जब उनीहरूले अरूको घरमा बम प्रहार गरे, हामीले
विरोध गर्यौं, तर अपुग,
हामीले जुलुस निकाल्यौँ, तर अपुग ।
म मेरो खाटमा थिएँ, मेरो खाट वरिपरि अमेरिका
खसिरहेको थियो : एक अदृश्य घरपछि अर्को अदृश्य घरपछि
अर्को अदृश्य घर ।
मैले मेचबाहिर लगेँ र सूर्य हेर्दै बसेँ ।
त्यो विनाशकारी शासनको
छैटौँ महिनामा पैसाको घरमा
पैसाको सडकमा पैसाकै सहरमा पैसाकै देशमा
यो हाम्रो महान् पैसाको देशमा हामी (माफ पाऊँ)
खुसीसाथ बाँच्यौँ युद्धकालमा ।
(कवि इल्या कमिन्सकी पूर्वसोभियत संघको सहर ओडेसामा जन्मिएका थिए । चार वर्षको उमेरमा डाक्टरले मम्प्सलाई रुघा भनेर गलत निदान गरेकाले उनले धेरैजसो सुन्ने शक्ति गुमाएका थिए । सन् १९९३ मा उनको परिवारलाई संयुक्त राज्य अमेरिकाले राजनीतिक शरण प्रदान गरेको थियो । उनी ‘डेफ रिपब्लिक’ र ‘डान्सिङ इन ओडेसा’का लेखक हुन् र उनले अन्य धेरै किताब सह–सम्पादन र सह–अनुवाद गरेका छन् । उनका कविता बीसभन्दा बढी भाषामा अनुवाद भएका छन् । कविको अनुमतिमा यो कविता नेपाली भाषामा लेखक लुना रञ्जितले अनुवाद गरेकी हुन् ।)