• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फणीन्द्र संगम काठमाडाैं
२०७६ बैशाख ७ शनिबार १०:०७:००
फिल्म

धनसुवाको फुस्रो अनुहार

२०७६ बैशाख ७ शनिबार १०:०७:००
फणीन्द्र संगम काठमाडाैं

नाटक

चर्चामा आएका सबै साहित्य पढ्नलायक हुन्नन् । नाटक वा फिल्म पनि उस्तै हुन् । हरेक मिडियामा छाउँदैमा र फेसबुकको भित्तामा वाहवाही पाउँदैमा ती दर्शनीय नहुन सक्छन् । तपाईंले पनि महसुस गर्नुभएकै होला ।

‘जोखना’ नाटकले सुरुवाती दिनदेखि नै मिडिया ‘हाइप’ पायो, सामाजिक सञ्जालमा समेत निकै प्रशंसा कमायो । मलाई डर थियो । अति चर्चाले निराश त बनाउने होइन ! 

जब नाटक मञ्चनको बीसौँ दिन मण्डला नाटकघर पुगेँ । दर्शक थेगिनसक्नु थिए । लाइन लागेर टिकट काट्नुपर्दाको सकस एकातिर थियो भने सिट होइन, भुइँमा बस्नुपर्ने भयो भन्ने अर्काे चिन्ता थपिँदो थियो । सिट पाइएन । भर्‍याङ चढेर ‘बाल्कोनी’को अप्ठ्यारो बेन्चमा कोचिएर नाटक हेर्नुपर्ने भयो ।

जब नाटक सकेर बाहिर निस्किएँ, म निकैबेर रिंगिएँ । मैले गरेको अनुमान फेल खायो; जसरी फेल खाएको छ, सेलेमीको जोखना ।
०००
नेपाली साहित्यमा पछिल्ला दिन सांस्कृतिक लेखन कम भइरहेको अवस्थामा जोखनाले डिस्कोर्स निर्माण गरेको छ । अर्गानिक कथावस्तुलाई टपक्कै टिपेर त्यसमा सांस्कृतिक रङ मात्रै दिएको छैन, तत्कालीन विद्रोही माओवादीले सुरु गरेको जनयुद्ध र प्रभावलाई समेत नाटकले अंगीकार गरेको छ । युद्ध क्रुर हुन्छ तर यसले छाडेको घाउ निको हुन वर्षाैँ पनि लाग्न सक्छ । खाटो बसे पनि वेलावेला दुखाइ बल्झिइरहन्छ । नाटककी मुख्य पात्र धनसुवा (संगीता थापा) को लामो दुखाइ यही जनयुद्धले दिएको पीडा हो ।

वर्षाैँदेखि कुनै खुटखबर नभएको श्रीमान् जसे (रूपेश लामा) को पर्खाइमा रहेकी धनसुवा र छोरोको सामान्य संवादबाट अघि बढेको नाटक केहीबेरमै फ्ल्यासब्याकमा जान्छ । जुन जनयुद्धकालीन समय हो । त्यही समयमा सरकार र माओवादी पक्षबीच फायरिङ चल्न थालेपछि साकेला बिथोलिन्छ । जसे र गाउँका कतिपय बेपत्ता हुन्छन् । तर, जसेको कुनै अत्तोपत्तो लाग्दैन ।

साकेला दुर्घटित भएपछि मुर्दा शान्ति छाउँछ गाउँमा । बरबरी प्वाँख खस्छन् आकाशबाट । प्वाँख खस्नु राम्रो संकेत होइन । र, सामूहिक कुचो लगाएर बढार्नु अशुभ । यतिवेला सबैको पछाडिपट्टि सेतो कपडा झुन्डिएको देखिन्छ । त्यसले मृत्युको संकेत गरेको छ । सायद गाउँलेले पक्का गरिसके कि जसे अब फर्कन्न । उनीहरूको कुरा गराइबाट छोरो निच्छा पनि बाउ नफर्किनेमा लगभग ढुक्क हुन्छ । तर, श्रीमतीको मनले के मानोस् । फुस्रो अनुहार बोकेर ऊ क्षितिजसम्म आँखा तन्काइरहन्छे, जसे ‘धनसुवा म आएँ’ भन्दै फर्किइहाल्ला कि !

गाउँका अग्रजसहितको भेलाले निर्णय गर्छ, जसेको काजकिरिया गर्ने । उसको आत्मा मन्साउन सेलेमी (अनिल सुब्बा) बोलाएर जोखना हेराइन्छ । सेलेमीले ठोकुवा गर्छ, जसे मरिसक्यो तर उसको आत्मा घरवरिपरि नै घुमिरहेको छ ।

समय बित्दै जान्छ । अफसोस, गाउँलेहरू सडक खनिरहेको अवस्थामा टुप्लुक्क देखापर्छ जसे । लामो कपाल र दाह्री अनि ख्याउटे अनुहार बोकेर । यतिवेला धनसुवाको मनमा परेको बज्रको आवाज नाटक हेरिरहँदा मैले आफ्नो मुटुको ढुकढुकीमा नापेको थिएँ ।

मंगोल समुदाय होस् वा आर्य । हिन्दू, मुसलमान, बौद्ध या क्रिस्चियन; सबै धर्ममा एकखालको विश्वास हुन्छ । अभौतिक वा दैवी विश्वास । जुन जीवनको भ्रम पनि हो । यहाँ पनि जोखना हेराएर जसेको नियति निक्र्याैल गरिएको छ । जोखना आफैंमा भ्रम हो ।

आदर्श र व्यावहारिक कुराले मात्र समाज जमेको पोखरी जस्तो बन्छ । परम्परादेखि चलिआएको चलन र सांस्कृतिक मान्यताले नै हो समाजले गति पाउने । जोखना यही परपम्पराभित्रकै एक अंश हो । जुन लगभग सबै सम्प्रदायमा अद्यापि जीवित छ ।

के सत्य, निष्ठा र संस्कार बिथोलिँदै जाँदा सेलेमीहरूको जोखना पनि डगमगाउन थालेको हो ? समाजको नैतिकता पतन भएपछि लरबरिएको समयजस्तै सेलेमीको जोखनाको निसाना पनि चुकेकै हो त ? जसरी पितृको आत्मा शान्तिका लागि युवाले चासो राखेनन्, तीनचुलालाई मान्न छाडे भने सेलेमीले मात्रै कतिन्जेल धान्ने ? उसले स्विकार्छ, ‘पाउर सकियो भने बिद्दे पनि सकिँदो र’छ । ...हामी धरतीमा आउनु त खेताला जस्तो । अरूले ल्याउँदो रै’छ, अरूले नै लाँदो रै’छ ।...फूल फुल्छ तर सुकेरै जान्छ । खोला पनि त सुक्छ ।’ बल्ल मृत्यु र जीवनबोधको चिन्तनमा पुग्छ, सेलेमी ।

बियस राईको कथालाई नाटकको रूप दिने राजन मुकारुङले नै ब्रोसरमा लेखेका छन्, ‘हाम्रो जोखना बिग्रेको छ । राजनीतिक, सामाजिक र सांस्कृतिक चेतहरू भड्किएका छन् । हुनुपर्ने जेजे हो त्यो नभएर अर्कैअर्कै भइरहेको छ ।’

१० वर्षको सशस्त्र द्वन्द्व सकिएसँगै यसले समाजमा धेरैखालका चेतना भिœयायो । जेजे विनाश गरिएका थिए, नवनिर्माणका रूपमा तिनैको पुनर्निर्माण हुन थाले । तर, चेतना मात्रै थपिएन, केही खराब पक्ष पनि लिएर आयो । गाउँगाउँमा सडक पुग्यो । चाउचाउ र चिजबल भित्रियो, अर्गानिक तरकारी भने बजार पुग्यो । वैदेशिक रोजगारले रेमिट्यान्स त भिœयायो तर परिवार दुर्घटित बन्दो छ । खुलापन र आधुनिकताको नाममा युवापुस्ता सांस्कृतिक चिन्तनबाट विमुख हुन थाल्यो । बाबुबाजेले थामिआएको रीति उनीहरूका लागि ‘रूढीवाद’ बन्दै छ । तर, जुनसुकै जीवन दर्शनमा पनि सभ्यताको जग हुन्छ नै । नाटकमा मुन्दुमी सभ्यता पिँधको रूपमा आएको छ । त्यसमै अडिएर साकेला सिलीको लयविधानसँगै जीवनको गति निरन्तर अघि बढिरहेको छ । ढल्न लागेको परम्परामा नयाँ पुस्ताले टेको हाल्नुपर्छ भन्ने आह्वान गरेको छ, नाटकले ।

सत्य, निष्ठा र संस्कार बिथोलिँदै जाँदा सेलेमीहरूको जोखना पनि डगमगाउन थालेको हो ? जसरी पितृको आत्माशान्तिका लागि युवाले चासो राखेनन्, तीनचुलालाई मान्न छाडे भने सेलेमीले मात्रै कतिन्जेल धान्ने ?

नाटकमा केही बिम्ब छन्, जसलाई सचेततापूर्क प्रयोग गरिएको छ । धागोको प्रयोग, केराको हरियो पात, पर्दामा रातो प्रकाश, प्वाँख खसेको दृश्य, सुकेको रूख आदि । परिकल्पनाकार÷निर्देशक किरण चाम्लिङको सुझबुझपूर्ण कौशल यसबाटै प्रमाणित हुन्छ ।

मुन्दुमअनुसार हेत्छाकुप्पाका दिदीहरू छन्, तयामा र खियामा । किराती मिथकमा आदर्श नारी र सीपका देवीका रूपमा उनीहरूलाई अथ्र्याइएको छ । उनीहरू तान हालेर कपडा बुनिबस्थे । नाटकका धेरैजसो परिवेशमा धागोको प्रयोग देखिन्छ । धागोलाई किरातीहरू जीवनसँग पनि तुलना गर्छन् । अर्काेतिर रक्तपातपूर्ण सशस्त्र द्वन्द्वलाई पर्दाको रातो प्रकाशले प्रस्ट्याएको छ ।

किरातीहरू प्रकृतिपूजक हुन् । प्रकृति अर्थात् हरियो । सुरुवातदेखि छेउमा केराको हरियो पात देखाइएको छ । यो आशाको संकेत पनि हो । जसे फर्किने आशा । जब ऊ अकस्मात् फर्केर गाउँ आइपुग्छ । तर, यहाँ आफ्नो अस्तित्व नरहेको भन्दै पुनः बाटो लाग्छ । त्यसपछि भने सुकिसकेको रुख देखापर्छ मञ्चमा । के त्यसपछि जसै कहिल्यै फर्किएन ? यही रूखका आधारमा धारणा बनाए पुग्छ ।

द्वन्द्वमा १७ हजार ८ सय ८६ जनाको मृत्यु भएको र एक हजार ७ सय ३० जना बेपत्ता भएको तथ्य सार्वजनिक भएको थियो । पुष्टि भएकाहरूका आफन्तले त आ–आफ्नो सांस्कृतिक परम्पराअनुसार सद्गत गर्न पाए । तर, बेपत्ताका परिवार अहिले पनि आफन्तको प्रतीक्षामै छ । धनसुवाको नियति नै यही हो ।

जसे आफैं कुनै पार्टीको कार्यकर्ता होइन । ऊ जस्ता निर्दाेष कति नेपाली जनयुद्धमा अनाहकमा मारिए र बेपत्ता पारिए होलान्, राज्य वा विद्रोही पक्षबाट । के तिनको यथार्थ जानकारी परिवारलाई दिनुपर्दैन ? धनसुवाको विषादले राज्यका नेतृत्वलाई गिज्याउँछ । नाटकको अन्त्यसम्मै निराशामा डुबेकी धनसुवाको फुस्रो अनुहारले भने मलाई अहिलेसम्म पनि पछ्याइरहेछ । 