• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
बिएन जोशी
२०७८ भदौ १९ शनिबार १०:५३:००
इतिहास

राउटेसँग मिल्दोजुल्दो मंगोल समुदाय

२०७८ भदौ १९ शनिबार १०:५३:००
बिएन जोशी

‘अस्ताइन् सम्झना’, ‘राउटे सुन्दरीको देहान्त ।’ यस्ता समाचार केही समयअगाडि अनेक थरीका अनलाइनमा प्रसारित भए । राउटे युवतीहरूमाथि गरिएको अभद्र व्यवहार र चरित्रहत्याका प्रयासहरूले नेपाली समाजको एकथरी मुहार छर्लंग देखाउँछ । यो लोपोन्मुख जाति राउटे समुदायप्रतिको भद्दा मजाक हो । समयको कुनै कालखण्डमा सारा मानवको अवस्था त्योभन्दा पनि नाजुक थियो भन्ने हामीले बिर्सँदै गयौँ । बिहानी देखेर साँझ बिर्सनु हुँदैन । राउटे कुनै एक जाति र समुदाय मात्र हैन । यो एउटा मानव सभ्यताको पहिचान र इतिहास हो । देशको महङ्खवपूर्ण गहना पनि हो । आज हामीले वर्तमानमै साक्षात्कार गर्न पाइरहेका छौँ । 

 

पश्चिम नेपालको पहाडी भेगतिर फिरन्ते जीवन बिताउने वनको ‘राजा’ राउटे समुदायको जनसंख्या मात्र केही सयको हाराहारीमा छ । चारपाँच महिनाभन्दा बढी एकै ठाउँमा नबस्ने यिनीहरूको प्रमुख पेसा भनेको काठका सामग्री ठेकी, सन्दुक इत्यादि बनाएर गाउँमा गई अन्नहरूसँग साटेर जीवन गुजारा गर्नु हो । समाजको मूलधारमा आउनुभन्दा जंगली जीवनलाई नै आत्मसात् गर्न रुचाउने यायावरीय राउटेहरूको मुख्य खाना जंगली फलफूल र गिट्ठाभ्याकुर हुन् । मासुका लागि यदाकदा लंगुर बाँदरहरूको सिकार पनि गर्ने गर्छन् ।  

 

जसले आज एउटा मानव सभ्यताको पहिचान बोकेको समुदायप्रति व्यंग्य गरे, त्यो कुनै पनि हालतमा क्षम्य छैन । यिनका परम्परा, संस्कृति, लिपि, वेशभूषा र भाषाको संरक्षण तथा प्रवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता हो । राउटे समुदायको मौलिकता र मानवअधिकारको विषयमा राज्य मात्र हैन, आमसमुदायसमेत संवेदनशील हुनु जरुरी छ । यो हाम्रो महङ्खवपूर्ण गहना हो । यसलाई संरक्षित गर्नु सबैको दायित्व हो ।

 

राउटे कुनै एक जाति र समुदाय मात्र होइन । यो एउटा मानव सभ्यताको पहिचान र इतिहास हो । देशको महत्वपूर्ण गहना पनि हो ।

 

एउटा लोपोन्मुख जातिलाई मूल प्रवाहमा ल्याउने र आधुनिक बनाउने बहानामा अन्य जनजातिका जस्तै संस्कृति नै लोप हुने खालका गतिविधि गर्नु हानिकारक हुन सक्छ । उनीहरूलाई न्यूनतम आधारभूत सुविधा जस्तै– शिक्षा, स्वास्थ्यलगायतका अन्य व्यवस्थापनमा ध्यान दिनु र सचेतना जगाएर सहयोग गर्नु उचित हुन्छ । राउटे समुदायलाई आधुनिकतामा परिणत गराउने उद्देश्य लिँदै गर्दा तिनका भावी पुस्ताले आदिकालदेखिका आफ्ना मौलिकता बिर्सनु पक्कै पनि सही हुँदैन । जुन आधुनिकताको आहालमा डुबिसकेपछि निस्कन निकै गाह्रो पर्नेछ । उदाहरणका लागि अन्य जनजातिहरूका नयाँ पुस्तालाई नियाल्दै गर्दा प्रस्ट हुन्छ । के सर्ट, पाइन्ट र टाई लगाउँदैमा मानिस आधुनिक हुने हो र ? यस जगत्मा कति धेरै विविधता भएका मानिस छन् भने उनीहरूको संस्कृति र पहिरन नै विश्वमाझ पहिचान बनेर झल्केको देखिन्छ । 

 

यस प्रसंगमा म राउटेजस्तै आदिवासी मंगोलको थोरै चर्चा गर्न चाहन्छु । तेह्रौं र चौधौं शताब्दीमा विश्वकै ठूलो साम्राज्यका रूपमा कहलिएको मंगोल भौगोलिक दृष्टिले सरसर्ती हेर्दा विशाल घाँसे मैदान देखिन्छ । हाल उत्तरी चीनको भूभागमा पर्ने भित्री मंगोलियाको क्षेत्रफल नेपालको भन्दा आठ गुणा ठूलो छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४७ देखि भूपरिवेष्टित भित्री मंगोलिया चीनको स्वशासित क्षेत्रमा स्थापित भएको हो । यसको अधिकांश उत्तरी सिमाना मंगोलियासँग जोडिएको छ भने मात्र केही छोटो भूभाग रसियासँग । 

 

केही समयअगाडि मंगोलिया भ्रमण गर्ने मौका मिल्यो । यसको राजधानी होहटको होटेलमा बस्दै गर्दा त्यहाँका आदिवासीहरूको बारेमा केही जानकारी मिलेपछि यत्ति नजिकै आइसकेपछि यिनीहरूको थातथलोमै गएर जान्ने र बुझ्ने उत्सुकता जाग्यो । भोलिपल्टै करिब सय किलोमिटरको दूरीमा रहेको सिलामुरेन ग्रासल्यान्डतिर हान्निएँ । एसियाकै ठूलो गोवी मरुभूमि यही क्षेत्रमा पर्दछ । यल्लो रिभरनजिकै पर्छ । तर, सोचेजस्तो सहज रहेनछ आदिवासी मंगोलहरूसँगको सामीप्य पाउन । सीधै उनीहरूको वासस्थानसम्म पुग्नका लागि बन्देज गरिएको छ । 

 

चँगेज खाँदेखिका इतिहासहरू समेटेर चिनियाँ सरकारले पर्यटकहरूका लागि आकर्षित गर्न अनेकन तिकडम गरेको छ । केही समयअघिसम्म विदेशीहरूका लागि इनर मंगोलिया जानका लागि अलग्गै भिसाको आवश्यकता पर्दथ्यो । यो हाम्रो मुस्ताङको लोमन्थाङ क्षेत्र प्रवेश जस्तै लाग्यो । जुन स्थानको सहज प्रवेश हुँदैन, त्यो स्थानको उच्च कौतूहल हमेसा ताजा रहन्छ । 

 

एकीकृत रूपले घुमन्ते जीवन बिताउने मंगोलहरू नै त्यहाँका आदिवासी हुन् । सीमित संख्यामा मात्र रहेका तिनलाई देख्न कठिन हुन्छ । नेपालका राउटे समुदायजस्तै फिरन्ते लाग्यो मलाई यी मंगोलहरू । परालको कुनियोजस्तो देखिने छाप्रो र टेन्ट हुँदै विकसित भएको आजको घुमाउने घरमा बस्न थालेकाहरूचाहिँ अलिक परिवर्तित भएका रहेछन् । तापनि बाहिरी संसारसँग खासै हेलमेल गर्न दिइएको छैन । उनीहरूका न्यूनतम सुविधाहरूलाई त्यहाँको राज्यले यथेष्ठ रूपमा सहयोग गरेको छ । खेतीपाती खासै नगर्ने र पशुपालनलाई प्रमुख पेसा अपनाएका यी आदिवासीहरू जता हरिया घाँसको भूभाग देखिन्छ, उतै बसाइँ सर्दै जाने रहेछन् । 

 

 

चरण क्षेत्रको सहज उपलब्धताले यिनका दैनिकी सरल बनेको देखिन्छ । हाम्रा राउटेहरू पनि आफ्नो पेसाप्रति प्रतिबद्ध रहेर जीवन गुजाराका लागि बसाइँ सर्ने गर्छन् । यस्तो मानव जीवनको चक्रलाई सचेत वर्गले स्वतन्त्र रुपमा छोडिदिनु नै उपयुक्त हुन्थ्यो सायद । आँखाले नभ्याउने हजारौं किलोमिटरको समथर घाँसे मैदान उनीहरूकै साथमा छ । यस्तो लाग्छ, यो विशाल क्षेत्र यिनकै अधीनमा छ । यिनीमाथि राज्यको कुनै अंकुश देखिँदैन । उल्टै तिनिहरूलाई कुनै बाह्य समुदायले अवरोध सिर्जना गरेमा कडा कानुनी दायरामा बाँधिनुपर्ने हुन्छ । यो एउटा आदिवासीप्रतिको संरक्षणको नमुना हो । जसबाट हाम्रो राज्यले राउटे समुदायमाथि यस्तै प्रयोग गरेर एउटा अभिभावकत्व दिन सक्छ । 

 

पछिल्लो समय चीनले अधिकांश स्वशासित क्षेत्रमा व्यापक लगानी गरेर त्यहाँसम्म पुग्ने भौतिक संरचना निर्माण गरेको छ । जसले गर्दा पर्यटकहरू सहज तवरले पुगेर भ्रमण गर्न सकून् । यस्ता पिछडिएका समुदायहरू बस्ने वासस्थानलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै लगेको देखिन्छ । 

 

अठारौँ शताब्दीका छिङ वंशको पालादेखि नै स्थानीय भाषामा गिरावट आएको तथ्यांक छ । करिब ४० लाखभन्दा बेसी प्रान्तीय मंगोल र चाइनिज भाषाको क्षय हुन थालेसँगै चीनले पुनः उद्धार गरेको रहेछ । यो प्रक्रिया १९४७ देखि नै पटक–पटक भएको पाइन्छ । जतिजति शहरसँगको साइनो प्रगाढ हुँदै गयो, त्यति नै भाषामा गिरावट आउन थाले । बहुभाषी आदिवासी रहेको इनर मंगोलियामा राजधानी होहट लगायतमा बसोवास गर्ने शिक्षित मंगोल र मन्डारियन बोल्नेहरूले पछि गएर संरक्षित गरेका रहेछन् । 

 

एकीकृत रूपले घुमन्ते जीवन बिताउने मंगोलहरू नै त्यहाँका आदिवासी हुन् । सीमित संख्यामा मात्र रहेका तिनलाई देख्न कठिन हुन्छ । नेपालका राउटे समुदायजस्तै फिरन्ते लाग्यो मलाई यी मंगोलहरू ।

 

त्यहाँ कानुन नै कस्तो बनेको छ भने, सबै सडक संकेत, व्यावसायिक आउटलेट र सरकारी कागजातहरू अनिवार्य रूपमा दोभाषेको प्रयोग गरिएको छ । त्यहाँका तीन टिभी च्यानल मंगोल भाषामा प्रसारित हुन्छन् भने सार्वजनिक सवारीमा दुवै भाषाद्वारा सूचित गरिन्छ । फलस्वरूप हालको अवस्थामा ५० लाखभन्दा बढीले क्षेत्रीय भाषा बोल्ने गर्दछन् । क्षेत्रीय भाषाहरू पनि प्रान्तअनुसार धेरै प्रकारका छन् । यसरी आधुनिक मानवको पर्खालले थिचेको एउटा ऐतिहासिक जीवन्त समुदायको संरचनालाई पुनर्जागृत गराउने काम आधुनिक चीनले गरेको देखिन्छ ।  

 

राजधानी होहटबाट नजिकै भएको र धेरै सहज सुविधाका कारण पनि यस क्षेत्रमा छिटो पर्यटकीय गन्तव्यका रूपमा फस्टाएको छ । मौलिकता झल्कने गरी मैदानका मध्यभागहरूमा छपक्कै खुलेका रिसोर्टहरूले पर्यटकलाई आकर्षित गर्न विभिन्न खाले प्याकेजको अफर गरेको हुन्छ । यिनले सीधै रूपमा आदिवासीको पहुँचसम्म पुग्न नपाएकाहरूलाई प्यास मेटाएका देखिन्छन् भने यदाकदा मौका मिलाएर मोटो रकममा घोडाको माध्यमबाट मंगोलहरूको बस्तीसम्म पनि लैजाने गर्दा रहेछन् । जुन स्थानीय कानुनअनुसार वर्जित गरिएको छ । हरेक ग्रीष्म ऋतुमा मनाइने परम्परागत नादम पर्वमा घोडा दौड, धनुषवाण, कुस्तीलगायतका कौशलहरू विशेष रूपमा मनाउँछन् । मंगोलहरूको वेशभूषाले पर्यटकहरूलाई आकर्षित गरेको देखिन्छ । मंगोलियन कला, संस्कृति, खाना, साँझमा हुने सांस्कृतिक कार्यक्रमलगायतका गतिविधिले मुसाफिरहरूलाई थप रौनक थप्ने गर्छ । म आफूलाई पृथ्वीको विपरीत गोलाद्र्धमा आइपुगेको भान भएको थियो । 

 

साझा फूलबारीको पगरी गुथेको नेपालमा १०१ जातीय र बोल्न सकिने ९२ भाषाको गर्विलो इतिहासको के उचित संरक्षण भएको छ त ? नेपालको अन्तिम यायावरीय राउटे समुदायमा पनि कला, वेशभूषा र संस्कृतिको बेजोड उपस्थिति देखिन्छ । तर, यसलाई वेलैमा ठोस रूपमा संरक्षण गर्न सकिएन भने भावी पुस्ताले इतिहासका पानामा मात्र देख्न पाउनेछ ।