• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रशान्त लामिछाने
२०७८ असोज २ शनिबार ०७:०२:००
सम्झना

गोन्जालोको त्यो तस्बिर

२०७८ असोज २ शनिबार ०७:०२:००
प्रशान्त लामिछाने

०५२ सालको सुरुवाती महिनाको कुरा थियो । एक दिन बुबाले पत्रिकामा छापिएको श्यामश्वेत तस्बिर देखाएर त्यसबारे केही सुनाउनुभयो । त्यो तस्बिर थियो, पेरुका विद्रोही नेता अबिमाइल गुज्मन ‘गोन्जालो’ को । जेलको दिवारभित्र रहेका एक हट्टाकट्टा देखिने व्यक्ति कालो चस्मा र एउटा टिसर्टमा थिए । उनले दह्रोसँग मुठी कसेका थिए । त्यो तस्बिर हेरेको २६ वर्ष बितिसक्दा पनि सम्झना उस्तै ताजा छ । १५०९ नम्बरको टिसर्टमा जेलमा मुठी कसेको त्यो तस्बिर नेपाली कम्युनिस्टहरूका लागि सधैँ  प्रिय रह्यो ।


गत शनिबार ८६ वर्षको उमेरमा निधन भएका साइनिङ पाथका नेता गोन्जालो नेपालका कम्युनिस्टहरूबीच छलफलमा आइरहने नाम हो । यसैले त यहाँ उनले थालनी गरेको क्रान्तिको सम्मानमा जीवन शर्माले गीत नै गाए, ‘ओ यांकी गो होम, डर्टी यांकी गो होम, हाम्रो रातो झन्डा पेरुमा फरफराउँदै छ ।’ माओवादीनिकट सांस्कृतिक समूह सामना परिवारले पनि यस्तै गीत निकालेको थियो । जुन जनयुद्धको समयमा निकै चर्चित थियो । ‘झुकेनन् ती टर्कीमा, झुकेनन् ती पेरुमा, न झुके ती सिस्ने हिमालमा ।’ पेरुको साइनिङ पाथ र गोन्जालोको कथाले धेरैलाई नेपालमा कम्युनिस्ट बनाएको छ । साइनिङ पाथका कथा सुनेर माओवादी आन्दोलनमा लाग्नेको संख्या पनि उस्तै छ । 


नेपाली क्रान्तिकारीहरूका लागि कोसौँ पर एकान्त कारावासमा रहेका गोन्जालो गीतजस्तै प्रिय थिए । अझ माओवादी जनयुद्ध सुरु भएपछि त उनी नेपाली गाउँगाउँमा गुन्जन पुगे । वेलावेला तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भन्ने गर्थे र शान्तिप्रक्रियापछि बारम्बार दोहोर्‍याइ पनि रहे, ‘हामीलाई साइनिङ पाथ बनाउँछौँ भन्ने नसोचे हुन्छ ।’ अर्थात् क्रान्ति सम्पन्न हुनै लाग्दा गोन्जालो सन् १९९२ मा पेरुको राजधानी लिमाबाट पक्राउ गरेका थिए । त्यो भय नेपाली माओवादीहरूमा पनि थियो । 


लिमाको एउटा डान्स स्टुडियो नजिकैबाट उनलाई गुप्तचरहरूले पक्राउ गरेका थिए । साइनिङ पाथनिकट एकजना नर्तकीको अपार्टमेन्टमा उनले सेल्टर लिएका थिए । उनलाई सेल्टर दिने मार्टिजा गार्रिडो लेका २५ वर्षको जेल जीवनपछि मात्र रिहा भएकी थिइन् । गोन्जालो पक्राउ पर्दा उनकै अपार्टमेन्टमा टेलिभिजनमा बक्सिङ हेरिरहेका थिए । 

गोन्जालो पक्राउ परेपछि तत्कालीन फुजिमोरी सरकारले उनका बारेमा अनेक हल्ला चलायो । बिस्तारै–बिस्तारै साइनिङ पाथका अन्य नेताहरू पनि पक्राउ परे । ६ हजारभन्दा बढी नेता–कार्यकर्ताले सरकारले आममाफी दिने योजना ल्याएपछि आत्मसमर्पण गरे । 


पक्राउ परेपछि उनलाई सैनिक अदालतमा पेस गरियो । सैनिक अदालतमा भएको तीन दिन लामो बहसपछि उनलाई आजीवन कारावासको सजाय सुनाइयो । गोन्जालो पक्राउ परिसक्दा पनि साइनिङ पाथसँग यति त्रास थियो कि उनलाई सजाय सुनाउने न्यायाधीशहरूको पहिचान छिपाइएको थियो । न्यायाधीशहरूले अदालतमै नकाब लगाएका थिए ।


सोभियत संघको विघटन र चिनियाँ सांस्कृतिक क्रान्ति र पेरुको क्रान्तिको असफलताकै बीच नेपालमा माओवादीले विद्रोह सुरु गरेको थियो । पेरुको क्रान्तिका कमान्डर पक्राउ परेको तीन वर्षपछि नेपालमा उस्तै सोचका साथ माओवादीले ‘जनयुद्ध’ सुरु भएको थियो । साइनिङ पाथको जस्तै यहाँका माओवादीहरूले पनि माक्र्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो सिद्धान्त बनाएका थिए । गाउँबाट सहर घेर्ने रणनीति थियो ।

फरक यत्ति थियो, साइनिङ पाथ विजय सन्निकट पुग्दा पराजयमा पुग्यो, तर माओवादीले ‘जनयुद्ध’का अन्तिम वर्षमा आफ्नो रणनीति बदल्यो र शान्तिपूर्ण राजनीतिमा आयो । सरकारमा पनि पुग्यो । नेपालको माओवादी र साइनिङ पाथबीच अर्को सैद्धान्तिक कुरा पनि समान छ । पेरुमा मार्क्सवाद, लेनिनवाद र माओवाद र गोन्जालोपथ भनिएको थियो भने नेपालमा पनि माओवादीले प्रचण्डपथ भन्दै आफ्नो मौलिकता दिएका थिए ।

को हुन् गोन्जालो ?
सन् १९३४ डिसेम्बर ३ मा दक्षिण अमेरिकी मुलुक पेरुको एरक्वेपामा उनको जन्म भएको थियो । उनी एक धनी पिताका बिहेइतर सम्बन्धबाट जन्मेका छोरा थिए । जब उनी विश्वविद्यालय प्रवेश गरे उनको लगाव माक्र्सवादप्रति देखियो । एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनले त्यहीँबाट आफ्नो राजनीतिक यात्रा सुरु गरे । १९६२ मा उनी हवामांगा विश्वविद्यालय, आयाकुचोमा दर्शनशास्त्रका प्राध्यापक पनि भए ।

नेपालको माओवादी र साइनिङ पाथबीच अर्को सैद्धान्तिक कुरा पनि समान छ । पेरुमा माक्र्सवाद, लेनिनवाद, माओवाद र गोन्जालोपथ भनिएको थियो भने नेपालमा पनि माओवादीले प्रचण्डपथ भन्दै आफ्नो मौलिकता दिएका थिए ।

१९६५ मा उनले चीनको यात्रा गरे । त्यसपछि उनको लगाव माओको क्रान्तिप्रति देखियो । त्यही प्रेरणामा उनले पेरुमा जनयुद्ध सुरु गरे । सन् १९६९ मा उनीसहित ११ जना साथीहरू मिलेर साइनिङ पाथको स्थापना गरे । जसको उद्देश्य पेरुमा कम्युनिस्ट व्यवस्था निर्माण गर्नु थियो । 


साइनिङ पाथ स्थापना भएको लामो समयसम्म शान्तिपूर्ण रूपमा काम गरेको थियो । सन् १९८० मा पेरुको सैनिक शासकले निर्वाचनको घोषणा गर्‍यो । त्यसविरुद्धमा साइनिङ पाथले हिंसात्मक गतिविधि अगाडि बढायो । हत्या, बम ब्लास्ट र निर्वाचनविरोधी घटनाहरू पेरुमा भए । निर्वाचनविरोधी घटनाहरू भएपछि सैनिक शासकले पेरुमा संकटकाल घोषणा गरेको थियो ।


१९७५ मा पेरुको कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका उनले १९८० मा मात्रै ‘जनयुद्ध’को घोषणा गरेका थिए । १० वर्ष जारी पेरुको क्रान्तिमा करिब ७० हजारको ज्यान गएको तथ्यांक छ, उत्तिकै संख्यामा घाइतेहरू छन् । त्यतिवेलासम्म उनीहरूले पेरुको ८० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएका थिए । गोन्जालो पक्राउ परेपछि तत्कालीन फुजिमोरी सरकारले उनका बारेमा अनेक हल्ला चलायो ।

बिस्तारै–बिस्तारै साइनिङ पाथका अन्य नेताहरू पनि पक्राउ परे । ६ हजारभन्दा बढी नेता–कार्यकर्ताले सरकारले आममाफी दिने योजना ल्याएपछि आत्मसमर्पण गरे । त्यसपछि साइनिङ पाथ शिथिल बन्दै गयो । तर, अहिले पनि सानो समूहमा भने पेरुमा साइनिङ पाथ सक्रिय छ । कम्युनिस्टहरूको नेतृत्व केन्द्रीकरणले कसरी एक नेता पक्राउ पर्दा समग्र पार्टी नै र उसको योजना क्षयीकरण हुन्छ भन्ने गतिलो उदाहरण साइनिङ पाथ बन्न पुगेको छ ।