• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पूर्ण इन्फादा
२०७८ श्रावण ९ शनिबार ११:३६:००
साहित्य

सहरको भोक र प्रश्न

२०७८ श्रावण ९ शनिबार ११:३६:००
पूर्ण इन्फादा

सपनाहरूको पोको काखी च्याप्दै बतासिएर 
अवसरहरूलाई हतारहतार चुम्बन गर्न
चुली चढ्ने महत्वाकांक्षा बोकेर
गाउँबाट सहर पसेको कटमेरो मस्तिष्क
हेर्दाहेर्दै हरायो सपनाकै कुहिरोभित्र
तर यो सहरले कहिल्यै आफ्नो ठानेन

 

बुद्धिविलासको उराठलाग्दो संगीत बजाउँदै
गाउँसँग गाउँकै सम्बन्धविच्छेद गराएर
ठाडो घाँटी लगाएर घटघटी पसिना पिउने यो सहरले
निमुखाहरूलाई किन कहिल्यै आफ्नो ठानेन ? 

 

कलकारखानाको सिरानी लगाएर
उद्योगपति र पुँजीपति बस्ने यो सहर
शंख बजाएर धर्मशास्त्रका मन्त्र जप्दै
मन्दिरको पटांगिनीमा ईश्वर खोज्ने
धर्मगुरु बस्ने यो सहर
समाज अर्थव्यवस्थाको योजना बनाउने
अर्थशास्त्री बस्ने यो सहर
वर्ग समन्वयका फाइदा र बेफाइदा हेर्ने 
राजनीतिज्ञ बस्ने यो सहर
समाजशास्त्रमा नश्लीय चेतना खोज्ने
समाजशास्त्री बस्ने यो सहर
गाउँको कहर देखेर धुरुधुरु रोइरहने
डाक्टर, इन्जिनियर, अधिकारकर्मी, बुद्धिजीवीहरू बस्ने यो सहर
गाउँविना सास फेर्न नसक्ने यो सहर
गाउँलाई किन सधैँसधैँ तिरस्कार गर्छ ?

 

लामो समयको प्रतीक्षापश्चात्
भक्कानिँदै खिन्न र स्तब्ध भएर
अचानक बिरानो सम्झियो गाउँले 
गाउँ फर्कौँ पाइला मेटिइसक्यो
सहर बस्ने बहाना हराइसक्यो
भीरको चिन्डो उँभो न उँधो
न गाउँ आफ्नो रह्यो ?
न सहर आफ्नो भयो ?
सहरको निस्तो भोकको रहर बोकेर 
पेटको व्यग्र भोकको आगो निभाउन 
अनिश्चित गन्तव्य र अकल्पनीय दुःखलाई बिर्सिएर
पालम र ख्यालीको मस्तिष्क व्यापार गरेर 
सुख बेसाउन सहर पसेको
दुःखको पर्दाबाहेक केही उठाउन दिएन
हरेक क्षण ऐँठन गरिरहने बिचौलिया समयले ।

 

[email protected]

०००