• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
इन्दिरा दली
२०७८ असोज ९ शनिबार ०९:०४:००
साहित्य

खै बाल–पुस्तकालय ?

२०७८ असोज ९ शनिबार ०९:०४:००
इन्दिरा दली

बालबालिका देशका कर्णधार हुन्, भविष्यका राष्ट्रनिर्माता हुन् । त्यसैले उनीहरूलाई सानैदेखि सही तरिकाले लालनपालन गर्दै उचित शिक्षादीक्षा दिएर असल र योग्य नागरिक बनाउन सबैको ध्यान जान जरुरी छ । यसका लागि राम्रा लुगाफाटा लगाउन दिएर, मिठो र पौष्टिक खाने कुरा दिएर र महँगा स्कुलमा पढाएर आफ्नो कर्तव्य सकियो भन्ने सोच आमाबाबु वा अभिभावकले राख्नुहुँदैन । हरेक बालबालिकाको आआफ्नै रुचि, क्षमता, बानीबेहोरा, आवश्यकता र समस्या पनि हुन्छन् । स्कुलका शिक्षकले हरेक विद्यार्थीका यी सब कुरालाई गम्भीरताका साथ हेर्न र बुझ्न  भ्याउँदैनन् ।


स्कुलमा एउटा निश्चित पाठ्यक्रमभित्रका सीमित विषयहरू, सीमित समयभित्र पढाइने हुनाले बालबालिकाको सर्वाङ्गीण विकासमा स्कुलले मात्र पर्याप्त योगदान पुर्‍याउन सक्दैन । त्यसका लागि समाजका अन्य संघसंस्था तथा व्यक्तिहरूले पनि त्यत्तिकै भूमिका खेल्न आवश्यक छ । तीमध्ये महत्वपूर्ण संस्था हो, एउटा आदर्श बाल–पुस्तकालय । बाल–पुस्तकालय भन्नाले ससाना कलिला उमेरदेखि किशोरावस्था अर्थात् ० वर्षदेखि अठार वर्षमुनिका बालबालिकालाई उनीहरूको रुचि र आवश्यकताअनुसार सेवा र सुविधा दिने पुस्तकालयलाई जनाउँछ । यसले बालबालिकाको रुचि, चाहना र आवश्यकताअनुसारका विभिन्न ज्ञानसामग्रीहरू, खेलौनाहरू, सेवा र सुविधाहरू उपलब्ध गराएर र विभिन्न मनोरञ्जनात्मक, शैक्षिक, सिर्जनात्मक, रचनात्मक र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरेर उनीहरूको सर्वाङ्गीण विकासका लागि टेवा दिएर उनीहरूको सुन्दर भविष्य निर्माण गर्न सुअवसर प्रदान गर्छ । 


बाल–पुस्तकालय भनेको बालबालिकाको प्रथम विद्यालय हो, जहाँ उनीहरू औपचारिक विद्यालय जानुअघि नै आमाबाबुको बुई चढेर वा हात समातेर आउँछन्, आफूजस्तै अरू साथीहरूसित घुलमिल हुन, खेल्न, हाँस्न र अनेक थरी कुरा सिक्न सक्छन् । त्यहाँका रङ्गीचङ्गी खेलौनाहरू हेरेर, चलाएर, खेलेर धेरै नयाँ कुरा सिक्छन् । सुरु–सुरुमा अक्षरविनाका राम्रा–राम्रा रङ्गीविरङ्गी चित्रैचित्र मात्र भएका पुस्तकहरू हेरेर रमाउँछन् र पछि गएर अरू पुस्तक पढ्न सिक्छन् । यसरी बालबालिकामा पढ्ने बानीको विकास हुन्छ र जीवनपर्यन्त पठन–संस्कृतिको रूपमा छाप बस्न जान्छ । त्यसैले बाल–पुस्तकालयलाई सबै तहको आधारभूत जग मानिन्छ । 


नेपालमा बाल–पुस्तकालय
नेपालमा बाल–पुस्तकालयको इतिहास धेरै लामो छैन । बाल–पुस्तकालयका रूपमा छुट्टै पुस्तकालय पनि धेरै खोलिएका छैनन् । विभिन्न समुदाय तथा युवाहरूले खोलेका सामुदायिक पुस्तकालयहरूले एउटा सानो कुनामा बालशाखा राखेर सेवा दिँदै आएको भेटिन्छ । रिड/नेपाल भन्ने संस्थाले ४२ वटा जिल्लामा आजसम्म खोलेका ६९ वटा सामुदायिक पुस्तकालयहरूले भने बडो राम्रोसँग बालबालिकाहरूलाई सेवा गर्दै आएका छन् । त्यसरी नै ओएलई/नेपाल र द एसिया फाउन्डेसनले पनि बालबालिकाहरूलाई डिजिटल लाइब्रेरी सर्भिस दिँदै आएका छन् । यस क्षेत्रमा नेपाल लाइब्रेरी फाउन्डेसन, रिड टु रुम, चिल्ड्रेन लिटरेचर फाउन्डेसन (सिएलएफएन), केटाकेटी अनलाइनजस्ता संस्थाहरूले आआप्mनो तरिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेर बालबालिकाको विकासका लागि सराहनीय काम गर्दै आएका छन् । तर पनि बाल–पुस्तकालय भनेर एउटा छुट्टै खोलिएको वा कुनै सार्वजनिक पुस्तकालयमा शाखाका रूपमा खोलिएका शाखाहरूको संख्या पनि निकै कम छ । तीमध्ये केही हुन् :


१. शिशु वाचनालय (२००९–२०१०) काठमाडौं
२. नेपाल राष्ट्रिय पुस्तकालय, बाल–पुस्तकालय शाखा (२०५२– ललितपुर
३. पिङ्गल बाल–पुस्तकालय (सन् १९९८–) ललितपुर 
४. नेपाल–जापान बाल–पुस्तकालय (२०५८–  काठमाडौं
५. काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, बालशाखा (२०६२–) काठमाडौं
६. केशर पुस्तकालय, बालकक्ष (२०२६–) काठमाडौं
७. बालज्ञान भण्डार पुस्तकालय (२०५९–) म्याग्दी
८. डिल्लीरमण कल्याण रेग्मी स्मारक पुस्तकालय,
बाल–पुस्तकालय शाखा (२०६२–) काठमाडौं
९. इ–पुस्तकालय : साझा शिक्षा इ–पाटी (सन् २००७–) ललितपुर
१०. सामुदायिक बालविकास पुस्तकालय (२०६७–) ललितपुर
११. बुक बस (सन् २०१३–) काठमाडौं
१२. बुकटुक (सन् २०१६–) काठमाडौं
१३. इनोभेसन हब, काठमाडौं । 


भूकम्पको प्रभाव
वि.सं. २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पले देशभरि अथाह जनधनको क्षति भएको कुरा सर्वविदितै छ । त्यस वेला असंख्य ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूका साथै अन्य भौतिक संरचनाहरू ध्वस्त भएका थिए, केही सम्पूर्ण रूपमा र केही आंशिक रूपमा । काठमाडौं उपत्यकाभित्रका नामी पुस्तकालयहरू पनि क्षतिग्रस्त भएका थिए ः त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर, नेपाल राष्ट्रिय पुस्तकालय (ने.रा.पु.) हरिहर भवन, ललितपुर, मदन पुरस्कार पुस्तकालय, पाटनढोका, ललितपुर, केशर पुस्तकालय केशर महल काठमाडौं, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय लाजिम्पाट, काठमाडौं आदि । त्यसअतिरिक्त काठमाडौं उपत्यकाबाहिरका १८ वटा जिल्लाका २३–२४ वटा सामुदायिक पुस्तकालयहरू पनि केही पूरै र केही आंशिक रूपमा नराम्ररी क्षतिग्रस्त भएका थिए । 


त्यसमध्ये हरिहरभवनस्थित ने.रा.पु. त पूरै ध्वस्त भएको थियो । नेरापुका तत्कालीन प्रमुख श्री यादवचन्द्र निरौलाले आप्mना कर्मचारी साथीहरू तथा बाह्य स्वयंसेवक, खासगरी प्रहरी जवानहरूको सहयोग लिई भत्किँदै गरिरहेको भवनबाट सारा महत्वपूर्ण दस्ताबेजहरू, पाण्डुलिपिहरू, पुस्तक तथा पत्रपत्रिकाहरू सुरक्षित रूपमा निकालेर करिब पाँच हजार वटा बोरामा राखी बाँधेर सानोगौचरनस्थित महेन्द्र भवन स्कुलका दुईवटा हलमा राख्ने व्यवस्था मिलाउनुभएको थियो । राष्ट्रको यति महत्वपूर्ण ऐतिहासिक, बौद्धिक तथा दुर्लभ सम्पत्तिलाई जोगाएर राख्ने सम्बन्धित सबै व्यक्तिहरू धन्यवादका पात्र हुनुहुन्छ । 

स्कुलमा एउटा निश्चित पाठ्यक्रमभित्रका सीमित विषयहरू सीमित समयभित्र पढाइने हुनाले बालबालिकाको सर्वांगीण विकासमा स्कुलले मात्र पर्याप्त योगदान पुर्‍याउन सक्दैन । त्यसका लागि समाजका अन्य संघसंस्था तथा व्यक्तिहरूले पनि त्यत्तिकै भूमिका खेल्न आवश्यक छ ।


क्षतिग्रस्त अवस्थामा झन्डै एक वर्षसम्म विनापाठक सेवा रहिरहँदा पनि सम्बन्धित निकाय र व्यक्ति कसैले पनि चासो नदेखाएपछि यादवचन्द्र निरौला र म यस समस्याका बारेमा अवगत गराउने उद्देश्यले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेट्न गयौँ । उहाँको अति व्यस्ततालाई देखेर हामीले समस्या अवगत गराउनुको सट्टा उहाँ आफैँले क्षतिग्रस्त पुस्तकालय भवनको अवलोकन गरेको खण्डमा बढी गम्भीरताका साथ उपयुक्त सरसल्लाह र निर्देशन दिनुहोला भन्ने आशाले उहाँलाई सो पुस्तकालयको सकेसम्म चाँडै निरीक्षण र अवलोकन गर्नका लागि अनुरोध ग¥यौँ । 


संयोगवश भोलिपल्टै उहाँले ने.रा.पु.को क्षतिग्रस्त भवनको निरीक्षण रुचि दिएर गर्नुभयो । त्यसको भोलिपल्टै केशर पुस्तकालयको र सोही हप्ता डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको पनि अवलोकन गर्न जानुभयो । अनि उहाँले क्षतिग्रस्त पुस्तकालयको मात्र होइन, नेपालको समग्र पुस्तकालय क्षेत्रको विकास, विस्तार र आधुनिकीकरणका लागि चाल्न सकिने कदम आफूले चाल्नेछु भनेर गम्भीर प्रतिबद्धता व्यक्त गर्नुभयो । यसपछि तुरुन्तै ३० फागुन २०७२ मा शिक्षामन्त्रीस्तरीय निर्णयबाट निम्न तीनवटा कार्यका लागि तीनवटा कार्यदल गठन भएका थिए :


. वरिष्ठ पत्रकार तथा साहित्यकार श्री हरिगोविन्द लुइँटेलको संयोजकत्वमा आठ सदस्यीय राष्ट्रिय पुस्तक नीति मस्यौदा तर्जुमा कार्यदल,
. डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय पुस्तकालय गुरुयोजना मस्यौदा तर्जुमा कार्यदल,
. वरिष्ठ पुस्तकालयसेवी श्री इन्दिरा दलीको संयोजकत्वमा ६ सदस्यीय पुस्तकालय अभिलेख व्यवस्थापन मस्यौदा तर्जुमा कार्यदल ।


नेपाल सरकारले पहिलोचोटि पुस्तकालयको विकासका लागि पुस्तकालय गुरुयोजना मस्यौदा तयार गर्न लगाएको हो । डा. तुलसीप्रसाद भट्टराई कारणवश चार महिनासम्म मुलुकबाहिर जानुभएकाले शिक्षा मन्त्रालयले उक्त कार्यदलको संयोजकको कार्य पनि मलाई नै सुम्पेकाले मैले दुईवटै कार्यदलको जिम्मेवारी वहन गर्नुप¥यो । तीनवटै कार्यदलले आआप्mनो जिम्माको काम पूरा गरी २०७३ मंसिर ५ गतेका दिन तत्कालीन शिक्षामन्त्री श्री धनीराम पौडेलसमक्ष मस्यौदाका प्रतिवेदन हस्तान्तरण गरिएको थियो । 


पुस्तकालय गुरुयोजनामा बाल–पुस्तकालय/शाखाको व्यवस्था   
पुस्तकालय गुरुयोजना मस्यौदा तर्जुमा कार्यदलले १० वर्षे पुस्तकालय गुरुयोजना (२०७४–२०८३) को मस्यौदा तयार पारेको थियो । उक्त मस्यौदामा नेपालमा पुस्तकालय विकासको इतिहासका साथै गुरुयोजनाको दीर्घकालीन उद्देश्य, राष्ट्रिय उद्देश्य, रणनीति, कार्यनीति र नेपालमा विद्यमान पुस्तकालय प्रणाली : शैक्षिक पुस्तकालय (विद्यालय, महाविद्यालय र विश्वविद्यालय पुस्तकालयहरू), सार्वजनिक पुस्तकालय, सामुदायिक पुस्तकालय, सरकारीस्तरमा स्थापित पुस्तकालय (ने.रा.पु., केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, विशेष पुस्तकालय, जस्तै : सरकारी पुस्तकालय (संसद् सचिवालय पुस्तकालय, सर्वाेच्च अदालतको पुस्तकालय, विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विभाग आदिमा खोलिएका पुस्तकालयहरू) संघसंस्था, समाज आदिका पुस्तकालयहरू (नेपाल उद्योग वाणिज्य महासंघको पुस्तकालय, नेपाल रेडक्रस सोसाइटीको पुस्तकालय आदि), विभिन्न अध्ययन अनुसन्धान केन्द्रका पुस्तकालयहरू (नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको पुस्तकालय, नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय आदि), विशेष विषयका पुस्तकालय (सोसल साइन्स बहाःको पुस्तकालय, केन्द्रीय कानुन पुस्तकालय आदि), विशेष भाषाका पुस्तकालय (मदन पुरस्कार पुस्तकालय (नेपाली भाषामा प्रकाशित वा लेखेका पुस्तक), आशा सफूकुठी (नेपाल भाषामा प्रकाशित पुस्तकहरू), विशेष माध्यमका ज्ञान सामग्रीको पुस्तकालय, (रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन आदिका श्रव्य र श्रव्यदृश्य सामग्रीहरूको पुस्तकालय), विशेष क्षमता भएका वा दिव्याङ्ग पाठकहरूका लागि खोलिएका पुस्तकालय (राष्ट्रिय ब्रेल पुस्तकालय, अडियो पुस्तकालय, साङ्केतिक भाषाका पुस्तकालय आदि), विशेष खालका पाठक समुदायका लागि खोलिएका पुस्तकालय (जेलका कैदीबन्दीहरूका लागि खोलिएका पुस्तकालय, अस्पतालका बिरामीहरूका लागि खोलिएका पुस्तकालय) आदिको विद्यमान स्थिति तथा यस गुरुयोजना अवधिमा ती सबै किसिमका पुस्तकालयहरूको के–कसरी विकास, विस्तार र आधुनिकीकरण गर्ने भन्ने विषयमा विस्तृत चर्चा गरिएको छ । 


यस मस्यौदाको कार्यनीतिमा नेपालको हालको संवैधानिक प्रावधानअनुसार उक्त दश वर्षभित्रमा केन्द्र, सबै प्रदेश र स्थानीय निकायमा कम्तीमा एक–एकवटा नमुना सार्वजनिक पुस्तकालय स्थापना गर्न यसको प्रारूप तयार गरिनेछ भनी प्रस्ट उल्लेख भएको छ । यसरी यो गुरुयोजनाअनुसार नेपालमा केन्द्रमा राष्ट्रियस्तरको नेपाल राष्ट्रिय पुस्तकालय (जुन हाल छँदै छ, तर भवनविनाको), सातवटा प्रदेशमा सातवटा प्रदेशस्तरका पुस्तकालय र ७५३ वटा स्थानीय निकायमा (६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका) ७५३ वटा नमुना सार्वजनिक पुस्तकालयहरू स्थापना गर्ने योजना छ । यसअतिरिक्त नगरपालिका पुस्तकालय कहीँ कतै भए पनि उक्त पालिकाभरिका पाठकहरूलाई सजिलै आउन–जान असहज हुने भएकाले हरेक पालिकाभित्रका हरेक वडामा पनि एउटा नमुना सार्वजनिक पुस्तकालय खोल्ने भनिएको छ । यसको अर्थ ६ हजार ७४३ वटा वडा पुस्तकालयहरू बनाउने प्रस्ताव छ । 

नेपालमा बाल–पुस्तकालयको इतिहास धेरै लामो छैन । बाल–पुस्तकालयका रूपमा छुट्टै पुस्तकालय पनि धेरै खोलिएका छैनन् । विभिन्न समुदाय तथा युवाहरूले खोलेका सामुदायिक पुस्तकालयहरूले एउटा सानो कुनामा बालशाखा राखेर सेवा दिँदै आएको भेटिन्छ ।


सोही कार्यनीतिले उल्लिखित हरेक तह–केन्द्रदेखि स्थानीय र वडास्तरसम्मका सार्वजनिक पुस्तकालयमा निम्न चार विभिन्न समूहका लागि छुट्टाछुट्टै शाखाहरू खोल्नुपर्ने प्रावधान छ : १. बालबालिका, २. युवा, ३. ज्येष्ठ नागरिक र ४. अपाङ्गता वा विशेष क्षमता भएकाहरू (सुस्त श्रवण, दृष्टिविहीन, न्यून दृष्टि, सुस्त मनस्थिति, विकलाङ्ग आदि) । यसरी चार थरीका विभिन्न समूहलाई छुट्टाछुट्टै शाखाको व्यवस्था गर्नुको मुख्य उद्देश्य तिनको फरक–फरक रुचि, चाहना, आवश्यकता र सोच आदि हुने भएकाले पुस्तकालयले सोहीअनुसार ज्ञान सामग्री संकलन, विकास, व्यवस्था र सम्प्रेषण गर्नु आवश्यक छ र उनीहरूको रुचि, चाहना र आवश्यकताअनुसार कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ भनेर निर्देश दिनु हो । यसरी नै यस मस्यौदाको सार्वजनिक पुस्तकालय शीर्षकअन्तर्गत गुरुयोजना अवधिमा पनि ‘राज्यको पुनः संरचना हुँदा गठन हुने स्थानीय निकायको अनिवार्य दायित्वभित्र (प्रदेश, जिल्ला, नगर, गाउँ र वडा) मा एक सुविधासम्पन्न प्रविधिमैत्री एवम् वातावरणमैत्री सार्वजनिक पुस्तकालयको स्थापना तथा दिगो रूपमा सञ्चालन हुने व्यवस्था मिलाइनेछ’ भनी प्रस्ट उल्लेख गरिएको छ ।  प्रदेशदेखि वडा तहसम्ममा ती चारै समूहका लागि छुट्टाछुट्टै पुस्तकालयको स्थापना र सञ्चालन गर्न आर्थिक रूपमा त्यति सहज नहुने भएकाले नै हरेक तहको सार्वजनिक पुस्तकालयभित्रै छुट्टाछुट्टै शाखाको व्यवस्था गर्न मिलाइएको हो । 


राष्ट्रिय बाल–पुस्तकालय
बालबालिकाहरूको सर्वाङ्गीण– सामाजिक, सांस्कृतिक, मानसिक, शैक्षिक, बौद्धिक, भावनात्मक, संवेगात्मक, मनोवैज्ञानिक, चारित्रिक, नैतिक र व्यक्तित्व–विकासलाई उच्च प्राथमिकता दिएर यस गुरुयोजनाले राष्ट्रियस्तरको एउटा नमुना राष्ट्रिय बाल–पुस्तकालयको स्थापना गर्ने कुरालाई विशेष जोड दिएको छ । नेपाल सरकारले पहिलो पटक यसरी बाल–पुस्तकालयको स्थापनाका लागि पहल गर्न खोजेको हो । यसको मुख्य उद्देश्य बालबालिकालाई सेवा दिनुका साथै बाल सरोकारवालालाई बालबालिकाहरूको विकासका लागि आवश्यक ज्ञानसामग्रीहरूको अध्ययन–अनुसन्धान तथा सिर्जना गर्ने कार्यमा सहयोग पुर्‍याउनु हो ।

  
यस पुस्तकालयका लक्षित पाठकभित्र बालबालिकालगायत उनीहरूको सर्वाङ्गीण विकाससित सरोकार राख्ने आमाबाबु, अभिभावक, परिवारका अन्य सदस्य, शिक्षक,  लेखक, बाल–साहित्यकार, सम्पादक, अनुवादक, डिजाइनर, चित्राङ्कनकर्ता, प्रकाशक, वितरक, बाल–मनोवैज्ञानिक, बाल–अधिकारवादी, बाल–फिल्मनिर्माता, निर्देशक, बाल–गीतकार तथा सङ्गीतकार, गायक, कलाकार, बाल–पुस्तकालयसेवी, अनुसन्धानकर्ता, नीति–निर्माता, योजनाकार आदि सबै पर्छन् । अनि विशेष क्षमता भएका अपाङ्ग वा दिव्याङ्गहरू पनि यसका पाठक हुन् । 


यसरी विभिन्न वर्ग र पेसाका पाठकलाई उनीहरूको रुचि, चाहना र आवश्यकताअनुसारको सेवा र सुविधा दिनुपर्ने हुनाले यस पुस्तकालयले देशभित्र र बाहिरबाट प्रकाशित हुने सबै प्रकारका र माध्यम (लिखित, मुद्रित, विद्युतीय र डिजिटाइज) का  बाल–साहित्य र बाल उपयोगी सामग्रीहरूको उचित संकलन, व्यवस्थापन र सम्प्रेषण तथा संरक्षण र संवद्र्धन गर्नुपर्ने हुन्छ । 


यस पुस्तकालयले बालबालिकालाई मनोरञ्जन दिनुका साथै नैतिक मूल्य र मान्यता सिकाउने, राष्ट्रिय गौरव र सम्पदा तथा सांस्कृतिक सम्पदा झल्काउने, देशका विभिन्न जनजातिको जीवनशैली र संस्कृति सिकाउने, विश्वका आधारभूत तथा समसामयिक सूचना दिने सामग्रीहरू पनि संकलन, व्यवस्थापन र संरक्षण गर्नेछ । यसैगरी यसले देशका विभिन्न भाषा–नेपाली, नेवारी, हिन्दी, मैथिली, तामाङ, गुरुङ, मगर, लिम्बू आदिमा प्रकाशित ज्ञानसामग्रीहरू तथा बाल–साहित्यका पुस्तकहरू पनि पाएसम्म सबै संकलन गरी व्यवस्थापन, सम्प्रेषण र संरक्षण गर्नेछ । 


यस पुस्तकालयले विदेशी बाल–साहित्यका लोकप्रिय तथा उत्कृष्ट पुस्तकहरू खासगरी परिकथा, लोककथा, नीतिकथाका पुस्तकहरू पनि उपलब्ध भएसम्म संकलन गर्नेछ । विदेशी भाषाका त्यस्ता उत्कृष्ट पुस्तकहरूबाट आम बाल–पाठकहरूले लाभ लिन सकून् भन्ने उद्देश्यले उपयुक्त अनुवादकबाट नेपाली भाषामा अनुवाद गराउने काम पनि यसले गर्नेछ । 


सेवाको हकमा उल्लिखित सबै थरीका लक्षित पाठकहरूलाई उनीहरूको वर्ग, वर्ण, धर्म, लिंग, जात, भाषा, सामाजिक, आर्थिक, शैक्षिक, बौद्धिक स्थिति वा स्तर, पेसा, व्यवसाय आदि कुनैको आधारमा पनि भेदभाव नगरी सबैलाई पुस्तकालयको स्रोत, साधन, सेवा र सुविधा उपभोग गर्न समान अधिकार र अवसर दिइनेछ । 


नियमित रूपमा बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै उनीहरूको सिर्जनात्मक तथा बौद्धिक क्षमता बढाउन र कल्पना शक्ति विस्तार गर्न विभिन्न मनोरञ्जनात्मक, सांस्कृतिक, शैक्षिक, सिर्जनात्मक प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्ने काम पनि यसले गर्नेछ । बाल उपयोगी फिल्महरू, कार्टुनहरू देखाउनुका साथै शैक्षिक भ्रमण तथा पुस्तक प्रदर्शनी आदिमा लैजाने पनि गर्नेछ । कथा भन्ने, सुन्ने तथा लेख्ने सीपसमेत सिकाइनेछ । 


वेला–वेलामा विभिन्न क्षेत्रका नामी, लोकप्रिय हस्तीहरू–नेता, कलाकार, साहित्यकार, व्यवसायी, वैज्ञानिक आदिलाई निम्त्याएर उनीहरूको जीवनी, अनुभव, पेसा, सफलता आदिका बारेमा भन्न लगाई, प्रश्नोत्तर गराई, छलफल गराई बालबालिकाहरूलाई हौसला र प्रेरणा दिनुका साथै मनोबल तथा आत्मविश्वास बढाउने र भविष्यमा आफू के बन्ने भन्नेबारे सोच्न र निर्णय गर्न सिकाइनेछ । 


देशभित्रका विभिन्न बाल–पुस्तकालय/शाखाहरूको समन्वय र अनुगमन गर्ने, नियमित रूपमा पुस्तक तथा अन्य ज्ञानसामग्रीको आपूर्तिका लागि समन्वय गर्ने र तिनको विकास र विस्तारका लागि विशेष भूमिका खेल्नेछ ।
वेला–वेलामा आफ्नै कर्मचारी तथा अन्य बाल–पुस्तकालय वा शाखाका सञ्चालकहरूलाई आवश्यक प्रशिक्षण दिने, गोष्ठी, सेमिनार आदि सञ्चालन पनि गर्नेछ । मुलुकमा उत्पादित सबै बालपुस्तक तथा अन्य ज्ञान सामग्रीहरूको अभिलेख राख्ने, वर्गीकरण गर्ने तथा अध्ययन अनुसन्धान गराउनेछ । 


अन्य मुलुकका बाल–पुस्तकालयहरूसँग भगिनी सम्बन्ध स्थापना गरी एक–आपसमा आफ्ना पुस्तकालयको विकास र प्रवद्र्धनका लागि अवलोकन भ्रमण गर्ने, विचार आदान–प्रदान गर्ने, स्रोत र साधनको आदान–प्रदान गर्नेछ । यसरी गुरुयोजनाले नेपालमा बाल–पुस्तकालय/शाखाको विकास र विस्तारका लागि यस्ता राम्रा र सकारात्मक प्रावधानहरूको प्रस्ताव त राखेको पाइन्छ । तर, २०७३ सालमा बुझाइएको मस्यौदा आजसम्म पनि कार्यान्वयनमा ल्याउने कुनै प्रयास भएको देखिँदैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव श्री यादवचन्द्र निरौलाको भनाइलाई मान्ने हो भने ०७३ मा बुझाइएका तीन मस्यौदामध्ये महत्वपूर्ण मानिएको राष्ट्रिय पुस्तक नीति मन्त्रिपरिषद्बाट पास गराउन सके अन्य दुवै मस्यौदा सजिलैसँग कार्यान्वयन गराउन सकिन्छ । तर, राष्ट्रिय पुस्तक नीति पारित नहुनुको कारण के हो कसैलाई पनि थाहा छैन । कहिलेकाहीँ अलि अघि बढेजस्तो देखिन्छ, तर फेरि थन्किन्छ । ज्ञानआर्जन र व्यवस्थापनमा नै हाम्रा नेता–प्रशासकहरूको अरुचि हुनु यसको कारण त होइन ?