• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज ९ शनिबार ०८:११:००
समाज

‘भगवान्’का निर्माताहरू : मूर्तिकारहरू भन्छन्, ‘भगवान् बनाउन सजिलो छैन’

२०७८ असोज ९ शनिबार ०८:११:००

ललितपुरमा पुस्तौँदेखि मूर्तिकलामा लाग्दै आएका मूर्तिकारहरू अहिले पनि प्रशस्तै भेटिन्छन् । पाटनको मंगलबजार, भीमसेनबहाल, नागबाहल, सुन्धारा, भन्छेबहालमा ढुंगाको मूर्ति बनाउनेको पुख्र्यौली थलो मानिन्छ । तर, अहिले अन्यत्र पनि थुप्रै कलाशिल्पीले पुर्खाबाट प्राप्त ज्ञानलाई जीविकोपार्जनको माध्यम बनाउँदै आइरहेका छन् ।


ललितपुर नागबाहलका सानु बज्राचार्यले भगवान्को मूर्ति बनाउन थालेको चार दशक पुगेको छ । उनले देवीदेवता र ख्यातिप्राप्त व्यक्तिका दर्जनौँ मूर्ति बनाइसकेका छन् । उनले विशेषगरी बौद्ध र हिन्दू धर्मका भगवान्का मूर्ति बनाउँछन् । सामान्य लेखपढ मात्रै गरेका बज्राचार्यले बनाएका भगवान्का मूर्तिहरू भारत, चीन, थाइल्यान्ड, युरोप अमेरिका, अस्ट्रेलिया, कोरियालगायतका देशमा पुगिसकेको छ ।


बाबुको मृत्यपछि सानुले मूर्ति बनाउने पेसा अँगालेका हुन् । उनी भन्छन्, ‘सानैमा बुबाको मुत्यु भएपछि घरमा आर्थिक अभाव भयो । त्यसपछि आर्थिक उपार्जनको बाटो मूर्तिकलालाई नै रोजेँ । दाइले भगवान्का मूर्ति बनाउनुहुन्थ्यो । मलाई पनि दाइले नै मूर्ति बनाउन सिकाए ।’


सुरुका दिनहरूमा ढुंगा काटेर आकृतिहरू मात्रै निकाल्दै बिस्तारै बुद्धका मूर्ति बनाएको उनी अनुभव सुनाउँछन् । भन्छन्, ‘भगवान् बनाउन सजिलो छैन । ध्यान दिएर गर्‍यो भने असम्भव पनि छैन ।’मूर्तिको आकार र बनावटअनुसार मूल्य निर्धारण हुन्छ । तर, उनी भगवान्को मूर्तिलाई मूल्यसँग मात्रै तुलना गर्न चाहँदैनन् । ‘मूर्तिको मूल्य आकार र बनावट हेरेर हुन्छ । आकर्षक मूर्ति बनायो भने मूल्य आफैँ आउँछ,’ बज्राचार्य भन्छन्, ‘आफ्नो कला सबैले मन पराएका छन् ।

 

यसैमा नै खुसी छु ।’ हातले बनाएको मूर्तिको मूल्य नबढेको तर मेसिनले बनाएको मूर्तिको मूल्य बढेको उनी बताउँछन् ।
तर, अहिले कोरोना महँमारीका कारण मूर्तिको बजार ठप्प छ । मूर्तिको व्यापार नहुँदा मूर्तिकारको पेसा संकटमा पर्न थालेको बज्राचार्य बताउँछन् । ‘भगवान्को मूर्ति नेपालमा भन्दा विदेशमा जाने हो । मैले बनाएको मूर्ति चीनमा धेरै जान्छ । तर, कोरोना महामारीले गर्दा पर्यटक छैनन् । भगवान् घरमै थन्कियो, अनि कसरी लक्ष्मी हात पर्नु !’, उनले ठट्टा गर्दै सुनाए ।


कीर्तिपुरका सम्पूर्ण बज्राचार्य सानैदेखि मूर्तिकलामा रुचि राख्थे । उनले ललितपुरको भिन्छेबहालमा भगवान्को मूर्ति बनाउन थालेको १५ वर्ष बितिसक्यो । उनले हजारौँ निर्जीव ढुंगाहरूमा बुट्टा भरिसकेका छन् । बज्राचार्यले बनाएको भगवान्का मूर्ति देशका ठुल्ठूला मन्दिर गुम्बामा सजिएका छन् । उनको मूर्ति बनाउने प्रतिभाले धेरैको मन जितिसकेको छ । उनले कलाको कुनै औपचारिक कक्षा लिएका छैनन् । उनका मामाहरूले धातुका मूर्ति बनाउँथे । मामाहरूले मूर्ति बनाएको हेरेर मूर्ति बनाउन सिकेको उनी बताउँछन् ।


कीर्तिपुरमा कक्षा १२ सम्म अध्ययन गरेका बज्राचार्यलाई सानैदेखि मूर्तिकलाप्रति चासो लाग्थ्यो । भन्छन्, ‘स्कुल पढ्दादेखि हस्तकलामा रुचि थियो । ढुंगाको मात्रै नभएर धातुका मूर्ति बनाउन पनि आउँछ ।’ फोटो हेरेपछि दुरुस्तै भगवान्का मूर्ति बनाउन सक्छन्, सम्पूर्ण । उनी भन्छन्, ‘मैले मूर्ति बनाएर पैसा मात्रै होइन, धर्म पनि कमाइरहेको छु जस्तो लाग्छ ।’ उनले बनाएको तीन फिट अग्लो बुढानिलकण्ठको मूर्ति बनेपाको मन्दिरमा राखिएको छ । कतिपय ठाउँका लागि निःशुल्क मूर्ति पनि बनाएको सुनाउँछन् उनी । अहिलेसम्म उनले आठ सयदेखि डेढ लाखसम्म पर्ने मूर्ति बनाएका छन् ।


‘सबैथोकको मूल्य बढ्यो तर मूर्तिको बढेन । कलाको मूल्य छैन, दुःख लाग्छ,’ उनी भन्छन् । दुःखका थुप्रै चाङ छन्, उनीसँग । अझै थुप्रै अभावहरू झेलिरहेका छन् । तर, मूर्तिमै सुन्तुष्टि खोजिरहेका छन् । दुई वर्षयता कमाएको पैसाले घरखर्च टार्न मुस्किल भएको उनी सुनाउँछन् ।


ललितपुरको सुन्धाराबाट करिब सय मिटरभित्र साँघुरा गल्लीहरू छिचोल्दै भिन्छेबहालतिर जाँदा सूर्य बज्राचार्यको कारखानामा पुगिन्छ । उनले भगवान्को मूर्ति बनाउन थालेको ४० वर्ष पुग्यो । १५ वर्षको उमेरदेखि मूर्ति बनाउन थालेकी उनले भगवान्का हजारौँ मूर्ति बनाइसकेकी छिन् । भगवान्को मूर्ति बनाएर जीवन बिताउने कल्पना नगरेकी उनले मूर्ति बनाउँदा–बनाउँदै ४० वर्ष बितेको पत्तै पाइनन् ।

मूर्तिकार सानु बज्राचार्य भन्छन्, ‘मैले बनाएको मूर्ति चीनमा धेरै जान्छ । तर, कोरोना महामारीले गर्दा पर्यटक छैनन् । भगवान् घरमै थन्कियो, अनि कसरी लक्ष्मी हात पर्नु !’


‘बुबाले मूर्तिमा बुट्टा काट्दा आउने ट्याक–ट्याक आवाज सुन्दा एकदम मजा आउँथ्यो । बिस्तारै मूर्ति बनाउनमै ध्यान जान्थ्यो । सुरुसुरुमा राम्रो मूर्ति बनाउन जानियो भनेर खुसी हु्न्थेँ,’ उनले अनुभव सुनाइन् । सूर्य बुबाले भगवान्को मूर्ति बनाएको हेरेर बस्थिन् । बुबाले पनि उनलाई मूर्ति बनाउन प्रेरणा दिन्थे । बुबाको प्रेरणाले उनको मूर्तिप्रति चासो बढ्दै गयो । अहिले उनको जीविकोपार्जनको माध्यम नै मूर्ति बनाउने बन्यो । भन्छिन्, ‘भगवान्को मूर्ति बनाएर जीविका चलाइरहेको छु ।’ साधारण लेखपढ गर्न जान्ने उनले कहिल्यै पनि मूर्ति बनाउने तालिम लिइनन् । 


सूर्यले धेरै महिला दिदी–बहिनीलाई मूर्ति बनाउन सिकाइसकेकी छिन् । उनले आफ्नै दिदीका छोरालाई पनि मूर्ति बनाउन सिकाइसकेकी छिन् । देशका ख्यातिप्राप्त व्यक्तिको घरको बगैँचामा उनले बनाएको भगवान्का मूर्ति सजिएका छन् । विदेशमा पनि उनको बनाएको मूर्ति पुगेको छ । उनले बनाएको मूर्ति २० हजारदेखि तीन लाखसम्म बिक्री हुन्छ ।


मूर्तिकार ओमकार बस्ताकोटीका लागि भने भगवान्को मूर्ति जीविकोपार्जन गर्ने पुर्खाैली पेसा होइन । तर, ढुंगाको मूर्ति बनाएर आत्मनिर्भर छन्, उनी । उनको ललितपुरको सुन्धारामा आफ्नै कारखाना छ । उनले सबै प्रकारका भगवान्का मूर्ति बनाउँछन् । उनले बनाएको मूर्ति अस्ट्रेलिया, युरोप अमेरिकालगायत देशमा पुगिसकेको छ ।


काठमाडौं कोटेश्वरमा जन्मे–हुर्केका उनले स्कुले जीवनमै कापीमा चित्र कोर्थे । १७ वर्षको उमेरदेखि उनले ढुंगाको मूर्ति बनाउन थाले । उनले एक हजार रुपैयाँदेखि पाँच लाखसम्मका भगवान्का मूर्तिहरू बिक्री गरिसकेका छन् । भन्छन्, ‘कोरोना महामारीले अहिले कमाइ छैन । मूर्तिहरू थन्किएका छन् ।’


मूर्तिको अर्डर नआउँदा तयारी भएका सामान र मूर्ति असरल्ल छन् । कक्षा १२ सम्म अध्ययन गरेका बस्ताकोटीले पाँचजनालाई रोजगारी पनि दिएका थिए । भन्छन्, ‘कोरोना महामारीले गर्दा कालिगढलाई पैसा दिन सकिएन ।’