• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किशोर नेपाल
२०७८ भदौ ५ शनिबार ०८:३८:००
सम्झना

दुई जुनी भोगेको मान्छे

२०७८ भदौ ५ शनिबार ०८:३८:००
किशोर नेपाल

हिजो शुक्रबार, डा. देवेन्द्रराज पाण्डेको ८२औँ जन्मोत्सव थियो । दुई दिनअघि मात्र उहाँ ‘थानकोटको डाँडा काटेर’ पातले वन रिसोर्टतिर, श्रीमती पद्मा पाण्डेसँगै, मुसुमुसु हाँस्दै, रमाउँदै हुनुहुन्थ्यो । पछिल्लो कोरोनाकालमा प्रकाशित भएका डा. पाण्डेका दुई पुस्तक, ‘अर्थ–राजनीतिक विसंगति’ र ‘एक ज्यान दुई जुनी’ महत्वपूर्ण छन् । एक ज्यान दुई जुनीमा बयान गरिएका धेरै कुरा खतरनाक छन् । देशको शासन पद्धतिमा आमूल परिवर्तन नभएको भए त्यस्तो पुस्तक प्रकाशित हुनै गाह्रो थियो । राजा र राजाका भाइ छोरालाई भ्रष्टाचारमा मुछेर किताब लेख्ने ताकत कसैमा थिएन । 


यी दुवै पुस्तक उहाँको कोेरोनाकालको लहड भने होइन । अर्थ राजनीतिक विसंगतिमा उहाँका केही महत्वपूर्ण अन्तर्वार्ता र लेखहरू बटुलिइएका छन् । यसमा डा. पाण्डेले आफ्नो अध्ययन, अनुसन्धान र अनुभवका आधारमा नेपालकोे विकास प्रक्रियालाई सफल हुन नदिने रोगको उपचारका लागि प्रभावकारी प्रेस्क्रिप्सन लेख्नुभएको छ । उहाँले लेख्नुभएको त्यो प्रेस्क्रिप्सनको कति उपयोग भयो र कति भएन ? यो बेग्लै प्रश्न हो । 


देश विकासको चिन्ता गर्नेहरूले इतिहासबाट सिक्नुपर्छ । इतिहासबाट सिक्ने धेरै कुरा छन् । मेरो आशय डा. देवेन्द्रराज पाण्डेलाई इतिहासको थान्कोमा लगाएर ‘थन्क्याउने’ होइन । डा. पाण्डे त वर्तमान हो, जसको विश्लेषण अहिलेको समयमा पनि उत्तिकै जीवन्त छ । उहाँ देशलाई दशा र दुर्दशाबाट मुक्ति दिन सक्रिय हुनुहुन्छ । ‘इतिहासबाट सिक्न सकिएन भने समाजको प्राकृतिक नियमअनुसार हुनुपर्ने परिवर्तनहरू भइ नै रहन्छन्...’ कथन हो, डा.पाण्डेको । 

मेरो आशय डा. देवेन्द्रराज पाण्डेलाई इतिहासको थान्कोमा लगाएर ‘थन्क्याउने’ होइन । डा. पाण्डे त वर्तमान हो, जसको विश्लेषण अहिलेको समयमा पनि उत्तिकै जीवन्त छ । उहाँ देशलाई दशा र दुर्दशाबाट मुक्ति दिन सक्रिय हुनुहुन्छ ।


उहाँसँगको मेरो संगतले चार दशकको सीमा नाघ्यो होला । डा.साहेब जहिले पनि प्रेरक बिन्दु रहनुभयो मेरा लागि । एउटा पत्रकारको गुरु । उहाँलाई अग्रज नागरिक अभियन्ताभन्दा आत्म–सन्तोष हुन्छ धेरैलाई । म उहाँलाई पत्रकार समुदायको पनि अभियन्ता मान्दछु । स्वच्छन्दताको हदैसम्म बढेर स्वतन्त्रताको उपभोग गर्ने कुरामा उहाँ अत्यन्त मुखर हुनुहुन्छ । यो जिब्रो चपाएर तौलिई–तौलिई बोलिने समाजमा हक्की । 


देशमा एकताका चलेको तोपगोलाको मौसममा उहाँले अहिंसाको बाटो नछाड्न सरकारलाई चेतावनी दिनुभएको थियो । नेता र कार्यकर्ता दुवैलाई शान्तिको अस्तित्व स्वीकार गर्न अनुरोध गर्नुभएको थियो । तर, टेरेनन् कसैले । हामी नेपालीले इतिहासबाट शिक्षा र सबक लिन कहिल्यै सकेनौँ । एक्काइसाैँ शताब्दीमा आएर पनि हामीले इतिहासबाट केही सिक्न सकेका छैनौँ ।

 

समाजमा जे–जति परिवर्तन भएका छन्, ती प्राकृतिक नियमअनुसार भएका छन्– प्रकृतिको स्वाभाविक देनका रूपमा । जन–चाहना तीव्र भएर, जनचाहनाको दबाबका कारण देशमा बनेका सरकारहरूले जन–चाहना बुझेर एक टुक्रा पनि परिवर्तन गर्न सकेका छैनन् । नदी–नालाहरू आफ्नै प्रवाहमा लेदो बगिरहेका छन् । बगरहरू पग्लिन थालेका छन् । डाँडाबाट पहिरो खसेपछि तल बस्तीमा आतंक फैलिन्छ । यो सधैँ स्वाभाविक हो । मानिसले परिवर्तनको प्राकृतिक नियममा हस्तक्षेप गर्ने अर्को नियम जानेकै छैन ।


डा.पाण्डे एकै जुनीमा दुई ज्यान बोकेको व्यक्तित्व हो । उहाँको जीवनको एउटा पाटो राष्ट्रसेवकका रूपमा बित्यो । अर्को पाटो विकास विषयका जानिफकारका रूपमा । उहाँमा अहिले पनि परिवर्तनको तीव्र चाहना छ, तृष्णा छ र नै जीवनका आठ दशकभन्दा बढी समय बिताएर पनि उहाँमा उत्साह र ऊर्जाको कुनै कमी छैन । गजबको छटपटी छ कायामा । देशका लागि केही गर्न सकिएन भन्ने चिन्ता छ ।

 

देश असरल्ल छ । यस्तो असरल्ल देश भावी पुस्तालाई कसरी सुम्पिनु ? डा. साहेब वेला–वेलामा आफैँसँग भन्नुहुन्छ : अलिकति लाज त हुनुपर्ने थियो नि सबैमा । त्यस्तो केही देखिएन । डा.पाण्डेले स्पष्ट भन्नुभएको छ : नेपाल, राजा र भाइभारदार, सन्तमहन्त, रैतीदुनियाँ, साहू–महाजनको देश हो । राष्ट्रनिर्माणमा बुद्धिजीवीको भूमिकाको यहाँ विशेष महत्व रहिआएको छैन । (...देश भजनमा मस्त रहेको छ ।) साहित्य र इतिहासको क्षेत्रलाई छाडेर राष्ट्रिय जागरण, राष्ट्रिय भावनाको अभिवृद्धि, समाज सुधार, ज्ञान–विज्ञानको विकास आदिबारे बुद्धिजीवीबाट अन्य मुलुकमा जे योगदान भएको पाइन्छ, त्यो नेपालमा भएन वा हुन पाएन । 

खेद यति मात्रै हो कि डा. पाण्डेको कुरा कसले सुन्यो र ? न पार्टीहरूले सुने, न पार्टीहरूले बनाएको सरकारले नै सुन्यो । आखिर डा. पाण्डेले भनेजस्तै विदेशी सहयोगमा सञ्चालित आयोजनाहरू यति ढिलो पूरा भए कि ती पूरा हुनु र नहुनुको केही अर्थ नै रहेन ।


डा. पाण्डेसँगको चार दशक लामो संगतमा विकासका बारे धेरै ‘डिस्कोर्स’ सुनियो । त्यतिवेला उहाँका हक्की कुरा मन पर्थे । आज पनि त्यही हो । विकासका बारेमा उहाँका संकथनहरू अविस्मरणीय रहे । खेद यति मात्रै हो कि डा. पाण्डेको कुरा कसले सुन्यो र ? न पार्टीहरूले सुने, न पार्टीहरूले बनाएका सरकारले नै सुन्यो । आखिर डा. पाण्डेले भनेजस्तै विदेशी सहयोगमा सञ्चालित आयोजनाहरू यति ढिलो पूरा भए कि ती पूरा हुनु र नहुनुको केही अर्थ नै रहेन । पछिल्लो उदाहरणका रूपमा हामीले मेलम्ची खानेपानी योजनालाई हेरे हुन्छ । काकाकुल काठमाडौंलाई पानी पिलाउन बनाइएको मेलम्ची आयोजनाको आजको हविगत हेरौँ । आकार–प्रकारले नेपालका लागि यो ज्यादै ठूलो र ज्यादै धेरै रकम खर्च गरिएको आयोजना थियो । तर, यसलाई खोलामा आएको लेदोको एउटै ठूलो भेलले भत्काइदियो । मेलम्चीको नाममा जति सडकमा मोटर गुडे होलान्, त्यति मोटरको त आवश्यकता नै थिएन । स्थानीय मानिस यही कुरा भन्छन् । यही कुरा सत्य हो । 


डा.पाण्डेले २०४० मा भन्नुभएको थियो– एक नेपालीको औसत आयु विचार गर्दा उसले अब १०–१२ वर्ष मात्र बाँच्न पाउँछ । त्यस व्यक्तिले आफ्नो जीवनकालमा २००७ सालको परिवर्तनको मूल उद्देश्य, अर्थात् सर्वसाधारण नेपालीको आर्थिक, सामाजिक उत्थानतर्फ मुलुकले निश्चित पाइला सारेको अनुभव गर्न पाउँछ कि पाउँदैन ? डा. पाण्डेले चालीस वर्षअघि उठाउनुभएको यो प्रश्न आजपर्यन्त वैध छ । गरिबीको अस्वाभाविक बहावमा विकासको प्रतिफल पाउन हामीले अरू कति वर्ष आफ्ना खोलानालाहरूमा लेदो बहेको हेर्नुपर्ने हो ? हो नि, परम्परागत संस्था, विचार र मान्यताबाट निःसृत समाजमा परिवर्तनका तगाराहरू अवश्य हुन्छन् । तर, यस्ता समस्याहरू र प्रतिकूल अन्तर्राष्ट्रिय स्थिति भोग्दाभोग्दै पनि अरू जम्मैजसो विकासोन्मुख मुलुकले हाम्रो तुलनामा धेरै बढी प्रगति गरेका छन् ।