• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपेन्द्र ढुंगाना
२०७८ असोज ९ शनिबार ०७:३५:००
पर्यावरण

लोभ्याउने कालिञ्चोक

२०७८ असोज ९ शनिबार ०७:३५:००
दीपेन्द्र ढुंगाना

बिहानको चिसो मौसम अनि कुहिरोले डम्म ढाकेको दोलखाको कुरी बजार । कालिञ्चोक डाँडा चढ्नुअगाडिको अन्तिम बिसौनी हो कुरी बजार । हामी यो बजार पुग्दा राति भइसकेको थियो ।  कुरी बजारबाट बिहान करिब ५ बजे कालिञ्चोक पहाड चढ्न सुरु गर्‍यौँ । जति–जति उकालो चढ्दै गयौँ, भुइँको कुहिरो हट्दै गयो । भुइँ कुहिरो हटेपछि उकालो चढ्दै गर्दा देखियो कालिञ्चोक पहाडको फेदमा रहेको कुरी बजार । भुइँबाट उठेको कुहिरो कालिञ्चोकको टुप्पोमा जम्मा हुँदै थियो ।


उकालो चढ्दै गर्दा सुरुवातमा जोसिएका साथीहरूको जोश एक चौथाइ उकालो चढ्दा नचढ्दै सकियो । थाकेर लखतरान भएका साथीहरू टाउकैमाथिबाट सलल दौडिरहेको केबलकार देखेर लोभिन्थे । हामी केबलकारमा भन्दा हिँडेरै जाने भनी कस्सिएका थियौँ । 


केबलकारले गर्दा कालिञ्चोक यात्राको मज्जा खल्लो भएजस्तो लाग्यो । हामी होटेलबाट निस्कँदा होटेलमै रहेका मानिसहरू केबलकार चढेर हामीभन्दाअगाडि कालिञ्चोक डाँडामा पुगिसकेका थिए । ‘टाढा–टाढाबाट कालिञ्चोक घुम्न आउने अनि केबलकार चढेर डाँडाको टुप्पोमा पुग्ने ? के मजा आयो र !’ उकालोमा खुइय गर्दै हामीले यही भन्यौँ । कालिञ्चोकको टुप्पोमा जडीबुटी, छुर्पी र चिया पसल गरेर बस्नेहरूको व्यवहार केबलकारबाट आउने र पैदल आउने यात्रीहरूप्रति फरक रहेछ । केबलकार चढेर आउनेहरूको घाँटीमा केबलकारको ठूलो कार्ड झुन्डिएको हुन्थ्यो । पैदलयात्रीको जीउ पसिनाले भिजेको हुन्थ्यो ।

चिया पिउन बस्दा पसल चलाउने आमैले हामीलाई छुर्पी किन्न अनुरोध गरिन् । हामीले अस्वीकार गरेपछि उनले भनिन्, ‘यो पैदल आउनेहरू त केही किन्दैनन् भन्या !’थकित, गलित भएर डाँडाको टुप्पोमा पुगेपछि कुहिरो फाट्यो । अनि देखियो चारैतिर हरिया पहाड । खोँच र झरनाको मनोरम दृश्य । डाँडामा चल्ने सिरसिर बतासले उकालोको सबै थकान भुलायो ।

 

कालिञ्चोकबाट उत्तरतिर हेर्दा देखियो आँखैअगाडि गौरीशंकर हिमाल, लाङटाङ हिमशृंखला ओहो ! कति सुन्दर कति मनोरम । लोभ्यायो कालिञ्चोकले । तर, एकैछिनमा कुहिरोले हिमाल छोप्यो । केहीबेरसम्म कुहिरो र हिमालको लुकामारी चलिरह्यो । 


काठमाडौंबाट चरिकोट पुगेर एकैदिनमा कुरी बजार पुग्न सकिन्छ । कुरी बजार पुगेर वास बसेपछि पछिल्लो बिहानै कालिञ्चोक डाँडामा पुग्न सकिन्छ । उकालो चढ्ने वा केबलकार छनोट तपाईंको । तीन हजार आठ सय ४२ मिटर अग्लो कालिञ्चोक पहाड पैदलै नापेको राम्रो ।

जुन बाटो कालिञ्चोक गइएको हो त्यही बाटो भएर पनि फर्किन सकिन्छ । सुनकोसी र तामाकोसीको तिरैतिर मन्थली नाघी खुर्काेट निस्केर बिपी राजमार्ग हुँदै काठमाडौं फर्किन पनि सकिन्छ । दोलालघाटको रुटभन्दा यो रुट लामो छ, तर आनन्ददायी छ । हामी यही रुट भएर फर्कियौँ ।