा उनले कविता सुनाउन थाले । उनको कविताबाट प्रभावित भएर महाकविले दिएको ‘धाप’लाई ‘आशीर्वाद’ माने । महाकविका ‘पुतली’, ‘सुनको बिहान’लगायतका कृतिहरूलाई बालसाहित्यको अमूल्य ग्रन्थ मान्ने पराजुली आफैँ पनि बालसाहित्यका पुस्तक लेख्न हौसिए ।

 

२०१५ सालबाट उनले लेख्न थालेको ‘रमाइला नानी’ प्रकाशकको ढिलाइका कारण २०२२ मा मात्र ‘किताबी’ रूपमा आयो । पराजुलीका अनुसार ‘रमाइला नानी’ लाखौँ प्रति बिक्री भइसकेको छ । ५० वटाभन्दा बढी कृति लेखेका पराजुलीका ‘राम्रो रचना मीठो नेपाली’, ‘पन्ध्र तारा’ र ‘नेपाली साहित्य’को बिक्रीले पनि ‘कीर्तिमान’ नै कायम गरेको छ । भाषा शिल्पीहरूले ‘महाभारत’ नै मानेका छन् राम्रो रचना मीठो नेपालीलाई, अर्थात् ‘नेपाली भाषा तथा वाङ्मयका सबै पक्षहरू यो कृतिमा छन् र यो कृतिमा नसमेटिएका बुँदाहरू नेपाली भाषामा नै छैनन् । त्यसैले राष्ट्रकवि माधवप्रसाद घिमिरेले यो कृतिलाई ‘पूर्णकलशमाथि एक थुँगा फूल’ भनी टिप्पणी गरेका छन् । ‘पन्ध्र तारा’ र ‘नेपाली साहित्य’मा नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्टि योगदान गरेका भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण समसहित पन्ध्र्र साहित्यकारको स्मरण गर्दै नेपाली साहित्यको इतिहासबारे पनि विस्तृतमा उल्लेख छ । नेपालभित्र मात्र होइन, लाखौँ प्रति बिक्री भइसकेका यी कृतिहरूको माग दार्जिलिङ, सिक्किममा आज पनि उत्तिकै छ । यी महत्वपूर्ण कृतिहरूको ‘चोरी’ संस्करण प्रकाशित गरी साहित्यमा समेत खुलेआम ‘बेइमानी’ गर्ने बौद्धिक ‘अपराधी’हरूलाई पराजुली आफैँ केही गर्न सक्ने ल्याकत नभएका ‘स्वाँठ’को संज्ञा दिन्छन् । ‘भाषाको माया’, ‘सम्झनाको क्षितिजमा’, ‘नालापानी’, ‘नेपाली उखान र गाउँखाने कथा’, ‘जूनतारा’, ‘पूर्वी पाइला पश्चिम देशमा’लगायतका उनका थुप्रै चर्चित कृतिले नेपाली साहित्यको ‘श्रीवृद्धि’मा विशेष योगदान दिएका छन् । 

 

 

लोकभाषा तथा लोकसाहित्यबीच ‘अन्योन्याश्रित’ सम्बन्ध हुन्छ भन्ने मान्यता राख्ने पराजुली मौलिक नेपाली शब्दहरूको खोजीका लागि केवल नेपालका कुना–कन्दरा होइन नेपाली भाषीहरूको बाक्लो बस्ती रहेको दार्जिलिङ, सिक्किम, बनारस तथा देहरादुन पनि पुगे । कोठाभित्र बसेर मात्र सिर्जना तथा अनुसन्धान गर्न सकिँदैन भन्नेमा विश्वस्त पराजुली लोकगीतका स्रोत र बान्की खोज्दै देशका कुना–काप्चातिर भौँतारिए । लोकगीतको गहन अध्ययन विश्लेषण गरेर उनले छ सय पृष्ठको ‘नेपाली लोकगीतको आलोक’ ग्रन्थ नै सिर्जना गरे, जुन नेपाली विषयको स्नातकोत्तर पाठ्यक्रममा रहेको छ । गाउँले दाजुभाइ तथा दिदीबहिनीहरू अशिक्षित हुँदैमा भाषामा कमजोर हुँदैनन् भन्ने उनले पुष्टि गरिदिए । उनी भन्थे, ‘भेरी सुसाएझैँ, कर्णाली लहरिएझैँ, कोसी तरंगिएझैँ र गण्डकी छछल्किएझैँ हाम्रा मौलिक शब्दहरू हाम्रै परिवेशमा छरिएका छन्, तिनलाई सँगाल्न सक्नुपर्छ ।’ ठूलो साधनापछि अन्तत : उनकै अथक प्रयासका कारण नेपाली बृहत् शब्दकोशमा करिब २५ सय नयाँ नेपाली मौलिक शब्द थपिए । उनको सम्पादनमा नेपाली बृहत् शब्दकोश अझ ‘बृहत्तर’ भयो, सर्वसाधारणको पहुँचमा धेरै शब्द पुगे । समयसापेक्ष रूपमा शब्दनिर्माण पनि गर्दै जानुपर्छ भन्ने तर्कलाई उनले सधैँ आत्मसात् गरे । बृहत् शब्दकोशबाहेक ‘नेरावि’, ‘सुनकोसी’, ‘गोधुली’, ‘पालुवा’, कवितालगायत सयौँ पत्रिका तथा पुस्तकको सम्पादन गरी उनले आफूलाई उच्चकोटीको सम्पादकका रूपमा स्थापित गरेका छन् । 

 

प्रभावशाली गीतकारको छाप पनि छाडेका छन्, पराजुलीले । ‘तिमीलाई देखेर आँखा त्यही छोडी हिँडे म..’ (गायक उदितनारायण, संगीत नातिकाजी), ‘कल्ले मलाई बैरागी गरायो....’(गायक ध्रुव केसी, संगीत नातिकाजी)लगायतका उनका गीतहरू सधैँ चर्चाको शिखरमा छन् । गीतकार चाँदनी शाहसमेत ‘कल्ले मलाई वैरागी गरायो’ गीतबाट मोहित थिइन् । प्रेमध्वज प्रधान, तारादेवी, योगेश वैद्य, पन्नाकाजी, कुन्ती मोक्तानलगायतले पनि उनका गीतहरू गाएका छन् । नारायणगोपालले पनि पराजुलीका गीतहरू ‘निकै मीठा’ भन्दै तारिफ गरी गीत मागेका थिए । तर, नारायणगोपाल प्रकाशित भइसकेका पराजुलीका गीतमा होइन, नयाँ गीतमा स्वर भर्न चाहन्थे । ‘सयौँवटा गीतको पुस्तक ‘आँखाभरि सपना मुटुभरि गीत’बाट नगाएर स्वरसम्राट किन नयाँ गीत चाहन्छन् ?’ पराजुलीलाई अचम्म लाग्थ्यो । रूपरेखाका सम्पादक उत्तम कुँवरका भाइ किशोर कुँवरमार्फत पराजुलीले आफ्नो गीत नारायणगोपालले गाउन लागेको थाहा पाएर निकै खुसी भए, तर खुसी टिकेन । नारायणगोपाल उठ्नै नसक्ने गरी थला परे ।

 

पराजुलीका कालजयी शब्दहरू स्वरस्रमाटको स्वरमा कहिल्यै जम्न पाएन । त्यसो त ‘आँखाभरि सपना मुटुभरि गीत’का केही गीत चर्चित भारतीय गायिका लतामंगेशकरले पनि मन पराएकी थिइन् । पारिश्रमिक दिनुनपर्ने, तर पराजुलीका दुईवटा गीत गाएबापत भारत सरकारलाई दिनुपर्ने कर भने बुझाइदिनु पर्ने सर्त लतामंगेशकरले राखिन् । करबापतको रकम तिर्ने हैसियत पनि उनको थिएन । ‘सम्झनाका क्षितिजबाट’मा पराजुलीले लेखेका छन्, ‘म जुन अवस्थामा थिएँ, जसरी पाइला टेक्तै थिएँ र जसरी ओत लाग्ने छटपटीमा रन्थनिएर खटिरहेको थिएँ मेरा निम्ति त्यो रुपैयाँ जुटाउनु ठूलो सकस भयो । म आफ्ना हातगोडा र मनमथिंगल लगाएर राष्ट्रका निम्ति केही गर्न चाहन्थेँ, किन्तु मेरा निम्ति भारतीय गायिकाको मृदुकण्ठबाट गाइने गीतको स्वर हृदयमा मात्रै घन्किरह्यो, बाहिर आउने उपाय गर्न सकिनँ र मन मारेर बसेँ ।’ अब्बल गीतकारका रूपमा पराजुलीको प्रशंसा गर्दै साहित्यकार तारानाथ शर्माले लेखेका छन्, ‘भाषाको शुद्धता, अनुप्रासको सुन्दरता र लयको कवितात्मक संयोजनमा पराजुलीका गीतहरूलाई अरू कुनै नेपाली गीतकारका रचनाले भेट्न सकेका छैनन्’ (नेपाली साहित्यको इतिहास : २०२७) ।

 

कविता र गीतबीच पारस्परिक सम्बन्ध भएकाले होला पराजुली कवितामा पनि श्रेष्ठ छन् । रत्नशमशेर थापा, कालीप्रसाद रिजाललगायतझैँ पराजुली पनि सशक्त, गीतकार तथा बेजोड कवि हुन् । कुशल भाषा शिल्पीका रूपमा प्रख्यात पराजुलीका गीत तथा कवितामा प्रेम–प्रणय, प्रकृतिप्रतिको मोह, देशभक्ति, राष्ट्रियतासहित मानवीय संवेदनाका विविध रूप प्रतिबिम्बित भएका छन् । जीवनदर्शनलाई व्याख्या गर्ने यथार्थवादी चिन्तकका रूपमा पराजुली लेख्छन् :

 

चारैतिर अँध्यारो देख्ने हो, एकपल्ट बिहानको लाली हेर
तुषारो मात्र देख्ने आँखाले एकपल्ट धर्तीको हरियाली हेर 
जन्मनुलाई पनि अर्थविनाको सराप ठान्ने तिमी 
कसरी बाँच्नुपर्छ– एक पल्ट गएर बगैंचाको माली हेर । 
(सय थुँगा फूल)

 

राष्ट्रप्रेमले व्याकुल हुँदा उनले कोरेका हरफहरूले देशभक्तिको भाव प्रस्टसँग झल्काउँछ । 

 

धुलो भए पनि सिन्दूर भएर उठ्नेछ यो माटो 
काँढा भए पनि पन्छाई फूल भएर ढाकिनेछ यो बाटो 
सुतेका नसम्झ पहाड, वन र खोलाहरूलाई 
यो गुँज्नेछ तीखा स्वर लिएर मधुर सिर्जनाको 
(सय थुँगा फूल)

मधुमेह तथा मिर्गाैलासम्बन्धी रोगका कारण पराजुलीको ७९ वर्षको उमेरमा २०७० साल चैत २० गते राजधानीमा निधन भयो । जीवनपर्यन्त अक्षरसँग रमाएका पराजुलीले आफ्नो महाकाव्य ‘मनमाया’को प्रकाशित स्वरूप भने देख्न पाएनन् । उनको निधनपछि लोर्कापण गरिएको प्रेम र माटोप्रति माया झल्केको यो महाकाव्यसहित उनका अन्य कालजयी कृतिहरूका कारण नेपाली भाषालाई माया गर्नेको मन–मस्तिष्कबाट उनी कहिल्यै विस्मृत हुनेछैनन् ।