• वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
पवन बराइली
२०७८ भदौ ५ शनिबार ०७:२३:००
फिल्म

विकल्पको खोजीमा बन्द सिनेमा हल

चलचित्रकर्मीहरू भन्छन्, ‘महामारीपछि सिनेमा हल फेरि ब्युँझिनेछ’

२०७८ भदौ ५ शनिबार ०७:२३:००
पवन बराइली

कुनै समय थियो, फिल्म हेर्नका लागि सिनेमा हलमा दर्शकको खचाखच भिड हुन्थ्यो । सिनेमा हलमै दर्शक र फिल्ममेकर अन्तक्र्रिया गर्थे । डायलग र फाइटसँगै बजेका ताली, सिटी र हुटिङले फिल्महल गुन्जिन्थ्यो । तर, अहिले महामारीका कारण सिनेमा हल बन्द हुन थालेका छन् । नेपाल चलचित्र संघका अनुसार देशभरका १९५ सिनेमा हलमध्ये २२ वटा कोरोना जोखिमकै बीचमा सदाका लागि बन्द भएका छन् । 


‘काठमाडौं उपत्यकाभित्रका सिनेमा हलहरू पार्टी प्यालेस, स्कुल, सपिङ मलमा परिणत भएका छन् । उपत्यकाबाहिरका सिनेमा हल मिनी मार्केट र गोदाममा परिणत भएका छन् । सिनेमा हलहरू यसरी भकाभक बन्द भइरहँदा सिनेकर्मीहरू निकै चिन्तित छन् ।


कोरोना महामारीका कारण करोडौँको नोक्सानी व्यहोर्नु परेपछि क्युएफएक्स सिनेमा कम्पनीले काठमाडौंको हात्तीसारस्थित जय नेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमा हल सधैँका लागि बन्द गरेको छ । जय नेपाल सिनेमा हल नेपालको सबैभन्दा पुरानो हलमध्ये एक मानिन्छ । कुमारी सिनेमा घर पनि ३७ वर्ष पुरानो हो । कोरोना महामारीकै कारण लामो इतिहास बोकेका हलहरू बन्द गर्नुपरेको क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा बताउँछन् ।


‘कुमारी हल र जय नेपाल हल क्युएफएक्सले भाडामा लिएको हो । हलको खर्च व्यहोर्न नसकेपछि पुनः भाडा सम्झौता नगरिएको हो,’ उनी भन्छन्, ‘अहिले सिनेमा हल पूर्ण रूपमा बन्द छन् । नयाँ फिल्म बनेको छैन । यस्तो अवस्थामा हलमा दर्शक आउने कुरा पनि हुँदैन । घाटामै बस्नुभन्दा बन्द गर्ने विकल्प रोज्यौँ ।’


नेपाल चलचित्र निर्माता संघको तथ्यांकअनुसार अहिले करिब ७० वटा फिल्म सिनेमा हलको प्रतीक्षामा छन् । संघका अध्यक्ष आकाश अधिकारीका अनुसार फिल्म क्षेत्रमा एक अर्ब ६० करोडको लगानी फ्रिज भएको छ । यस्तो अवस्थामा चलचित्रकर्मी र सरकारबीच आपसी समन्वय आवश्यक रहेको उनी बताउँछन् । भन्छन्, ‘सरकारले हल सञ्चालक, निर्माता र प्राविधिकलाई सहुलियतमा कर्जा दिनुपर्छ । यसले सबैलाई आत्मबल प्रदान गर्छ ।’

महामारीका कारण सिनेमा हल बन्द हुन थालेका छन् । नेपाल चलचित्र संघका अनुसार देशभरका १९५ सिनेमा हलमध्ये २२ वटा कोरोना जोखिमकै बीचमा सदाका लागि बन्द भएका छन् । 


पछिल्लो समय विश्वमा ‘सिनेमा गोइङ’को परिपाटी बदलिएको छ । ‘नेटफ्लिक्स’, ‘अमेजन प्राइम’जस्ता डिजिटल प्लेटफर्महरू नेपाली दर्शकमाझ पनि लोकप्रिय हुँदै गएका छन् । यस्ता डिजिटल माध्यमका कारण हलमा गएर फिल्म हेर्ने संस्कृतिमा परिवर्तन आउन सक्ने सिनेकर्मीहरूले बताइरहेका छन् । निर्देशक नवीन सुब्बा अहिले संसारैभरि सिनेमा हेर्ने तरिका नै बदलिँदै गएको बताउँछन् । ‘समयअनुसार दर्शकको सिनेमा हेर्ने रुचि परिवर्तन हुन सक्छ,’ सुब्बा भन्छन्, ‘लामो समय घरमै बस्नुपर्ने बाध्यता छ । सिनेमा हलसम्म जान नसक्ने अवस्था आयो । त्यसैले सिनेमा हलमा जाने दर्शकको बानी पनि छुट्न सक्छ ।’ 


अहिले विश्वभर सिनेमा निर्माण, वितरण र प्रदर्शनको सबै कार्य ठप्प छ । हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसका कारण बलिउडले एक हजार तीन सय करोड भारु गुमाएको छ । ‘द हलिउड रिपोर्टर’ म्यागजिनका अनुसार हलिउडले महामारीकै कारण पाँच अर्ब अमेरिकी डलर घाटा व्यहोरेको छ । चीनका कुल ४० हजार हलमध्ये ४० प्रतिशत सदाका लागि बन्द हुने बिबिसीले उल्लेख गरेको छ । 


हलहरू बन्द भएपछि डिजिटल प्लेटफर्मकै लागि अमेरिकालगायत कतिपय देशले सिनेमा बनाउन थालेका छन् । निर्देशक सुब्बा भन्छन्, ‘अमेरिकाले डिजिटल प्लेटफर्मका लागि मेकिङ र कन्टेन्ट नै चेन्ज गर्न थालेको छ । नेपालमा प्राविधिक हिसाबले तत्कालै त्यो सम्भव हुँदैन ।’


विकसित मुलुकले हलको विकल्प खोज्दै डिजिटल प्लेटफर्मका लागि वेब सिरिज निर्माण गर्न थालेका छन् । तर, हलमै गएर सिनेमा हेरेजस्तो अनुभूति डिजिटल माध्यमले दिन नसक्ने समीक्षक अनुप सुवेदी बताउँछन् । तर, हलमै गएर सिनेमा हेर्ने चलन घट्ने उनको पनि भनाइ छ ।


तर, निर्देशक सुचित्रा श्रेष्ठको फरक मत छ । उनी हलको युग फर्किनेमा विश्वस्त छिन् । भन्छिन्, ‘हिजो टेलिभिजन आएपछि सिनेमा हल बन्द हुन्छ भनिन्थ्यो, तर बन्द भएन । तत्कालका लागि सिनेमा हलहरू बन्द भए पनि पछि बिस्तारै हलको युग फर्किन्छ ।’ दर्शकलाई ठूलो पर्दामा सिनेमा हेर्ने बानी बसिसकेको हुनाले डिजिटल प्लेटफर्मले चित्त बुझाउन नसक्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘यो महामारीपछि हल फेरि परिमार्जन भएर ब्युँझिनेछ ।’ अहिलेका लागि डिजिटल प्लेटफर्म नै उत्तम विकल्प रहेको बताउँछन् निर्देशक दीपेन्द्र के. खनाल । तर, नेपालमा भरपर्दाे डिजिटल प्लेटफर्मको विकास नभएकाले सिनेमा हल नै विकल्प रहेको उनको भनाइ छ ।