अरबको मरुभूमिमा उभिएर
आलिंगनका हातहरू फैलाउँदै
मेरो सामीप्य पुगेको सपना नदेखाऊ मलाई ।
यो सहरमा,
केवल तिमी एक छैनौ सपना देखाउने,
यहाँ
एक कौडीको काम नपाउने युवालाई
बंगला बनाउन
मल्टिनेसनल बैंकले देखाइरहेको सपना,
चिहान भत्काएर घर ठड्याउने र
नदी थुनेर सडकमा बाढी भित्र्याउने
महानगरको स्मार्ट सिटी बनाउने सपना,
खल्ती सारा खोतलेर डाँकाले झैँ
कर असुलेर जनतालाई खुसी बाँड्ने
सरकारले देखाइरहेको सपना !
सपना नै सपना,
हजार सपना !
अहो कति देख्ने सपनाहरू ?
यद्यपि,
मैले पनि देखेको छु,
तिमी अरबबाट फर्किसकेपछि
हावाकै वेगमा सररर्र गुड्ने
एउटा प्राडो किन्ने सपना !
नेताहरू सपना देखेर बर्बराउन थालेपछि
मैले यो देश सिंगापुर कल्पेको थिएँ,
स्विट्जरल्यान्ड भाकेको थिएँ
राजा र रैती मेटाएर
न्याय र समतामूलक राज्य कल्पेंको थिएँ
थिएँ मैले यो पनि अल्पेको
कि
यो मुलुकलाई सिंगापुर बनाउन
मेरो तिम्रो संयुक्त श्रम रहनेछ,
हाम्रो संयुक्त जोस जुट्नेछ !
तिमी यही मुलुक बनाउँदै हुनेछौ
अरबका कंक्रिट सडक
खनिरहेका तिम्रा हातहरू
यहाँका पाखाहरूमा
बाटो बिछ्याइरहेका हुनेछन् ।
मलेसियाका होटलमा पकाइरहेको खाना
आफ्नै घरका भान्छाहरूमा पाकिरहेका हुनेछन् ।
कोरियामा मोबाइल बनाइरहेको तिम्रो ब्रेन
यस मुलुकका युवाहरूको
दिमागमा इन्स्टल गरिरहेका हुनेछन् ।
सपना नै सपना
अहो, यति धेरै सपना !
एक दुई गर्दै
तिमीलाई भेट्न आउने सडकमा
सपनाको जाम यति लामो भइसक्यो
सपनाको यो जामबाट मुक्त भई
सशरीर घाटसम्म आई म
अरबदेखि ल्याएर सुताएको तिम्रो लासमा
पानी पिलाउन पनि असमर्थ हुँला प्रिय !
यी सपनाहरू नै एक दिन
तिमी र मबीच पर्खाल भई उभिदिनेछन्
त्यसैले, कमसे कम
तिमीले त सपना देखाउन छोड ।