• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विधाता केसी, चित्रकार
२०७६ बैशाख ७ शनिबार ०९:१०:००
रिपाेर्ट

छाता राजाको : प्रश्न विधाताको

एउटा चित्रको रचनागर्भ

२०७६ बैशाख ७ शनिबार ०९:१०:००

आँखाले देख्न नसक्ने कुरालाई मनमार्फत देख्न सक्ने कौशलको कोसेली दिन्छ मानिसलाई अमूर्त कलाले । मूर्तभन्दा पर देख्न र महसुस गर्न सक्षम बनाउँछ कलाकारलाई अमूर्त कलाको अभ्यासले । यसले कलाकारलाई सीमित परिधिबाट अनन्त आकाशतर्फ डोर्‍याउँछ र मनलाई मुक्त बनाउँछ । अनि, यो गोरेटो हो अज्ञात क्षेत्र प्रवेश र अन्वेषणको । 

विधाता केसीको प्रस्तुत कृति उनका अन्य जीवन्त कृतिमध्ये एक हो जसमा अनपेक्षित सम्भावनाहरूले भरिएको कलाको अनन्त आकाशको झल्को पाइन्छ । र, जसको शीर्षक हो– ‘फर द लभ अफ माई एक्सपेक्टेसन’ । 

दुई गोला क्यानभास छन् र तिनमा छ विविध रङको भेला । सानो एउटै रङमा सीमित भएको छ भने ठूलोमा चाहिँ पाँचवटा रङ प्रयोग भएका छन् । बौद्ध अभ्यासमा पाँचवटा रङ प्रयोगको अर्थ छ– नीलोले ध्यानलाई जनाउँछ, रातोले जोस–उत्साह जनाउँछ, सेतोले भरोसा, कालोले विद्वत्ता र पहेँलोले स्मृति जनाउँछ । विधाताको रङ प्रयोग सम्भवतः यसैबाट प्रेरित छ । 

काठमाडौं उपत्यकामा मनाइने जात्राहरूमा गुड्ने रथको झल्को पनि पाइन्छ उनको यस कृतिमा । र, ठूलो क्यानभासको घेरोभित्र बीचमा भएको धर्मचक्रले पनि केही भन्न खोज्छ । छाताजस्तो पनि देखिन्छ कृति । छातालाई एक हिसाबले प्रोटेक्सनको पर्याय पनि मान्न सकिन्छ । 

ठूलो छाता, विधाताको कल्पनामा बनेको छाता । सानोचाहिँ वास्तविकतामा प्रयोग हुने छाता । उघ्रिएको छाता, माथिबाट हेरिएको छाता । पेन्टिङको रचनागर्भ खोज्दै जाँदा विधाता पुग्छिन्–  सन् २०१४, मुस्ताङमा । 

उनी त्यतिखेर कलाकारिताकै सन्दर्भमा घुम्न गएकी थिइन् मुस्ताङ । अवसर थियो त्यहाँ बर्सेनि मनाइने तिजी पर्व । केही साथीहरू पनि सँगै गएका थिए । मुलुकमा राजसंस्था हटेको ८ वर्ष भइसके पनि मुस्ताङमा राजा प्रथा रहेको विधाताले सुनेकी थिइन् । 

राजा– शब्द सुन्नासाथ एक किसिमको उत्सुकता । राजा मानेरै राजधानीमा बाल्यकाल गुजारेकी विधाताले राजाको प्रभाव नजिकबाट महसुस गरेकी थिइन् । राजा गद्दीच्युत हुँदा त्यसको साक्षी मात्र होइनन् उनी, राजतन्त्रविरुद्धको जनआन्दोलनमा सहभागी पनि थिइन् । मुस्ताङका राजाचाहिँ कस्ता छन्, उत्सुकता थियो उनमा । तिजी पर्व– राजा देख्न पाउने एउटा अवसर थियो । 

मान्छेको भिड । विधाता एक तलामाथि उभिएर तिजीसँग साक्षात्कार गर्दै थिइन् । राजा आए । सेतो लुगामा सजिएका । आँखामा कालो चस्मा थियो । निकै वृद्ध देखिन्थे राजा । विधाताका निम्ति यो अपेक्षित ‘इमेज’ थिएन । त्यतिखेर मुसुक्क हाँसेको सम्झिँदै भन्छिन्, ‘अनौठो लागेकोचाहिँ उहाँले कालो चस्मा लगाएको देखेर । सेतो स्क्रिनमा कालो चस्माले मलाई उहाँको इमेजतिर कन्सन्ट्रेट गरायो ।’ उनका अनुसार, दिउँसो १२–१ बजेतिरको टन्टलापुर घाम थियो । राजा दरबारबाट हिँडेरै आए । राजालाई घामले नपोलोस् भन्ने सोचेर एकजना सहयोगीले छाता ओढाइदिए । छाता गुलाफी थियो, सानो आकारको । विधाता सम्झिन्छिन्, ‘म छक्क पर्दै एकटक हेरिरहेँ, कहिल्यै अनुभव नगरेका इमेजहरू वरिपरि थिए ।’ 

बौद्ध अभ्यासमा पाँचवटा रङ प्रयोगको अर्थ छ– नीलोले ध्यानलाई जनाउँछ, रातोले जोस–उत्साह जनाउँछ, सेतोले भरोसा, कालोले विद्वता र पहेँलोले स्मृति जनाउँछ । विधाताको रङ प्रयोग सम्भवतः यसैबाट प्रेरित छ ।

काठमाडौंमा देखेको या लोककथाहरू पढेर निर्माण भएको राजाको छाताको छवि अर्कै थियो विधाताको मस्तिष्कमा । उनी भन्छिन्, ‘राजाको छाता आममानिसले ओढ्नेजस्तो सामान्य हुँदैन । राजाको छाता कपडा या अन्य महँगो कुराले बनेको हुन्छ । धार्मिक संस्कारसँग गाँसिएको हुन्छ । तर, त्यहाँ राजालाई सामान्य पिंक छाता ओढाइयो, सामान्य मान्छेसरह ।’ मुसुक्क हाँस्नुको कारण पनि खोल्छिन् उनी, ‘संयोगवश मैले पनि पिंक कलरकै ज्याकेट लगाएकी थिएँ ।’ 

राजाको छाता देखेपछि विधाताको दिमागमा एउटा सवाल बडो स्पष्टसँग जन्मियो– हाम्रो समाजमा कस्तो खालको परिवर्तन भइरहेछ ? जुन ठाउँमा जे कुरा हुनुपर्ने हो, त्यो देखिनै छाड्यो । पहिलेका जीवन्त र अर्थपूर्ण सामग्रीहरूलाई नयाँ बजारु आत्माहीन सामानहरूले विस्थापित गरिसके । विधाता भन्छिन्, ‘मेरा लागि यो सवाल एकदमै महŒवपूर्ण थियो र यसले मलाई खुब छोयो ।’ 

सवालको सामल लिएर विधाता काठमाडौं फिरिन् । काठमाडौं आएपछि मुस्ताङको अनुहार विधाताको क्यानभासमा उत्रिन थाले । पेन्टिङको सेरिज नै तयार भयो । एकल प्रदर्शनी पनि गरिन् । त्यसैमध्ये एक हो– फर द लभ अफ माई एक्सपेक्टेसन । तर, यो केही दिनभित्र पूरा भएको होइन । यस पेन्टिङको कच्चा पदार्थ विधाताको दिमागमा लामो समयम्म रहिरह्यो– लगभग चार वर्ष । भन्छिन्, ‘२०१८ मा आइपुगेर मात्र त्यो घटना र सोचले मूर्त रूप पाएको हो ।’ 
०००
आत्माहीन नयाँ कुराहरूले सौन्दर्य भरिभराउ नेपालका अधिकांश भूभागलाई कुरूप बनाइसकेको छ । हरेक ठाउँको आ–आफ्नै रैथाने वास्तुकला छन् । तिनलाई जोगाउन जसलाई चासो हुनुपर्ने हो वा जसले बचेखुचेको सौन्दर्यलाई जोगाउने प्रयत्न गर्न सक्छन् ती कसैलाई पनि वास्ता छैन । त्यसैले त प्लास्टिक, सिसा र कंक्रिटको थुप्रोमा बद्लिएका छन् नयाँ निर्माणहरू । विधातालाई लाग्छ, ‘बडो दिक्कलाग्दो यथार्थ हो यो । हृदयविदारक तरिकाले परिवर्तन हुँदै गएको छ ।’ फरक समुदायको फरक पहिचान छ विविध कुरामा । र, त्यो व्यक्ति वा समुदायको मात्र पहिचान होइन, समाज र देशको पनि पहिचान हो भन्ने विधातालाई लाग्छ । उनी प्रश्न गर्छिन्, ‘मुस्ताङलाई चिनाउने ल्यान्डस्केप मात्र त होइन नि ?’ 

मुस्ताङ अहिले मालामाल छ । आर्थिक हिसाबमा सबल बन्दै गएको छ । साथै, सामाजिक परिवर्तन पनि द्रुत गतिमा भइरहेको छ । तर, त्यहाँको परिचय बोकेका धरोहर, दैनिकी र मानकहरू भत्कँदै गएका छन् । विधाता सोच्छिन्, ‘जसलाई राजा भनिन्छ, उसकै संस्कारमा गुलाफी छाता ओढ्नेजस्तो परिवर्तन आइसक्यो भने त्यहाँको बाँकी समाजको अवस्था कस्तो होला ? त्यो समाजबाट तिनको संस्कृति र संस्कार हटाइदिने हो भने तिनको परिचयको स्वरूप कस्तो होला ?’ 

बजारले हाम्रो परिचयलाई कसरी सिध्याइरहेको छ भन्ने कुरा देखाउन मैले सानो छातालाई त्यसरी माथि राखेकी हुँ

मुस्ताङे घरका भित्ताहरूले नै उनीहरूको संस्कृति कति सुन्दर छ भन्ने कुरा मजाले देखाउँछ । तर, अहिले ढुंगा र माटोले बनेका कलात्मक र बलिया घरहरू भत्किरहेका छन् । मुस्ताङमा सिमेन्ट पुगेको छ, रड पुगेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड पुगेको छ । घिउ चियाको साटो हरेक बिसौनीमा कफीका साइनबोर्ड टाँगिएका छन् । विधाता भन्छिन्, ‘राजाको छाताबाट निस्केको यिनै सवालहरूको बिम्बात्मक प्रतिनिधि हो यो पेन्टिङ ।’ 

राजाको छाताले विधाताको दिमागमा प्रश्न उब्जाएको थियो– हामीले संस्कृतिलाई बिर्सेर जाने हो कि समयानुकूल बनाएर लैजाने ? ‘यही सवाललाई मैले पेन्टिङमार्फत सोध्न खोजेकी हुँ,’ विधाता सुनाउँछिन्, ‘र, मैले अनुभूत गरेको कुरालाई देखाउन खोजेकी हुँ ।’
०००
राजाको छाता देखेको चार वर्षसम्म सवालले घरीघरी लखेटिरह्यो विधातालाई । मुस्ताङबारे रिसर्च गरेका मान्छेहरूसँग भेटिन्, कुराकानी गरिन् । बौद्ध दर्शनबारे बुझिन् । अन्य आवश्यक तयारी गर्दै गइन् । भन्न मन लागेको कुरा एकैपटक शतप्रतिशत निकाल्न सम्भव हुँदैन, सजिलो हुँदैन । यो कुरा उनले बुझेकी थिइन्, त्यसैले पेन्टिङ तयार हुनुअघिको चार वर्ष विषयले विधातालाई उकुसमुकुस बनाइरहँदा एउटा कुरा भने हमेसा याद राखिन्– यसमा मैले मेरो कुरा थोपर्ने होइन । भन्छिन्, ‘लामो प्रक्रियापछि मात्र मैले यसलाई मूर्तता दिएकी हुँ ।’ 

पेन्टिङमा सानो छाता ठूलो छाताको माथि छ । सानो छाता बिस्तारै ठूलो छाताको बीचतिर सर्दै छ भन्ने कुरा प्रतीकात्मक तरिकाले भन्न खोजिएको छ । ठूलो छाताले बोकेको अर्थलाई सानोले छोप्दै गएको संकेत दिन खोजिएको छ । उनी भन्छिन्, ‘बजारले हाम्रो परिचयलाई कसरी सिध्याइरहेको छ भन्ने कुरा देखाउनलाई मैले सानो छातालाई त्यसरी माथि राखेकी हुँ ।’

विधातालाई मुस्ताङमा मात्र होइन, मुलुकभरि भ्यालु किन सिफ्ट भइरहेको छ भन्ने कुराको चिन्ता छ । हुन सक्छ, सबै थोक बर्र्बाद भइसकेपछि पनि घैँटोमा घाम लाग्नेछैन । उनी भन्छिन्, ‘हामी सरकारले सोच्ने लेभलबाट सोच्न सक्दैनौँ होला, तर ऊ पनि हाम्रो दृष्टिले हेर्न र बुझ्न सक्दैन । सरकार एक ठाउँमा, हामी अर्को ठाउँमा । जबसम्म दुवै नजर एक हुँदैनन् तबसम्म सबैले गर्व गर्न सकिने परिणाम आउने पनि छैन ।’