• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अशेष मल्ल काठमाडाैं
२०७६ बैशाख ७ शनिबार ०९:४९:००
साहित्य

जीवन्त इतिहास

२०७६ बैशाख ७ शनिबार ०९:४९:००
अशेष मल्ल काठमाडाैं

सिंगो जीवन साहित्य वा कलाकर्ममा समर्पण गरेर बाँच्ने कति हुन्छन् ? मृत्युपछि तिनको सम्झनामा मुलुकले के गर्छ ? के गर्नुपर्छ ? यी र यस्ता अनुत्तरित प्रश्न चाङ लागेर बसेका छन् । अग्रजहरूलाई सम्झिने अब कसैलाई फुर्सद छैन, क्रमशः इतिहासका अलिखित पानाहरूमा कैद भएर बसेका छन् । ती पानाहरू पनि बिस्तारै धमिराले चपाउने क्रममा छन् । अब आउँदा पुस्ताले देवकोटालाई बिर्सिए भने अचम्म नमाने हुन्छ । लेखनाथ, सम, रिमालहरूलाई लगभग बिर्सन थालेको पुस्ता जन्मन थालिसकेका छन् । नेपाली साहित्य लेखनीमा पनि सबैभन्दा कमजोर विधा भनेको जीवनी हो । यहाँ मैले सन्दर्भ कोट्याउनुको कारण मेरो हातमा आइपुगेको नयाँ पुस्तक, जसले मलाई यसका बारेमा केही नलेखी बस्नै दिएन । मनले मानेन । मनले भन्यो केही त लेख्नैपर्छ !

‘आँखीझ्याल’ पुस्तकको नाम । आँखीझ्याल जहाँबाट सिंगो होइन, एउटा सानो संसार देखिन्छ । एउटा सानो र सीमित परिवेश देखिन्छ । त्यही आँखीझ्यालबाट रमण घिमिरेले १३ जना विशिष्ट अग्रजका जीवनका केही पाटा, क्षण र समय हेर्ने, कोट्याउने र उधिन्ने प्रयत्न गरेका छन् । यद्यपि, यो जीवनीचाहिँ होइन । आँखीझ्यालबाट सिंगो जीवन देख्न सम्भव पनि छैन । पुस्तकका पानाहरू पल्टाउनुअघि लेखक रमण घिमिरेले जजसका बारेमा लेखेका छन्, तिनका नाम हेर्दा मलाई लाग्यो, मैले यो पुस्तक पढ्नुको अर्थ छैन ।

किनभने म लगभग सबैलाई राम्ररी चिन्छु । एक–दुईजनाबाहेक सबैसँग कुनै दिन मेरो पनि हिमचिम थियो । यी सबै मेरा अग्रज हुन् । यिनका बारेमा के नै पो नयाँ कुरा लेखिएका होलान् ! पुस्तक पढ्नुअघि मेरो सोच यस्तै थियो । मेरो यो अहं त्यतिबेला चकनाचुर भयो, जब पुस्तकका पानाहरू पल्टिँदै गए । रमणको लोभलाग्दो शैलीले यसै पनि मलाई तान्दै लग्यो नै । शैलीसँगै विषयवस्तु र कथ्यले मलाई स्तब्ध बनाउँदै लग्यो । थाहै भएन, कसरी पुस्तकका पाना पल्टिँदै गए । कसरी म भावका गहिरा नदीमा बग्दै गएँ । अनि मलाई लाग्यो– मैले चिन्न र बुझ्न बाँकी पाटाहरू धेरै रहेछन् । मैले जजसलाई चिन्छु भन्ठानेको थिएँ, तिनका कैयौँ पाटा त मलाई थाहै रहेनछ । 

अनि पढेँ मैले अम्बर गुरुङका प्रसंगदेखि सुरु भएका रमणका लेखनी राममान तृषितसम्म विश्राम लिँदासम्म लाग्छ मानौँ, अक्षर र शब्दका नदी बगिरहेछन् । यहाँ रमणको योजनाबद्ध लेखन छैन । प्रायोजित पनि होइन । सम्भवतः लेख्छु भनेर लेखिएका नै होइनन् । हरेकसँग बिताएका पल मानौँ सिनेमाका पर्दामाझैँ फ्ल्यासब्याक भएर आएजस्ता । त्यहाँ अक्षर होइन, पात्र नै उभिएर संवाद गरिरहेझैँ लाग्छन् । लेखकको तागत नै यही हो । सायद शब्दशक्ति भनेकै यही हो । जम्मा १३ जना साधकका अन्तरंग भाव, जीवनका केही पल र ती पलसँग आफ्ना उद्गारका निबन्धात्मक संकलन हो यो पुस्तक । 

अम्बर गुरुङ, ईश्वरवल्लभ, कमल दीक्षित, क्षेत्रप्रताप अधिकारी, जगदीश घिमिरे, डायमन्डशमशेर राणा, पेमाला गुरुवाचार्य, फत्तेमान, भीम विराग, भीमबहादुर थापा, माणिकरत्न, रामशरण दर्नाल, राममान तृषित– यी १३ जना साधक रमणका विषय हुन् । पेमाला भाउजू स्वयं सर्जक होइनन्, तर नारायणगोपालकी जीवन संगिनी । दुनियाँका प्रिय गायक नारायणगोपाल वास्तवमै नारायणगोपाल हुनुमा पेमालाको कति योगदान थियो ? सायद दुनियाँ बेखबर छ, बेखबर थियो । रमणले पेमाला भाउजू हुनुको अर्थ लिपिबद्ध गरिदिएका छन् । नारायणगोपाल युगयुगसम्म बाँचिरहनेछन् । तर, उनको जीवनमा पेमाला नआइदिएकी भए के हुन्थ्यो होला ? एउटा सर्जक केवल सर्जक मात्र होइन, व्यक्ति पनि हो । उसलाई पनि घर–परिवार चाहिन्छ । पारिवारिक प्रेम र व्यवस्थापन नभइदिए सर्जकको कला अघि कसरी बढ्छ ?

वास्तवमा पहिलोपटक रमण घिमिरेले पेमाला हुनुको अर्थ औँल्याइदिएका छन् । नत्र इतिहासको कुनै गर्भभित्रै लोप हुने थिइन् पेमाला । यस अर्थमा यो पुस्तक केवल निबन्धको संकलन मात्र होइन । एउटा दस्तावेज हो, डकुमेन्टेसन हो । यहाँ रमणले कसैको पनि जीवनी लेखिदिएका होइनन्, तर तिनका बारेमा अनुसन्धान गर्नेहरूका लागि स्रोतका रूपमा नलिई नहुने सामग्रीका रूपमा प्रस्तुत गरिदिएका छन् । हरेक साधकबारे लेखकको कुनै टिप्पणी छैन । न आफ्नो विचार नै थोपरिदिएका छन् । पढ्दा यस्तो लाग्छ– किताब पढिरहेको होइन, कुनै पारंगत सिनेकर्मीले बनाएको सुन्दर डकुमेन्ट्री हेरिरहेको छु पर्दामा । यो नै लेखको सबैभन्दा ठूलो ताकत हो । 

आँखीझ्याल जहाँबाट सिंगो होइन, एउटा सानो संसार देखिन्छ । एउटा सानो र सीमित परिवेश देखिन्छ । त्यही आँखीझ्यालबाट रमण घिमिरेले १३ जना विशिष्ट अग्रजका जीवनका केही पाटा, केही क्षण र केही समय हेर्ने, कोट्याउने र उधिन्ने प्रयत्न गरेका छन् ।

अर्को कुरा, प्रस्तुत पुस्तकको ठूलो विशेषता यसको संवेदनशील पक्ष हो । लगभग प्रत्येक पानामा संवेदना यसरी नजानिँदो किसिमले पोखिएका छन् थाहै हुँदैन । मानौँ, त्यहाँ अक्षर, शब्द र वाक्य होइन, आँसु बगिरहेका छन्, ऊर्जा बगिरहेका छन्, मानौँ उल्लिखित सर्जक स्वयं यतै कतै संवाद गरिरहेका छन् । ईश्वरवल्लभले उहिल्यै लेखेका थिए, ‘मेरी आमाले आत्महत्या गरेको देश’ कविता । तीसको दशकमा यो अत्यन्त चर्चित थियो । उनकी आमाले किन आत्महत्या गरिन् ? वास्तवमा त्यो दिन के भएको थियो ? यसको प्रसंग पढ्दा–पढ्दै आँसु झर्छ । क्षेत्रप्रतापकी पत्नीको मृत्यु प्रसंगदेखि जगदीश घिमिरेको अन्तिम भेटसम्मका प्रसंग छन् किताबमा । 

अनेक–अनेक प्रसंग, अनेक–अनेक प्रेरणाप्रद र ऊर्जाशील प्रसंग । साधकका वैयक्तिक बानी–व्यवहार । जीवनका उकाली–ओराली । ‘आँखीझ्याल’ भन्दाभन्दै पनि धेरै पाटा नजानिँदो किसिमले अभिव्यक्ति दिएका छन् रमणले । कैयौँ प्रसंगमा इतिहास बोलेको छ । मुलुक बोलेको छ । कमल दीक्षित र रामशरण दर्नाल, अम्बर गुरुङ, ईश्वरवल्लभ, क्षेत्रप्रताप अधिकारीहरूका प्रसंगमा केवल एक व्यक्ति जीवन मात्र नभएर तत्कालीन समाज, समय र मुलुकको चित्रसमेत उजागर भएको छ ।

समग्रमा साधकहरूको जीवनवृत्तको अनुपम इतिहास भने हुन्छ किताबलाई । लेखकले व्यक्ति–निबन्ध भने पनि यो त्यतिमै सीमित छैन । यो किताबमार्फत अनुसन्धान गर्नेहरूले यथेष्ट स्रोत सामग्री पाउँनेछन् । यस अर्थमा किताब आफैँमा अमूल्य हुन गएको छ । 

मीठो शैली अनि कलात्मक र सौन्दर्य प्रस्तुत पुस्तकको अलंकार हो । खासगरी, युवा पुस्ताले पढ्नैपर्ने एउटा सुन्दर किताब हो ‘आँखीझ्याल’ । र, हरेक स्कुल र कलेजका विद्यार्थीहरूका हात–हातमा पुग्नुपर्ने किताब हो यो ।