• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
सपना सञ्जीवनी
२०७८ श्रावण ९ शनिबार ११:५६:००
सम्झना

मिथिला कलामा समयको अनुहार

२०७८ श्रावण ९ शनिबार ११:५६:००
सपना सञ्जीवनी

 

संस्कारको दूरबिनले महिलाको जीवन निगरानी गरिरहनेहरूको पेन्टिङ बनाएँ

 

सपना सञ्जीवनी

हाम्रो समाजमा पितृसत्ताको जरा निकै बलियो छ । रूपमा केही परिवर्तन भएजस्तो देखिए पनि परिवर्तन हुन धेरै नै बाँकी छ ।

 

समाजमा पितृसत्ताले स्थापित गरेका विभिन्न जातीय, लैंगिक, यौनिक, धार्मिक र अन्य धेरै ‘स्टिरियोटाइप’हरूको प्रतिरोध गर्न साथी पल्लवी पायल र म मिलेर ‘पायलसपना पेन्ट्स’ तीन वर्षअघि सुरु गरेका थियौँ ।

 

हामीले कलामा धार्मिक र ग्रामीण जीवनको अभिव्यक्ति कोर्न थाल्यौँ । परिवर्तन हुँदै गएको सिंगो समाजसँगै मधेस र मधेसका पात्रहरू कोर्न मिथिला कलाको माध्यम नै रोज्यौँ । तिनै पेन्टिङहरूमध्ये केही यहाँ छन् : 

 

अभिव्यक्ति स्वतन्त्रता

 

पितृसत्तात्मक समाजले जहिले पनि लिंग र यौनिकताको आधारमा मात्र पुरुष र महिला तोकेर एउटा निश्चित मापदण्डहरूलाई अनुसरण गर्न आदेश दिन्छ । यदि कसैले त्यो मापदण्ड मानेन भने कि त उसलाई कम पुरुष वा कम महिला घोषित गरिन्छ ।

 

 

पुरुष भनेको पनि मान्छे नै हो र उसका पनि मानवीय समवेदना हुन्छन् भनेर यो समाजले मान्दैन । पुरुष भनेपछि जहिले पनि शक्तिशाली र मर्दाना हुनुपर्ने दायरा तोकिदिएको छ । त्यसैले मैले यो पेन्टिङमा एकजना पुरुषले नाकमा फुली र कानमा टपले आफूलाई सिंगारेको बनाएँ । उसको मुहारमा शक्तिको उन्मादभन्दा पनि कोमलताको भाव राख्ने प्रयास गरेँ । पृष्ठभूमिमा पनि मैले पारिजातको फूलको बिम्ब प्रयोग गरँे । जसको अर्थ अति संवेदनशील, सुन्दर र कोमल हो । 

 

माया यो पेन्टिङ ‘प्राइड मन्थ

 

 

२०२०’ आउन लाग्दा बनाएको हो । क्वेयर व्यक्तिहरूको बारेमा अहिले पनि धेरै अध्ययन गर्न र बुझ्न बाँकी नै छ । रङ, यौनिकता, लैंगिक पहिचानलाई पर राखेर आफ्नो पार्टनर रोज्न पाउने र माया गर्ने अधिकार हुनुपर्छ भन्ने सोच राखेर बनाएको पेन्टिङ हो यो । विविध लैंगिक र यौनिक पहिचान भएका व्यक्तिहरूको बारेमा मेरो अध्ययन नपुगेकाले मैले शीर्षकमा ‘माया’ मात्रै राखेँ र शब्दमा केही व्याख्या गरिनँ । दुईजना सारी लगाएका व्यक्तिहरू माया अभिव्यक्त गरिरहेको चित्र मिथिला कलाको माध्यमबाट कोरेँ र रङहरू भरेँ ।

 

मोरल पोलिसिंग

 

 

हाम्रो समाजले व्यक्तिहरूको चरित्र मापन गर्ने विभिन्न मापदण्डहरू छुट्याइदिएको छ । विशेष गरी समाजलाई नैतिक बनाउने नाममा महिलाहरूलाई निगरानीमा राख्ने र विभिन्न परिबन्धमा राख्ने प्रवृत्ति अहिले पनि कायम छ । समाजका त्यस्ता स्वघोषित मोरल पुलिसहरू धेरै नै छन्, जसले संस्कार र नैतिकता जोगाउने ठेक्का लिएर बसेका छन् । जस्तै– कुनै घरको महिला कति बजे घर फर्किन्छे वा कस्तो खालका लुगा लगाउँछे, त्यसकै आधारमा उसको चरित्र मापन गर्ने र उसलाई असंस्कारी घोषणा गर्ने काम यिनै ठेकेदारहरूले गर्छन् । यही मोरल पुलिसिंगको प्रतिरोध गर्नका लागि मैले यो व्यंग्यात्मक पेन्टिङ बनाएको हँु । पितृसत्तात्मक समाजको एकजना पात्र जसले संस्कारको दूरबिन लगाएर महिलाको जीवनमा निगरानी राख्दै उसको चरित्र मापन गर्छ, त्यसलाई मैले मिथिला चित्रकलाको ढाँचामा विभिन्न डायलग बक्स राखेर पेन्टिङ बनाएँ ।

 

अटम ब्लुज

 

यो चित्र पनि मैले लकडाउनका वेला बनाएको सेल्फ पोट्रेट हो । एउटा अनपेक्षित महामारीले हाम्रो जीवन नै उथलपुथल बनायो । त्यति वेला धेरै नै डर लागेको थियो । किनभने त्यो कोरोनाको पहिलो लहर थियो । मानिसमा निराशा हाबी थियो । त्यसवेलाको मनस्थिति चित्रण गर्न शरद ऋतुमा रुखबाट झर्ने पातहरूको रङको बिम्ब प्रयोग गरेर यो पेन्टिङ बनाएँ । यो चित्रलाई ‘अटम ब्लुज’ शीर्षक दिएँ । 

 

एन्जाइटी

 

 

मानसिक स्वास्थ्यबारे हाम्रो समाजमा त्यति कुरा हुँदैन । अलि–अलि सहरी क्षेत्रमा यसबारे कुरा सुरु हुन थाले पनि खुला रूपमा हामी कुरा गर्न अझै हिचकिचाउँछौँ । मानसिक स्वास्थ्यबारे केही कुरा गर्न खोज्यो कि पागल भनेर घोषित गरिन्छ । हाम्रो समाजमा मान्छेहरूले, ‘त्यस्तो केही पनि हुँदैन, त्यो सब बहाना मात्र हो’ र मानसिक स्वास्थ्यलाई यस्तै टिप्पणीहरू गरेर खारेज गर्ने प्रवृत्ति हाबी छ । म कुनै पनि कुराको बारेमा अति नै सोच्छु । कुनै एउटा कुरा वा घटनाबाट सुरु हुँदै मेरो सोच चिन्तामा परिवर्तन हुँदै मेरो मानसिक शान्ति खलबल्याउने स्थितिसम्म पुग्छ । झन् पोहोरको लकडाउनमा कोठाभित्रै विनाकुनै जागिर थुनिनुपर्दा मनमा अनेकथरि कुराहरू खेल्थे र मलाई एक किसिमको बेचैनी नै हुन्थ्यो । मेरो त्यो मानसिक स्थिति अभिव्यक्त गर्न मैले अलिकति फाइन आर्ट्स र मैथिली चित्रकलाको ढाँचा प्रयोग गरेर यो पेन्टिङ बनाएको हुँ ।