• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नरेन्द्रजंग पिटर
२०७८ असोज १६ शनिबार ०७:१४:००
इतिहास

ती फेरि कहीँ–कतै देखिएनन्

समाजमा योगदान गरेका यी व्यक्तिहरू किन अलप भए ?

२०७८ असोज १६ शनिबार ०७:१४:००
नरेन्द्रजंग पिटर

बाइरोडको बाटोबाट घर जान हुइँकिएका वीरगन्जका कृषि अधिकृत रामहरि बस्नेतको सिमभन्ज्याङमा पुग्नेबित्तिकै सोच फेरियोे । बसबाट उत्रिए अनि अन्जान बाटो समाते । देशाटन सुरु भो । खोजतलास भो । मरे–बाँचेको अत्तोपत्तो भएन । दुई दशकपछि टुप्लुक्क देखा परे । तर, उनी फर्किंदा अवस्था फेरिइसकेको थियो, उमेर ढल्किसकेको थियो, जागिर गइसकेको थियो । सबै अवस्था नौलो । फर्केर पुराना साथीहरूसँग गफिँदा पचहत्तरै जिल्ला घुमेँ भन्थे, अरे !


त्यस्तै रामपुर क्याम्पस एग्रोनेमीका प्रोफसर टिपी नेपाल पनि विस्मृतिकै गर्भमा हराए । अमेरिकाबाट एमएस्सी गरेका नेपालले पिएचडी पूरा त गर्न सकेनन्, कता हराए ! कुनै साखसुराक पाइएन ।संसारमै युद्ध र द्वन्द्वको वेला मान्छे बेपत्ता हुने गर्छन् । नेपालमा पनि द्वन्द्वकालमा बेपत्ता भएका हजाराँै मुद्दा ‘बेपत्ता छानबिन आयोग’मा छन् । नेपाली कानुनले १२ वर्षसम्म पनि नभेटिएमा मरिसकेको भनेर अंशबन्डा÷काज–किरिया गर्ने अनुमति दिन्छ । 


बेपत्ताका कथा फरक–फरक छन् । केही फेला पर्छन्, फर्किन्छन्, केहीले भने कुनै पनि निसान छोडेका हुँदैनन् । प्रसिद्ध व्यक्तित्वहरू पनि रहस्यमय ढंगले गायब भए, कहिल्यै भेटिएनन् । तस्बिर सम्झनामा रह्यो, समाजमा कर्म देखिए, गएका पैताला डोब रहे, तर मान्छे कहिल्यै फर्केनन् । मान्छे घुमक्कड प्राणी भएकाले हरेकमा सँघार काट्ने सोच पलाउँछ । कोही एकाध दिन वा केही वर्ष अलप हुन्छन्, कोही जीवनभर नै ।

सात अलप चर्चित व्यक्तिहरू 

१. डोरबहादुर विष्ट

जुम्लाले मलाई आकर्षण गर्नमा खस भाषाको उत्पत्ति थलो सिन्जा दरा, नेपालको पहिलो माओवादी कामी बुढाको हत्या भएको चौभान खलंगा, नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्टको अध्ययनथलो (प्रयोगशाला) चौधबिसा दरा र संसारको सबभन्दा उचाइमा (समुद्र सतहबाट ३ हजार ५० मिटर) धान फल्ने छुमचौर ज्युला र गह्रामा धानका बाला झुलेको, त्यही कान्लामा लटरम्म फलेका स्याउदाना नै हुन् । 


विष्टको पदचाप खोज्दै पूर्वी जुम्लाको पातारासी हिमालको फेदी चौधबिसा दरा, डिल्लीचौर–लासीमा पुगियो । ‘पिपल अफ नेपाल’ तथा ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’ पुस्तकले नेपाललाई विश्वसामु चिनाउने विष्ट अलप छन् । उनको अध्ययन निष्कर्षमा जातीय विभेद, भाग्यवाद, यथास्थितिवाद र ठालुवादले नेपाली समाजलाई निरन्तर विकास र उन्नतिको मार्गतर्फ रोकिरहेको गम्भीर विश्लेषण छ । वर्चस्वशाली समूह अहिले पनि ‘सबै जातको फूलबारी’को विश्लेषणले दबिएको समाजमा स्वाभिमानको चेतना छरेको भन्दै समाज ‘भाँड्ने’ ‘भँडुवा’ भनेर उनलाई सराप्छन् । 


आधुनिकताले नछोएको र एकल खसबस्तीबारे पुराना नेता भीमप्रसाद श्रेष्ठबाट सुनेपछि पहिलोपल्ट २०४७ सालको अन्त्यतिर जुम्ला हानिएका विष्ट २०४८ सालदेखि स्थायी कर्मथलो बनाएर त्यहीँ बस्न थाले । ‘कर्णाली इन्स्टिच्युट’लाई सामाजिक अध्ययन, अनुसन्धान र प्रयोगशाला बनाए । जुम्ला खलंगाबाट हनुमानढोकाको दूरी १६९ कोस छ । काठमाडौं जन्मे, हुर्केर देश–विदेशमा चर्चित प्राज्ञ विष्टले जीवन्त अध्ययनशाला बनेको चौधबिसा दराको पाँच वर्षभित्रै अनुहार फेरियो । तिर्खुमा विद्यालय र विद्युुत्, लामरीमा दश किलोवाट र जमुनामा चौध किलोवाटको साना जलविद्युत् आयोजना सम्पन्न भए । विधागत ज्ञाता बाहिरी शिक्षकसमेत लगिएको डिल्लीचौर ऋणमोक्ष माध्यमिक विद्यालयको नयाँ भवन र छात्रावास बन्यो । जडीबुटी प्रशोधनशालाको स्थापना भयो, प्रौढलेशिक्षा पाए ।


पाँच वर्षभित्रै चौधबिसा दरामा विष्टछाप यत्रतत्र देखापर्छ । विदेशी कूटनीतिज्ञ, अध्ययनशास्त्री र पर्यटकको घुइँचो लाग्ने । विष्टका सहयोगी भान्से भन्छन्, ‘केही समय पहिला ‘आर्थिक हिनामिनाको’ आशंकामा लेखापाल हटाइए । लगत्तै एउटा राष्ट्रिय पत्रिकाले सरमाथि गम्भीर आरोप लगाएकाले अत्यन्तै निराश देखिनुहुन्थ्यो । नखाएको विषले सताउन थालेपछि मर्मान्त बन्दै जानुभो ।’ पातारासी गाँउपालिकाका अध्यक्ष लक्ष्मण बोहोरा भने विष्टको अन्तिम इच्छा उनको शरीर बागमती फोहोर नदीमा नभै डिल्लीचौरको डाँडामा गाडेर समाधिस्थलमा देवदारको बिरुवा रोपेर डोरबहादुर विष्ट वृक्ष नामकरण गरिदिनू भनेकाले अझै फर्किने आस गर्छन् ।


लन्डन युनिभर्सिटीका मानवशास्त्री क्रिस्टोफभोन फ्युरर हाइमनडोर्फको अनुसन्धान सहायकका रूपमा काम गरेका विष्टकोे फ्युररप्रतिको धारणा भने एकनास रहेन । उनी फ्युररमा औपनिवेशिकताको गन्ध पाएर अलग्गिए । विष्टको पछिल्लो अन्तर्वार्ताकार अमेरिकी मानवशास्त्री जेम्स एफ फिसरका अनुसार विष्ट पहिल्यैदेखि आफ्नै खालको रुचि भएका मान्छे थिए । उनलाई आफू हिँड्ने बाटो आफैँ खन्न मन लाग्थ्यो । उनले सुनेअनुसार विष्ट बेपत्ता हुनुअघि उनको परिवारमा कुनै गम्भीर प्रकारको बेमेल आइपरेको थियो । त्यसैकारण विष्टले आफूलाई गायब बनाइदिए ।

उच्चताबोध हीनताबोधमा फेरिँदा शून्यतामा फस्ने कारण बन्छन् । त्यसपछि शरीर त अलप हुन सक्छ, तर उनीहरूले रचेका कृतिहरू अलप हुँदैनन् । उनीहरूका कथाहरू अलप हुँदैनन् ।


२०५२ साल पुस २५ गते नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगन्ज उत्रिएका विष्टको २७ गते काठमान्डु जाने निकोन इयरको टिकट थियो । काठमाडौं नगई बसमा बर्दिया हुँदै कैलाली चिसापानी पुग्छन् उनी । विष्टलाई कैलालीको चिसापानी जाने बसमा नेपालगन्जका दिनेश श्रेष्ठले चढाएका थिए । अहिले ९६औँ जन्मोत्सव मनाउन पाइने विष्ट त्यसपछि कहाँ गए कसैलाई अत्तोपत्तो भएन । 

२. सदानन्द सापकोटा

हरेक क्रान्तिको उपलब्धिसँगै क्षतिपूर्ति खोज्ने चलन हुन्छ । ‘सहिद अन्त जन्मियोस्, र क्रान्तिको पहिलो उपलब्धि मैले पाऊँ’ भन्ने समाजमा क्षतिपूर्ति नलिने कुनै नायक देशमा छ त ? खोज्दै थिएँ । सम्झिएँ, सदानन्द सापकोटा (खोजानन्द) । 
सिन्धुली, गोलन्जोर गाउँपालिकाको हैबारबेसी र्‍यालटारमा १९८५ चैत २२ गते जन्मेका सदानन्दको प्रारम्भिक शिक्षा झाँगाझोली वेद पाठशालामा भयो । थप पढाइका लागि तीनधारा पाठशाला, काठमाण्डु आए । म्याट्रिकको परीक्षा दिन वनारस जानुपर्ने हुन्थ्यो । २००३ मा ५० रुपैयाँ छात्रवृत्ति दिँदै राणा सरकारले पठायो । १४ पेपरमा ७ पेपर दिएपछि भारतीय स्वतन्त्रता संग्रामको चापले बाँकी परीक्षा हुन सकेन, नेपाल फर्किए । नेपालमै परीक्षाकेन्द्र हुनुपर्‍यो भनी २००४ वैशाख १ गते राणा सरकारलाई तीनसूत्रीय माग पेस भयो । त्यसैलाई जयतु संस्कृतम् आन्दोलन भनिन्छ । 

असार १ गते जयतु संस्कृतमको जुलुसले नगर परिक्रमा गर्‍यो । मंसिरमा डाँडो कटाइएर उपत्यका हदबन्दी गरिनेमा पद्यशंकर अधिकारी (रामेछाप), गंंगाप्रसाद गौतम(फुदुग, इलाम), तारा शर्मा (पोखरा) र गिरिराज ज्ञवाली (रिढी) सहित सदानन्द पनि थिए । 

अवसर र त्याग 
मौका नपाएर आदर्शवादी, त्यागी बन्नु भिन्नै कुरा हो । मन्त्री विश्वबन्धु थापा, मजिस्ट्रेट बलराम प्याकुरेल र भूवनलाल प्रधानले २०१८ कात्तिक १७ गते राजा महेन्द्रको मन्त्रीको आश्वासन सुनाए । त्यसलाई अस्वीकार गरेका सापकोटालाई कात्तिक २९ गते राजाको प्रलोभन पत्र अनशन थलो न्युरोडमा रिसल्लाले दिँदा ‘हठी’ भनिएर धुलीखेल पु¥याएर पूर्व १ नं. छोड्न नपाउने हदबन्दी गरियो । 


टंकप्रसाद आचार्य आयोगले ०२७/२८मा राजनीतिकपीडितलाई जग्गा दिने निर्णयले देशैभरिका कांग्रेस र कम्युनिस्टलाई जग्गा दिइयो । सापकोटालाई पनि सर्लाही, मुर्तियामा ३ बिघा खेत र ६ कठ्ठा घडेरी दिइयो । तर, उनले लिएनन् । ०४७ मा कृष्णप्रसाद भट्टराई र राधाकृष्ण मैनाली आयोगले जेलजीवन, प्रवास वा भूमिगत राजनीतिकपीडितलाई राज्यले के, कति रकम दियो ? को, कस्ता परेभन्ने वकपत्र ‘रातो किताबले’ गर्छ ।उनी क्रान्तिको क्षतिपूर्ति नलिने अत्यन्तै प्रतीक हुन् ।

सत्याग्रही कम्युनिस्ट
गंगालाल श्रेष्ठ, (हलुवाइ) नेतृत्वमा गठित लाल कम्युनिस्टका संस्थापक सदस्य सदानन्दको क्रान्तिमा अनशनको राजनीतिक हतियार निरन्तर प्रयोग गर्दै संर्घषका मैदानमा आजन्म डट्दै रहे । २००५ मा वनारसबाट पर्चा छपाएर परासी, पाल्पा, स्याङ्जा, तौलिहवा संगठन गर्न लाग्दा किसान संर्घषले अत्तालिएका जिम्दारहरूको उजुरीले २००६ साल असार ६ गते गिरफ्तार गरी भैरहवा जेल चलान भयो । पहिलो अनशनले भैरहवाबाट जेल सरुवा गराई काठमान्डु, भद्रगोल पठाइए । त्यसपछि अनशन संघर्षको हतियार बन्दै गयो । उनको अन्तर्राष्ट्रवादी चेत र भूमिका १९५५ जुन २२ देखि २७ सम्म दार्जलिङको रिगटयाग भएको चिया बगान मजदुर आन्दोलनमा सहभागिताले जनाउँछ । घुमक्कड यात्री सदानन्द २०६३ साल फागुन २२÷२३ मा रामेछाप भंगेरीस्थित नेपाली कांग्रेसका नेता नारायणबाबु श्रेष्ठको घरमा बसे । काठमान्डु जान्छु भनी मन्थलीमा अन्तिमपटक देखिएका उनी त्यसपछि अलप भए ।

३. गणेशराज गौतम ‘निदी’ 

तिलस्मी क्रान्तिकारी गणेशराज गौतम ‘निदी’को जन्म २००५ मा ओखलढुंगा लिखु, दक्षिण लेती गोतामे गाउँको धनाढ्य परिवारमा भएको थियो । संगठित राजनीतिमा २०२१ देखि लागे । २०२८ सालको भोकमरीमा ‘भकारी फोर’ अभियानमा जुटे । ३ वर्ष पोकलीको जनजीवन स्कुलका शिक्षक रहेर जिल्लाका सुतेका कम्युनिस्टलाई ब्युँझाउँदै आन्दोलनमा उतारे । अनिकालपीडित सहयोग समिति, लिखुखोलाबाट फैलिएको किसान आन्दोलनले जिल्लाका ठालुहरू र प्रशासन आतंकित भयो । पक्राउ परे । ओखलढुंगामा कडा यातना दिँदै अञ्चल प्रशासन राजविराज पुर्‍यायो । केही दिनपछि मुक्त गरिएर इलाका नजरबन्द राख्दै महिने तारिखमा हाजिर हुनुपर्ने गरी ओखलढुंगामै फिर्ता पठाइयो । 


सपना श्रेष्ठसँग २०२६ सालमा अन्तर्जातीय विवाह गरेर नजरबन्दी तोड्दै सपरिवार रौतहट, गौर पुगे । गौरमा उनी नेपाल निवासमा (माधव नेपाल) रहे । गौरपछि वीरगन्ज लागे । वीरगन्जका साथीहरूमा विमल निभा, गोपाल गिरी, महेन्द्रबहादुर आमात्य, कौशल, प्रमोद अधिकारी, आमोद धितालहरू थिए । ‘हिमाली आवाज’ पत्रिकाको प्रकाशन भयो । निदीलाई सम्झिँदै निभा भन्छन्, ‘अति ऊर्जावान्, अति सक्रिय, अति इमानदार, अति सहयोगी, अति उत्साही, अति सरल, अति सर्वहाराकरण मात्रै हैन, चिन्तन, व्यवहार र भूमिकाबीचको मिलन भएको एक उम्दा व्यक्तित्व थिए ।’ निभा जोड दिएर थप्छन्, ‘मैले अति शब्दमा त्यसै जोड दिएको होइन । ‘निदी’मा अचम्मका गुण भएर हो’ । 


वीरगन्जमा पनि प्रशासनको नजरमा परेपछि नेपालगन्ज लागे । कोइलावासमा मजदुर पुष्पराज पौड्याल र शम्भु पौड्यालसँग संगत थियो । २०२८ पुसमा नेपालगन्ज आए, निष्क्रिय भने रहेनन् । क्याम्पस आन्दोलन र कर्मथलो बन्यो भने सहयोद्धा नवयुवाहरू । २०२८ सालमा नेपालगन्जबाट सहसम्पादक महेन्द्र शर्मासहित सामयिक संकलन पत्रिका ‘स्वर’ प्रकाशन गरे । क्याम्पसबाट ‘दियालो’ पत्रिका निक्लिन थाल्यो । जनकपुरबाट प्रकाशित ‘नयाँ पाइलो’ र राजधानीको ‘मातृभूमि’ साप्ताहिकको संवाददाता त थिए नै । 


२०३१ वैशाख २४ गते दुई छोरासाथै गर्भवती सपनालाई काठमान्डुमा पुर्‍याएर साला राजकुमारको संरक्षण लगाई नेपालगन्ज फर्केका ‘निदी’ जेठ २४ मा गिरफ्तारमा परे । प्रशासनले खजुराको घरमा आगो लगाइदियो । सहयोगीहरूले बनाइदिए । बाँके गाउँ विष्णुबहादुर गुरुङकोमा आफ्ना सामग्री छाडेर २०३१ असारमा दुई सय रुपैयाँ दिएर अन्तिमपटक बिदा गरेको महेन्द्रराज शर्मा भन्छन् । देहरादुन थलबहादुर थापाको दाइको सम्पर्कमा जान्छु भनेर बिदा भएका ‘निदी’ फेरि सार्वजनिक भएनन् । निभाको आशंकामा निदीको हत्या गरिएको हुनुपर्छ । तर, वामनेता लोककृष्ण भट्टराई भन्छन्, ‘२०३७ सालमा हेटौंडामा माक्र्सवादीको भेलामा सहाना प्रधानसँग उनले भेट गराएका थिए ।’ निदीपत्नी सपना श्रेष्ठका अनुसार उनले २०३२ वैशाखमा नेपालगन्ज आउँदा ‘निदी’ बेपत्ता भएको थाहा पाइन् । कुनै न कुनै वेला सरकारले आफ्नो हत्या गर्न सक्छ भनेर बाराम्बार भन्ने गरेको सपनाको भनाइ छ ।


तत्कालीन नेवि संघका नेता तथा साहित्यकार सनत रेग्मीको भनाइमा तीसको दशकका ‘निदी’ आफूले पश्चिममा भेटेको पहिलो कम्युनिस्ट भएको र उनको निष्ठा, साहित्यिक चेत, सोच अनुकरणीय रहेको बताउँछन् ।

४. गोविन्द न्यौपाने 

गोविन्द न्यौपानेको जन्म विसं २००६ साल कात्तिक १० मा गोगने, भोजपुरमा भएको हो । प्रारम्भिक शिक्षा गाउँमै भए पनि उच्च अध्ययन धरान, विराटनगर र काठमान्डुमा भयो । मलेरिया इन्स्पेक्टर, शिक्षक, हेल्थ असिस्टेन्ट, नायव सुब्बाका जागिरे भए । प्लान इन्टरनेसनलका कन्ट्री डेपुटी डाइरेक्टरसम्म रहे । 


०२६ सालदेखि नै वामपन्थी राजनीतिमा संलग्न अर्धभूमिगत, भूमिगत जीवन बिताउने क्रममै २०३२ सालमा झापाबाट पक्राउ परेर भद्रपुर जेल चलान भए । २०३३ सालमा कोअर्डिनेसन केन्द्रका सदस्य रहेका न्यौपाने ०३५ मा राष्ट्रिय सम्मेलनबाट नेकपा मालेका संस्थापक सदस्य भए । अहिलेका नेकपा एमाले, समाजवादी र मालेका पहिलो पंक्तिका धेरै नेतालाई संगठित गर्ने, कैयौँका राजनीतिक गुरु पनि हुन् उनी । 

 घुमक्कड यात्री सदानन्द २०६३ साल फागुन २२/२३ मा रामेछाप भंगेरीस्थित नेपाली कांग्रेसका नेता नारायणबाबु श्रेष्ठको घरमा बसे । काठमान्डु जान्छु भनी मन्थलीमा अन्तिमपटक देखिएका उनी त्यसपछि अलप भए ।


२०५५ मै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक नेपालमा संघीयतासम्बन्धी पहिलो पुस्तकका लेखक र व्याख्याता पनि उनी हुन् । दुई छोरा, तीन छोरीको पिता न्यौपाने कस्मिरमा समाजशास्त्रको अध्ययन गरिरहँदा ०६३ मा अल्पसमय काठमान्डुमा भेट भएको थियो । पछिल्लो खबर अफगानिस्थानमा रहेको सुनिएको हो । प्रयोगधर्मी न्यौपानेबारे साहित्यकार एवं कम्युनिस्ट नेता प्रदीप नेपालको भनाइ छ, ‘उहाँ मेरो मावली दाजु हुनुहुन्छ । अस्थिरता उहाँको कमजोरी । कतै पनि १ वर्षभन्दा बढी नटिक्ने । मैले पनि सात वर्षदेखि सम्पर्क गर्न सकेको छैन । पछिल्लोपल्ट मद्रासतिर कतै हुनुहुन्छ भनी सुनेको थिएँ ।’

५. सालिकराम तिम्सिना

स्याजाको निस्ती (कुन्ती) वि.सं.१९९३ भदौमा जन्मिएका सालिकराम तिम्सिना कम्युनिस्ट आन्दोलनमा २०२८ देखि निरन्तर रहे । चितवनको गितानगर, शिवनगरका हाइस्कुल शिक्षक सालिकराम २०३६ मा ६ महिना वीरगन्ज जेल परे । 
पूर्वी बर्दियाको कम्युनिस्ट कार्यकर्तालाई सैद्धान्तीकरण गर्न विशेष भूमिका निभाएका तिम्सिना २०३९ सालमा बर्दिया बसाइँ सरेका थिए । दुई परिवार र पाँच सन्तानका पिता सालिकराम माडसाब २०५४ वैशाखमा चितवन फर्केका थिए । असोज २ गते पोखरा जान भनेर निक्लिएका उनी फेरि कहीँ पनि देखा परेनन् ।

६. तिलु गौतम

गौतम परिवार भाग्य अर्जाप्न चितवन बसाइँ सर्नुपहिल्यै तिलु गौतमको २०१७ साल भदौ १७ गते बाग्लुङको गल्कोट गल्याङमा जन्म भएको थियो । घुम्दैफिर्दै २०३० सालमा चितवनमा पुगेका तिलुको अध्ययन रामपुर क्याम्पसमा भयो । मेधावी विद्यार्थी भएकाले जर्मनी र पाकिस्तानमा छात्रवृत्ति पाए, तर दुवैपटक गएनन् । राजनीतिक आस्था मिलेरै सिन्धुलीकी उर्मिला दाहालसँग विवाह गरे । कृषिका जेटी, चारपाते क्लबको जिम्मेवारी लिने क्रममै पूर्णकालीन कार्यकर्ता र चितवनकै नेकपा मशालको नेतृत्व सम्हाले । तर, टिकिरहन सकेनन् । फेरि गोबरग्यासको जागिरमा फर्किए । २०४४ पुस २ मा घरबाट हिँडेका उनी फेरि कहीँ–कतै देखा परेनन् । 

७.नन्दराम लम्साल 

मृदुभाषी नन्दराम लम्साल सम्मानित नेपाली शिक्षक र चर्चित कथाकार हुन् । उनको जन्म नुवाकोटमा २००४ मा भयो । शिक्षण पेसामा सुर्खेत पुगेका शिक्षक लम्साल उत्तरार्धमा नेपालगन्जमा रहे । सरल भाषामा गम्भीर कुरा राख्न सक्ने अन्तर्मुखी स्वभावका नन्दराम ‘शारदा’कालीन साहित्यकार इन्द्रमणि मानवसँग नजिक थियो । ‘सिर्जना’का सम्पादकत्रयमध्ये उनी एक थिए । उनको कविता, कथा, उपन्यास गरी ३ कृति प्रकाशित छन्, महाकाव्य, खण्डकाव्य, निबन्ध संग्रह पाण्डुलिपिमा थन्केका छन् । चर्चित भारतीय पत्रिका ‘दिनमान’मा पनि उनको रचना छापिएको थियो । उनी अन्तिमपटक ०६३ मंसिर २२ मा सार्वजनिक रूपमा देखिएका थिए । त्यसपछि उनी कहीँ–कतै देखिएनन् ।

पञ्चायतीको गोप्य हत्यारा दस्ता 
युद्ध, द्वन्द्व, कानुनी हत्या र बेपत्ता फरक विषय हुन् । पञ्चायतमा गोप्य हत्यारा दस्ता दरबारबाटै सञ्चालित हुन्थे । गुल्मी तम्घासमा टाउको काटेर प्रदर्शन गरिएका शमशेरबहादुर विष्टबाहेक मधुवनी भारतमा सरोज कोइराला, रक्सोलमा तेजबहादुर आमात्य, वैद्यनाथप्रसाद गुप्ता र दीपक गुप्ता, सिक्टामा छेजु तामाङ, दिल्लीमा शोभाखर धनञ्जयलाई राजनीतिक हत्या गर्‍यो । दामोदरशमशेर र लीलाराज विष्टबाहेक अरू अञ्चलाधीशलाई त्यस्तो दस्ताबारे थाहा नहुने कुरा पूर्वप्रहरी उपरीक्षक श्याम तामाङको भनाइ थियो । बाहिर वा देशभित्रै अर्को हत्यारा दस्ता सक्रिय थियो । यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठको कानुनी हत्या भए पनि जेल सार्ने बहानामा इलामको सुखानीमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाल, उदयपुर बेलटार जंगलमा सूर्यनाथ यादव, सिन्धुलीमा ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी र दलबहादुर रजनको हत्या भयो । 


०४२ मा पदम लामा, ईश्वर लामा, साकेतचन्द्र मिश्र, दीलिप चौधरी, डा. लक्ष्मीकान्त झा र महेश्वर चौलागाईंको रौतहट जंगलमा हत्या गरियो भनिए पनि त्यसको यकिन हुन सकेन । नख्खु ओह्रालोमा लीला दाहाल, ठगी दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीलाई सकाइयो । अज्ञात थप नाम हुन सक्छन् ।


जिन्दगीको नयाँ मोडमा मान्छे त्यसै हाम फाल्दैनन् । एउटा मान्छेभित्र अनेकौँ मान्छे हुन्छन् । चर्चित मान्छेका जीवनरेखा पनि मुटुको धड्कनजस्तै टेढामेडा हुन्छन् । सहज ज्ञानले थाहा पाइँदैन । तब प्रश्न उठ्छ, किन व्यक्तित्व पनि हराउँछन् ? मानिसको आन्तरिक चालकशक्ति भनेको स्वत्व र जिज्ञासा हो । स्वत्वले स्वभिमान वा अहंकारको कुनै पनि दिशा पक्रन सक्छ । प्रख्यात मनोवैज्ञानिक सिग्मन्ड फ्राइडका अनुसार मान्छेमा पहिचान, स्वत्व, अहंकार वा दम्भ, महा–अहंकार अन्तर्निहित हुन्छ, समय, शक्ति र पहिचानसँगै बढ्दै जान्छन् । जब ‘सुपरइगो’मा धक्का लागेर अरूले के भन्ला ? भन्ने हुन्छ तब हीनताबोधले पलायन वा आत्महत्या गर्ने आवेग पैदा हुन्छ । सोच, भूमिका र अवस्थाबीच तालमेल मिलाउन नसक्नु मुख्य कारण हुन् ।

अलपका कारण 
१) राज्यले गोप्य तरिकाले हत्या गरेर ।   
२) उग्र महत्वाकांक्षा व्यवस्थापन गर्न नसकेर ।
३) विश्वासको दुर्घटना भएर । 
४) पद, प्रतिष्ठा धान्न नसकेर । 
५) पारिवारिक विग्रह भएर ।
६) सहज पुँजीको चाहना, खुसी बेचेर सुख खोज्ने लालसा । व्यक्तित्वको चेतनास्तर र आफन्त वा सहयोगीहरूको चेतनाबीच बेमेल भएर । 
७) द्वैध यौन आचरण, यौन आवेग ।

स्वभिमानमा चोट पुगेपछि भावनामय मान्छेमा प्रतिक्रियाको ज्वाला दन्किन्छ । त्यसले अरूलाई भस्म नगराए पनि स्वयं जल्न थाल्छ । आत्महत्या वा बेपत्ताको बाटो रोज्नु भनेको मनोविज्ञानमा पर्ने ‘सुपरइगो’को व्यवस्थापन गरी तितो यथार्थ स्विकार्न नसक्नु हो । उच्चताबोध हीनताबोधमा फेरिँदा शून्यतामा फस्ने कारण बन्छन् । त्यसपछि शरीर त अलप हुन सक्छ, तर उनीहरूले रचेका कृतिहरू अलप हुँदैनन् । उनीहरूका कथाहरू अलप हुँदैनन् ।