• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नरेन्द्रजंग पिटर
२०७८ भदौ २६ शनिबार ०७:४२:००
समाज

‘प्रयास समूह’को त्यो प्रयास

२०७८ भदौ २६ शनिबार ०७:४२:००
नरेन्द्रजंग पिटर

नेपालगन्ज मलाई पहिलो दृष्टिमै अनौठो लाग्यो । लडियाका ताँती, टमटम घोडाका टाप, मण्ठाका लस्कर, मान्छे बेचिन तँछाडमछाडको त्रिभुवन चोक, साँगुरो एकलैनी बजार । हरेक बिहानीका निद्रा शंख, घण्ट, अजान र गुरुवाणिका आस्था स्वर र रुपेडिया जाने टाँगाका खटखटाहटले बिउँझाउँथ्यो । 


पहिरनले पहिचान बोलिरहेको हुन्छ । सारी, चुँदरिया र घुम्टो, बुर्का, लेहंगा, कुर्ती, सुरुवाल, चोली–फरिया, पाइन्टमा सजिएका युवती÷महिला एकै थलोमा देखिनु बगैँचाका फूलझैँ लाग्थे । टुप्पी र दाह्रीले आफ्ना पहिचान बनाएका मान्छेका गलामा पँहेला, राता, सेता, हरिया गम्छाले टाढाबाटै धार्मिक पहिचान झल्किन्थ्यो । धोती, लुङ्गी र टोपीबाट बहुजातीय, बहुधार्मिकताको परिचय दिइरहन्थ्यो । छतमा फरफराइरहेका पहेँला, राता र हरिया ध्वजा आस्था चिच्याइरहेका । हरेक कुरा विशेष लाग्दै गए । कुतूहलता र जिज्ञासा बढ्दै गए । यी सांस्कृतिक, धार्मिक मान्यता र सांस्कृतिक अभ्यास थलोले मेरो पुराना विश्वास क्रमशः भत्किँदै नयाँ बन्दै गए । पहिलाका सत्यले नयाँ अध्ययनका लागि ज्ञान र सूचनाका भूगोल फराकिला पार्दै गयो । एकै ठाउँमा हिन्दू, मुसलमान, थारू, मधेसी, पहाडिया, आदिवासी, जनजाति कसरी आफ्ना मान्यता, विश्वास र सर्तलाई पालना गर्दै एकआपसमा हार्दिकतामा रहन र रमाउन सक्छन् ? यस्तो सद्भावको मनोविज्ञान के हो भन्ने जिज्ञासा बढ्दै गयो । 


कोख र मातृभूमिका कारण विश्वास, सांस्कृतिक, धार्मिक चेतना र मान्यता विकास हुन्छन् । नयाँ परिवेश, ज्ञान र सूचनाका क्षेत्रफल चौँडा हुँदै गएर विकसित मान्यताले नयाँ सत्यको सिर्जना गर्छ । स्वीकार्य सत्यले मान्छेको भूमिका तय हुँदै जान्छ । त्यस्तै भयो मलाई नेपालगन्ज पनि । 

 

विस्मृतिका गर्भमा चिच्याहट 
इतिहासका पुस्तकमा बुझेको नयाँ मुलुक प्रत्यक्ष हुँदा झन् कुतूहल थपिँदै जान्थ्यो । आजको चस्मा वा आग्रहले इतिहास पढ्न सकिँदैन । एउटा जिज्ञासाको उत्तर थाहा पाउनेबित्तिकै अर्को थपिन्थ्यो । नेपालगन्ज महान् कर्णाली सभ्यता, इतिहास र अवध संकृतिको संगम । मानव महाविचरणकालमा पुर्खाहरूको आश्रयथलो– दनुवा ताल, बर्दियाली मानव । महान् थारू सभ्यताको केन्द्र । फैलिँदै, खुम्चिदै, फेरि फैलिँदै र अतिक्रमित हुँदै गएको राजनीतिक भूगोल । बौद्ध संस्कृतिको राप्ती नदीमा बिलाएको सहेठ महेठ (बालापुर), गदरका इतिहास र नानारावको समाधि । ओहो ! शरण लिन आएका गदर छप्काएर रक्तनदी बनेको कालाकाटे । लिखत इतिहासका पहिलो सहिद बाँकावीर, पहिलो महिला सहिद कोइली देवी थरुनी । महान् किसान संघर्ष, भीमदत्त र कामी बुढा । ओहो ! विस्मृतिका गर्भमा चिच्याइरहेका विषय उत्खनन गर्न पर्ने कति हो कति...। 


थाहा नपाइन्जेल हरेक विषय नयाँ हुन्छन् । विशेष पनि समय घर्कदै जाँदा, संगत हुँदै जाँदा, अभ्यस्त हुँदै जाँदा सामान्य बन्दै जाँदो रहेछ । सहित्य कला, समाज र इतिहास बुझ्न चहाने जिज्ञासु विद्यार्थीका लागि लघुकथाकार÷पत्रकार राजेन्द्र ज्ञवालीको संगतले नेपालगन्जिया अवधि समाजसँग घालमेल र अध्ययन गर्न सहज बनाउँदै गयो । अध्ययन केन्द्रमा विशेषगरी ००७ का भेट्रान इतिहास निर्माता थिए । तीन देशमा फासीका सजाय सुनाइएका दिलमान सिंह थापा, डोनास गाङदान, श्याम तामाङ तीनैजना जनमुक्ति सेनाका संस्थापक । पश्चिम नेपालका क्रान्तिकारी बाबुकृष्ण शर्मा, कुवर कल्लु सिंह, रूपसिंह सिजापती गोपाल कर्माचार्य, जनक कर्माचार्य, गणेश कर्माचार्य, गोपालबहादुर श्रेष्ठ, शेखर शर्मा, बदलुराम नेपाली, रामकृष्ण मानन्धर, मुलायम वेहना, घगडान आश्रम, दशरथचन्द आश्रम (रुपेडिया) अब ती सबै इतिहासका पानामा । 


००७ सालका इतिहासकारले नारायणीनदी पश्चिमको इतिहासलाई न्याय गरेनन् । इतिहासका व्यवस्थापकहरूले नारायणीनदी पूर्वका राजनीतिक कमिसार बिपी कोइरालालाई केन्द्र बनाइए । क्रान्तिका सुप्रिम कमान्डर (डिक्टेटर) मात्रिकाप्रसाद कोइराला, पश्चिमी कमिसार महेन्द्रविक्रम शाह र सैन्य कमान्डर ठाकुर पुरण सिंह खवासको खासै उल्लेख गर्न चाहँदैनन् । प्रजातान्तिक कांग्रेसको नेतृत्वमा पश्चिमको आन्दोलन सशक्त र सशस्त्र रह्यो । ००७ सालमा जनमुक्ति सेनाको भूमिका या विषयान्तर गर्छन् वा अत्यन्तै न्यूनीकरण ।


त्यतिवेला साहित्यकार नयनराज पाण्डेको बसाइँ नेपालगन्ज नै थियो । शारदाकालीन साहित्यकार इन्द्रमणि मानव, चर्चित कथाकार नन्दराम लम्साल, गायक/गीतकार प्रेमप्रकाश मल्ल, कथाकार सनत रेग्मी, महेन्द्र शाहीसँग सम्पर्क, हार्दिकता भइसकेको थियो । वी. विकास र आरिफ माडसावसँग भेट हुन पाएन । सानातिना साहित्यिक कार्यक्रम गथ्र्यौं । भेरी साहित्यिक संस्थाको अगुवाइमा पहिला भव्य साहित्यिक कार्यक्रम हुन्थे नै । स्थापित साहित्यकार इन्द्रमणि मानव, नन्दराम लम्साल र सनत रेग्मीबीच हार्दिकता थिएन । रेग्मीको थप राजनीतिक व्यक्तित्वका कारणले पनि देशैभरिका वरिष्ठ लेखकहरूसँग सम्बन्ध र सानिध्यता थियो । मानव र लम्सालका पछिल्ला समयमा सक्रियता कम भयो । त्यसैले तीन हस्तीहरू एउटा मञ्चमा उभिन भने चाहँदैनथे, सिर्जनाकालको (सिर्जना साहित्यिक पत्रिकाको सम्पादन÷प्रकाशन समय) हार्दिकता थिएन । 


उर्दूको मुसायराले (कवि गोष्ठी) नेपालगन्जमा विशेष महत्व राख्छ । पञ्चायतकालमा सरकारद्वारा सायरहरूलाई (कवि) काठमाण्डू लाने चलन थियो । उर्दू साहित्यमा गजल विधा नै प्रमुख भए पनि साहित्यिकभन्दा धार्मिक (नाद) ज्यादा थियो । अधिकांश सायरका वाचनमा हिन्दुस्तानी वा पाकिस्तानी सायरका कपी हुन्थे । पञ्चायतकालमा राजालाई रिझाउने वा ‘राष्ट्रभक्तिका’ सायरी तरुन्नुम (लयात्मक) हुन्थे । बज्म–ए–अदव अदव आपसमा विभाजित गुल्जारे अदव र बज्मे अदव थियो । मोहमद युनुस, अब्दुल लतिफ सौक र मोहम्मद अमिन ख्याली पछिल्लाकालका अगुवा भए । पछिल्लो ठूलो मुसायरा सायर मुरलीको सम्झनामा गरिएको थियो । प्रकाश राजापुरीको सञ्चालन, पारस भ्रमर र प्रेमप्रकाश मल्लको उपस्थितिले उर्दू, हिन्दी, नेपाली र अवधिको संगम बनायो । त्यो मुसायरा र नेपालगन्जको समाज, संस्कृति, भाषाले मेरो नेपाली शब्दको सीमित घेराको परिभाषा, संवेदना, अर्थको क्षेत्रफल फराकिलो बनाउँदै पुरानो दिमाग भत्काइदियो ।

 

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । नेपाली शब्दमाथिको राजनीतिक एकाधिकार खसभाषीहरूको वर्चस्वबाट अन्य भाषा, क्षेत्र, संस्कृतिले पनि आत्मसात् गराउन सक्नुपर्छ, तब मात्र आन्तरिक र बाह्य राष्ट्रियता मजबुत गराउन सकिन्छ भन्ने आत्माले स्विकार्‍यो । त्यसको अगुवाइ वर्चस्वशाली समूह र राज्यको अगुवाइमा मात्रै हुन सक्छ । जहाँ मानवबस्ती छ, त्यहाँ उनीहरूका मौलिक भाषा, संस्कृति र साहित्य हुन्छ । ती लिखित/अलिखित दुवै हुन सक्छन् । हरेक आमाले सन्तान सुताउँदाका लोहरी गीत वा पुर्खाका कथा सन्तानलाई सुनाएका हुन्छन् । ती श्रुति साहित्य बनेर पुस्तान्तरण भइरहेको हुन्छ । 


साहित्यको गम्भीर पाठक र राजनीतिमा सक्रिय रहेकाले पुस्तकालय नियमित जान्थेँ । साहित्य र अध्ययन केन्द्र महेन्द्र पुस्तकालय (प्रेम पुस्तकालय) थियो । पुस्तकालय व्यवस्थापकका आफ्नै सीमा, समस्या र आग्रह थिए । नयाँ पहाडिया, कम्युनिस्ट र मुस्लिमलाई त्यहाँ अघोषित प्रतिबन्ध नै थियो । राजेन्द्रकै पहलमा पुस्तकालय कार्यकारिणीमा मेरो प्रवेश मिल्यो । 


दिमागमा विद्यार्थीको जिज्ञासु काउसो लागेपछि ज्ञानी, विद्वान् र शिक्षितसँग नजिकिन मन लाग्छ । हरेक मान्छेसँग अद्भूत ज्ञान रहेकाले ऊ अरूलाई दीक्षा दिन सक्छ । लिने विद्यार्थीको क्षमता हो । आग्रहबाट लतारिएनौ र नायकको आभाबाट मुुक्त भयाैँ भने संकीर्णताबाट जोगिन सक्छौँ । त्यस्तावेला किताब असल साथी हुन्छन्, जिज्ञासाका प्यासले नित्य नयाँ बन्न हौस्याउँछ । मान्छे आफ्नै ज्ञान र सूचनालाई पनि नयाँ सन्दर्भमा फेरि जाँच–पड्ताल गर्न थाल्दो रहेछ । नेपालगन्ज स्वयं एउटा महाकाव्य हो । यहाँको बहुधार्मिक, बहुसांस्कृतिक थलोले संकीर्णताको संघार तोड्न हौस्यायो । 

राजनीतिक परिस्थिति फेरियो । ‘प्रयास’का खास अभियन्ताहरू भिन्न राजनीतिक पार्टीका भए पनि सरकारी नजर र शंकामा पर्न गए । मनोवैज्ञानिक त्रास छाउनु स्वाभाविक थियो । यसरी उदीयमान संस्थाको किशोर अवस्थामै दुःखद मृत्यु भयो ।


हरेक युगका चेतनाका अगुवा यथास्थितिको विपक्षमा हुन्छन् । समयको स्वर उनीहरूबाट व्यक्तिँदै इतिहासका कालखण्डमा बिताएका गौरवशाली भूमिका नियाल्नु राजनीतिक चेतले प्रोत्साहित गथ्र्यो । म अत्यन्तै संकीर्ण राजनीतिक अभ्यास भएको शुद्धतावादी पार्टी संस्कृतिबाट हुर्कें । त्यसले उदार हृदय, खुला मस्तिष्क, चौँडा छाती जिज्ञासु चेत राख्न प्रोत्साहित गर्दैनथ्यो । जोडिदारहरू बुर्जुवाहरूसँगको मेरो संगत रुचाउँदैनथे । 


प्रयास एक अभियान 
असंगठित रूपमा साहित्यिक कार्यक्रम गर्दै गयौँ । प्रतिस्पर्धी अरू संस्था सक्रिय थिएनन् । न हामी कुनै राजनीतिक संस्थाका मातहत थियौँ, न एनजिओका । आफ्नै सक्रियतादेखि फुरुंग बनेका हामीलाई झन् ठूलो कार्यक्रम गर्ने आकांक्षा बढ्दै गयो । भानुजयन्तीलाई अवसरको रूपमा लिने निधो गरियो । सोच त बन्यो, तर व्यस्थापनमा खर्च त लाग्छ । माइक, कुर्सी, चिया, नास्ता ब्यानर आदि जोरमेल गर्नैपर्छ । सहयोगी खोज्दा जनकपुर चुरोट कारखानामा निबन्धकार÷व्यंग्यकार मुन पौडेलकोमा नयनराज पाण्डे, राजेन्द्र ज्ञवाली, दिवाकर शर्मासाथ पुग्यौँ । मुनजी सहयोगका लागि तत्पर त हुनुभो, तर सहयोग दिइने संस्था थिएन । तब संस्थाको न्वारन आवश्यक भयो । लामो छलफलपछि ‘प्रयास समूह’ नामकरण भयो । सायद ‘प्रयास’को न्वारन मुन पौड्यालले गर्नुभयो । यसरी दर्ता नभएको समूह अभियान र आन्दोलन बन्दै गयो । 


यात्रा अगाडि बढ्दै गयो, सहयात्री थपिँदै गए । पुत्रवियोगले डिप्रेसनमा कोठामा धुमधुम्ती बसेका प्रेम प्रकाश मल्ललाई हामीले फेरि महिफिलमा उतार्‍यौँ । उहाँका अनुहारमा चमक, लयको सुमधुरता फेरि फर्कायौँ । मानव, लम्साल र रेग्मीलाई एउटै मञ्चमा उभ्यायौँ । अवधी, हिन्दी, उर्दू, खस नेपाली, कर्णालीका देउडा, मगर, थारू, नेवाः भाषाको बहुभाषीय कविगोष्ठी ग¥यौँ । सेना, प्रहरी र कर्मचारीमा साहित्यकारको खोजी गर्‍यौँ । नवप्रतिभालाई धुइँधुइँती खोजेर माइकमा उभ्यायौँ । क्याम्पस र विद्यालय चहार्‍यौँ । नेपाली साहित्यका शिक्षकभित्र हामीहरू लक्ष्मीप्रसाद देवकोटा र नामवर सिंह खोज्थ्यौँ, सबै साहित्यका शिक्षकमा साहित्यकार हुँदो रहेनछ, न साहित्यिक संवेदना ।


हाम्रो अभियानले प्रबुद्धजन, जिज्ञासु, बौद्धिक तप्का र मिडियाबाट साथ पाउँदै गयो । देशका विभिन्न क्षेत्रका कवि, साहित्यकार नेपालगन्ज आउँदा उहाँहरूको आथित्यमा कार्यक्रम हुँदै गए । सनत रेग्मी र नयनराज पाण्डेको फराकिलो सम्पर्क घेराको उपहार ‘प्रयास’ले उपयोग र उपभोग ग¥यो । ‘प्रयास’लाई हामीले राजनीतिक, भाषिक, जातीय र धार्मिक घेराबाट मुक्त गराउने सचेतता अपनाउँदै गयौँ । विविधतामा संवेदनात्मक साहित्यक समरस अभ्यास हुँदै गयो । 


कवि श्यामल र रेशम विरहीको सामीप्यमा ‘प्रयास’ अझ घनीभूत भयो । प्रमोद प्रधानले त राष्ट्रिय रूपमा मिडियामार्फत परिचय स्थापति गराए । त्यसैवेला मधु शर्मा र तारा खनालको अगुवाइमा जय दशरथ पुस्तकालय खोलियो । त्यो एउटा प्राज्ञिक हस्तक्षेप भए पनि जोगाइरहन भने सकिएन । 


समयले धेरै कुराको निर्णय गर्छ । नयन काठमाडौं फर्किए, राजेन्द्रलाई पनि नेपालगन्ज साँघुरो बन्यो । सत्ताको पश्चिमी केन्द्र नेपालगन्ज जनयुद्धको प्रवेशद्वार र ज्वालामुखीको फेदी भएकाले मलाई पनि अवस्था साँगुरिँदै गयो । तर, ‘प्रयास’ एउटा अभियान बनिसकेको थियो । त्यहाँ हरेकलाई सम्मान र स्वागत थियो । ‘प्रयास’को पर्यायवाची भइसक्या मैले स्टेरिङ सम्हालिरहने अवस्था नभएपछि सशरीर भूमिगत हुन विवश भएँ । क्याम्पस नेपाली साहित्यका गुरु नारायण गैह्रेलाई संस्था जिम्मा लगाएर यात्रामा लम्किएँ । राजनीतिक परिस्थिति फेरियो । ‘प्रयास’का खास अभियन्ताहरू भिन्न राजनीतिक पार्टीका भए पनि सरकारी नजर र शंकामा पर्न गए । मनोवैज्ञानिक त्रास छाउनु स्वाभाविक थियो । यसरी उदीयमान संस्थाको किशोर अवस्थामै दुःखद मृत्यु भयो । 


नेपालगन्जको साहित्यको चर्चा गर्दा सनत रेग्मी प्रज्ञासचिव –(पूर्व) लेखन, प्रकाशन, संस्थागत अभ्यास र प्रोत्साहनको केन्द्रमा हुन्छन् । तर, झन्डै एक दशक नेपालगन्जको साहित्यिक पुनर्जागरणको केन्द्रीय भूमिकामा रहेको ‘प्रयास समूह’लाई सनत रेग्मीको प्रमुख अभिभावकत्वमा प्रकाशित ‘सद्भावनाको सहरमा’ भने एउटा वाक्यले खर्च गर्न पनि कन्जुस्याइँ भएछ । के बहुभाषिक कविगोष्ठीको अभ्यास र अन्तरसांस्कृतिक साहित्यिक अन्तरघुलनमा ‘प्रयास अभियान’ देशकै पहिलो हैन र ? के प्रयासले थालनी गरेको बहुभाषिक साहित्यिक कार्यक्रमकै सिको प्रज्ञा प्रतिष्ठानले पछि स्विकारेको हैन र ? के साहित्यिक अभियानमा नवप्रतिभाहरूको संगममा प्रयासले गाडेको कोसेढुंगा बिर्सन मिल्ला ? 

अन्तमा 
‘सद्भावको सहर–नेपालगन्जमा’ रेशम विरही लेख्छन्, ‘०५२ को उपलक्ष्यमा कविगोष्ठीको निम्तो पाएँ । वैशाख १ गते म बिल्कुल नयाँ र अपरिचित माहोलमा नेपालगन्जका साहित्यिक जगत्मा एक कविको रूपमा दाखिल भएँ । ‘ऊ हिमाल चढ्दैन’ शीर्षकको कविता सुनाएपछि पाएको तारिफले मलाई साहित्यिक परिवेशमा घुलमिल हुन, आप्mनो स्पेस बनाउन औधी सघायो । भोजराज शर्मा त अहिले पनि भेटघाट र भलाकुसारी हुँदा त्यही कविताको स्मृति र प्रभावको स्मरण कोट्याउने गर्छन् । ‘प्रयास’ समूह नामका असंगठित तर नरेन्द्रजंग पिटर नेतृत्वको समूहको आयोजनामा भएका थुप्रै कार्यक्रममा सहभागी भएँ र अन्तमा, साहित्यिक समाज नामको घाट निर्माण गरेर प्रयास समूहको मलामी भएँ । युद्धकालमा नरेन्द्रजंग पिटरले भने रे, कहाँ छ त्यो प्रयास समूहको हत्यारा ?’ 
विरहीसँग च्याट संवाद
– नमागी एउटा सल्लाह दिऊँ ?
–भन्नुस् न ।
–अब नेपालगन्ज स्थायी रूपमा बस्ने हो भने ‘प्रयास समूह’ ब्युताऊ, सक्रिय पार । ....साहित्यिक समाजलाई राजनीतीकरण ...ले ग¥यो । कम्तीमा वर्षमा दुइटा मिठो कार्यक्रम गर, धेरै पनि पर्दैन ।
–ठीक हो तर राजेन्द्रजस्ता साथी छैनन् ।
–अब नयाँ पुस्तातिर खोज्ने ।