• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
निर्मल अर्याल
२०७८ असोज २ शनिबार ०८:०८:००
सम्झना

ओझेलमा कवि भैरव अर्याल

२०७८ असोज २ शनिबार ०८:०८:००
निर्मल अर्याल

विश्व साहित्यको इतिहास हेर्ने हो भने अधिकांश साहित्यकारहरूको साहित्यिक यात्रा ‘कविता’बाटै सुरु भएको केही थान कविता लेखिसकेपछि कोही ‘कवि’मै सीमित रहन्छन् भने कोही निबन्धकार, नाटककार, कथाकार, व्यङ्ग्यकार, उपन्यासकार, आदिका रूपमा चिरपरिचित हुन्छन् । नेपाली साहित्यकारहरूको अवस्था पनि करिब–करिब यस्तै छ ।

 

साहित्यका अन्य विधामा कलम चलाएका बहुसंख्यकले कविता लेखेकै हुन्छन् । तर, कालान्तरमा अन्य विधामा सशक्त उपस्थिति जनाइसकेपछि उनीहरूको ‘कवि’ भूमिकाको केही नजरअन्दाज गरिन्छ । नेपाली हास्यव्यङ्ग्य निबन्धमा आज पनि ओजस्वी छाप छाड्न सफल भैरव अर्याल पहिला ‘कवि’ नै थिए । पछिसम्म पनि उनले बेजोड कविता लेखिरहे, तर अन्यले अत्यन्त कम लेखेको हास्यव्यङ्ग्य विधामा स्थापित भएपछि उनको कवि भूमिका ओझेलमा परेको देखिन्छ । हास्यव्यङ्ग्य निबन्धकार सँगसँगै एक प्रखर कविकारूपमा अर्यालको भूमिकालाई यस आलेखमा चित्रित गर्ने प्रयास गरिएको छ । 


२००८ सालबाट कविता लेख्न थालेका अर्याललाई थोरै मात्र कविताले सन्तुष्टि दिन्थ्यो । एक त उनले कम कविता लेखे, त्यसमा पनि आत्मसन्तुष्टि नहुनेबित्तिकै उनले अधिकांश च्यातेर फाले । ‘भैरव भन्छन्’ भन्ने संवाद (अर्याल सहित दाताराम शर्मा, वासुदेव शर्मा लुइँटेल र विद्यादेव शर्मा सहभागी) को पहिलो अंशमा नै उनले आफ्नो धेरै कविता ‘चोरिएको’ भन्दै चित्त दुखाएका छन् । पिता होमनाथ अर्यालले ‘सहर’ मा पढ्न सजिलो होस् भनेर ‘भान्छे बाजे’कारूपमा छोरा भैरवलाई छिमेकी बद्रीनाथ आचार्यको जिम्मा लगाएका थिए ।

 

साहित्यमा रुचि राख्ने आचार्यकै संगत पाएर आफूमा पनि कविता लेख्ने रहर पलाएको भैरव बताउँछन् । संस्कृतमा राम्रो पकड बनाइसकेका अर्याललाई रघुवंश, कुमार सम्भव, चन्द्रलोक आदि कण्ठस्थ आउँथ्यो । त्यसैले सुरुमै छन्दमा कविता लेख्न उनलाई केही अप्ठ्यारो भएन । उनले वार्णिक कविताहरू पनि धेरै लेखे । तर,‘सच्याइदिने’ भन्दै बुज्रुकहरूले आफ्नो कविता नै बिगारिदिएको गुनासो उनले गरेका छन् । त्यस्तै केहीले अखबारमा ‘छापिदिन्छु’ भनेर लैजाने गरेको तर छापिँदा आफ्नो नाममा नभएर अरूको नाममा छापिएर आउने तितो यथार्थ पनि उनले सोही संवादमार्फतउजागर गरेका छन् ।

 

भैरवको कविता वाचन गरेर केहीले ‘तक्मा’समेत भिरेको उनका घनिष्ट मित्र रोचक घिमिरे बताउँछन् । बद्रीनाथ आचार्यसँगै उनका सहपाठीहरू अच्युतराज रेग्मी, मुक्तिनाथ तिमल्सिना, पूर्णप्रसाद शर्मालगायतका विद्वान्हरूसँगको संगतका कारण पनि भैरवको कविता लेख्ने सीप खारिँदै गयो । पूर्णप्रसाद शर्माले त उनलाई विभिन्न शीर्षक (बत्ती, रुमाललगायत) दिएरै कविता कोर्न लगाउँथे । भैरवले तुरुन्तै छन्दमा ती कविता तयार गरिदिन्थे । 


भैरव अर्यालको पहिलो प्रकाशित कविताका बारेमा केही वर्षअघिसम्म द्विविधा रहे पनि उनका बारेमा साहित्यकार विष्णुप्रभातले गरेको गहन अनुसन्धानबाट यो द्विविधा हटेको छ । २००९ सालमा कुन्तादेवी भट्टराई सम्पादक रहेको अखिल नेपाल महिला संघको मुखपत्र ‘प्रतिभा’मा छापिएको ‘नयाँ जीवन’ शीर्षकको कविता नै अर्यालको पहिलो प्रकाशित कविता भएको प्रमाणित हुन आएको छ । 
नयाँ जीवन 

 पन्छायेर शनैः शनै मुलुकको वैषम्यको त्यो घटा
 छर्दै नूतन चेतना चहकिलो आयो शरदको छटा
 आँखा खोल, उठी जुरुक्क अब लौ त्यै मार्गको साधन 
जस्ले बन्छ सुकीर्तिपूर्ण रसिलो तिम्रो नयाँ जीवन 

 

जोरी हात हजूर हाजिर म छु भन्दै झुकाई शिर 
धम्की गर्जन–तर्जनादि सहँदै सारा दबाई पिर 
अर्काको घरमा कडा कहरमा भान्से र केही किन 
आफँै शिल्पकला सिकेर घरमा आदर्श नारी बन 

 

पैलै नै गहना र गाजल चुरा इत्यादिका जालमा 
झुम्राको पुतली समान अरूले अल्झाउला ख्यालमा 
अल्झेनौ र पढ्यौ भने बखतमा श्रद्धा बढाईकन 
केही कालपछि हुनेछ जोसिलो तिम्रो नयाँ जीवन 

 

कोही बालविवाहको जहरिलो त्यो गर्तमा पर्दछौ 
कोही बुद्धविवाहको अनलमा ठाडै जली मर्दछौ
शिक्षा छैन, विचार छैन, अरूले जो–जो भन्यो सो गर 
स्वार्थी तुच्च समाजकोनजरमा के काम तिम्रो छ र 

 

लाई पाश गलामहाँ कति मरे, धेरै जना सेरिये 
हाम्फालेर बगी मरे, जहरको घुड्को सयौँले पिए 
आगोमा कति पिल्सिए, बुझ तिमी यस्मा छ के कारण 
गर्नैपर्छ समाजबाट त्यसको उच्छेद वातावरण 

 

जो हो बालविवाह आदि ननिको अन्धोप्रथा त्यो सब
मिल्काएर सुधारको घरघरै सल्काउँदै गौरव
शिक्ष द्यौ सुचरित्रको सुगुणको सारा कुमारी कन 
त्यस्ले बन्छ समाजको विषयमा अर्कै नयाँ जीवन 

 

२००९ मा जयबागेश्वरीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सभापतित्वमा हुन लागेको कविता महोत्सवका लागि भैरवले केही महिनाअघिदेखि बडो मेहनत गरेका थिए । ति चारओटा कविता कण्ठस्थ पारिसकेका समेत थिए । त्यत्ति वेला आफूमा ‘कवि हुने रोग’ जागाभइसकेको उनले बताएका छन् । माधवप्रसाद घिमिरेले समेत कवितासहित भैरवको समग्र भाषाकै ‘ठूलो’ प्रशंसा गरेकाले पनि उनी निकै उत्साहित थिए ।

 

तर, कविता सुनाउने वेलामा आवाज बिग्रिएकाले अर्यालले आफैँलाई धिक्कारेका छन् । २००९ सालअघि आफ्नो आवाजमा कुनै समस्या नदेखिएको र जन्ती गएकावेला ‘सिलोक’र ‘अन्ताक्षरी’सम्म भनेको उनले स्मरण गरेका छन् । आफू झैँ ‘भागवत’ वाचन गर्न सक्ने गरी ‘पण्डित’ बनाउने पिता (होमनाथ) जी कोसोचलाई बिग्रिँदै गएको स्वरका कारण मूर्तरूप दिन नसकेको भैरवले साथीभाइमाझ बताएका छन् । गोरखापत्रमा आबद्ध भएपछि स्वरकै उपचारका लागि उनी जर्मनीसम्म पुगेपनि समस्या समाधान हुन सकेन । 


साहित्यकार वासुशशीसँग पनि भैरवको ‘तँ तँ र म म’सम्म चल्ने खालको निकट सम्बन्ध थियो । वासुशशीले निकाल्ले त्यतिवेलाको लोकप्रिय पत्रिका ‘नवनिर्माण’मा पनि भैरवको कविता प्रकाशित भएको पाइएको छ । ‘नवनिर्माण’का लागि भैरवले लेखेको ‘नवनिर्माण’ शीर्षककै कविताबाट वासुशशी अत्यन्त प्रभावित भएका थिए । वासुशशीले‘तैँले बेजोड कविता लेखिस् भैरव’ भन्दै ‘बकाइदासाथ’ पहिलो पृष्ठमै उक्त कविता छापेको भैरव बताउँथे । 

नवनिर्माण
साथी तिमीले गर्नुछ आज 
नयाँ युगको नव निर्माण 

 

मानवताको तस्बीरभित्र 
कट्कटिएको मयल पखाली 
युगयुगदेखि रोकिरहेको 
विकास पथको द्वार उघारी

 

स्वतन्त्रताको निर्मल जलले 
विदित आँखा चतुर गराई 
निर्मित जगका हरेक कुरामा 
नव नव प्रतिभा–स्फुरण गराई 

 

खोज्नुछ तिमीले विश्व डुलेर
निर्माण कलाका ताजा सामान 
साथी तिमीले गर्नुछ आज 
नयाँ युगको नव निर्माण ।

 

कविता लेखेरै तत्कालीन युवराज महेन्द्रबाट भैरव पुरस्कृत भएको प्रसङ्ग पनि निकै रोचक छ । ‘सम्पूर्ण मध्यमा’ परीक्षाका लागि फारम भर्न आर्थिक अभाव (करिब १०–१२रुपैयाँ) भएपछि भैरवले एउटा जुक्ति निकाले । काव्यप्रेमी युवराज महेन्द्रलाई भैरवले ‘एउटा बाहुनको छोराले अहिले निकै दुःखसँग पढिरहेको र परीक्षाका लागि फारम भर्ने पैसासमेत नभएको’ व्यहोरा उल्लेख गरी छन्दमा लेखिएको कविता पठाए ।

 

कविता पठाएको केही दिनपछि घोडा चढेर आएको एक व्यक्ति ‘भैरवप्रसाद अर्यालकहाँ बस्छ’ भन्दै आएपछि आफ्नो सातो गएको भैरव बताउँछन् । ‘युवराज सरकारका बिन्तीपत्र हाल्नुभएको रहेछ, ल तपाईंलाई सरकारबाट फाराम भर्न रकम बक्स भएको छ’ भनेपछि आफ्नो हंसले ठाउँ छाडेको र रकम बुझेको रसिदमा डराई–डराई सही गरेको भैरवले ‘भैरव भन्छन्’ भन्ने संवादमा उल्लेख गरेका छन् । युवराजसमक्ष दश रुपैयाँ माग गर्दा बीस रुपैयाँ बक्स भएको खबर पिता (होमनाथ) जी र अन्य आफन्तलाई सुनाएपछि पिताजीले ‘मेरो छोरालाई सरकारले रकम बक्स्यो’ भनेर धुमधाम प्रशंसा गरेको भैरव बताउँछन् । ‘कविता’ले यतिसम्म काम गर्न सक्दो रहेछ भनेर प्रमाणित भएपछि ‘कवि’ हुने सोख झन् बढेको उनले उल्लेख गरेका छन् । 


२०११ सालमा शिक्षक भएर पोखरा जानुअघि आफूलाई असाध्यै मन परेका कविताहरू (जसको तारिफ अन्य धेरैले समेत गरेको भैरवले बताएका छन्) ‘वरिष्ठ सम्पादक चिनेको छु’ भन्ने बज्राचार्य थर भएको साथीले लगेर हराइदिँदा रुन मन लागेको भैरवले बताएका छन् । मौलिक कविताहरू यसरी गायब भएपछि पनि भैरवले कविता लेख्न भने छाडेनन् । चिनजानका मानिसलाई कविता दिएपनि नछापिदिएको गुनासो उनले गरेका छन् ।

 ‘स्वच्छन्द’ शैलीमा लेखिएका भैरवका कवितामा व्यङ्ग्यबाहेक दर्शन, आदर्श, प्रकृति तथा राष्ट्रप्रेम प्रतिबिम्बित भएकाले उनलाई समालोचकहरूले उपल्लो दर्जाका कवि भनेका छन् ।

 

‘गोरखापत्रका प्रत्येक विशेषाङ्कका लागि कविता दिएपनि म निराश हुन्थेँ, किनकि मेरो प्रकाशित हुँदैनथ्यो’ भैरवले भनेका छन् । २०१८ सालपछि गोरखापत्रको लेख रचना शाखाकै हर्ताकर्ता हुन पुगेको भैरवको पहिलो कविता गोरखापत्रले २०१३ सालमा प्रजातन्त्रता दिवसको अवसरमा छापेको थियो । त्यसपछि भने अन्य विशेष दिनमा पनि गोरखापत्रले भैरवको कवितालाई प्रकाशित गर्न थाल्यो । गोरखापत्रका लागि प्रेम, विरह, दुःख, विचारका कविताहरू दिएपनि प्रकाशित नभएको भैरवले खुलासा गरेका छन् । 


संस्कृत पृष्ठभूमिका भैरवले नेपालीमा कवितासहित अन्य विधामा कलम चलाउनका लागि धेरैलाई पढेँ । उनी भन्थे, ‘मलाई पहिलोपटक नेपाली किताब पढ्न बानी लगाउने भीमनिधि तिवारी हुन् ।’ कुसुबाह कान्तका कृतिहरू पढेपछि उनी हिन्दी किताबतर्फ पनि आकषर््िात भए । व्यङ्ग्य कविका रूपमा भैरवले ‘सर्वश्रेष्ठ’ मानेका छन् भूपि शेरचनलाई । भूपिपछि लक्ष्मण लोहनीलाई अब्बल ठानेका छन् । त्यसपछि क्रमशः भीमनिधि तिवारी र लीलाध्वज थापालाई उनले सूचीमा राखेका छन् । व्यङ्ग्य छाड्ने हो भने हरिभक्त कटुवालका कालजयी कविताहरूको पनि उनले निकै प्रशंसा गरेका छन् । लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल,बालकृष्ण समसहित त्यतिखेर उपलब्ध अन्य लेखकका कृतिहरू पढेपछि उनी कवितासहितका विधामा कलम चलाउन अझ हौसिए । 


२०१८ सालमा प्रकाशित ‘उपवन’ कविता सङ्ग्रहबाट अर्यालले आफूलाई ‘अब्बल कवि’को रूपमा प्रमाणित गरे । उपवनमा भूमिका लेख्दै नाट्य सम्राट् बालकृष्ण समले पनि भैरवको मुक्तकण्ठले प्रशंसा गरेका छन् । समले अगाडि लेखेका छन्, ‘अर्यालजी उदीयमान एक तारा हुनुहुन्छ, हाम्रो साहित्याकाशले उहाँलाई गौरवान्वित भई धारण गर्नेछ।’ ‘उपवन’मा भैरवले सरल भाषा, आलङ्कारिक अभिव्यक्ति र नैतिक सन्देशसहितदेशप्रेम, प्राकृतिक मोह, मायाप्रिती, दर्शन, इतिहास, मानव सभ्यता, मानवीय संवेदना र समता, भूगोल, घात–प्रतिघात, कुण्ठा, षड्यन्त्र, बेथिति–विसङ्गति, ढोङ, आडम्बर, अन्यायलगायत सबैखाले विषयमा उच्चकोटीका कविताहरू लेखेका छन् । ‘उपवन’मा सङ्ग्रहित भैरवका केही उत्कृष्ट कविताका अंश :

मैले एकदिन मैसँग सोधेँ
‘किन जन्मेको हुँला म’
जवाफमा सवालै उल्ट्यो 
‘किन बाँचेको हुँला म’ 

 

...सबै जवाफमै पर्खिरहेछन् 
सवालै सवालको यो संसार हो 
सबका सवाल असरल्लै छन् । 
(मेरो सवाल)

 

स्वतन्त्र, गौरव र राष्ट्रिय गौरव निम्ति
हाँसेर आहुत भएर कति वीर मूर्ति
टल्केजति विगतका भई शौर्यशोभा 
त्यै साहसी रगतको म हुँ एक थोपा 


...
जो शत्रुदेखि कहिल्यै नडगी, न कामी 
जस्तै दशा विपत्मा पनि नाम थामी 
‘नेपाल’ भै रविशशीयमय खोल्छ नेत्र
आमा त्यही प्रकृतिको म हुँ एक पुत्र 
(परिचय) 

 

कुरुक्षेत्रका अठार अक्षौहिणीको नामावली खोइ
प्रथम र द्वितीय विश्वयुद्धमा होमिने लाखौँको वंशावली खोई 
सिंहदरबार, ताजमहल, पिरामिड र चिनियाँ पर्खाल बनाउँदा 
थिच्चिने, किच्चिने र त्यसै मिच्चिनेहरूको सूचीपत्र खोई 
(मसानको एक टुक्रा हाड) 

 

 समालोचक विष्णु प्रभातले भनेका छन्,‘भैरवका केही कविताहरू भूपि शेरचनका कवितासँग टक्कर लिने खुबी राख्छन् ।’

२०२२ सालमा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रथम कविता महोत्सवमाभैरवले लेखेको ‘आराधना नैतिकताको’ शीर्षकको कविता पहिलो भयो । महोत्सवको पहिलो संस्करणमै प्रथम स्थान हासिल गरेपछि उनी निकै उत्साहित भएका थिए । 


आराधना नैतिकताको 

ढुङ्गामुढामा जडता घोटी, बुटा गुफामा पशुता पोखी 
प्रिय, म तिमीलाई भेट्न हिँडेको सँगमा एउटा हिमाल बोकी 
सम्झन्छ्यौ तिमी ? यो त्यो हिमालय–जहाँ प्रतिबिम्बित छ मेरो अन्तर 
पक्का छ मलाई यो त्यो हिमालय–जहाँ प्रतिध्वनित छ तिम्रो स्वर । 

 

तिम्रै स्वरमा सुसेली मैले समाजको गरेँ शिलान्यास 
यै छेउछाउमा फुलाउन चाहेँ मानवताको लालीगुराँस
सिर्जनाको एउटा रथी म सारथि तिमीलाई रोज्दै आएँ 
यो हिमालयको किरणपुञ्जमा तिमीलाई मैले खोज्दै आएँ । 

 

तर म डाँफे भै छुनछुन खोज्छु तिमी भैदिन्थ्यौ यतिका डाम
पस्छ चिसो अनि काँतर मनमा मानुँ हिमालयले छेक्दछ घाम
तर हिमाल केवल शीत–रास होइन, यसको महत्व सङ्ल्याइमा छ 
हिमाल कसैको परखाल होइन, यसको मूल्य त अग्ल्याइमा छ । 

 

तिम्रो मेरो परिचय यहीँ भो परिणय–वेदी यहीँ नै बन्छ 
यै हिमालयमा तिम्रो मेरो भन्न नसकिने साइनो पर्छ 
तर मेरा भूलहरू दोहोरिइरहन्छन् तिम्रो  अन्तध्र्वनि नबुझेर 
तिमी पर–पर तर्किरहन्छ्र्यौ मेरो अहंमा लट्पटिएर ।

 

के तिमी पुतली बल अनि छलको नामर्दीकी मृगतृष्णा
यही शङ्कामा ढुन्मुनिँदैमा पछारिन्छ यो मुटु हिरोसिमामा 
भैगो, अब सब व्यतीत भूलहरू बिर्सी अलिकति पलक उघार 
सती–वियोगी म महादेवलाई पार्वती भै पुनः देऊ सुसार । 

 

यो विषालु अणुको ग्यासमा निसास्सिएको मेरो आँतमा 
लौन चलाऊ हिमको सिरसिर ग्रह–ग्रह चल्छु म तिम्रो साथमा 
तिम्रै अनुराग पराग बनेमा हिमको चहकमा महक म भर्छु 
तिम्रो मेरो एकाकारमा नूतन जगत्को सिर्जना गर्छु ।

 २०३३ सालको ‘गाईजात्रा’ कार्यक्रमका लागि भैरवले लेखेको ‘कुकुर स्वर्गे हुँदा’ शीर्षकको व्यङ्ग्य कवितामाथि प्रतिबन्ध लगाइयो । समालोचक विष्णु प्रभातका अनुसार तत्कालीन समयका विसंगतिप्रति लक्षित यो कविता भैरवका उच्चकोटीका कविताहरूमध्येमा पर्दछ । ‘भैरवका यस्तै केही कविताहरू भूपि शेरचनका कवितासँग टक्कर लिने खुबी राख्छन्’ प्रभातले ‘कारिन्दाको दिनचर्या’ मा लेखेका छन् । 

 

कुुकुर स्वर्गे हुँदा 
एउटा महान् दुर्घटना भयो 
एउटा अपूरणीय क्षति भयो 
एद्धार समितिको कारले किचेर 
मेरो कुकुर स्वर्गे भयो । 

 

कुकुर पनि स्वर्ग जान्छ, भन्नुहोला नरक गयो 
तर नरक त उसले नजाँदै भोगिसकेको थियो 
एक लाख सम्मानितहरूलाई उसले
एक बिहानभित्र ढोगिसकेको थियो 
भक्तिभावमै उसको रौँ खुइलिएर गयो 
मेरो कुकुर स्वर्गे भयो । 

 

उसको भुक्ने काम अखबारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कस्सिए 
झैझगडाको दायित्व साहित्यकारले टिपे 
पुच्छर हल्लाउनेमा प्रशासक खटिए 
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो 
मेरो कुकुर स्वर्गे भयो ।


    
अब मुसाहरूले चारकोसे झाडीमा डढेलो लाऊन् 
या बिरालाले त्यसमा सिंहदरबार सेकाऊन् 
मेरो कुकुरले ध्यार्र घुर्नेसम्म छैन 
अब बुद्धको आँखा उडाएर गिद्धहरूले समुद्र तारून्
या, सयौँ बाज मिलेर एउटा परेवा मारून् 
मेरो कुकुरले आँखा उघार्नेसम्म छैन 
ऊ त ठाडै भीमसेन थापाको सती गयो 
मेरो कुकुर स्वर्गे भयो । 
आऊ अब शोकसभा गरौँ
शोक प्रस्ताव यहाँ रेडिमेड छ 
दिवङ्गत कुुकुरको स्मारक बनाउन 
एक लाख डलरको इस्टमेट छ 
मामा–भानिज हो, लौ अब एउटा टेन्डर देओ 
स्मारक कालिमाटीको भए पनि हुन्छ 
तर माटो किन्न हङकङ जानैपर्छ 
यो निर्माण कार्यमा सम्बन्धितहरूले 
अलि–अलि परसाद खानैपर्छ 
जाने त गयो, गैगयो 
मेरो कुकुर स्वर्गे भयो । 

 

कि ए वीर नेपालीहरू । आओ अब
यो मृत कुकुरको जुँगा उखेलौँ
हामी सबका बिरामहरू लुकाउन 
यो मुर्दाको टाउको फोरौँ
नपत्याएसिआइडीज्यूलाई रिपोर्ट बनाओ भनौँ
बडाहाकिमले घुस ज्युनार हुँदा 
यसले रिकाबी टोकेको थियो 
उपहाकिमले जङ्गबहादुरको घोडा मोलाउँदा 
यसले रित्तो बोतल बोकेको थियो 
त्यति मात्र कहाँ हो र 
भलादमीले भद्रतापूर्वक चोर्न लागेकावेला
यो असभ्यले ख्वाङ्ख्वाङ् खोकेको थियो 
यसको कुलै यस्तो 
उहिल्यै पाण्डवहरू बैकुण्ठ जाँदा
यही कुकुरको जिजुबाजेले द्रौपदीको पिछा गरेको थियो 
रुसले रकेट उडाएको वेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो 
भन्नुहोस् अब जे भने पनि ऊ नसुन्ने भयो । 

 

भीमसेन स्तम्भमुनि गुँडुल्किएर 
स्वामीभक्तिको साधना गर्ने यो कुत्तो 
भीम मल्लको चिहान खोस्रेर 
बफादारीको बिगुल लगाउन खोज्ने यो खिच्चो 
साँँच्चै कुकुरैजस्तो निरीह थियो, दयनीय थियो 
त्यसैले त पुण्यात्माहरूको सिकार भयो 
एद्धार समितिको कारले किचेर 
मेरो कुकुर स्वर्गे भयो । 

 

थोरै शब्दमा कविता लेखी व्यापक अर्थ दिन सक्ने ‘बेजोड’ खुबी अर्यालमा पाइन्छ । ‘कारिन्दाको दिनचर्या’ शीर्षकको कवितामा उनले अत्यन्त थोरै शब्दहरू प्रयोग गरेका छन्, तर एउटा ‘निरीह कर्मचारी’को दैनिकी बखान गर्न यसले ‘महाकाव्य’कै भूमिका निर्वाह गरेको साहित्यिक विश्लेषकहरू बताउँछन् । 

 

कारिन्दाको दिनचर्या
उठ्, पुछ्
खा, चुठ्
दुगुर्, दुगुर्
स्वाँ, स्वाँ ।

बस्, धस्
हस् हजुर
लुखुर लुखुर 
स्याँ स्याँ 

तिहुन तमाखु 
पापाको संसार
ऐजन ऐजन लम्पसार ।

 

कविताप्रतिकै मोहले गर्दा होला, भैरवले आफ्ना हास्यव्यङ्ग्य निबन्धहरूमा पनि ठाउँ–ठाउँमा चोटिला कविताका अंश राखेका छन्, जसले निबन्धलाई रसिलो मात्र होइन, पेचिलो पनि बनाएका छन् । उनको सर्वाधिक लोकप्रिय हास्यव्यङ्ग्य निबन्ध सङग्रह ‘जयभुँडी’मा पनि ठाउँठाउँमा यसरी कविताका अंश राखिएको छ । 


व्यापारीलाई दर 
सुकुम्बासीलाई घर 
जगिर खानेलाई पोस्ट
खाजा खानेलाई टोस्ट 
जोगीलाई जक्सन 
रोगीलाई इन्जेक्सन 
पढ्नेलाई पास
खेल्नेलाई तास 
गाइनेलाई भ्वाइलिन 
आइमाईलाई नाइलिन 
पुलिसलाई डन्डा
नेतालाई झन्डा
पन्डालाई भेटी 
गुन्डालाई केटी
(नेता नम्बर एक सय एक)


पथ सात फुटे बस नौ गजको 
सिट बीस भए भिड सौतकको 
छ त अन्त कतै सुविधा यसरी 
अमरावती कान्तिपुरी नगरी 
(अमरावती कान्तिपुरी नगरी) 

‘स्वच्छन्द’ शैलीमा लेखिएका भैरवका कवितामा व्यङ्ग्यबाहेक दर्शन, आदर्श, प्रकृति तथा राष्ट्रप्रेम प्रतिबिम्बित भएकाले उनलाई समालोचकहरूले उपल्लो दर्जाको कवि भनेका छन् ।भैरवका कवितामाथि सूक्ष्म विश्लेषण गरेका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले लेखेका छन्, ‘आफ्ना कवितामार्फत् भैरव कतै बालकृष्ण सम, कतै लक्ष्मीप्रसाद देवकोटा, कतै केदारमान व्यथित त कतै माधवप्रसाद घिमिरेको आभास दिन सफल भएका छन् ।’ समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी व्यङ्ग्य कवितामा भैरवको विद्रोहको रूपान्तरका साथै उनका निजी निराश चेतनाको पनि संयुक्त चाप भेटिने तर अन्य कवितामा भने स्वच्छन्दतावादी–प्रगतिवादी युगधाराका अन्तिम बिन्दुुका उदीयमान कविकै रूपमा उनको मूल्यांकन गर्न सकिने तर्क अघि सार्छन् । 


कवितामार्फत साहित्यिक यात्रा सुरु गरेका भैरवले अन्तिम दिनमा अरू खासै केही लेखेनन्, तर कविता भने लेखिनैरहे । उनले जीवनको ‘इतिश्री’ गर्नुअघि पनि कविता नै कोरे ।साहित्यकार रोचक घिमिरेले ‘शाश्वत व्यंग्यशिल्पी’ मा उल्लेख गरेअनुसार आफूलाई बागमतीमा विसर्जन गर्नु केही दिनअघि ठूलो नैरश्य तथा वेदनाले भरिएको उनको आठहरफे मार्मिक कविता एउटा किताबको गाताको चौथो पृष्ठमा भेटिएको थियो । जसमा लेखिएको थियोः
टाढा–टाढा एउटा गाउँमा 
बाजे–बराजु मरेकै ठाउँमा 
म पनि अचानक अस्ति खसेको छु 
त्यसैले आफू आफ्नै किरिया बसेको छु । 

 

ए नआओ कोही मलाई बोलाउन 
मभित्रै आफ्नै कोलाहाल छ 
निषेधैनिषेधको कोराबारी बसेको छु 
आफ्नै वियोग–वेदनाको हलाहल छ ।
 

टाढा–टाढा एउटा गाउँमा 
बाजे–बराजु मरेकै ठाउँमा 
म पनि अचानक अस्ति खसेको छु 
त्यसैले आफू आफ्नै किरिया बसेको छु । 

 

ए नआओ कोही मलाई बोलाउन 
मभित्रै आफ्नै कोलाहाल छ 
निषेधैनिषेधको कोराबारी बसेको छु 
आफ्नै वियोग–वेदनाको हलाहल छ ।