• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रा.डा. अच्युत वाग्ले
२०७८ असोज २ शनिबार १०:३४:००
साहित्य

विदेशी पृष्ठभूमिको नेपाली उपन्यास

२०७८ असोज २ शनिबार १०:३४:००
प्रा.डा. अच्युत वाग्ले

आप्रवासन मानव सभ्यताजत्तिकै पुरानो र ऐतिहासिक मानव गतिविधि हो भन्नु अत्युक्ति हुनेछैन । पृथ्वी जब मुलुकहरूमा सीमांकित भएर समाजहरू विभाजित भए, आप्रवासन क्रमशः राजनीतिक मुद्दा बन्दै गयो । जब यी मुलुक वा समाजहरू कुनै गरिब र कुनै वैभवशाली भए, त्यही आप्रवासन आर्थिक मुद्दा र केहीका लागि बाध्यता बनिरहेको छ ।

 

मानिसहरू नयाँ सपना र सम्भावनाको खोजीमा गरिबीबाट भाग्दै समृद्ध समाजतर्फ  अस्थायी वा स्थायी रूपले झुम्मिने क्रम पछिल्ला शताब्दीमा तीव्र भएको छ । विकासशील देश वा समाजबाट विकसित खासगरी अमेरिकी वा युरोपेली केन्द्रहरूमा जाने आकर्षण र प्रवृत्ति दुवैको सिकार दक्षिण एसियाली नागरिकहरू अलि बढी नै भएका छन् । यो प्रवृत्ति र अभ्यासको स्वाभाविक असर मानिसका निजी जीवन, प्रेम सम्बन्ध, समाज, सामाजिक सम्बन्ध, परिवार र मुलुकको राजनीतिक प्रणालीहरूमा समेत गम्भीर ढंगले प्रतिबिम्बित भइरहेको छ । 

 

सामाजिक आर्थिक जीवन खलबलिएको छ, तर पुनर्गठित हुन भ्याएको छैन । यातायात सञ्जाल र सूचना–सम्पर्कले चरममा पुर्‍याएको भूमण्डलीकरणले विगत आधा शताब्दीयता यस्तो आप्रवासनको गति अद्वितीय वेगमा छ । मानव सभ्यताको इतिहासको सापेक्षमा यो मानव आप्रवाह गतिविधिको कालखण्ड धेरै छोटो हो ।

 

सायद यही कारण हो, सम्भव–असम्भव सपना पछ्याएर मातृ वा पितृभूमि छाड्ने प्रवृत्तिको आर्थिक–सामाजिक पाटाहरूमाथि केही खोज विश्लेषण भए पनि यसका मानवीय, मनोवैज्ञानिक र दार्शनिक पक्षहरूमाथि यथेष्ट चिन्तन, खोज–अध्ययन र लेखन हुन बाँकी नै छ ।

 

यिनै पृष्ठभूमिमा युवा उपन्यासकार सुमित शर्मा ‘समीर’ले आप्mनो पहिलो उपन्यास ‘प्रवास’लेखेका छन् । लन्डन स्कुल अफ इकोनोमिक्समा उच्च शिक्षा लिएका अर्थराजनीतिका विद्यार्थी शर्माले साहित्य लेखनमा हस्तक्षेप गर्नु आफैँमा चाखलाग्दो पक्ष त हुँदै हो, त्यसमाथि उनले एउटा नेपाली उपन्यासका लागि जसरी सम्पूर्णतः वैदेशिक पृष्ठभूमिमा कथनाक (प्लट) निर्माण गरेका छन्, त्यो निकै असाधारण छ । यसले कृतिलाई पूर्णतः ‘डायस्पोरिक’ आयाम दिएको छ । 

 

पकिस्तानको लाहोर सहरका मुस्लिम धर्मावलम्बी इन्जिनियर अली आर्थिक बाध्यता र पारिवारको इच्छाले आधा उमेर कटेपछि क्यानडा आप्रवासनमा जान्छन् । तेस्रो विश्वको एउटा आप्रवासीले विकसित देशमा गर्ने संर्घष, एक्लोपन र अस्थायी प्रेम सम्बन्धका विवरण अचेलका सनातन सुनिने कथा नै हुन्, जुन यहाँ पनि छन् ।

 

अलीले उस्तै पारिवारिक बाध्यतामा परिवार छाडेर क्यानडा पुगेकी ‘आफ्नी छोरीकी उमेरकी’ विवाहित भारतीय युवती रियासँग गम्भीर प्रेम गर्छन् । अलीकी पत्नी जारा आफ्नाे पूर्वप्रेमीसँग  लाहोरमै रमाउँछिन् । अली फर्केपछि  आफ्नो  प्रेमीसँग अलीसँगको वैवाहिक सम्बन्धबाट जन्मिएकी छोरी लिएर अमेरिका जान्छिन् । उनको त्यो सम्बन्ध पनि छोटै समयमा टुट्छ ।

 

आफ्नै  मुलुकमा केही गर्नुभन्दा पैसा कमाउने मोहमा विदेश पलायन हुन आतुर वा बाध्य पुस्ता, विवाहेतर सुविधाका यौनसम्बन्ध, पूर्वप्रेमी–प्रेमिकाहरूसँगको पुनर्मिलन, परिवार, समाज, संस्कार र विवाहजस्ता संस्थाहरूको औचित्य एवम् तिनको स्वत्वमाथि वर्तमानले जसरी सर्वत्र पुनः परिभाषा खोजिरहेको छ, तिनलाई यो उपन्यासले थप पेचिलो ढंगले उठाउने प्रयास गरेको छ ।

 

उपन्यास नेपाली भए पनि अलीले टोरन्टो सहरमा भेटेका एक सहयोगी स्वभावका नेपाली साथी रञ्जन खतिवडाको संक्षिप्त उल्लेखबाहेक सतहमा उपन्यासले नेपालको परिवेशलाई खास उजागर वा चित्रण गरेको जस्तो देखिँदैन । तर, गहिराइमा, नेपाल र पाकिस्तानको समाजको चेत, शिक्षा, रोजगारी, राजनीति र आममानिसको नियतिमा खासै फरक नरहेकाले पनि उपन्यासले चित्रण गरेका यथार्थले नेपाललाई पनि उत्तिकै झल्काउँछन् ।

यो उपन्यासकोे खास विशेषता के हो भने समाज, यसको मनोविज्ञान, हाम्रो जस्तो मुलुकका अर्थतन्त्र, अस्थिर राजनीति, परिवारका मूल्य, नैतिक आडम्बरका साथै मौलाएको व्यभिचार, निजी नैतिकता, जिम्मेवारी, आदर्श आदिका बारेमा यसमा सयौँ प्रश्न उठाइएका छन् ।


यो उपन्यासकोे खास विशेषता के हो भने समाज, यसको मनोविज्ञान, यसको छिद्रान्वेषी चरित्र, हाम्रो जस्तो मुलुकका अर्थतन्त्र, अस्थिर राजनीति, परिवारका मूल्य, नैतिक आडम्बरका साथै मौलाएको व्यभिचार, निजी नैतिकता, जिम्मेवारी, आदर्श आदिका बारेमा यसमा सयौँ प्रश्न उठाइएका छन् । मानौँ, बदलिँदो परिवेशप्रति उपन्यासकारभित्र यस्ता प्रश्नहरूको एउटा उम्लँदो ज्वालामुखी नै छ । 


‘के मानिसले माटोसँग गरेको सम्बन्धविच्छेद उचित थियो ? के जीवन माटोमा अङ्कुरित हुने होइन ? के त्यही माटोमा जीवन खरानी हुने होइन ? के जीवन प्रतिपल त्यही माटोसँग प्रेमालाप गर्ने समवेत सरिता होइन ? फेरि पनि हामीले त्यही माटोलाई किन त्यागेका छौँ ? के विगतका जिम्मेवारीहरूलाई तिलाञ्जली नदिई व्यक्तिगत स्वतन्त्रता हासिल हुन्न ?


‘... हामीभित्र यस्तो के छ, जसले हाडमासुको यस शरीरलाई जीवनको रूप दिएको छ ? जीवनको स्रोत के हो ? त्यो स्रोत कहाँ छ ? कहाँबाट मानिसको शरीरमा प्रवेश गर्छ ? मानिसको शरीर छोडी कहाँ जान्छ ? सामाजिक र प्राकृतिक विज्ञानले जीवनलाई सम्भावना मान्छ । अनि यस्तो सम्भावना मात्रको जीवनप्रति केको आसक्ति ? त्यसकारण अस्थिरता र मृत्युको भयले बाँच्न किन छाड्ने ?’


यी र यस्तै गहिरो दार्शनिक शास्त्रार्थका लागि पर्याप्त हुने सयौँ प्रश्न उपन्यासकारले सोधेका छन् । पात्रहरूको संवादका अतिरिक्त, उपन्यासकारले आफ्ना टिप्पणीहरूलाई पटकथामा मिलाउन निकै कसरत गरेका छन् । उपन्यासको उत्तराद्र्ध मनोविश्लेशकीय र दार्शनिक चेतका आयाममा आवश्यकताभन्दा अलि बढी नै तन्किएको र कतैकतै बोझिलो पनि महसुस हुन्छ ।

 

उपन्यासकारको बौद्धिक बोझले उपन्यासमा अपेक्षित साहित्यिक सौन्दर्यचेतलाई निलेको जस्तो अनुभूति अक्सर भइरहन्छ । घटनाक्रमहरूको संयोजनका दृष्टिले यो एउटा सनातन ‘मेलोड्रामा’सरह नै छ । तर, यसले उठाउन खोजेका हाम्रो भूखण्डको समाजले भोगिरहेका अनुत्तररित तर पीडादायक ताजा प्रश्नहरूको भने व्यापक उजागर गरेको छ । यसको सबभन्दा सबल पक्ष यही हो ।


उपन्यासको केन्द्रीय पात्र अलीले सपनामा अक्सर सुन्ने एउटा संवाद ‘उठ अली, तिमी जीवनपर्यन्त निदाएका छौ । अब उठ’को वरिपरि उपन्यास बुन्ने कोसिस भएको देखिन्छ । तर, यो संवादको तार्किक निरूपण भएको प्रस्ट देखिँदैन । अलीको अन्तिम ‘उठाइ’को बिम्ब के हो प्रस्ट नपारी उपन्यासको अन्त्य भएको छ । 


शुद्धाशुद्धी र भाषा सम्पादन सुधारको निकै काम बाँकी देखिन्छ । कतैकतै क्रमबद्धता नै भत्किने गरी (जस्तै पृष्ठ १४९) अनुच्छेद छुटेको छ । अंगे्रजी शब्दहरूको बलजफ्ती गरिएका अनुवाद जस्तै हिसाब–किताबी (ट्रान्जाक्सनल), कार्यात्मक (फङ्सनल) आदिले भाषिक मिठास ल्याउन सकेका छैनन् ।

 

महिलाको आकर्षण वर्णन गर्न प्रयुक्त ‘कामुक शरीर’ आदि शब्दावलीको थप सकारात्मक पर्यायवाची प्रयोग हुन सक्थ्यो । धेरै ठाउँमा उही पुरुषले महिलालाई दिने ज्ञान र शास्त्रार्थका परम्परावादी भाषणलाई उत्तिकै ओजका साथ अर्को पक्षका संवादले सन्तुलन गर्न सकेका छैनन् । तथापि, नेपाली आख्यान लेखनमा उपन्यासकारले गरेको नयाँ प्रयोग सराहनीय छ । दोस्रो संस्करणमा उल्लिखित कमजोरीहरू अवश्य सुधारिनेछन् ।