• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सोझो गाउँले
२०७८ असोज २ शनिबार ०८:४३:००
साहित्य

‘मेरो कवितामा सुदूरपश्चिमको सुवास भेटिन्छ’

२०७८ असोज २ शनिबार ०८:४३:००
सोझो गाउँले

बझाङका सोझो गाउँले युवा पुस्ताका आशालाग्दा कवि हुन् । सरल भाषामा गम्भीर अर्थ बोकेका कविता लेख्नु उनको विशेषता हो । सुदूरपश्चिमबाट हुर्किएका यिनै कविले दोस्रो कवितासंग्रह भर्खरै पाठकमाझ ल्याएका छन् । उनीसँग ‘झन् नयाँ’ले गरेको संवाद :

काठमाडौंले सोझो गाउँलेलाई कवि स्वीकार गर्न कति समय लगायो ?
पहिलो प्रश्न नै अप्ठ्यारो आयो । काठमाडौंमा कविता सुनाउन थालेको डेढ दशक भयो । केही मान्छेहरूको माया पाइरहेको छु जस्तो लाग्छ । तर, कविका रूपमा स्विकार्‍यो कि स्विकारेन कसरी थाहा पाउने ? हेरौँ, ‘मरुभूमिमा हिमपात’प्रति काठमाडौंको प्रतिक्रिया कस्तो रहन्छ; त्यसपछि केही थाहा होला ।

 

तपाईं पछिल्लो पुस्ताको कवि हुनुुहुन्छ । युवा कविको नाताले आजको समयले खोजिरहेको कविता तपाईंको पुस्ताले लेखिरहेको छ जस्तो लाग्छ ?
लेख्न त लेखिरहेकै छौँ । त्यसको गुण र मात्राको लेखाजोखा प्रबुद्ध पाठक वा कविताका मर्मज्ञहरूले गर्नुहोला । मानवीय जीवन र जगत्का अनेक पक्ष र पाटामाथि कविता हुन सक्छ, तर आजको समयले खोजेको खास कविता कस्तो हो ? त्यसको सही ढंगले पहिचान गर्ने चुनौती पछिल्लो पुस्तालाई अवश्य छ । 


संसारले महामारीलगायत अनेक समस्या झेलिरहेको छ । तर, युवा कविहरूचाहिँ फगत मायाप्रेमका सिर्जनामा रमाइरहेका छन् भनिन्छ; अहिलेका युवाकविहरूमा समयचेत छैन भन्ने आरोप सत्य हो ?
सुरुमा कविता लेख्दा जसले पनि तीन–चारवटा विषयमा मात्र लेख्छन् । जस्तो– मायाप्रेम, देशप्रेम÷प्र्रकृतिप्रेम र समाज सुधार । त्यसकारण पनि रसरङका कविता लेख्ने त युवाहरूले नै हो । बूढा कविहरूले रसरङका कविता लेखेको वा वाचन गरेको त्यति सुहाउँदैन । तर, माध्यमिककालीन कविहरूजस्तोचाहिँ अहिलेका युवा कविहरू हुनुभएन । समसामयिक समस्या र मुद्दाप्रति सचेत भएर अहिलेका युवाकविहरूले कलम चलाउनुपर्छ । समय चेतना विगत, वर्तमान र भविष्यको अविच्छिन्न धारा हो । यो सजिलै प्राप्त हुने कुरा होइन । यसका लागि गहिरो अध्ययन, अवलोकन र चिन्तन चाहिन्छ । सोसल मिडिया हेरेर धारणा बनाउँदैमा समयचेत आइहाल्दैन । 

म सुदूरपश्चिममा हुर्किएको मान्छे । त्यसैले सुदूरपश्चिमको सुवास मेरो कवितामा आउने नै भयो । ‘मरुभूमिमा हिमपात’भित्रका कविता काठमाडौंमा लेखिएका भए पनि सुदूरपश्चिमको सुगन्ध अवश्य भेटिन्छ ।
 

 

तपाईंको नयाँ कवितासंग्रह ‘मरुभूमिमा हिमपात’मा सुदूरपश्चिमको सुवास कति छ ?
मानिस जहाँ जन्मियो, हुर्कियो अर्थात् उसको बाल्यकाल जहाँ बित्यो त्यहीँको वातावरणअनुकूल उसको व्यक्तित्वको विकास भएको हुन्छ । जिन्दगीको लामो यात्रामा मान्छे जहाँ पुगे पनि अन्तस्करणमा बाल्यकालको छाप रहेको हुन्छ । म सुदूरपश्चिममा हुर्किएको मान्छे । त्यसैले, सुदूरपश्चिमको सुवास मेरो कवितामा आउने नै भयो । ‘मरुभूमिमा हिमपात’भित्रका कविताहरू काठमाडौंमा लेखिएका भए पनि सुदूरपश्चिमको सुगन्ध अवश्य भेटिन्छ । ‘काफल बेच्ने केटी’जस्ता सुदूरपश्चिमकै परिवेशमा आधारित कविता पनि यस संग्रहमा संग्रहित छन् । 

 

बझाङबाट सहर पसेको ठिटोले सोझो गाउँलेको रूपमा आफ्नो परिचय बनायो । अब बझाङले आफ्नो उही गाउँले पाउँछ कि ? गाउँ बिर्सिएको ‘सोझो गाउँले’ पाउँछ ?
सोझो गाउँलेले गाउँ बिर्सिने कुरा असम्भव छ । बझाङले सधैँ उही आफ्नो प्यारो गाउँले पाउँछ । काठमाडौंमै लहराएको देखिए पनि सोझो गाउँलेको जरा बझाङमा छ । भौतिक उपस्थिति पो बझाङमा छैन; भावनात्मक रूपमा सधैँ म बझाङसँगै हुन्छु । मेरा आमाबुबा बझाङमै बस्नुहुन्छ । वेलामौकामा म बझाङ गइरहेकै हुन्छु । काठमाडौं बसे पनि बझाङसँग निरन्तर सम्पर्कमा छु । बझाङमा बस्ने आफन्त र साथीभाइसँग दिनहुँजसो फोन र म्यासेन्जरमा कुराकानी भइरहेको हुन्छ । बझाङसँग म कति घनिष्ठ छु भन्ने कुरा भर्खरै ‘मरुभूमिमा हिमपात’ले बझाङमा पाएको अपार मायाबाटै थाहा हुन्छ ।

 

तपाईंलाई असाध्यै मनपर्ने तीनजना कविको नाम लिनुपर्दा कसकसको लिनुहुन्छ र किन ?
तीनजना मात्रै ? मलाई असाध्यै मनपर्ने तीनजना मात्रै नेपाली कविहरूको नाम लिनुपर्दा– मोहन कोइराला, बैरागी काइँला र श्रवण मुकारुङ । मोहन कोइरालाले नेपाली कविताको साँघुरो क्षितिज निकै फराकिलो बनाइदिए । उनीभन्दा अगाडिका र उनका समकालीन कविहरूले सोच्दै नसोचेका कुरालाई पनि उनले कविताका गम्भीर विषय बनाइदिए ।

 

अनौठा–अनौठा बिम्बहरूको अप्रत्याशित आयोजना गर्ने उनको अद्भुत कलाप्रति म नतमस्तक छु । विचार र भावनाको उत्कृष्ट संयोजनले गर्दा बैरागी काइँलाका प्रायजसो कविता मलाई मास्टरपिस लाग्छन् । हार्दिकता र बौद्धिकताबीचको उनको जस्तो सन्तुलन अन्य नेपाली कविहरूमा विरलै भेटिन्छ । पूर्वीय र पाश्चात्य मिथकका साथै आफ्नो जाति र संस्कृतिबाट मौलिक बिम्बहरू झिकेर कविताको जुन व्रmाफ्ट उनले निर्माण गरेका छन्; त्यो मलाई निकै आकर्षक लाग्छ । 


नेपाली कवितामा सीमान्तकृत् समुदायका मुद्दाहरू पहिलेदेखि नै उठ्न थालेका हुन्, तर सल्बार्टन राइटिङलाई नै नेपाली कविताको मूल प्रवाह बनाउने श्रेय श्रवण मुकारुङलाई जान्छ । इतिहासले अन्यायमा पारेका शोषित, दमित र उत्पीडित वर्ग र समुदायको मुक्तिको गीत गाउँदै हिँड्ने कवि मुकारुङको सामान्य कुरा गराइजस्तो लाग्ने शैलीमा तीखो व्यंग्य र गम्भीर भाव व्यक्त गर्ने खुबी गज्जबको लाग्छ । मनपर्ने कविहरू अरू पनि छन् ।