• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुशीला शर्मा
२०७८ भदौ १९ शनिबार ११:०२:००
समाज

तिज : पारिवारिक पुनर्मिलनको अवसर

२०७८ भदौ १९ शनिबार ११:०२:००
सुशीला शर्मा

 

संस्कृति जोगाउने भन्दाभन्दै हामी महिला सयौँ वर्ष पछाडि नै छाडिएका छौँ

 

हिन्दू समाजमा श्रावण र भाद्र महिनामा विभिन्न चाडपर्व पर्छन् । ती चाडपर्व विशेषतः महिलाकेन्द्रित हुन्छन् । त्यसमध्ये तिज पनि एक हो । तिजको कथासार यस्तो छ :

 

प्राचीनकालमा (अझ भन्नुपर्दा भगवान्हरूको पालामा) हिमालयका राजा पर्वतकी छोरी पार्वतीले संहार तथा संरचनाका देव मानिने महादेवलाई खुब मन पराइन् । पर्वतलाई आफ्नी छोरी ती फकिर जस्ता महादेवलाई विवाह गरिदिन मन भएन । पार्वतीले आफूले रोजेको वर पाउन संघर्ष नै गर्नुपर्ने भयो । पार्वतीले अनेक ध्यान, तप, व्रत गरेर उनले मन पराएका महादेवसँग विवाह गर्न सफल भइन् । पार्वतीको आफूप्रतिको ध्यान, तपस्याबाट प्रभावित भएका महादेवले पनि पार्वतीलाई वधूको रूपमा स्विकारेको खुसियालीमा यो तिज पर्व मनाउन थालिएको भन्ने कथन रहेछ ।

 

कथाले मन परेका पति पाउन महिलालाई बडो अनुनय–विनय, ध्यान, तपस्या नै गर्नुपर्ने देखाएको छ । त्यो वेलाको समाज र महिला–पुरुषको सम्बन्ध पनि यस कथाबाट केही सोच्न सकिन्छ । 

ऋषिपञ्चमी कथा 

 

तिजकै दोस्रो या तेस्रो दिन मनाइने ऋषिपञ्चमीको कथासार पनि पाप र पुण्यमा नै अल्झेको छ । ऋषिपञ्चमी भन्नेबित्तिक्कै ऋषिहरूको पूजाआजा गर्ने भन्ने अर्थ लाग्छ । ती ऋषिहरूका नाम पनि यसप्रकार रहेछन्– कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदाग्नि र वशिष्ठ । 

 

धेरै वर्षपहिले विदर्भ सहरमा उत्तङ्का नाम गरेका ब्राह्मण बस्दथे । उनी आफ्नी श्रीमती सुशीला र दुईजना छोराछोरीको साथमा सुखी जीवनयापन गर्दै थिए । समय बित्दै जाँदा उनकी छोरीको विवाह गर्ने समय भयो । ती नाम गरेका ब्राह्मणले आफ्नी छोरीको विवाह एक धार्मिक व्यक्तित्व भएका ब्राह्मणसँग गराइदिए । तर, दुर्भाग्यवश विवाह गरेको केही समयपश्चात् नै उनको ज्वाइँको मृत्यु भयो । उनकी छोरी पतिको मृत्युपछि माइतीमै गएर आमाबाबु र भाइसँगै बस्न थालिन् ।

 

दुःखी भएका उत्तङ्काले आफ्नो परिवारसहित एक नदीकिनारको घाटमा गई कुटी बनाएर बस्न थाले । एक रात उत्तङ्काको परिवार शान्त निन्द्रामा थिए, तर अचानक केही नराम्रो आवाजले उनकी पत्नी सुशीलाको निन्द्रा भंग भयो । उनी उठिन् । एक दृश्यले उनी आश्चर्यचकित र डरले काम्न थालिन् । उनले यस्तो दृश्य देखिन् कि उनकी छोरीको सम्पूर्ण शरीर किराहरूले ढाकिएको थियो । यो कुरा उनले हतासिँदै आफ्नो श्रीमान्लाई बताइन् । यो सब किन भइरहेको छ भनेर ब्राह्मण उत्तङ्काले आफ्नो ध्यान र दिव्यदृष्टि लगाई हेरे । 

 

ऋषिपञ्चमी महिमाले केवल महिलाका पवित्रता र अपवित्रता अनि पाप र धर्म, श्राप र आशीर्वादलाई मात्र समेटेको छ र तिनै महिमालाई हामी बर्सेनि उत्सवका रूपमा मनाउँदै आइरहेका छौँ । 

 

उनलाई ध्यानमग्न भएको अवस्थामा यस्ता विवरण आए कि उनी हैरान भए । उनीहरूका छोरीले पूर्वजन्ममा पनि र वर्तमानमा पनि महिनाबारी हुँदा सबै सरसामान छुनेलगायत घरका काम गर्ने, मानिसहरूलाई छुने गर्दिरहिछिन् । यही कारण उनकी छोरीको जीवनमा यस्ता आपत् आइपरेका रहेछन् । वेदमा उल्लेख गरिएका कुनै पनि नियमहरू ब्राह्मणकी छोरीले अपनाएकी रहिनछिन् । यही रजश्वला दोषको कारण नै ती युवतीले यी सजाय पाएकी रहिछिन् । 

 

ब्राह्मण उत्तङ्काले यसबाट मुक्ति पाउने उपायको लागि पनि फेरि ध्यान गरेर हेर्छन् । उनको जपपश्चात् यो पनि ज्ञात हुन आएछ कि उनकी छोरीले सप्तर्षिको पूजाअर्चना गर्नुपर्नेछ र उनलाई पूर्वजन्ममा भएका पापहरू मोक्ष हुनेछ । जब उत्तङ्काको छोरीले ध्यानमग्न भएर व्रत लिँदै सप्तर्षिको पूजाअर्चना गरिन् । मासिक चक्रमा अपनाउनुपर्ने विधिहरू अपनाउन थालिन्, तबदेखि उनमा आएका पापका अनिष्ठहरू दूर भए भन्ने मिथकलाई लिएर तिज–पञ्चमी पूजाको गाथा गाइएको कथालाई नै हाम्रो समाजका हिन्दू धर्मावलम्बी महिलाहरूले तन्मयका साथ मनाउँदै आएका छन् । 

 

धार्मिक मान्यताअनुसार महिनाबारी भएकी महिला अपवित्र हुन्छन् । मासिक चक्रको पहिलो दिन महिला ब्रह्मघाटिनी हुन्छिन्, दोस्रो दिन चण्डालिनी, तेस्रो दिन धोबिनी र चौथो दिन नुहाई–धुवाई गरेर ऋषिको नाममा व्रत बसिवरी पूजाआजा गरेपछि मात्र शुद्ध हुने मान्यता छन् । यही विधिविधानलाई मान्दा पूर्वजन्मका पापले अहिले भोगिरहेका असुविधा दूर हुने तथा अर्को जन्ममा भाग्यमानी हुन पाउने आस्था पनि सँगसँगै जोडिएको छ । ऋषिपञ्चमी महिमाले केवल महिलाका पवित्रता र अपवित्रता अनि पाप र धर्म, श्राप र आशीर्वादलाई मात्र समेटेको छ र तिनै महिमालाई हामी बर्सेनि उत्सवका रूपमा मनाउँदै आइरहेका छौँ । 

 

यिनैै मिथकलाई कानुन मानेर चल्ने क्रममा नै महिलाहरूसँग सम्बन्धित प्रथाहरू जन्मिए र ती प्रथाहरू महिलाहरूकै दिमागमा यस्तरी बसे कि अब छाउपडी बार्नैपर्ने, महिनाबारीमा छोइछिटो गर्नैपर्ने, एकल दलित, गरिब महिलाले सामाजिक, हेला र विभेद सहनैपर्ने जस्तो संस्कृति पनि बन्दै गइरहेकोझैँ लाग्छ ।

 

साँच्चै भन्नुपर्दा हामी हिन्दू परिवेशका महिलाहरू यस्ता कथाहरूको फलामे सांग्लोमा गाँठो परेका छौँ । वर्षौंसम्म त्यही गाँठोमा जकडिएर, खिया लागेर धुस्नु होला हाम्रो मनबाट ती पाप र धर्मको नियममा कटिबद्ध नै रहनेछौँ । यो हाम्रो सामाजिक संरचना, संस्कृति अनि धर्मशास्त्रका कानुनका छाप हुन् । तिनै सांस्कृतिक नियम–कानुनको परिधि नाघ्न नसकेका कारण हामी महिलाको महिनाबारी हुँदा खाना पकाउन नहुने, मठमन्दिरमा पूजाआजा गर्न नहुने, यहाँसम्म कि दिनभरि भान्सामा जान नपाउँदा बरु भोकै बस्न तयार हुन्छौँ । ग्यास्टिकको समस्या भोग्न तयार हुने तर आफूले सधैँ गरिरहेका कार्य गर्न नहुने मान्यता र यसमा घरका ठूलाबडा अनि श्रीमान्कै मौनताले गर्दा पनि महिलाहरू आफ्नो नियमित प्राकृतिक प्रक्रियालाई आइसोलेटेड भएर सही नै रहेछन् । 

 

पहिले चाडपर्वहरूले हाम्रो समाजको नीतिनियम र कानुनको परिपालन जस्तै नियम झल्काउँथे । ती नियम भनेका विशेषतः महिलाकेन्द्रित हुन्थे । आजकल केही परिवर्तन भएका छन् । कैयौँ महिला अनि पुरुषले ती शास्त्रमा लेखिएका भनिएका कुराहरूमा महिला त विभेदित पो हुने रहेछन् भन्ने भेद त थाहा पाइसकेका छन्, तर पनि आफ्नो संस्कार र संस्कृति भन्दै यसलाई निरन्तरता दिने निहुँमा गहनागुरिया, पहिरनको प्रतिस्पर्धाजस्तो पनि बनाउँदै गइरहेका छौँ । 

 

दुःख बिलौनाका गीत गाएर मन हल्का बनाउने दिन पनि महिलाका लागि वर्षको एक दिन आउने तिज नै हुने गर्छ । अझै पनि तिजका बखत महिलाहरू धक खोलेर मादलको तालमा चर्को घाममा नाचिरहेको देख्न सकिन्छ । यो परिवेशलाई हामीले सकारात्मक रूपमा लिन सक्छौँ । जसले तनाव हलुका गराउन मद्दत नै गर्छ । 

 

यसपालिको तिजलाई लक्षित गरेर विष्णु माझीको ‘ओम नमो शिवाय....चरी जेलैमा’ भन्ने गीतले बजारमा चर्चा बटुलिरहेछ । महिलाउपर हुने हिंसाको बेलिविस्तार पनि लगाउने तर अब के गर्ने भन्ने उपायहरू नपस्किकनै संस्कृति जोगाइरहन यी गीतसंगीतले टेवा पुर्‍याइरहेझैँ लाग्छ । सर्जकहरूले आफ्ना सिर्जनामा संस्कृति जोगाउँदै र परिवर्तनको भाका पनि भर्दै जानुपर्ने होइन र ? ‘चरी जेलै’मा गीतमा पनि सुरुदेखि अन्तसम्म महिलाको दिनचर्या, वेदना, दुःख र आँसु मात्रै भरिएको छ । यस्ता गीतहरूले तिजमा बिलौना मात्रै पोख्नुपर्छ भन्ने जस्तो देखाउँछ । संस्कृति जोगाउने भन्दाभन्दै महिलाहरू सयौँ वर्ष पछाडि नै छोडिएनौँ र ? प्रश्न उठ्न थालेको छ । 

 

तिजको पारिवारिक पुनर्मिलन गराउने सकारात्मक पाटो पनि हुन सक्छ । तर, रीतिथिति, चलन भन्दै पञ्चमीका पूजाहरूमा पढिने ग्रन्थमा लेखिएका महिलालाई लाग्ने पाप र त्यसको धार्मिक सजायको फेहरिस्तले भने के महिला भनेका पापैपापका सम्भावना मात्रै हुन् त ? महिलाका शरीरका प्राकृतिक नियमित चक्रहरू पनि पापका शृंखला नै हुन् त ? भन्ने लाग्न सक्छ । आजकल त पढेलेखेकै महिलाहरू नै त्यस पूजापाठमा बसेर ध्यान दिएर सुनिरहँदा कोही मुस्कुराइरहेका हुन्छन् भने कोही मौन हुन्छन् । 

 

[email protected]