• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राधा पौडेल
२०७८ असोज २ शनिबार ०६:५६:००
समाज

रजनोवृत्तिको रोटेपिङ

२०७८ असोज २ शनिबार ०६:५६:००
राधा पौडेल

दसैँ आयो भनेर मैले रोटेपिङ सम्झिएको हैन । सबैले रोटेपिङ नै खेलेको नहुन पनि सक्छ । सबै वेला, सबै ठाउँमा रोटेपिङ पाइन्छ भन्ने के ग्यारेन्टी छ र । किताबमा, सर्कस वा मेलामा रोटेपिङ वा फनफनी घुम्ने पिङ नदेख्ने, नसुन्ने कमै होलान् ।सानोमा दसैको वेलामा घरदेखि टाढा धाएर रोटेपिङ खेलेको छु । लन्डनमा विकसित पिङ पनि खेल्ने अवसर पाएको छु । रोटेपिङ खेल्नेहरू सबैले एकैखालको अनुभूति गर्छन् भन्ने छैन । कसैले रमाइलो मान्छन्, खुसी भएर ओर्लन्छन् । कोही डराएर चिच्याउँछन्, रुन्छन् । कोहीले त हात नै छोडिदिन्छन्, लड्छन् । कोही ओर्लेपछि रिंगाटा लागेर थचक्क बस्छन् । कोही बान्ता गर्छन् । कोही त पिङ खेल्दाखेल्दै खुसीले गाउँछन् । 


यसरी रोटेपिङ चढ्दा अनुभूति फरक–फरक भएजस्तै रजनोवृत्तिको अनुभूति पनि सबैको एकै हुन्छ र हुनुपर्छ भन्ने हुँदैन । व्यक्ति (महिला वा ट्रान्सम्यान वा क्विर जो–जो महिनावारी हुन्छन्)को वंश कस्तो छ, जन्माइ–हुर्काइ वा सामाजिकीकरण कस्तो छ, कस्तो भूगोल वा मौसममा बसेका छन्, महिनावारीका बारेमा के–के जानेका छन्् आदि कुराले फरक त पर्ने नै भयो । तथापि रजनोवृत्तिको अनुभूति पनि फरक–फरक हुन्छ । जुन व्यक्तिमा पाठेघर र अन्डाशय छ उनीहरूलाई रजनोवृत्ति हुन्छ । उनीहरूले चाहेर हुने, नचाहेर नहुने होइन । यो प्राकृतिक हो, तर सामान्य हो भन्नु र सामान्य भनेर बेवास्ता गर्नु दुवै गम्भीर त्रुटि हो । उनको मर्यादापूर्वक जिउन पाउने अधिकार हनन त हुन्छ नै गम्भीर समस्यासँग संघर्ष गर्नेहरूका लागि अधिक मूल्य चुकाउनुपर्ने हुन्छ । रोटेपिङमा झड्का अनुभूत गरेजस्तै झड्का महसुस गर्नेहरूको जिन्दगी कस्तो होला सजिलै अनुमान गर्न सकिन्छ । 


रजनोवृत्तिकाबारेमा धेरैजसो मौन बस्छन् । त्यसैकारण रजनोवृत्तिमा प्रवेश गरेका धेरै व्यक्तिहरू भित्रभित्रै पिल्सने, डिप्रेसनमा जाने, यताउता भौँतारिएर पैसा र समय बर्बाद गर्ने, गलत रोग किटान गरी गलत औषधि सेवन गर्ने, परिवार वा कार्यक्षेत्रमा सम्बन्ध बिग्रने, जागिर छोड्नुपर्ने, आत्महत्या गर्नेजस्ता समस्या झेल्छन् । यदि तपाईंको परिवारको कुनै सदस्यलाई यिनै सास्ती भएको छ भने रोटेपिङ माथि गएर तल झर्दाजस्तो हुन्छ त्यस्तै अनुभूति भइरहेको हुन्छ । के रजनोवृत्ति भोग्ने व्यक्तिलाई मात्र यो समस्या हुन्छ ? यसको प्रभाव अन्य सदस्यलाइ पर्दैन ? यसको आर्थिक, सामाजिक, राजनीतिक आदि पक्ष प्रभावित हुँदैन ? महिनावारीका बारेमा नै कुरा गर्न नचाहने समाजले रजनोवृत्तिका बारेमा कुरा गर्छ भनेर सोच्नु महत्वाकांक्षी हुनु हो भन्दा त्यति अतिशयोक्ति नहोला । महिनावारीलाई पाप वा फोहोर रगत भन्नेहरू नै बिहे भएपछि बच्चा हुने भो भन्दा खुसी हुन्छन् । 

रजनोवृत्तिले व्यक्तिलाई मात्र नभई पार्टनर, श्रीमान्, बच्चा, सिंगो परिवार, कार्यक्षेत्रलाई नै प्रभाव पार्ने भएकाले यो सबैको साझा सवाल हो । रजनोवृत्ति ‘मर्यादित महिनावारी’ अवधारणाको एउटा पक्ष हो ।


विभिन्न रिपोर्टमा भनिएअनुसार महिनावारी यो पृथ्वीमा देखिएको चिम्पान्जीको पाला वा करिब चार खर्ब वर्षदेखि हो । महिनावारीका बारेमा कुरा गर्न थालेको भने अरिस्टोटलको पालादेखि नै हो । रजनोवृत्तिका बारेमा छलफल हुन थालेको १६औँ शताब्दीको मध्यबाट हो । यसको कारण त्यतिखेर मानिसको आयु पनि छोटो थियो, त्यसैले रजनोवृत्तिका बारेमा कुरा नभएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । 


तर, जे–जे भने पनि पाठेघर र अन्डाशयका बारेमा बुझेको मात्रै सन् १९२९ मा हो । महिनावारी र रजनोवृत्तिका बारेमा पातलो कुरा गर्न थालेको सन् १९७३ बाट मात्र हो । करिब ५० वर्षको दौरानमा अन्तर्राष्ट्रिय मानवअधिकार, विकास र नारीवादमा धेरै नै प्रगति भइसक्दा पनि महिनावारीले खास प्राथमिकता नपाउँदा यससँग जोडिएको सामाजिक, आर्थिक, राजनीतिक, पर्यावरणीय आदि पक्षमाथि बहस, अनुसन्धानको खडेरी देखिन्छ । परिणामस्वरूप यसबारे सामीप्य राख्ने विषयसँग गरिएका प्रगतिको दौड पनि सुस्त र खिरिलो देखिन्छ । 


पाठेघर र अन्डाशय लिएर जन्मने कुनै पनि व्यक्तिले रजनोवृत्तिबाट भाग्न वा छुटकारा पाउन सक्दैन । सजिलो, अप्ठ्यारो, लामो, छोटो, जे–जस्तो भए पनि रजनोवृत्ति अनुभव गर्नु नै पर्छ । एउटा घरमा कम्तीमा पनि एकजना सदस्य महिनावारी हुने व्यक्तिसँग सम्पर्कमा रहने र अर्को रजनोवृत्ति हुँदै गरेको वा भएको हुन्छ । तर, हाम्रो समाज यसको सवालमा मुख खोल्न अझै पनि तयार छैन । 


रजनोवृत्तिका पूर्वलक्षणहरू सामान्यतया ४० वर्षबाट सुरु हुन्छ । ५१ वर्ष पुग्दा करिब सबैमा रजनोवृत्ति भइसकेको हुन्छ । महिनावारी रोकिएको एक वर्ष भएपछि रजनोवृत्ति भयो भनेर भनिन्छ । तर, कुनै विशेष कारणवशजस्तो अत्यधिक धूम्रपान गर्ने, छारे रोग, गम्भीर दीर्घकालीन कुपोषण, न्यून तौल, थाइराइड, मधुमेह, बाथ रोग, मस्तिष्कसम्बन्धी रोग, केमोथेरापी, क्यान्सर वा शल्यक्रिया गरेर पाठेघर र अन्डाशय फालेको अवस्थामा रजनोवृत्ति चाँडो हुन्छ । जीवन नै बचाउन पाठेघर र अन्डाशयको शल्यक्रिया गर्नुपर्नेछ भने त शल्यक्रियापश्चात् नै रजनोवृत्ति सुरु हुनुको साथै गम्भीर प्रकृतिको पनि हुन सक्छ । मैले २५ वर्षमा नै रजनोवृत्ति भएको पनि देखेको छु । कसै–कसैलाईचाहिँ विशेष कारण औषधि दिएर रजनोवृत्ति गराइन्छ । यसरी रजनोवृत्ति प्राकृतिक, मेडिकल वा रासायनिक र सर्जिकल भनेर विभाजन गरिएको छ । 

रजनोवृत्तिका पूर्वलक्षण सामान्यतया ४० वर्षबाट सुरु हुन्छ । ५१ वर्ष पुग्दा करिब सबैमा रजनोवृत्ति भइसकेको हुन्छ । महिनावारी रोकिएको एक वर्ष भएपछि रजनोवृत्ति भयो भनेर भनिन्छ ।


रजनोवृत्तिले व्यक्तिको सम्पूर्ण शरीरलाई, टाउकोदेखि खुट्टासम्म, भित्र–बाहिर सबैतिर असर गरेको हुन्छ । जस्तै मस्तिष्क, स्नायुप्रणाली, रक्तसञ्चार प्रणाली, मांसपेसी, हड्डी, प्रजनन स्वास्थ्य, स्तन, पाचन प्रकिया, प्रतिरक्षा शक्ति, फोक्सो, आँखा, छाला, कपाल आदि । पूर्वरजनोवृत्ति वा रजनोवृत्तिका लक्षण व्यक्तिअनुसार फरक पर्नु स्वाभाविक हो । कुन अंगमा कति असर पर्छ भन्ने पनि व्यक्तिअनुसार फरक पर्छ । तथापि, धेरैजसो देखिने लक्षणहरू औडाहा हुने, गर्मी हुने, पसिना आउने, चिट–चिट हुने, शरीरको आकार पनि फरक पर्ने, कि धेरै कि लामो समयसम्म रगत बग्ने, जोर्नी दुख्ने, थकाइ लाग्ने, कब्जियत हुने, मुड फेरिरहने, टाउको दुख्ने, छाला सुक्खा हुने, चिलाउने, योनी सुक्खा हुने, यौन इच्छामा कमी हुने, यौनसम्पर्क गर्दा दुख्ने, निद्रा नलाग्ने, मानसिक समस्या आदि हुन्छ । यदि पहिले नै मानसिक स्वास्थ्यसम्बन्धी समस्या छ वा औषधि खाइरहेको छ वा पहिले नै कुनै गम्भीर मनोवैज्ञानिक चोट छ भने त रजनोवृत्तिको रोटेपिङको झड्का सामान्यभन्दा फरक हुन सक्ने सम्भावना धेरै हुन्छ । तथापि, रजनोवृत्तिमा केही पनि नहुने, व्यक्तिको दैनिकीलाई बाधा नपु¥याउने संख्या भने करिब एकतिहाइभन्दा कम हुन्छ । सामान्यतया, यसका लक्षण सात वर्षसम्म रहन सक्छन् ।


रजनोवृत्तिले व्यक्तिलाई मात्र नभई पार्टनर, श्रीमान्, बच्चा, सिंगो परिवार, कार्यक्षेत्रलाई नै प्रभाव पार्ने भएकाले यो सबैको साझा सवाल हो । रजनोवृत्ति ‘मर्यादित महिनावारी’ अवधारणाको एउटा पक्ष हो । यो मानवअधिकारको विषय हो । ४० वर्ष नाघेपछि माथि उल्लेख गरिएका लक्षणमध्ये केही लक्षण देखिन थाल्यो भने कतै रजनोवृत्तिको लक्षण त भएन भनेर सोच्नु, नजिकका साथीसंगीसँग छलफल गर्नु, घरपरिवारलाई भन्नुपर्छ । राम्रो सुताइ, तनाव कम गर्ने उपायहरूको अभ्यास (कसरत, योगा, ध्यान, माइन्डफुल्नेस, किगोङ, मालिस), हिँड्नु, प्रशस्त पानी पिउनु, गाढा हरियो सागसब्जी, गेडागुडी, बिँया, फलपूmल, नट्स, दही, ताजा अचारजस्ता खानेकुराहरूले रजनोवृत्तिको ल्यान्डिङ सहज गर्न सकिन्छ । त्यस्तै, धूम्रपान वा मदिरापान, क्याफिन, तारेका खानेकुरा, गुलियो खानेकुरा बन्दै नै गरेको राम्रो हुन्छ । 


यी तरिकाहरूबाट पनि लक्षणहरूमा सहजता भएनन् भने थप जाँचपडताल गरेर परामर्श वा हर्मोन नै लिनुपर्ने हुन्छ । सहज वा असहज दुवै अवस्थामा रजनोवृत्तिलाई मर्यादित बनाउनका लागि घरपरिवारलाई रजनोवृत्तिका बारेमा थाहा हुनु जरुरी छ । काममा सघाउनेदेखि, के खाने नखाने, कस्तो काम गर्ने नगर्ने, कहाँ सुत्ने, कोठामा के–के व्यवस्था गर्ने आदि कुरा रजनोवृत्ति भएको व्यक्तिलाई केन्द्रमा राखेर गर्नुपर्छ । अझ शल्यक्रिया नै गरेको हो भने त परिवार झनै गम्भीर बन्नुपर्छ । यसका लागि राज्यले नै विद्यालय तहदेखि नै मर्यादित महिनावारीका विभिन्न पक्षसहित रजनोवृत्तिका बारेमा पठन–पाठन गर्नुपर्दछ । त्यस्तै, कार्यालय पनि मर्यादित महिनावारीमैत्री हुनुपर्छ । यसका लागि नीति नै बनाएर महिनावारी र रजनोवृत्ति भएका व्यक्तिहरूलाई सहज बनाउनुपर्छ ।


रजनोवृत्तिका लक्षणसँग भिड्दै गर्दा ठूलो, फराकिलो, झ्यालसँगको कार्यकक्षको व्यवस्था, लचिलो कार्य अवधि, परामर्श सेवा, काम गर्ने क्षेत्र बदल्नुपर्ने भए बदल्ने व्यवस्था, वेलावेलामा सबै कर्मचारीलाई रजनोवृत्तिमा अभिमुखीकरण आदिको व्यवस्था गर्नुपर्छ । श्रमसँग जोडिएका संघ, संघठनहरूले मर्यादित महिनावारीमा नीति बनाएर सबै खाले महिनावारी हुने व्यक्तिहरूको मानवअधिकारको संरक्षण गर्नुपर्छ । सबैका लागि रोजगारी वा आर्थिक सशक्तीकरण वा कुनै पनि अवस्थाका कारण विभेद गर्न पाइँदैन भन्ने संवैधानिक अधिकार उपयोग गर्न सबै कार्यालयले मर्यादित महिनावारीलाई मूल प्रवाहीकरण गर्नुको विकल्प छैन । जहाज ल्यान्ड गर्दैगर्दा बम्पिङ त हुन्छ नै, तर एयर कन्ट्रोलर र पाइलटको समन्वय र सुझबुझबाट सहज ल्यान्डिङ हुन्छ । त्यसैगरी, घरपरिवार साथीसंगी सबैको पहलबाट रजनोवृत्ति पनि पार लगाउन सकिन्छ । रोटेपिङजस्तै गरी कुनै पनि महिनावारी हुने व्यक्तिलाई न खसाउन हुन्छ न खसेको रमिते भएर हेर्न हुन्छ । खसाउन मद्दत गर्नु र रमिते बन्नु दुवै अपराध हुन् । मानवअधिकारको हनन हो । आउँदो ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस’, ८ डिसेम्बर नेपाल (दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जाल) र ग्रेट ब्रिटेनका दुई संस्थाको संयुक्त आयोजनामा मर्यादित रजनोवृत्ति समिट पनि हुँदै छ । जसले संसारभर रजनोवृत्तिमा रहेको मौनता भंग गर्दै रजनोवृत्तिलाई मानवअधिकारका रूपमा सम्बोधन गर्न अपिल गर्नेछ । 


यसपटकको ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस’को नारा पनि ‘रजनोवृत्ति मानवअधिकार हो,यो कुनै विलासिताको कुरा होइन’ भन्ने छ । हरेक महिनावारी हुने व्यक्तिले आफ्नो महिनावारीको इतिहास लिपिबद्ध गर्न सकेको खण्डमा आपूmलाई चिन्न र मद्दत गर्न सकिन्छ । हरेक महिनावारी हुने व्यक्तिको पहिलो जानिफकार आफैँ हुने भएकाले आपूmलाई माया गर्न कसैलाई कुर्नु हुँदैन, कुर्नुपर्दैन । पाठेघर लिएर जन्मिएको हरेक व्यक्ति मर्यादापूर्वक जिउन पाउने अधिकार पनि लिएर जन्मेको हुन्छ । 

(लेखक पौडेल मर्यादित महिनावारीको अध्येता/अभियन्ता हुन् ।)