• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
चन्द्र घिमिरे काठमाडाैं
२०७६ बैशाख ७ शनिबार ०९:४८:००
इतिहास

मेरो इग्नोर्ड फ्यान

२०७६ बैशाख ७ शनिबार ०९:४८:००
चन्द्र घिमिरे काठमाडाैं

दूरबीन

पुस २००८ । मिनपचासको बिदाको याम । हुस्सेको सेतो बर्को ओढेको काठमाडौंको पुतलीसडक छ । पुतलीसडकसँग एउटा छिमेकी सडक छ, डिल्लीबजार । त्यहाँ तानसेनबाट राजधानीमा आलो अवतरण भएको एउटा पन्ध्रवर्षे किशोर टहलिँदै छ, कृष्णप्रसाद । आइए पढ्न काठमाडौं पसेका तीन–चारजना पाल्पाली किशोर त्यहीँ छन् । एकै छिमलका ती गाउँलेको एकाएक जम्काभेट हुन्छ । चियापसलमा घुस्छन् । जेरीस्वारी मगाउँछन् । कुराकानी अघि बढ्छ । गफगाफले रोचक आकार लिन्छ । र, अठोट गर्छ, महाकवि लक्ष्मीप्रसाद देवकोटा निवास अहिल्यै जाने ।

चियापसलबाट फुत्किएर त्यो सानो झुन्ड तन्किन्छ, मैतिदेवीतिर । बाटामा आजभोलिकोजस्तो गाडी, मोटरसाइकलले हान्ला ठोक्ला भन्ने भय थिएन । भैँसीका पाडाहरूझैँ बाटो छेकेर हिँड्छन् । आखिर एउटा एकनाले घर देखा पर्छ । त्यो झुन्ड टक्क अडिन्छ । केही खोजेजस्तो, हराएजस्तो अलमलिन्छ । घरमा ढप्काएको मूलढोका देखिन्छ । तर, मान्छेको नामोनिसान देखिन्न । बोलाउँछन् । अनुरोध गर्छन् । न जवाफ फर्किन्छ, न कोही देखापर्छ । बरु नजिकै गुँडमा केही थान भँगेरा फर्‍याकफुरुक गरेको देखिन्छ । त्यो झुन्डको मन रहस्यले भरिन्छ । 

घरको कुनै कोठाचोटाबाट हार्मोनियममा भैरवी राग अलापेको आवाज निस्किन्छ । त्यो उनीहरूको कानमा पर्छ । एकोहोरो बजिरहन्छ । घरी रागको त्यो आवाज सानो–सानो हुँदै जान्छ । घरी त्यो ठूलो–ठूलो हुँदै जान्छ । त्यो रागले आलस–तालस बनाउँछ । रहस्य थाहा पाउन घरभित्र पस्ने छटपटी झन् उत्कर्षमा पुग्छ । घरपटीलाई बोलाउने कृष्णप्रसाद एन्ड कम्पनीको प्रयास बढ्दै जान्छ । एक्कासि माथि झ्यालबाट एउटी अधबैँसमै बुढिएकी महिलाले मुन्टो बाहिर निकालेर सोध्छिन्, ‘को हो तल ?’ झुन्डको मुन्टो आकाशतिर फर्किएको स्याटेलाइटजस्तो एकैचोटि उँभोतिर फर्किन्छ ।

‘हामी पाल्पाबाट कविज्यूलाई भेट्न आका,’ एकैसासमा भनिसिध्याउँछन् कृष्णप्रसाद । त्यसो भनिरहँदा स्वेटरले कृष्णप्रसादको जाडो छलिरहेको थिएन ।  ‘माथि नै आउनुहोला बाबुहरू... ढोकाँ आग्लो ला छोइन,’ ती महिलाको आवाज तल खस्छ ।

माथि उक्लेको भर्‍याङले त्यो झुन्डलाई एउटा कोठामा पुर्‍याउँछ । पुग्नासाथ तिनै महिला पुनः देखा पर्छिन् । र, भन्छिन्– ‘भुजाले पर्खिरहेछ... धेरै टियाम नलिदिनुहोला बाबुहरूले ।’आखिर तिनै रहिछिन् महाकविजीकी बज्यै !

हार्मोनियम बजाउने अरू नभएर महाकवि नै रहेछन् । अझै भैरवी राग अलाप्दै हुन्छन् । कृष्णप्रसाद एन्ड कम्पनी छेउकुुना लागेर सुन्छन् । जब ध्यान खुल्छ, खास्टो ओढेका महाकवि सोध्छन्, ‘काँबाट बाबुहरू ?’
‘तानसेनबाट हजुर’, कृष्णप्रसादलाई उछिनेर एउटाले उत्तर फर्काउँछ । 
हार्मोनियम एकातिर पन्छाउँदै महाकविले सोध्छन्, ‘खै खै, बाबुहरूसँग सिगरेट छ ?’
नभएको जवाफ फर्किन्छ त्यो कम्पनीबाट । महाकवि लगत्तै भुइँमा ओछ्याएको दरी, ओछ्यानको डस्ना पल्टाउँदै केही ‘सर्च’ गर्छन् । आखिर झ्यालको कापाबाट केही टिप्छन् । एउटा अर्धमृत सिगरेटको ठुटो रहेछ । लाइटरले सल्काउँछन् । तीन–चार सर्को फुस्स–फुस्स तान्छन् । त्यो सिग्रेटको ठुटो निख्रिन्छ । पुस महिनाको चिसो दिन ! बल्ल महाकवि ज्यानमा तातो भरिएझैं हुन्छ । सिगरेटमा हराएका महाकवि कुराकानीमा फर्किन्छन् । सोध्छन्– ‘के कामले पाल्नुभो बाबुहरू ?’
कृष्णप्रसादले आँट गर्दै भन्छन्, ‘हजुरलाई तानसेन आउने निम्ता दिन आका... ।’ खासमा त्यो निम्तो ‘फेक’ थियो । केवल गफगाफ गर्ने मेलो थियो । 
‘ए तानसेन...?’ एकपल रोकिँदै फेरि महाकवि सोध्छन्, ‘मास्टर मित्रसेनले गाएको...‘पाल्पा रमाइलो डाँडा, बाबुसाहेब’ त्यै ठाउँ हैन त ?’
‘हो हजुर हो ।’ चुलिएको खुसीसहित जवाफ फर्काउँछ, त्यो शर्मा एन्ड कम्पनीले ।
कृष्णप्रसादको निम्तो मान्ने वचन दिँदै महाकविले सोध्छन्, ‘एउटा कविता त सुनेरै जाने होला नि बाबुहरू ?’
‘सुन्नै आका हुम् हजुर,’ त्यो किशोर कम्पनीबाट प्वाक्क बोल्छ एउटा ध्वाँसे–ध्वाँसे केटो ।
महाकविले साँच्चै कविता सुनाउँछन् । त्यो कविता हुन्छ– ‘कुन मन्दिरमा जान्छौ यात्री...?’
अन्ततः महाकविका घरबाट निक्लिन्छन्, त्यो महान् कवितामा लट्ठ परेका ती किशोरहरू । हैसियत बढेको अनुभव गर्दै ।
०००
०६७ साल गुज्रेपछि तात्कालीन किशोर वा हालका वयोवृद्ध कृष्णप्रसादसँगको भेट मलाई जुर्‍या रहेछ । 
०७५ साल चैतको एक फुस्रो शुक्रबार । मेरो मोबाइल बज्यो । उताबाट सोधियो– ‘तपाईं चन्द्र घिमिरेजी हो ?’
‘हो’ भनेँ । र, सोधेँ– ‘तपाईं को बोलेको ?’
– ‘म कृष्णप्रसाद शर्मा... पाल्पाको’त्यो आवाजमा थर्थराइरहेको बुढ्यौलीको कम्पन व्याप्त थियो । अभैm थपे उनले, ‘तपाईंलाई म गएको तीन वर्षदेखि खोजिरहेछु ।’
झल्याँस्स सम्झेँ, केही दिनअघि लेखक नारायण ढकाल दाइले चुहाएका कुरा ।
काठमाडौं नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा । एउटा आफन्तको बिहेमा जन्ती थिएँ । एकाएक नारायण ढकाल दाइसँग जम्काभेट भयो । कुरैकुरामा दाइले सुनाउनुभो– ‘तपाईंलाई एक वृद्ध फ्यानले खोजिरहेछन् ।’
‘अरे मेरो नि फ्यान...!’ मलाई अलि असजिलो लाग्यो । सामान्यतया मलाई यस्तो हुने गर्छ । मैले लेखेकै, गरेकै के छ र ?
तर पनि शिष्टाचारवश मलाई फोन गर्न भनिदिनुस् न दाइ भनेको सम्झन्छु । 
तिनै कृष्णप्रसादले फोन गरेका रहेछन् । आगामी शनिबार दिउँसो मध्यदिनमा भेट्ने सल्लाह भयो । मेरै निवासमा । नभन्दै भोलिपल्ट बुढा आइपुगेछन् । एक्लै हिँड्दै–हिँड्दै । मेरा आँखा पर्नासाथ म छक्क परेँ । उमेर सोध्दा मलाई बताए, नब्बेमा एक कम । हरेहरे... यो उमेरमा पनि एउटा सक्रिय पाठक छ, नेपाली साहित्यमा । एउटा जोतिइरहेको कलम छ, नेपाली लेखन फाँटमा ।
‘मलाई कसरी चिन्नुभो त ?’ मैले अलि सस्तो प्रश्न फालेँ कृष्णप्रसादतिर ।
‘तपाईंका दुइटा संस्मरण लेख पढेथेँ । पैलो, ‘मेरो अभिताभ बच्चन’ । आफ्नो पुरानो साथीका बारेमा लेखेको । ऊ मृत्युको मुखमा परेको थियो । अर्को, ‘बलियाका लुरे केदारनाथ सिंह’ । हिन्दी साहित्यका धरहराजस्ता केदारनाथ सिंहसँग तपाईंको संगतबारे लेखिएको...।’
यत्ति सुनेपछि मलाई लाग्यो, यी ‘जेनुइन’ पाठक हुन् । कतिपय ढँटारु पाठकझैं फोकटमा बोलिरहेका छैनन् । तपाईंको पढेको छु भनेर छलछाम गर्ने !
‘अनि...’ मैले उनलाई अरू बोल्न सकेँ गरेँ ।
‘म तानसेनबाट मेरो आत्म–संस्मरण छाप्नलाई बारम्बार काठमाडौं आनाजाना गर्ने गर्छु । तपाईंको पढेपछि लाग्यो, मैले किन लेख्नु.... मन साह्रै छुयो ।’
‘त्यसपछि...’ उनैलाई बोल्न दिने मेरो आसय रह्यो । 
‘म तपाईंको खोजीमा लागेँ । धेरैलाई सोधपुछ गरेँ । केही पत्तो लागेन । आखिर बागबजारतिर किताब पसलमा भेट हुँदा नारायण ढकालले तपाईंसँग भेटाइदिन्छु भने । नम्बर दिए । यसरी तपाईंकाँ आइपुगेँ ।’
महाकविका घर पुगेका तिनै किशोर कृष्णप्रसाद जीवनको उत्तरार्धमा वृद्ध कायासहित मसँग थिए । थरथराउँदै । इतिहासका एक गवाह । उनी सम्भवतः कहीँ नलेखिएका र लोप हुन लागेका इतिहासका केही टुक्रा बोकी हिँडेका थिए ।
०००
२००९ पुस–माघकै दिन । महाकवि भोलि तानसेन आइपुग्ने खबर बुटवलबाट पाल्पा उक्लियो । किशोर कृष्णप्रसाद तानसेनमै थिए । तर, उनको निम्तोविनै । नभन्दै महाकवि तानसेन आए । सहयात्री थिए, वैकुण्ठप्रसाद लाकौल, लंकेली भिक्षु र खड्गमान सिं । वैकुण्ठप्रसाद लाकौलले सबै पूर्वव्यवस्था गरेका रहेछन् । कृष्णप्रसाद पनि महाकविको आगमन सुनेर दौडे । टुँडिखेलमा साहित्य अनुरागी तानसेनवासीको ओइरो लाग्यो । माधव घिमिरेको नेतृत्वमा महाकविको स्वागत गर्ने लामो लाइन तेर्सियो । शीतलपाटीमा महाकविलाई लगियो ।

वैकुण्ठ लाकौलका काका पर्ने अम्बिका लाकौलका घरमा महाकवि बस्ने इन्तजाम रहेछ । अम्बिका तिनै थिए, जसले काठमाडौं खाल्डोबाहिर नेपालको सम्भवतः जेठो पुस्तकालय खोलेका थिए । त्यो पनि चन्द्रशमशेरका जगजगीका वेला, १९८३ सालमा । पुस्तकालयभन्दा खोल्न नदेलान् भनेर सुरुमा ‘पुस्तक पढ्ने दलान’ नाममा खोलेका थिए । कालान्तरमा त्यसले ‘धवल पुस्तकालय’ नाम पायो । त्यो अहिले पाल्पाको प्राज्ञिक गहना भएर खडा छ । 

महाकविका घर पुगेका किशोर कृष्णप्रसाद जीवनको उत्तरार्धमा वृद्ध कायासहित मसँग थिए । थर्थराउँदै । इतिहासका एक गवाह । उनी सम्भवतः कहीँ नलेखिएका र लोप हुन लागेका इतिहासका केही टुक्रा बोकी हिँडेका थिए ।

महाकवि दोस्रो दिन बिहान धवल पुस्तकालय पुगे । त्यसवेला कृष्णप्रसाद त्यसको पदाधिकारी थिए । तेस्र्याएको आगन्तुक पुस्तिकामा महाकविले घोप्टो परेर खरखरखरखर केही लेखे । कृष्णप्रसाद अहिले पनि सम्झिन्छन्, त्यो पानामा ‘नखली स्थान’ भन्ने अनौठो शब्द महाकविले लेखेको । फिटिक्कै बुझेनन् । बरु कुतूहल बढ्यो । शब्दकोशतिर कृष्णप्रसादले फेला पारेछन् । त्यो फारसीबाट हिन्दीमा आएको आप्रवासी शब्द रहेछ । मरुभूमिका बीचमा सिमसार भएको हरिलोभरिलो ठाउँ भन्ने अर्थ जनाउँदो रहेछ । बुझेपछि लाग्यो, धवल पुस्तकालयका बारेमा कति मिठो ‘मेटाफोर’ प्रयोग गरेका रहेछन् महाकविले ।

तेस्रो दिन । तानसेनकै पद्मोदय हाइस्कुलमा कविता गोष्ठी हुनेभो । महाकविलाई कविता सुनाउनेको ठूलो ताँती खडा भयो । कृष्णप्रसाद पनि के कम ! गोष्ठीमा बसेका देवकोटाका पछिल्तिर लुसुक्क पुगे । कानमा खासखुस गर्दै अनुरोध सुनाए– ‘म पनि सुनाउन सक्छु ?’

महाकविले ‘सुनाउनु बाबु’ भनेपछि समुद्र पल्टाउने हनुमान बल पाए । जोसिएर एउटा कविता सुनाए । महाकविले मधुरो आवाजमा ‘राम्रो...राम्रो’ भनेको सुन्दा नेपालै जिते जस्तो ठाने । तर, उनलाई अहिले लाग्छ, म फुच्चेले देवकोटाका सामु के लेखेँ र के सुनाएँ ? आफैं आफ्नो बौनापन स्विकार्छन् । त्यसवेलासम्म उनी वामपन्थी थिए रे ! राजनीतिका शब्दहरू बटुलबाटुल पारेको र सुनाएको उनको त्यो कविताको शीर्षक रहेछ ‘स्तालिन’ ।

पछि गएर ‘स्तालिन’ कविताबारे वैकुण्ठ लाकौलबाट कृष्णप्रसादले छुट्टै मिठो इतिहास सुन्न पाएछन् । भन्छन्– अफ्रो–एसियाली लेखक सम्मेलनमा भाग लिन महाकवि पनि ताजिकिस्तान पुगेका रहेछन् । सम्मेलन थलोको सामुन्ने स्तालिनको भव्य सालिक रहेछ । फुर्सदमा फोटो खिच्न र गफगाफ गर्न लेखकहरू त्यहाँवरपर भेला हुँदा रहेछन् । हाम्रा महाकविले भने स्तालिनमाथि कवितै लेख्न भ्याएछन् । सम्मेलनका दौरान त्यही कविता पाठ गरेछन् । अंग्रेजीमा लेखिएको महाकविको त्यो कवितामाथि झन्डै पन्ध्र मिनेट ताली बजेछ अरे । त्यो भेउ नपाएका कृष्णप्रसादले तिनै स्तालिनमाथि नै अर्को कविता ठोकेर तिनै महाकविको ताली बटुल्न भ्याए पाल्पामा । अहिले त्यो सम्झिँदै आफैं लजाउँछन् वृद्ध कृष्णप्रसाद । 

कवि सम्मेलनका भोलिपल्ट बिहान । कृष्णप्रसाद महाकविको वासघर ७ बजेतिर पुग्दा महाकवि सूर्योदय हेरेर श्रीनगरबाट भर्खर फिरेका रहेछन् । भिड पातलो भएको मौका छोप्दै महाकविसँग नजिकिएछन् उनी । बातचित भएछ । मैतिदेवी घरमा पुगेको प्रसंगको अवशेष महाकविको स्मृतिमा कहीँकतै भेटेनन् । उनले पनि त्यो सम्झाउन दाबी गर्न उपयुक्त ठानेनन् । स्तालिन कविताको प्रसंगमा कुरा चल्दाचल्दै महाकविले सोधेछन्, ‘बाबुले कतिसम्म पढ्नुभाछ ?’ कृष्णप्रसादले हरर्र भनेछन्, ‘मेरा बा म नौ वर्ष छँदा बित्नुभो । घरव्यवहार हेर्छु । प्राथमिकसम्म पढ्न पाएँ ।’

‘पढ्नु चाइँ पर्छ है । साहित्यमा लाग्नलाई मातृभाषाबाहेक अर्को भाषा पनि चाइन्छ । बढी फैलिएको विदेशी भाषामा साहित्य पढ्नू है । याँ गोरखपुरनजिकै छ । धवल पुस्तकालय छँदै छ । बाबुले हिन्दी किताबहरू पढ्नू ।’ महाकविको यो सल्लाह यसरी गढ्यो कि भेटेसम्मका हिन्दी साहित्य चिरिप्पै पारेछन् कृष्णप्रसादले । सुरुका दिनमा रुचि जगाउन कुशवाकान्त, गुलसन नन्दा, जेम्स बन्ड, जनप्रिय ओम प्रकाश शर्मातिर हात हालेछन् । कुरो बुझ्दै गएपछि ती सस्ता साहित्य छाडे । त्यसपछि प्रेमचन्द, सुभद्राकुमारी चौहान, सुमित्रानन्दन पन्त, अमृतलाल नागर पढ्न थाले । यशपालका क्रान्तिकारी किताब छाड्न फिटिक्कै मन नलाग्ने भो । शिवानी र अमृता प्रितममा लत बढ्यो । हरिवंश राय बच्चन, सूर्यकान्त त्रिपाठी निराला, पद्मावतीका किताब भेटेपछि निद्रा नलाग्ने भयो । 

कृष्णप्रसादलाई हिन्दी पढ्ने लत बसाएर महाकवि भोलिपल्ट बुटवल झरे । गोरखपुर हुँदै काठमाडौं फिर्नु थियो । त्यसपछि महाकविसँग कहिल्यै भेट जुरेन । यता कृष्णप्रसादले हिन्दी पढ्दापढ्दै हिन्दीमै लेख्न थाले । अभिभावकले दिएको नाममा चित्त अडिएन् । लाठे उमेरमा पुनः न्वारन गरे । हिन्दीका लागि आफ्नो नाम ‘विशारद’ राखे । र, लेखिरहे । 
०००
२०१८ सालको कुरो । कवि सिद्धिचरण श्रेष्ठ र माधव घिमिरे तानसेन गएका थिए । यसपालि कविजनलाई कृष्णप्रसादले आतिथ्य गरेछन्, पाँच दिनसम्म । युगकवि सिद्धिचरणले कालीगण्डकीको किनारमा रहेको रानीदरबार हेर्न जान पाए हुन्थ्यो खुसुक्क भनेछन् । कृष्णप्रसादले सिडिओसँग भनसुन गरेर घोडा जुटाइदिएछन् । नेपालको ताजमहल देखाउने तारतम्य मिलाइदिएछन् । कविवर माधव घिमिरेले भने रिडी दर्शन गर्न जाने मनसुवा गरेछन् । आफै घोडाको लगाम समाएर कविवर चढेको घोडा अघिअघि कृष्णप्रसाद हिँडेछन् । रिडी पुगेका दिन स्थानीय जनता र विद्यार्थीहरूले स्वागतमा कार्यक्रम गरेर रातै कटाएछन् । बाटो लाग्ने दिन उल्कै भएछ । झिसमिसै घर छाडेका रहेछन् । पुनः घोडामाथि कविवर र अघिअघि सइस बनेर घोडाको लगाम तान्दै रहेछन्, कृष्णप्रसाद । त्यही वेला कहीँकतैबाट साह्रै मिठो कोरस गुन्जिएछ । कहाँबाट यति मिठो आवाजमा सामूहिक गीत आइरहेछ, छक्क परे । फर्केर हेर्दा पत्याउनै सकेनन् । पछि–पछि विद्यार्थी र गुरुवर्ग हुल बाँधेर आउँदै रहेछन् । बिदाइ गर्नका लागि । एक स्वरमा गाइरहेका थिए– 
‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय जय जय नेपाल, सुन्दर शान्त विशाल...।’
०००
केही किताब बजारमा ल्याइसके कृष्णप्रसादले । उनी हिन्दीमा लेख्ने साह्रै थोरै नेपालीमा दरिन्छन् । तर पनि उनको ‘विशारद’ उपनाम अझै गुमनाम छ । आत्मसंस्मरण निकाल्ने धुनमा यतिवेला काठमाडौं आइजाई गरिरहेछन् । केही दिनअघि राल्फाली रामेश दाइको पुस्तक विमोचन थियो । त्यहाँ यी वृद्ध पनि एक विमोचनकर्ता बन्न भ्याए । खासमा रामेश दाइको जन्म यिनको घरमा भएको दाबी गर्छन् कृष्णप्रसाद । तानसेन–२, महलधारा, मिसन अस्पताल रोड निवासी कृष्णप्रसादका घरमा रामेश दाइका बुबा कुनैवेला बहालमा बस्थे रे ! बुबा पाल्पा मालअड्डाको जागिरे छँदा । 
०००
कृष्णप्रसादले राजनीति पनि गरिहेरे । टुहुरे राजनीति । त्यो पनि पञ्चायतकालको । चाँडै २०३१ सालमा गाउँफर्क अभियानको लुम्बिनी अञ्चल अध्यक्ष बन्न पुगेछन् । राजाबाट मनोनीत । मनोनयनलगत्तै राजा वीरेन्द्रले सबै नवनियुक्त पदाधिकारीलाई सामूहिक भेटमा भनेछन्, ‘पञ्चायतका लागि गाउँ–गाउँमा बसेर काम गर ।’

तर, कृष्णप्रसादका लागि त्यो नियुक्ति कहर सावित भयो । तत्कालीन अञ्चलाधीशसँगको घम्साघम्सीले । उनलाई असफल पार्न नाडीदेखिको बल लगाए । कुरो के परेछ रे भने नियुक्तिपत्र च्यापेर कृष्णप्रसाद काठमाडौंबाट भैरहवा झरेछन् । बुटवलमा गाउँफर्कको अफिस खोल्नु रहेछ । सहयोग गर्नुपर्ने अञ्चलाधीशले उनलाई फिटिक्कै टेरेनछन् । पछि कसैले उनलाई बताएछ, त्यो पदका लागि अञ्चलाधीशको सिफारिस अर्कैका लागि थियो रे ! त्यसपछि बमबम भएका रहेछन् । सहयोग माग्न पहिलोपटक भेट्न अञ्चलाधीशको सरकारी निवास पुगेछन् । अञ्चलाधीशले निकैबेर कुराएछन् । जब माथिल्लो तलाबाट अञ्चलाधीश बैठककक्षमा ओर्ले, कराएको मात्र सुनेछन् । मलाई जे भन्नु छ अफिसमा भन्ने, यहाँ होइन । कृष्णप्रसादलाई ढिम्कनै दिएनछन् । उदेक लाग्दो रहेछ उनलाई, अध्यक्ष म र अञ्चलाधीश पदेन सदस्य । तर, आदेश र शासन भने अञ्चलाधीशको मान्नुपर्ने कस्तो व्यवस्था !

गाउँफर्कबारे प्रेस विज्ञप्ति जारी गर्ने सुरमा रहेछन् कृष्णप्रसाद । भैरहवामा त्यतिवेला प्रेस चलाउने प्रताप शेरचनले सल्लाह दिएछन् । किन विज्ञप्ति मात्रै ? पत्रकार सम्मेलन नै गरे झन् बेस ! त्यही दिन नै जोसिएर भैरहवामा प्रेस सम्मेलन ठोकेछन् कृष्णप्रसादले । लाल सिं भन्ने पत्रकारलाई कृष्णप्रसाद अञ्चलाधीशको चम्चा र खुफिया मान्दा रहेछन् । उसले पत्रकार सम्मेलनमा तपाईंहरूको अञ्चलाधीशसँग के सम्बन्ध हुनेछ भनेर सोधेको रहेछ । कृष्णप्रसादले अरू केही हुन्न, केवल समन्वय र सहयोग मात्र हुनेछ भन्दिएछन् । लाल सिंले मेराविरुद्ध त्यो समाचार व्यापक बनायो र अञ्चलाधीशको कान भर्‍यो भन्दा रहेछन् कृष्णप्रसाद । अञ्चलाधीश अरू बम–बम भएछन् । 

असहयोग र द्वन्द्व चर्केको खबर काठमाडौंसम्म पुगेछ । गाउँफर्कका केन्द्रीय सदस्य सप्तरीका शत्रुघनप्रसाद सिंह भैरहवा पठाइए । त्यो गज्याङ–गुजुङ मिलाउन । अञ्चलाधीशले तपाईंको बारेमा ‘माथि’ खराब रिर्पोटिङ गरेका छन्, अलि कुरो मिलाएर काम गर्नु परो भनेछन् । कृष्णप्रसादलाई सम्झाउँदै गरेका सिंहले बाँकी कुरो एयरपोर्टमा बताउने भनेछन् । हवाईजहाज चढ्नुअघि सिंहले गुह्य कुरो खोलेछन्, ‘दरबारले कि अञ्चलाधीशको कुरो सुन्छ कि आर्मीको । हामी त देखिने अनुहार मात्रै हो । चलाउने अरू नै हुन् । कृष्णप्रसादजी कुरो बुझ्नोस् ।’ यो प्रयास पनि व्यर्थ गएछ । कृष्णप्रसादको अञ्चलाधीशसँग न र्‍याङ मिल्यो, न ठ्याँङ । यो कुरो भैरहवाका सारा हाकिम, पत्रकार, पञ्चजन सर्वत्र व्यापक भयो । अब कृष्णप्रसाद सबैबाट एक्लिए ।

लगत्तै लुम्बिनी गाउँफर्कको पहिलो बैठक बस्नेवेला भएछ । अञ्चलाधीश पदेन सदस्य भएकाले उनलाई पनि बोलाइयो । पर्खियो–पर्खियो तर आउँदैनन् त ! आखिर डेढ घन्टा ढिलो गरी अञ्चलाधीश बैठकमा छिरे । अञ्चलाधीशको सम्मानमा सबैले उठ्नुपर्छ भन्दा रहेछन् । कृष्णप्रसाद पनि किन टेर्थे । जुक्ति लाएछन् । अञ्चलाधीश कोठामा छिर्नुअघि नै उठेर टहलिने । त्यहीवेला अञ्चलाधीश कराउँदै पसे । सम्मानमा सबै जर्‍याक–जुरुक उभिए । कृष्णप्रसाद भने झ्यालबाट बाहिर केही हेरेजस्तो गर्दा रहेछन् । पस्दापस्दैको अञ्चलाधीश गर्जेको सुने, ‘तपाईंले पत्रकार सम्मेलन गर्ने अधिकार काँबाट पाउनुभो ?’ म बताउँछु, पहिले बैठक सुरु गरौँ भन्दा रहेछन्, कृष्णप्रसाद । होइन, मलाई स्पष्टीकरण पहिले चाहियो भन्दा रहेछन्, अञ्चलाधीश । र, जवाफ नलिई बैठक हुन नदिने अडान लिँदा रहेछन् । यो रस्साकस्सी पाँच मिनेटसम्म चलेछ । अरू सबै हेरेका हेर्‍यै भएछन् । केही सीप नलागेपछि कृष्णप्रसादले बाहुन झोँक देखाएछन् । अञ्चलाधीशमाथि बैठक भाँडेको कडा आरोप लगाउन सुरु गरेछन् । तत्क्षण अञ्चलाधीशले स्वाट्टै मुड फेरेछन् । र, भनेछन् अब बैठकको एजेन्डातिर लागौँ । त्यो दिन उपरान्त पनि उनीहरूको सम्बन्ध सुध्रेनछ । 

केही हप्ता–महिना बित्यो । जिल्ला पञ्चायतको निम्ता मान्न तात्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल तौलिहवामा आउने भएछन् । आजभोलिजस्तो बाटो थिएन । उनको अफिससँग गाडी थिएन । प्रधानमन्त्री आउने कार्यक्रम भ्याउन के गरी तौलिहवा पुग्ने, चिन्तित भएछन् कृष्णप्रसाद । कसैले भन्दिएछ, ‘तिनाउ नदीको किनारमा उभिनु... प्रधानमन्त्रीको गाडीको काफिला त्यतैबाट जान्छ... हात हल्लाउनु होला...र लिफ्ट लिएर जानुहोला ।’ उनलाई ‘आइडिया’ ठिकै जँचेछ । तिनाउ नदीकिनारामा कुरिबसे । त्यतिवेलाको धुले सडक ! आउँदै गरेका गाडीको लस्कर देखियो । कृष्णप्रसाद हात हल्लाउन थाले । प्रधानमन्त्री सवार गाडी अञ्चलाधीश आफैंले हाँक्दै गरेको देखे । त्यो गाडी रोकिएन । अर्को गाडी फेरि अर्को गाडीलाई हात हल्लाए । रोकिएन । पूर्वपरराष्ट्रमन्त्री केबी शाही चढेको गाडी देखे । रोक्न पछि पछि अलिबेर दौडिए । सिँचाइको गाडी रहेछ, हाकिम सँगै थिए । चिनेर पनि कसैले रोकेनन्, लिफ्ट दिएनन् । आखिर खुइय गर्दै सुरुवाल खोलेछन् कृष्णप्रसादले । कपडा काँधमा बोकेर नदीमा पसेछन् । हेलिँदै हेलिँदै पारि पुगेछन् । त्यहाँबाट हिँडेर तामनगर भन्ने ठाउँ पुगे । सडक बनाउने प्रोजेक्ट चल्दै थियो । प्रोजेक्टको एउटा ट्रक चढेर रानीबगिया पुगे । अन्ततः रानीबगियाबाट पाँच–छ घन्टा पैदल हिँडेर कृष्णप्रसाद आफ्नी छोरीको गांव झारबैरामा जसोतसो त्यो रात बास बस्न पुगे । भोलिपल्ट बिहान ज्वाइँको भारत पिपरहवाबाट सामान ओसार्ने काममा लागेको ट्याक्टर आइपुग्यो । त्यही ट्याक्टर चढेर बल्लतल्ल तौलिहवा आइपुगे कृष्णप्रसाद उर्फ तात्कालीन गाउँफर्कका निरीह अञ्चल अध्यक्ष ।

महाकवि देवकोटा–घरको कोठाचोटाबाट हार्मोनियममा भैरवी राग अलापेको आवाज निस्किन्छ । त्यो उनीहरूको कानमा पर्छ । एकोहोरो बजिरहन्छ । घरी रागको त्यो आवाज सानो–सानो हुँदै जान्छ, घरी त्यो ठूलो–ठूलो हुँदै जान्छ । त्यो रागले आलस–तालस बनाउँछ । रहस्य थाहा पाउन घरभित्र पस्ने छटपटी झन् उत्कर्षमा पुग्छ । घरपटीलाई बोलाउने कृष्णप्रसाद एन्ड कम्पनीको प्रयास बढ्दै जान्छ । 

थाकेको मुसोजस्तो बनेर तौलिहवा पुग्दा त प्रधानमन्त्रीको टोलीको अत्तोपत्तो रहेनछ । थाहा पाए, त्यो टोलीले कृष्णनगरमा खसी काटेर रात बिताएछ । केहीवेरमा प्रधानमन्त्रीको टोली त्यहीँनेर आइपुग्यो । प्रधानमन्त्रीलाई आराम गर्न नजिकैको बालमन्दिरमाथि उकालियो । भेटघाट गर्न ठुलाठालू पञ्च प्रशासकहरू त्यता उक्लिए । कृष्णप्रसाद पनि पुगे । ढोकामा पहरेदार भएर अञ्चलाधीश आफैं उभिएका रहेछन् । जब कृष्णप्रसादको घुस्ने पालो आयो, अञ्चलाधीशले उनलाई छेके । उनी पनि सुरै रहेछन् । निहुरिएर फुत्त छिरेर प्रधानमन्त्री भए ठाउँ पुगे । त्यहाँनेर पूर्वपरराष्ट्रमन्त्री केबी शाही सँगै बसेका रहेछन् । उनैले चिनाएछन्, ‘हिजो तिनाउ नदीमा गाडीमा लिफ्ट नपाएर छुटेको ह्वाँ नै हो ।’

अञ्चलाधीशबाट काम लिन महाभारत भएपछि एक दिन बुटवलका तत्कालीन प्रधानपञ्च सूर्यलाल प्रधानले सल्लाह दिएछन् । उनी पनि गाउँफर्कमा रहेछन् । यसो भनेछन्, ‘अन्त अञ्चलाधीशले कत्तिको सहयोग गरेका छन् ? बुझ्नोस् त !’ कृष्णप्रसाद कस्सिए पोखरा जान । पोखरामा म आउँदै छु भनेर गाउँफर्कका समकक्षी अध्यक्षहरू गण्डकीका गंगाबहादुर गुरुङ र धौलागिरिका टोपबहादुर बिजुक्छेलाई खबर पठाएछन् । तीनै भाइ पोखरामा थुप्रिएछन् । कुरो बुझ्दै जाँदा तीनैजनाको एउटै व्यथा रहेछ । यो कुरा राजासम्म नपुर्‍याई हुन्न भन्ने मन बनाएछन् । राजालाई जाहेर गर्ने बिन्तीपत्र कोरे । कोमार्फत पठाउने ? टुंगो गरेछन्, गाउँफर्ककै केन्द्रीय कार्यालय काठमाडाैंको सदस्य–सचिवमार्फत पठाउने । त्यतिवेला चितवनका चन्द्रवीर गुरुङ सदस्य–सचिव रहेछन् । हुलाकबाट पठाएछन् । ‘माथि’बाट केही समाधान आउला भन्दै दिन गन्दै पर्खिए । भरे त केही दिनपछि फेरि लुम्बिनीका उनै अञ्चलाधीश कृष्णप्रसादमाथि एटम बमजस्तो गरी पड्किएछन् । भएछ के अरे भने, चन्द्रवीर गुरुङले त्यो बिन्तीपत्र राजाकाँ नपठाएर बुटवल आएका वेला अञ्चलाधीशलाई ‘लु हेर’ भनेर देखाइदिएछन् । बिन्तीपत्र पनि हुस्सियो । एटम बम पनि पड्कियो ।

यसैगरी बित्दै गएछ कृष्णप्रसादका दिन । दुई वर्षपछि गाउँफर्कको पुनर्गठन भएछ । उनको नाउँ सिफारिसमै परेनछ । पञ्चायतमा लागेर कमाएको गाउँफर्कको जागिर त्यहीँ बिलायो । हण्डर जति खेपे पनि तथाकथित ‘पञ्चे’को बिल्ला उनीमाथि लागिरह्यो ।
०००
०४६ साल आयो । देशमा बहुदल आयो । कृष्णप्रसादको चेतनाले पनि कोल्टे फेर्‍यो । यिनलाई लागेछ, नयाँ माहोलमा देशको हितका लागि नयाँ ढंगले बहस गर्नुपर्छ । तानसेनमा आफूजस्ताहरूको एउटा समूह बनाउन लागेछन् । एक दिन ‘स्याटर्डे क्लब’ (शनिबारे क्लब) जन्माए । जानेमानेका व्यक्तित्वलाई बोलाई शनिबारका दिन तानसेनमा प्रवचन र अन्तरक्रिया गर्न थाल्यो त्यो क्लबले । क्लबमा ऋषिकेश शाह, गोविन्द वियोगी, हिरण्यलाल श्रेष्ठलगायत आइपुगे । एकफेर ऋषिकेश शाहले भनेको कृष्णप्रसाद सम्झन्छन्, भारत र अन्यत्र हुने यस्तो बौद्धिक बहस तपाईंहरूले तानसेनमा सुरु गर्नुभएछ । यस्तो अभूतपूर्व कामको थालनी गर्ने काममा तपाईंहरू ‘फस्र्ट’ हुनु भो । एकफेर हिरण्यलाल श्रेष्ठले नेपालगन्जमा पुगेर भने रे, तानसेनमा जस्तो नेपालगन्जमा पनि बौद्धिक अभ्यास सुरु गर्नुहोस् । त्यो सम्झिँदै खुसीले पुलकित हुन्छन् मेरासामु बोलिरहेका वृद्ध कृष्णप्रसाद । 
०००
श्रीमती कृष्णप्रसाद दमले थलिइन् । गोरखपुर, काठमाडाैं धेरैतिर धेरैपल्ट पुर्‍याए । केहीसिप लागेन । तीन वर्षअघि बिमारले उधुमै चाप्यो । मिसन अस्पताल लग्न खोजे । श्रीमतीले फिटिक्कै मानिनन् । एक दिन बाहिर ट्याक्सी बोलाए । झुक्याएर अस्पताल लैजाने सुर कसे । भर्‍याङबाट बोकेर झार्दाझार्दै श्रीमतीले थाहा पाइछिन् । मलाई अस्पताल किन लगेको, म जाँदै जान्न भन्न थालिछन् । बिचरी श्रीमतीले मुठी बाँधेर समाएको रेलिङ बल गरेर कृष्णप्रसाद आफैंले छुटाए । ‘मलाई मार्न लगेको... मलाई मार्न लगेको’ भन्दै थिइन् रे श्रीमती । तर, कर्‍याककुरुक पारेर ट्याक्सीमा हालिछाडे । कृष्णप्रसादको बोली निख्रियो, ‘त्यसको चार दिनका दिन उसको प्राण त्यहीँ गयो..., अब मेरा मनका कुरा कसलाई सुनाऊँ बाबु ? म त्यो दिनदेखि रित्तो छु ।’ आजभोलि आफ्नी अर्धाङ्गिनीलाई मार्न अस्पताल जबर्जस्ती लगेको अवसादमा म छु । महापाप बोकेको छु भन्दै गर्दा कृष्णप्रसादका गला अवरुद्ध भए । बुढिएर सुकेको गालाबाट आँसुका नहर बग्न लागे । यत्ता म त्यो कथा टिप्न छाडेर आफ्नै आँसु पुछ्न थालेँ । मेरो वयोवृद्ध फ्यानको कथामा पग्लिएर ।

साहित्यिक कार्यक्रममा सँगै बस्दा पनि हामी सजिलै ‘इग्नोर’ गर्न सक्छौँ, भिडमा हराइरहेका यी वयोवृद्धलाई । कृष्णप्रसाद शर्मा  उर्फ ‘विशारद’लाई । 

[email protected]